२०८३ बैशाख १२
२०८३ बैशाख १२

राजिव राय,महाेत्तरी,२७ गते वैशाख ।
मटिहानी — मटिहानी नगरपालिका वडा नम्बर ६ मा अवस्थित मुस्लिम समुदायको कब्रिस्तानमा कम्पाउण्ड वाल निर्माण कार्यको आज एक समारोहबीच औपचारिक शिलान्यास सम्पन्न भएको छ।

उक्त शिलान्यास कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मटिहानी नगर कार्यसमितिका अध्यक्ष श्याम कुमार मण्डल, मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलीम अंसारी तथा वडा नं. ७ का वडा अध्यक्ष जीतनरायण माझीको संयुक्त उपस्थितिमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै नेताहरुले मुस्लिम समुदायको धार्मिक एवं सांस्कृतिक महत्व राख्ने स्थलको संरक्षण र विकासमा स्थानीय तहको जिम्मेवारी उल्लेखनीय रहेको बताए । उनीहरुले कब्रिस्तानको सुरक्षाका लागि कम्पाउण्ड वाल आवश्यक रहेको र यसले समुदायमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

स्थानीयवासीहरुले समेत निर्माण कार्यको स्वागत गर्दै सम्बन्धित निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

काठमाडौं,२६ गते वैशाख – लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको अध्यक्षतामा बसेको उक्त बैठकले संगठन विस्तार र पदाधिकारी छनोट सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले महोत्तरीबाट सुरेन्द्र कुमार सिंह, सर्लाहीबाट मुकेश कुमार झा र अमेरिकाबाट प्रतिनिधित्व गर्दै धिरज बिजीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ। उक्त निर्णयसँगै संघले देश तथा विदेशमा संगठनको उपस्थिति अझ सशक्त बनाउने उद्देश्य लिएको बताइएको छ ।

केन्द्रीय अध्यक्ष वर्माले तीनैजना नयाँ मनोनीत सदस्यलाई बधाई तथा शुभकामना दिँदै भने, “देश, मधेश, पत्रकारिता र हाम्रो पार्टीको हितका लागि यहाँहरूको कार्यकाल उल्लेखनीय हुनेमा पूर्ण विश्वास लिएको छु।”

 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव मनिष मिश्रको विशेष उपस्थिति रहेको थियो । मिश्रले लोकतान्त्रिक मूल्य र पत्रकारिताको सशक्तिकरणका लागि संघको भूमिका महत्वपूर्ण रहेको भन्दै राजनीतिक र वैचारिक दृष्टिकोणले पत्रकारितालाई बलियो बनाउनेतर्फ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष वर्माले संगठनलाई थप व्यापक, गतिशील र उत्तरदायी बनाउने दिशामा यस्ता बैठक र निर्णयहरूले उत्प्रेरणा दिने बताएका छन् ।

मनाेनयन गरिएको पत्रहरू:-

 

राजेश निर्माणी,राैतहट,२६ गते वैशाख । 
रौतहट—वृन्दावन नगरपालिकाले डिजिटल प्रोफाइल निर्माणमा जुटेका छन् ।नगरपालिकाले डिजिटल प्रोफाइल मार्फत नगर भरिकै वास्तविक तथ्यांक संकलन गरेर नगर भित्र रहेका किसान, युवा,विधार्थी,कर्मचारी, अपांग,बिरामी तथा शिक्षा, स्वास्थ्य, कृषि लगायतका पूर्वाधारको स्थिति र पहुँचलाई डिजिटल तथ्यांकमा समावेश गरेर आगामी वर्षको बजेट विनियोजन गर्ने सोचले उक्त प्रोफाइल निर्माणमा तीव्रता दिएका हुन् ।

नगरपालिकाले डिजिटल प्रोफाइल त्यार पार्नका लागि बाह्र जना कर्मचारी न्युक्त गरेका छन् कर्मचारीहरु मध्ये नौ जना गनकहरु लाई घरधुरी संकलन र तिनजनालाई संस्थागत घरधुरी संकलनका लागि न्युक्त गरिएकोछ। र उक्त कर्मचारीहरु नगरपालिकाको नौ ओटै वडाहरुको घरघरमा पुगेर प्रोफाइल पार्नेछन्।

