२०८३ बैशाख ११
२०८३ बैशाख ११

बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ ०८ गते । 

रौतहटको चन्द्रनिगाहपुरस्थित एएन प्लाजा होटलमा डिभिजन वन कार्यालयको आयोजनामा “वन संरक्षण प्रणालीमा आधारित दिगो वन व्यवस्थापन” विषयक दुईदिने तालिम सुरु भएको छ । तालिम सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गर्दै सुरु गरिएको हो ।

तालिम उद्घाटन समारोहमा डिभिजन वन प्रमुख हेमन्त प्रसाद साहले वन संरक्षण तथा सुशासनका सवालमा कडा धारणा प्रस्तुत गरे । उनले योजनाहरू स्थानीय उपभोक्ताको आवश्यकता अनुसार निर्माण हुनुपर्नेमा जोड दिँदै भने, “काठमाडौँ वा जनकपुरमा बसेर तयार गरिने कार्ययोजनाले वनको दिगो विकास सम्भव छैन। योजना समुदायकै आवश्यकता र वास्तविकता अनुरूप बन्नुपर्छ ।”

उनले सामुदायिक वनमा रूख कटानी गर्दा सुकिसकेका, बुढा, ढलेका वा मर्न लागेको रूख मात्र काट्न निर्देशन दिए। वन सफाइको नाममा हुने अनावश्यक रूख फडानी रोक्न उनले कडा चेतावनी पनि दिए । “यस्तो कार्यमा संलग्न भए कडा कानुनी कारबाही हुनेछ,” साहले स्पष्ट पारे ।

वन क्षेत्रमा अनधिकृत संरचनाहरू—जसमा पोखरी, पैनी, मन्दिर, सामुदायिक भवन आदिको निर्माण भइरहेको सूचनामा प्रतिक्रिया दिँदै उनले भने, “यस्ता संरचना हटाउने प्रक्रिया अघि बढिसकेको छ। सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। अब त्यसमा कसरी भुक्तानी हुन्छ? यस्तो लगानी डुब्ने पक्का छ ।”

साहले सहभागीहरूलाई लाभान्वित घरधुरीको यथार्थ डेटा संकलन गर्न, महिला–पुरुष सहभागीताको विवरण राख्न र तथ्यमा आधारित अभिलेख राख्न आग्रह गरे। उनले वन व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अनिवार्य रहेको उल्लेख गर्दै भने, “सुशासनका लागि कसैसँग सम्झौता हुँदैन ।”

तालिममा डिभिजन वन कार्यालयका विभिन्न विज्ञहरूले सहभागीहरूलाई दिगो वन व्यवस्थापन, वन ऐन तथा नियमावली, र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिइरहेका छन् । तालिममा रौतहट जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिवलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

सहभागीहरूले तालिमबाट आफूहरू थप जिम्मेवार र सचेत हुने विश्वास व्यक्त गरेका छन् । तालिमको उद्देश्य सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यावरणीय सन्तुलन कायम राख्नु र उपभोक्ताको क्षमता अभिवृद्धि गर्नु हो ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०८ गते । 

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय ई.बसन्त कुशवाहा दोस्रोपटक मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् ।  उनले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका छन् ।

यसअघि कुशवाहा तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वको सरकारमा कृषि मन्त्री रहेका थिए ।  दोस्रोपटक मन्त्रिपदमा पुनः नियुक्त भएपछि रौतहटबासीबीच विकासको अपेक्षा अझ बलियो बनेको छ ।

जनमत पार्टीले हालै मधेश प्रदेश सरकारबाट आफ्ना दुई मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । मन्त्री फिर्ता गरिएपछि वसन्त कुशवाहालाई उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

रौतहट जिल्लाबाट पुनः एकपटक मन्त्री नियुक्त भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ भने जिल्लाको समग्र विकासमा नयाँ गति आउने विश्वास गरिएको छ ।

पार्टी तथा शुभेच्छुकहरूले मन्त्री कुशवाहालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

आरके श्रीवास्तव,गरुडा,२०८२ जेठ ०८ गते । 

राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर ४ मा कृषकहरूलाई लक्षित गरी २० वटा कृषि विद्युत पोल गाडिएको छ । स्थानीय कृषकहरूको खेतीपातीमा सहजीकरण गर्ने उद्देश्यले नगरपालिकाले “कृषि विद्युत सञ्जाल विस्तार कार्यक्रम” अन्तर्गत उक्त पोलहरू जडान गरेको हो ।

