२०८३ बैशाख ११
२०८३ बैशाख ११

संजय गुप्ता,सर्लाही,११ गते जेठ ।

बरहथवा— सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ३ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय, हजरियामा नयाँ दुईकोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । विद्यालय भवनको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य प्रमोद प्रसाद रौनियारले गर्नु भएको हो ।

शिलान्यास समारोहमा बोल्दै नेता रौनियारले शिक्षा क्षेत्रमा पूर्वाधार विकासमार्फत गुणस्तरीय शिक्षा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “विद्यार्थीहरूले सुरक्षित र शैक्षिक वातावरणमा पढ्न पाउनु उनीहरूको आधारभूत अधिकार हो । आज गरिएको शिलान्यास त्यो अधिकार सुनिश्चितताका लागि एउटा महत्वपूर्ण पाइला हो ।”

उहाँले मधेस प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको बजेटमा भवन निर्माण कार्य सुरु गरिएको जानकारी दिनुभयो । “प्रदेश सरकारको सहयोगमा हामी गाउँगाउँमा शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यमा छौँ,” उहाँले थप भन्नुभयो ।

श्री सरस्वती माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा रौनियारले शिक्षा नै समाज रुपान्तरणको बलियो माध्यम भएको भन्दै सबैलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।

नयाँ भवन निर्माणले विद्यालयको पठनपाठन गतिविधिमा थप सुधार आउने विश्वास गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ १० गते ।
गरूडा – रौतहटको गरूडामा नवसर्जक साहित्यकारहरूकाे सक्रिय सहभागितामा एकदिने साहित्य सिर्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । शनिबार गरूडा स्थित नमूना माध्यमिक विद्यालयमा नवसर्जक साहित्य चौतारी नेपाल मधेस प्रदेशकाे आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत नवसर्जकहरू सहभागी भएका थिए ।

साहित्यप्रति अभिरुचि बढाउने र कविता लेखनमा उत्प्रेरित गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमकाे प्रमुख प्रशिक्षककाे रूपमा बज्जिका अभियन्ता तथा साहित्यकार संजय साह मित्रले प्रशिक्षण प्रदान गरेका थिए । उनले कविता लेखनका विभिन्न पाटाहरूमा सहभागीहरूलाई मार्गदर्शन गर्दै साहित्य सिर्जनामा लाग्न प्रेरित गरेका थिए ।

कार्यक्रम नवसर्जक साहित्य चौतारी मधेस प्रदेश अध्यक्ष अभिजित रामको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक सन्तोष न्यौपाने, धनदेव जोशी र हरि जिसीले पनि नवसर्जकहरूलाई साहित्यिक सिर्जनाको महत्त्व र अभ्यासका तरिकाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बज्जिकाञ्चल मिडिया प्रा.लि.का सञ्चालक आरके श्रीवास्तव, बज्जिकाञ्चल दैनिकका सह-सम्पादक चन्दन यादव, स्थानीय पोस्ट साप्ताहिकका सञ्चालक एवं सम्पादक आरएन पटेल तथा प्रकाशनको तयारीमा रहेको बज्जिदूत साप्ताहिकका प्रकाशक/सम्पादक देवेन्द्र चौधरीले नवसर्जकहरूद्वारा सिर्जित रचनाहरू आ-आफ्ना पत्रपत्रिकामा प्रकाशन गर्ने प्रतिबद्धता जनाएका थिए ।

साहित्यिक गतिविधिलाई गाउँ-नगरस्तरसम्म विस्तार गर्ने अभियानस्वरूप गरिएको यस कार्यक्रमले रौतहट जिल्लामा नयाँ पुस्ताका साहित्यकार उत्पादनमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ ०९ गते ।

चुरे तथा वनजंगल संरक्षण अभियानले मधेश प्रदेशका वन सचिव उद्धव घिमिरेलाई तत्काल बर्खास्त गरी कारबाहीको माग गरेको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिमा अभियानले घिमिरेमाथि गम्भीर लापरवाही र वन संरक्षणमा असक्षमता देखाएको आरोप लगाउँदै उनलाई अन्यत्र सरुवा गरी योग्य व्यक्तिको नियुक्तिको माग गरेको हो ।