डिजिटल प्रोफाइलले नगरपालिकाको कामकाज प्रभावकारी हुने र प्रोफाइलको आधारमा नीति तथा कार्यक्रम ल्याउन सकिने भएकाले डिजिटल प्रोफाइल निर्माण गरिरहेको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।

‘प्रोफाइलमार्फत नगरपालिकाको मार्गचित्र देखिने भएकाले त्यही अनुसार बजेट विनियोजन गर्न सजिलो हुनेछ,’ उनले भने, ‘नगरपालिकाको दीर्घकालीन योजना निर्माणका लागि समेत डिजिटल प्रोफाइल जरुरी रहेको र तथ्यांकको विश्वसनीयताका लागि समेत डिजिटल प्रविधिमा भण्डारण गर्न थालिएको उनलेे बताए ।

नगरपालिकाका अनुसार बाल विवाह, बहुविवाह, महिनावारी प्रथा लगायतका सामाजिक विकृतिको अवस्थाबारे समेत तथ्यांक राखिनेछ । वृन्दावनमा अहिले बालविवाह र दाइजो प्रथा लगायत अन्य कुरितिहरु रहेकोले प्रोफाइलका आधारमा कार्यक्रम सञ्चालन गरेर प्रथाको अन्त्य गर्न सहज हुने नगरपालिकाले जनाएको छ । शिक्षा, स्वास्थ्य, विद्युत्, सडक र सञ्चार लगायतको पहुँचबारेको सूचांक समेत तथ्यांकमा समावेश गरिनेछ ।

डिजिटल प्रोफाइलमार्फत अहिलेको अवस्था, आगामी वर्षको सम्भाव्यताबारे समेत विश्लेषण गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले बताए । ‘नगरपालिकाको पुरै जानकारी मोवाइल प्रबिधिमार्फत डिजिलाइजेसन गर्ने उदेश्यले डिजिटल प्रोफाइल निर्माण भइरहेको हाकिम भुजेलले बताए।
अब समानुपातिक र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सजिलो हुने उनको भनाइ छ ।

काठमाडौं, वैशाख २६ गते – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा उतराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोशियारी बिच आज सौहार्दपूर्ण भेटवार्ता भएको छ ।

काठमाडौंमा सम्पन्न उक्त भेटघाटमा नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो । दुई देशबीचको आपसी सहयोग, विश्वास र मित्रताको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनुपर्नेमा दुबै पक्षले एकमत व्यक्त गरेका थिए ।

भेटका क्रममा लोसपाका महासचिव मनिष कुमार मिश्र पनि उपस्थित रहनु भएको थियो ।
दुवै नेताहरूबीचको यो भेटघाटले नेपाल-भारत सम्बन्धमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तो प्रकारका उच्चस्तरीय राजनीतिक संवादहरूले दुई देशबीचको परम्परागत मित्रतालाई अझ सुदृढ गर्दै आपसी समझदारी र सहकार्यलाई गहिरो बनाउने अपेक्षा लिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,२६ गते वैशाख ।
रौतहटको कटहरियामा भएको सवारी दुर्टनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । कटहरिया ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरी संग मोटरसाईकल जुधेर घाईते भएका एकजना स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ ।

 

सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको विआर ३००(७९३६ नम्बरको मोटरसाईकल बुधवार दिउँसो पुलको दुईसय मीटर पूर्व पट्टी जुधेको थियो।

दुर्घटनामा गम्भीर घाईते भएका विआर ३००(७९३६ नम्बरको मोटरसाईकल चालक स्थानिय फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादवको उपचारको क्रममा गएराती गण्डक अस्पताल बिरगंजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी डिएसपी दीपक कुमार रायले बताएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा लागिएको बताइएको छ । यता आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार घटनाबारे सदनमा सरकार लाई जानकारी गराएका थिए। उनले कमिसनको चक्करमा तस्कर पक्राउ गर्ने नाउँमा जबरदस्ती दुर्घटना गराउने सशस्त्र प्रहरी माथी कार्वाही र घटनाको छानबिन हुनुपर्ने सरकार संग माग गरेका छन् ।

 

तराई मधेसमा सशस्त्र प्रहरीले कमिसनको चक्करमा परेर किसान, ब्यापारी देखी सर्वसाधारण लाई दुःख दिदैआएकाले त्यस्तो काम तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।

काठमाडौं  – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ ।

बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो निर्णय लिइएको हो ।’