नगरपालिकाका अनुसार यस कार्यक्रमले किसानहरूलाई सिंचाइ तथा आधुनिक कृषि प्रणालीमा पहुँच सहज बनाउँदै उनीहरूको उत्पादन क्षमतामा वृद्धि गर्ने विश्वास गरिएको छ ।

“नगरवासीहरूलाई आत्मनिर्भर र कृषि उत्पादनमुखी बनाउने हाम्रो अभियान अन्तर्गत यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ,” नगर प्रमुख कन्थमनी जयसवालले बताए ।

नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रमहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । यस अभियानले सम्पूर्ण नगरलाई दीर्घकालीन रुपमा कृषि समृद्धितर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०७ गते जेठ ।
रौतहट जिल्लाको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरको प्रशासनिक कामकाज प्रभावित भएको छ । वैशाख २१ गते प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालसम्म नयाँ अधिकृत पठाएको छैन् ।

बजेट निर्माणदेखि भुक्तानी प्रक्रिया सुरु हुने यो महत्त्वपूर्ण समयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा सबै काम ठप्प भएको नगर प्रमुख सन्तलाल चौधरीले बताए । “हामीले मन्त्रालयमा पटक–पटक अनुरोध गरिरहेका छौं, तर अहिलेसम्म कसैलाई पठाइएको छैन,” उनले भने, “नगरवासीको सेवा र विकास निर्माणका काम प्रभावित भएका छन्।”
उनी भन्छन्-हाकिम सरूवा गर्ने अधिकार मन्त्रालयकाे हाे भने हाकिम पठाउने जिम्मा पनि उसैको हाे । तर हाकिम अहिलेसम्म पठाइएको छैन् । कस्ताे बिडम्बना हाे ?

नगरपालिकामा अहिले चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा योजनाको मूल्यांकन, भुक्तानी, तथा आगामी वर्षको बजेट निर्माणका कार्यहरू तिव्र रूपमा अघि बढाउनु पर्ने अवस्था छ । तर, कार्यालय प्रमुख नहुँदा निर्णय प्रक्रियामा बाधा आएको छ ।

स्थानीय तहका सरोकारवालाहरूले संघीय मन्त्रालयले यस्तो संवेदनशील समयमा अधिकृत नपठाएर नगरपालिकालाई अस्तव्यस्त बनाउने प्रयास गरेको आरोप लगाएका छन् । असार मसान्त आउन २५ दिन मात्र बाँकी रहँदा प्रमुख प्रशासकीय अधिकृतको अभावले समग्र नगर प्रशासनमा अन्योल उत्पन्न भएको छ ।

नगर प्रमुख चौधरीले मन्त्रालयमा पत्राचार र भेटघाटमार्फत प्रमुख प्रशासकीय अधिकृत चाँडै पठाउन पहल भइरहेको बताएका छन् ।

कामरेन्द्र वर्मा,काठमाडौं, जेठ ७ गते । जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, मध्यबानेश्वरमा आज संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतको अध्यक्षतामा बसेको उक्त बैठकले महत्वपूर्ण दुई विषयमा निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारलाई राष्ट्रिय गौरवका आयोजनाहरू तथा प्रमुख राष्ट्रिय आयोजनाहरूको लागि आवश्यक बजेटको सुनिश्चितता गर्न आह्वान गरेको छ । बैठकले विशेषगरी हुलाकी सडक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, चुरे संरक्षण, बाढी नियन्त्रण, सिक्टा तथा बागमती-कमला सिँचाइ आयोजना, त्रियुगा नहर पुनर्निर्माण, उत्तर-दक्षिण सडक तथा अन्य बन्द आयोजनाको पुनः संचालनका लागि चालु आर्थिक वर्षको बजेटमा समावेश गर्न सरकारलाई आग्रह गरेको छ। साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न पनि जोड दिएको छ ।

त्यस्तै बैठकले हाल संसदमा प्रस्तुत गरिएको “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक”प्रति गम्भीर आपत्ति जनाएको छ । मोर्चाले सो विधेयक संविधानविपरीत र असंवैधानिक भएको दाबी गरेको छ। संविधानको अनुसूची ६ अनुसार भूमि व्यवस्थापन प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने भन्दै संघीय संरचनामा हस्तक्षेप गर्ने गरी विधेयक ल्याइएको भन्दै मोर्चाले त्यसको विरोध गरेको हो ।

