बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते वैशाख । २०८२
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ ।

मौलापुर नगरपालिकाको कार्यालयमा आज आयोजित एक विशेष समारोह मार्फत १५९ घर परिवारलाई ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम अन्तरगत ३०÷३० हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको छ । यो कार्यक्रम अन्तरगत कानून अनुसार विवाह गर्न उमेर पुगेका छोरीहरुको विवाहमा मौलापुर नगरपालिकाले ३० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

अहिलेसम्म हजारौं घरपरिवारले यो सेवा पाईसकेको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । मेयर साह आफै छोरीको विवाहमा सहभागि हुदै नगरपालिकाको तर्फबाट चेक हस्तानान्तरण गर्दै आएको तर कुनै कारणले सो रकम पाउन नसकेको परिवारलाई पछि बोलाएर दिने गरिएको उनले जनाएका छन् ।

‘कानून अनुसार छोरीहरुको विवाह गर्ने समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ । यस अघि पनि यो सेवा हजारौं परिवारले पाईसकेका छन् । बिभिन्न कारणले छुटहुन गएका परिवारलाई आज चेक हस्तानान्तरण गरिएको हो’ साहले भने । छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको, कागजी कार्य पुरा नभएको वा अन्य कारणले ढिलाई हुन गएपछि नगरपालिकाले बोलाएर नै ३० हजारको चेक दिएको विभाकुमारी पटेलले बताईन् ।
‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ पटेलले भनिन् । यस्तै चेक पाउने अर्को सुनरीकुमारी यादवले मौलापुर नगरपालिकाको यस्तो काम धेरै नै राम्रो भएको बताईन् ।

‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथसहयोग सधै नै रहन्छ’ यादवले चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् । यस्तै अर्का सेवाग्राही ममताकुमारी यादवले समेत मेयर रिना साहको तारिफ गरे ।
‘छोरीको विवाह होस् वा मालपोत कर, कुनै प्रकारको सिफारिस । हामीले कुनै पनि किसिमको कर तिर्नुपर्दैन नगरपालिकामा । फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ यादवले भने ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहलमा ‘बेटीके साथ मेयर’ कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य करको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् । मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १७ गते वैशाख । २०८२
आम जनता पार्टी (आजपा)ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गर्दै लोक सेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ । आयोगमा ज्ञापनपत्र बुझाउदै आजपाले आफूहरुको माग सम्बोधनमा कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । काठमाडौंको कमलपोखरी स्थित लोक सेवा आयोगको कार्यालयमा पुगेर आजपाका नेताहरुले आयोगका अध्यक्ष माधवप्रसार रेग्मीलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गरेका छन् ।

आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका प्रमुख रेग्मीलाई ज्ञापनपत्र बुझाउदै आफूहरुको माग यथासिघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आजपाको ज्ञापनपत्र बुझदै आयोग आयोगका अध्यक्ष रेग्मीले भने, ‘यो हाम्रो क्षेत्राअधिकारीभित्र पर्दैन् । सरकारले कर्मचारी मागे अनुसार हामीले विज्ञापन खुलाउने हो । तर तपाईहरुको माग जायज छ, यसका लागि म पहल गर्छु ।’ लोक सेवा आयोगले गरिब, निमुखालाई सरकारी स्थायी जागिरबाट बञ्चित गर्न नमिल्ने आजपा नेतृ रञ्जु साहले बताईन् ।
‘लोक सेवा आयोगले १२ कक्षा भन्दा माथिको मात्र बिज्ञापन गर्छ । यो गरिबसंग सरासर विभेद हो । सरकारी जागिरमा गरिबलाई निषेध गर्नु उचित होइन् । गरिबबाट काम गराउने तर स्थायी नगर्नु न्यायोचित होइन्,’आजपा नेतृ साहले भनिन् ।
सरकारी अस्थायी करार तथा ज्यालादारी संघर्ष समितिका अध्यक्ष श्याम सापकोटाले आजपाको पहलकदमी सराहनीय भएको बताए । ‘आजपाको यो कार्य हामी सबैका लागि राम्रो पहलकदमी हो । यसमा समर्थन सहित धन्यवाद छ ।’ ‘विगत लामो समयदेखी सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पाले), मालि, मेस्तर, हुलाकी, हलकारा,
सरसफाई कर्मचारी (स्वीपर) जस्ता श्रेणीविहिन तल्लो तहमा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी नगरिदा उहाँहरुको ग्रेड (तह) बृद्धि तथा सेवानिवृत÷पेन्सनको सुविधा वा लाभबाट बञ्चित भई दासत्वको जीवन बाच्न बाध्य हुनुपरेको छ,’ आजपाले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका नहुँदा जागिर सुरक्षाको अभावले गर्दा मनोवैज्ञानिक तनावमा बृद्धि भई भविष्य नै अन्योल र जीवनयापन कष्टकर एवं दुर्दशापूर्ण बन्ने गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
लामो समयसम्म श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि विज्ञापन नखोलिदा आम श्रमजीवि जनता विभिन्न शोषण एवं विभेदको शिकार बन्नु परेको आजपाले जनाएको छ । ‘यस्ता कर्मचारीहरुले हाकीम तथा नेताको अनुचित चाकडी गर्नुपर्ने, निर्दिष्ट जिम्मेवारीका आलावा पनि थप अतिरिक्त सेवा गर्नुपर्ने, कथित आउटसोर्सिङको नाममा श्रम र पारिश्रमिक दुबैमा व्यापक शोषण हुने, निगाहको भरमा नातागोता, आसेपासे र
असक्षम व्यक्तिहरुले अवसर पाईराख्दा ईमन्दार र सक्षम व्यक्तिहरु अवसरबाट बञ्चित हुनुपर्ने अवहेलना, अपमान सहित विभिन्न किसिमको (शारिरीक, मानसिक, आर्थिक…आदी) शोषण एवं विभेदको शिकार हुनुपर्ने जस्ता नारकीय समस्याहरुको सामना गर्नुपर्ने परिस्थिति खडा भएको छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारकै सेवामा कार्यरत कर्मचारीहरु बीच नै अमानविय एवं आपतीजनक विभेद गर्नु गहिरो चिन्ता एवं खेदको विषय भएको आजपाले जनाएको छ ।
आजपाले श्रेणीविहिन तल्लो तहमा लामो समयदेखी कार्यरत कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने, नयाँ भर्ना भएका हकमा आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायी गर्नुपर्ने र लामो समयदेखी पारदर्शी, स्वतन्त्र एवं निष्पक्ष नियुक्ति प्रक्रियाबाट बञ्चित आम नेपालीको हकमा यथाशिघ्र आवश्यक तयारी पुरा गरी स्थायी पदपूर्तीका लागि नयाँ विज्ञापन खुलाउन माग गरेको हो ।
‘हाम्रो न्यायोचित मागहरुलाई कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षति एवं परिस्थितिको सम्पूर्ण जिम्मेवारी यस आयोग र नेपाल सरकारकै हुने विषय अग्रिमरुपमा अवगत समेत गराउँन चाहन्छौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
देशमा प्रजातन्त्र स्थापनासंगै गठित लोक सेवा आयोगले निजामती लगायतका विभिन्न सरकारी सेवाहरुमा स्थायी पदपूर्तीका लागि क्रियाशिल रहदै आएको छ । तर पछिल्ला केही दशक यता आएर श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तीका लागि कुनै पनि विज्ञापन नखुलाएको तथा लामो समयदेखी कार्यरत कर्मचारीहरुको भविष्यप्रति कुनै चासो एवं पहलकदमी नलिएकोमा आजपाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
लोक सेवा आयोगमा ज्ञापन बुझाउदै आजपाले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सिंहदरबारलाई समेत बुझाएको प्रवक्ता साहले जनाएका छन् । श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि आयोगले विज्ञापन नखुलाउँदा ति कर्मचारीले आफ्नो दुखेसो पोख्दै आएका छन् । यस बारेमा आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसददेखी सडकसम्म आवाज उठाउदै आएका छन् ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौं १७ गते वैशाख । २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । साँझ ७ बजे आह्वान गरिएको बैठकले शिक्षक आन्दोलनका विषयमा निर्णय लिने बताइएको छ ।

सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने भएपछि बैठक बस्न लागेको हो । वार्ता आज पनि भएको थियो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकसहित शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।
शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौँ , १७ गते वैशाख । २०८२
सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।
अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदैछन् ।
बज्जिकाञ्चल संवाददाता, भक्तपुर,१७ गते वैशाख । २०८२
नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकको रूपमा छनोट गरिएको हो ।

उनीहरूले सरल उपकरण तथा मोबाइल प्रविधिको प्रयोगमार्फत वर्षा सम्बन्धी तथ्यांक अभाव रहेका क्षेत्रहरू र काठमाडौँ उपत्यका जस्ता अव्यवस्थित शहरी क्षेत्रहरूमा पानीको अध्ययन गर्नेछन् ।
जल स्रोतको दिगो व्यवस्थापनमा युवाहरूको भूमिका सशक्त बनाउने उद्देश्यले स्मार्टफोन फर वाटर नेपालले कलेजमा जानकारीमूलक आउटरीच कार्यक्रम पनि गरेको छ ।
क्द्धध्(नेपालका प्रमुख कार्यकारी अधिकृत डा। सञ्जीव न्यौपानेले अभियानले दिर्घकालिन जलश्रोत व्यवस्थापनमा टेवा दिने बताए । ‘यो परियोजना केवल तथ्यांक सङ्कलन मात्र होइन, युवाहरूमार्फत स्थानीय स्तरमै क्षमता विकास गर्ने अभियान पनि हो । हाम्रो प्रयासले दीर्घकालीन जल स्रोत दिगोपनामा योगदान दिनेछ ।’ न्यौपानेले भने ।
नेपाल इन्जिनियरिङ कलेजकै पूर्वविद्यार्थी समेत रहेका क्द्धध्(नेपालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको नेतृत्वमा आयोजित कार्यक्रममा परियोजनाको लक्ष्य, कार्यविधि र दीर्घकालीन प्रभावबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख एसोसिएट प्रोफेसर रमेश खनालले बोल्दै भने, ‘हाम्रा आफ्नै पूर्वविद्यार्थी यस्ता सकारात्मक कार्यमा अगाडि देखिनु गर्वको विषय हो । यस्ता कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्ने मौका पाउँछन्, जुन भविष्यमा उनीहरूको काममा उपयोगी हुन्छ ।’
छनोट गरिएका विद्यार्थी तथा सामाजिक वैज्ञानिकहरूलाई तथ्यांक संकलन विधिबारे अभिमुखीकरण गरिएको छ । क्द्धध्(नेपालले नागरिक वैज्ञानिकतालाई प्रोत्साहन गर्दै नेपालमा जल स्रोतसम्बन्धी अनुसन्धान र व्यवस्थापन प्रणालीमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा लिएको छ ।
बज्जिकाञ्चल संवाददाता, १६ गते वैशाख । २०८२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चितवनको सचिवमा रामप्रसाद ढकाल निर्वाचित भएका छन । उमेरले मात्रै २४ टेकेका उनी लोसपाको जिल्ला सचिवमा सर्बसम्मत निर्वाचित भएका हुन ।

चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न जिल्ला भेलाबाट अध्यक्षमा किशोर मण्डल चयन भएका छन । त्यस्तै उपाध्यक्षमा राधा पराजुली, सहसचिवमा सूर्यबहादुर भुजेल, ओमप्रसाद सिम्खडा र कोषाध्यक्षमा राजु भुजेल चयन भएका नवनिर्वाचित सचिब ढकालले जानकारी दिए ।
जिल्ला भेला लोसपाका केन्द्रिय सदस्य सुजनबाबु भट्टराई र हुमकला शर्माको बिशेष उपस्थितीमा सम्पन्न भएको हो । दुबैजना केन्द्रिय सदस्यले नवनिर्वाचित कमिटिलाई बधाई दिदै सशक्त भएर काम गर्न निर्देशन दिएका छन ।
राजिव साह,सर्लाही, १६ गते वैशाख । २०८२
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य तथा सर्लाही क्षेत्र नं. १ का सांसद उपेन्द्र महतोको विशेष पहलमा इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका विभिन्न स्थानहरूमा टावर बत्ती जडान गरिएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न यो योजनाले साँझपख अँध्यारोमा डुब्ने गाउँहरूलाई उज्यालो बनाइदिएको छ।