बीसीसीआईले सुरक्षाबलको तयारी र क्षमतामा पूर्ण विश्वास राखे पनि सबै सरोकारवालाको साझा हितलाई ध्यानमा राखेर यो निर्णय लिएको बताएको छ ।

विहीबार धर्मशालामा भएको पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि उक्त क्षेत्रमा रहेका खेलाडी, कर्मचारी र सञ्चारकर्मीलाई सुरक्षित स्थानमा सारिने तयारी गरिएको थियो । धर्मशाला कश्मीर नजिकैको संवेदनशील क्षेत्र हो ।

‘परिस्थितिको पूर्ण मूल्यांकनपछि सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ तालिका र स्थानबारे सूचना सार्वजनिक गरिने,’ बीसीसीआईले जनाएको छ।

आईपीएल २३ मेसम्म चल्ने तालिका थियो । आइपिएलमा कुल १६ खेल बाँकी छन् ।‌

पाकिस्तानले हिजो ड्रोन र मिसाइलमार्फत आफ्ना तीन वटा सैन्य बेसमाथि आक्रमण गरेको आरोप भारतले लगाएको छ। जुन पाकिस्तानले अस्वीकार गरेको छ । मंगलबार साँझ भारतले “अप्रेशन सिन्दूर” नामक सैन्य कारबाही सुरु गरेपछि स्थिति झन तनावपूर्ण बनिरहेको छ ।‌ सभार हाम्रो खेलकुद

रौतहट । विद्यार्थी संख्या न्यून हुँदै गएपछि चन्द्रपुर नगरपालिकाले तीन वटा विद्यालयको तह घटाउनुको साथै एक विद्यालयलाई अर्को विद्यालयमा गाभेको छ ।

चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आठ कक्षा सम्म अध्यापन हुँदै आएको निम्म माध्यमिक विद्यालय चन्द्रपुर–२ असनवालाई नयाँ शैक्षिक सत्रको लागि कक्षा १ देखि कक्षा ३ सम्म अध्यापनको अनुमति दिने निर्णय गरेको छ ।

यस्तै कक्षा ६ सम्म अध्यापन हुने वसन्त आधारभूत विद्यालय बसन्तपुरलाई कक्षा ३ सम्म र ५ कक्षा सम्म अध्यापन हुने जनता प्राथमिक विद्यालय बडहरवा लाई कक्षा ३ सम्म मात्र अध्यापन अनुमति दिने निर्णय भएको छ ।

उता जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्री कृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णय भएको चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले बताए । उनका अनुसार जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मान्यताका साथ विद्यालयको कक्षा घटाइएको हो । अनावश्यक शिक्षक दरबन्दी रहेको पाइएपछि व्यवस्थापनको लागि यस्तो निर्णय गर्नु परेको उनले बताए  । न्यूज अफ नेपालमा रौतहटबाट सञ्जय कार्कीले यो समाचार लेख्नु भएको छ ।

आरके श्रीवास्तव,राैतहट,२६ गते वैशाख ।

कटहरिया । रौतहट जिल्लाको गुजरा नगरपालिका–९, भवानीपुर–अम्तवामा छठघाट निर्माणकाे शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । करिब २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त छठघाटकाे बजेट मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाजकल्याण मन्त्रालयबाट विनियोजन गरिएको हो ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री केशव राय चौधरी रहनु भएको थियो । उहाँले छठ पर्वजस्ता धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भएको हाे ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, उपभोक्ता समिति सदस्यहरू, युवा तथा आमजनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।  स्थानीयवासीहरूले छठघाट निर्माणले धार्मिक, सामाजिक तथा पर्यटकीय दृष्टिकोणले स्थानको महत्व बढ्ने विश्वास व्यक्त गरेका छन् ।

चन्दन यादव,रौतहट,२४ गते वैशाख । 

रौतहट जिल्लाको ईशनाथ नगरपालिका–८ स्थित भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको विभिन्न सामानसहित प्रहरीले एक मोटरसाइकल र तीन साईकल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीको क्रममा भन्सार छली गरेर ल्याइँदै गरेका अन्दाजी रू. ७० हजार ३ सय ८५ बराबरका लत्ताकपडा, किराना तथा अन्य विभिन्न प्रकारका सामानहरू फेला पारेको हो ।