मोर्चाले सो विधेयक भूमाफिया, भ्रष्टाचारमा लिप्त समूह, रियल स्टेट व्यवसायी तथा वन तस्करहरूलाई लाभ पुग्ने गरी बनाइएको आरोप लगाएको छ । यसबाट वन विनाश, पर्यावरण संकट, जैविक विविधता ह्रास हुँदै तराई/मधेश क्षेत्रमा मरुभूमिकरणको खतरा समेत उत्पन्न हुने चेतावनी दिएको छ। साथै, आन्तरिक बसाइँसराइँले तराई/मधेशमा जनसंख्या विस्फोटको अवस्था सिर्जना हुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

मोर्चाले देश र जनताको हितविपरीत रहेको भन्दै उक्त विधेयक तत्काल फिर्ता लिन सरकारलाई माग गरेको छ । माेर्चामा मधेशकेन्द्रित ७ राजनीतिक दलहरू आबद्ध छन् । गत चैत्र २१ गते मोर्चा गठन गरेकाे थियाे । बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयश त्रिपाठी सहित माेर्चामा आबद्ध दलका नेताहरू सहभागी थिए ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०६ गते जेठ ।
रौतहटकाे फतुवा विजयपुर नगरपालिकाका ११ वटै वडाका अध्यक्षहरूले एकैसाथ प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापन पत्र बुझाउँदै कार्यवाहक नगर प्रमुख अम्बेया खातुन द्वारा गरिएका कानुनविपरीतका कार्यहरूप्रति कडा आपत्ति जनाएका छन् ।

उनीहरूले नगरप्रमुखले जनप्रतिनिधिको मूल्य र मान्यता बिर्सेर विधि र विधानको उल्लंघन गर्दै कानुनी शासनको धज्जी उडाउने किसिमले नगर कार्यपालिकाबाट कार्य सम्पादन गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापन पत्रमा नगर प्रमुखले विगतको योजना कार्यान्वयन नगरी पुरानै कामलाई योजना देखाई कर्मचारीलाई भुक्तानीको लागि दबाब दिएको भन्दै यस विषयमा छानबिन गर्न माग गरिएको छ । साथै, बजेटको रकमान्तर प्रक्रिया, वडा स्तरीय योजनाको कार्यान्वयन र भुक्तानी प्रक्रिया, तथा नगर प्रशासनिक भवन र वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रियाको तत्काल अगाडि बढाउन आग्रह गरिएको छ ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षहरूमा वडा नं. १ का विजय कुमार यादव, वडा नं. २ का अनिरुद्ध प्रसाद यादव(संजय), वडा नं. ३ का रामेश्वर प्रसाद यादव, वडा नं. ४ का सतिस कुमार यादव, वडा नं. ५ का शेख एजाज अहमद, वडा नं. ६ का रामएकवाल राय यादव, वडा नं. ७ का रामविश्वास राय यादव, वडा नं. ८ का नितेश कुमार चौधरी, वडा नं. ९ का राकेश यादव, वडा नं. १० का मंजय कुमार चौधरी, र वडा नं. ११ का ज्ञानेन्द्र चौधरी रहेका छन् ।

उनीहरूले जनप्रतिनिधिहरूको सहभागिता विना गरिने निर्णयहरू लोकतान्त्रिक मूल्य र सुशासनका विरुद्ध रहेको भन्दै नगर प्रमुखको कार्यशैली प्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०६ गते ।
लाेसपा नेपाल मधेस प्रदेशका संसदीय दलका नेता जयनुल राईनसँग पार्टीका केन्द्रीय सदस्य रामप्रवेश दास र लोकतान्त्रिक पत्रकार संघ रौतहटका अध्यक्ष आरके श्रीवास्तवले भेटघाट गरेका छन् । जनकपुरमा भएको उक्त भेटमा तिनै जना बिच समसामयिक राजनीतिक अवस्था, मधेसका मुद्दा, पत्रकारिता तथा लोकतान्त्रिक मूल्य–मान्यताका सवालमा गहिरो कुराकानी भएको थियाे ।

भेटपछि नेता जयनुल राईनले भने, “मधेसको हकहितलाई मजबुत बनाउने सवालमा हामी स्पष्ट र दृढ छौं । पत्रकारिता र बुद्धिजीवी वर्गसँग सहकार्य गर्दै अघि बढ्ने योजना छ।”

केन्द्रीय सदस्य रामप्रवेश दासले पार्टी भित्रको एकता र अनुशासनलाई मजबुत पार्दै जनताको आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् “हामी संगठनलाई अझ सुदृढ बनाउँदै जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौं,” उनले भने।