स्थानीयबासीहरूका अनुसार टावर बत्तीको जडानले गाउँ नै उज्यालो बनेको छ, जसले सुरक्षा र आवागमनमा सहजता ल्याएको छ। इश्वरपुर नगरपालिकाका ९ स्थान र चन्द्रनगर गाउँपालिकाका ९ स्थान जम्मा १८ स्थानमा टावर बत्ती जडान गरिएको प्रदेशसभा सदस्य महतोले जानकारी दिनुभयो।
महतोले भन्नुभयो, “बत्तीको व्यवस्था केवल उज्यालो मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि हो। हामी आगामी दिनहरूमा अझ धेरै स्थानमा यस्ता विकास योजनाहरू अघि बढाउँदैछौं।”
स्थानीय जनप्रतिनिधिहरू तथा सर्वसाधारणले प्रदेशसभा सदस्य महतोको यो प्रयासको प्रशंसा गर्दै आगामी दिनमा यस्ता विकास निर्माणका कार्य निरन्तर भइरहने विश्वास व्यक्त गरेका छन्।
राजिव साह,सर्लाही, १६ गते वैशाख । २०८२
लोकतान्त्रिक मुस्लिम संघले आफ्नो केन्द्रीय समितिको नयाँ नेतृत्वको घोषणा गरेको छ। संघका केन्द्रीय संयोजकमा बारा निवासी डा. कमरुल्लाह अंसारी चयन भएका छन्। संघले एक प्रेस विज्ञप्तिमार्फत नयाँ केन्द्रीय समिति गठनको जानकारी दिएको हो।
संघका अनुसार केन्द्रिय उपाध्यक्षमा मन्सारुल हक (रौतहट) र तबरेज अख्तर आलम (मोरङ) चयन भएका छन्। महासचिवमा कमिल खान (कास्की) रहेका छन् भने केन्द्रीय कोषाध्यक्षमा मोसतकिया नेसा खतुन (बारा)नियुक्त भएका छन्।
२०७८ सालमा स्थापना भएको लोकतान्त्रिक मुस्लिम संघले मुलुकको लोकतान्त्रिक आन्दोलन, मुस्लिम समुदायको अधिकार र पार्टीगत सहभागिता सुनिश्चित गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बज्जिकाञ्चल संवाददाता, रौतहट, १६ गते वैशाख । २०८२
मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।
फर्जी तमसुक खारेज, किसानको जग्गा फिर्ता, पक्राउ पुर्जी खारेजी लगायतका माग राखी गौर नगर परिक्रमा गर्दै अदालतको गेटमा धर्ना दिएको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष शिवशङ्कर महतोले बताउनुभयो ।

धर्ना कार्यक्रम अगाडि मजदुर किसानले जिल्ला अदालतका श्रेस्तेदारमार्फत मुख्य न्यायाधीशलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको लामो सङ्घर्ष पश्चात शोषित उत्पिडित जनसमुदायको पक्षमा अनुचित लेनदेनविरुद्ध कानुन आए पनि पीडितको हकमा कार्यान्वयन नहुँदा निराशा थपिएको ज्ञापनपत्रमा भनिएको छ ।
सम्मानित अदालतले न्यायिक सङ्घर्षको मर्मलाई ध्यानमा राखी पिडित पक्षलाई न्याय दिलाउन पिडितविरुद्ध फैसला तत्काल स्थगित गरि पुनरावलोकन गर्न मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको माग रहेको छ ।
सभार गोरखापत्र