त्यस्तै, ती सामान ढुवानीका लागि प्रयोग गरिएको बिआर ०५एएस२२११ नम्बरको मोटरसाइकल (एक थान) र साईकल तीन थान पनि प्रहरीले बरामद गरेको छ । बरामद गरिएको मोटरसाइकलको अनुमानित मूल्य रू. ५६ हजार रहेको जनाइएको छ ।

समग्र रूपमा रू. १ लाख २६ हजार ३ सय ८५ रूपैयाँ बराबरको सर-सामान, मोटरसाइकल र साईकललाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिएका छन् ।

काठमाण्डौं,२५ गते वैशाख ।

भारतले बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।

भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। यी आक्रमणलाई विफल पारिएको छ। कुनै पनि जनधनको क्षति भएको छैन। भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ।’

भारतका अनुसार पाकिस्तानले हानेका सबै क्षेप्यास्त्र वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको हो।

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने जम्मु कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेका छन्।

ख्वाजा आसिफले भनेका छन्, ‘हामी यसलाई अस्वीकार गर्छौं, हामीले अहिलेसम्म केही गरेका छैनौँ। जब पाकिस्तानले आक्रमण गर्छ, तब सबैलाई थाहा हुनेछ।’

जम्मु कश्मीरमा विस्फोट र ब्ल्याकआउटको रिपोर्ट आएको केही समयपछि ख्वाजा आसिफ बीबीसी हिन्दीसँग कुरा गरिरहेका थिए।

श्रीनगरमा रहेका बीबीसी हिन्दीका संवाददाता मजिद जहाँगिरका अनुसार बिहीबार राति ११ बजेतिर उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र सीमानजिकैका नागरिक क्षेत्रलाई निशाना बनाइएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र भारतका विदेशमन्त्री एस. जयशंकरसँग फोनमा कुराकानी गरी तनाव कम गर्न अपिल गरेका छन्।

बीबीसी हिन्दीका अनुसार हाल जम्मू कश्मीरको राजौरीमा रहेकी संवाददाता दिव्या आर्यले त्यहाँ पूर्ण रूपमा ब्ल्याकआउट भएको बताएकी छन्।

धेरै राज्यमा स्कुल र कलेज बन्द 
बिहीबार राति ८:४५ बजे जम्मु सहरबाट हवाई आक्रमणको जानकारी आउन थाल्यो। यसपछि जम्मु, राजौरी, चण्डीगढ, अमृतसर, धर्मशालालगायत धेरै शहरमा ब्ल्याकआउटको घोषणा गरियो।

समाचार एजेन्सी पीटीआईका अनुसार धेरै सीमावर्ती राज्यहरूले ब्ल्याकआउट आदेश जारी गरेका छन् र शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका छन्। साथै प्रहरी र प्रशासनिक अधिकारीहरूको बिदा पनि रद्द गरिएको छ।

जम्मु कश्मीरमा स्कुल र कलेजसहित सबै शैक्षिक संस्थाहरू बन्द गर्ने आदेश जारी गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पन्जाबका शिक्षामन्त्री हरजोत सिंह बैंसले सरकारले आगामी तीन दिनका लागि राज्यका स्कुल, कलेज र विश्वविद्यालय बन्द गर्न आदेश जारी गरेको बताएका छन्।

राजस्थानको श्रीगंगानगर प्रहरीले रेड अलर्ट जारी गरेको छ र सबैलाई घरमै बस्न निर्देशन दिएको छ।

पन्जाब, हरियाणा, राजस्थान, दिल्ली, गुजरात, पश्चिम बंगाल र बिहारमा कडा नियम लागु गरिएको छ।

यस्तै चण्डीगढ प्रशासनले हवाई आक्रमणको साइरन सक्रिय पारिएको र ब्ल्याकआउट लागु गरिएको बताएको छ।

यसैबीच धर्मशालामा भइरहेको आईपीएल खेल पनि बीचैमा रोकिएको छ।

धर्मशालामा हुने भनिएको पन्जाब किंग्स इलेभेन र दिल्ली क्यापिटल्सबीच खेल रद्द गरिएको छ।

लुधियानाका डीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्धकार हुनेछ, घर भित्रै बस्नुहोस् र झ्यालहरू बन्द गर्नुहोस्। आत्तिनु पर्दैन… नक्कली समाचार, भिडिओ र सन्देशबाट सावधान रहनुहोस्।’ सभार नेपालखबर

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।