पार्टीका नेता कार्यकर्ताहरूलाई सम्बाेधन गरेर बढ्न संसदीय दलका नेता राईनलाई आग्रह गरेका छन् । जवाफमा उनले मधेस प्रदेशकाे आठै जिल्लाका नेता कार्यकर्ताहरू सम्बाेधन गराउन पहल गरिरहेकाे प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, पत्रकार संघ अध्यक्ष आरके श्रीवास्तवले स्वतन्त्र, जिम्मेवार र लोकतान्त्रिक पत्रकारिताको महत्त्व उल्लेख गर्दै भने, “राजनीतिक नेतृत्व र पत्रकारिता बीच सकारात्मक सम्वाद जरुरी छ । मधेसका मुद्दामा पत्रकारिता संयमित, तथ्यपरक र सशक्त हुनुपर्छ।”

भेटघाट मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको थियो र सहभागीहरूले आपसी सहकार्यलाई निरन्तरता दिने सहमति समेत जनाएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०६ । 

राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री प्राथमिक विद्यालय बडेडवामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा १ सय ३१ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी रू. ४ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

उक्त कार्यक्रम कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य तथा शिक्षक छनौट समितिका अध्यक्ष मनोज जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रमको विशेष उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर प्रसाद यादव, प्रधानाध्यापक रामअयोध्या यादव, वडा सदस्य सुरेश राय यादव, विद्यालयका सबै शिक्षक-शिक्षिका तथा समिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रमले विद्यार्थीहरूमा थप प्रेरणा जागृत गर्ने विश्वास व्यक्त गर्दै अतिथि वक्ताहरूले शिक्षाको महत्वमा जोड दिएका थिए । विद्यालय प्रशासनले पनि आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०६ ।
राैतहट — लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार सर्लाहीकी सुस्मिता लाललाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले उनलाई मनोनयन गरिएको जानकारी दिँदै शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष वर्माले मनाेनयन पत्रमार्फत देश, मधेश, पत्रकारिता क्षेत्र तथा पार्टीको हितमा लालको कार्यकाल उल्लेखनीय हुने विश्वास व्यक्त गर्दै हार्दिक बधाई दिएका छन् ।

नवनियुक्त केन्द्रीय सदस्य सुस्मिता लाल लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छन् । उनले विगत एक दशकदेखि स्थानीय तथा राष्ट्रिय मिडियामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । केन्द्रीय सदस्यको हैसियतले उनले प्रेस स्वतन्त्रता, पेशागत मर्यादा र पत्रकार हितका लागि थप प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

आरके श्रीवास्तव,गरूडा,०५ गते जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित गैडाटार क्षेत्रमा भइरहेको वन अतिक्रमण, अवैध सिसौ कटानी तथा चुरे क्षेत्रबाट ढुंगा–गिट्टी तस्करीविरुद्ध चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल, रौतहटले सोमबार डिभिजन वन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

जिल्ला संयोजक अमिरी सहनीको नेतृत्वमा आयोजित उक्त प्रदर्शनमा दर्जनौं अभियन्ताहरू सहभागी थिए । उनीहरूले वन मन्त्रालय र डिभिजन वन कार्यालयमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै मधेस प्रदेशका वनमन्त्री त्रिभुवन साहको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीहरूको भनाइ अनुसार गैडाटार क्षेत्रमा करिब पाँच बिगाहा वनभूमि अतिक्रमण गरिएको छ भने सयौं सिसौका रुखहरू अवैध रूपमा काटिएको छ । साथै चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा तस्करी भई वन स्रोतमा गम्भीर क्षति पुगेको आरोप लगाइएको छ ।

अभियन्ता राजेश भण्डारीले भने, “वन कार्यालयले सर्वसाधारणलाई काठ वितरण नगरी ठेकदारहरूलाई १४–१५ सय रूपैयाँ प्रति क्युफिट दरमा टेन्डर दिने गरेको छ । जसमा उच्च तहसम्मको मिलोमतो स्पष्ट देखिन्छ ।”

प्रदर्शनमा चुरे अभियन्ताहरू नन्दकिशोर राम,उपेन्द्र यादव, अनिता यादव, निरज साह लगायत चुरे अभियन्ताहरूको सक्रिय सहभागिता थियो । उनीहरूले ‘चुरे दोहन बन्द गर’, ‘कमिसनखोर वन सचिव प्रदेश छोड’, र ‘अतिक्रमणकारी डिएफओलाई कारबाही गर’ भन्ने नारा पनि लगाएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।