रौतहट डिभिजनका विभिन्न सव-डिभिजन कार्यालयहरू — गैडाटार, चन्द्रपुर, वृन्दावन, चोचा र पौराही क्षेत्रमा फैलिएको अवैध वन अतिक्रमण, काठ तस्करी र सरकारी संरचना निर्माणप्रति अभियानले गम्भीर चिन्ता व्यक्त गरेको छ। विशेष गरी चन्द्रपुर–२ मा पाँच बिगाहा भन्दा बढी वन क्षेत्र अतिक्रमण भई सयौं सिसौका रुख फँडानी गरिएको दाबी गरिएको छ ।

Oplus_0

अभियानले सार्वजनिक गरेको भिडियोमा अतिक्रमणको प्रमाण देखिएपछि उक्त प्रमाण मेटाउने उद्देश्यले वैशाख महिनाको अत्यधिक गर्मीमा वृक्षारोपण गरिएको उल्लेख छ। यस्तै, गुजरा–३ स्थित सिम्री सिक्टि टोलमा झण्डै पाँच बिगाहा वनमा मकै खेती भइसकेको छ।

२०८१ पुसमा भएको काठ लिलामी प्रक्रियामा समेत अनियमितता भएको भन्दै अभियानले राजदेवी, परवेज, सुरज, आरएन, कल्याणी, नन्दनी, सुरेन्द्र, लक्ष्मी लगायत काठ मिलहरूसँग गोप्य अवैध सम्झौता गरिएको आरोप लगाएको छ। रु. २२०० को दरमा काठ बिक्री गर्नुपर्नेमा रु. १४८० मा टेन्डर गरिएर राज्यलाई ठगी भएको दाबी गरिएको छ।

अभियानले मधेश प्रदेश सरकार, वन मन्त्रालय र सम्बन्धित निकायहरूलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै, चुरे तथा वनजंगल संरक्षणमा सबै सरोकारवालाहरू — राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाज — को सक्रिय सहकार्यको आवश्यकता औंल्याएको छ।

यसैबीच, पूर्व वनमन्त्रीको बर्खास्तीलाई अभियानले सकारात्मक कदम भन्दै स्वागत गरेको छ र नव नियुक्त वनमन्त्री सञ्जय यादवलाई सफल कार्यकालको शुभकामना दिएको छ। मुख्यमन्त्री सतिश सिंहलाई वैशाख २१ मा बुझाइएको ज्ञापनपत्रपछि सुरु भएको विरोध कार्यक्रमले मन्त्री बर्खास्तीको मार्ग प्रशस्त गरेको अभियानको दाबी छ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०९ गते । 

“निर्वाचन अघि जनतालाई दिएका वाचाहरू जस्तै कोल्ड स्टोर, सय शय्याको नगर अस्पताल र प्रत्येक गाउँमा पक्की सडक निर्माण मेरो पहिलो प्राथमिकता हो,” नगरप्रमुख जलन्धर सिंह जैसवारले स्थानीय तहको भूमिकाबारे आयोजित न्युज २४ को ‘सीधा कुरा मेयरसँग’ कार्यक्रममा स्पष्ट पारेका छन् ।

शुक्रवार पचरौता नगरपालिका अन्तर्गत बेनाैली बजारमा सम्पन्न कार्यक्रमकाे प्रत्यक्ष प्रसारण गरिएको थियो । स्थानीय तहको अधिकार, सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा छलफल गरिएको कार्यक्रममा सिंहले आफ्नो तिन वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन् ।

नगरप्रमुख जैसवारले नगरभित्र सुशासनसहितको समावेशी विकासमा जोड दिँदै, “सहमति, सहकार्य र पारदर्शितामार्फत विकास योजनाहरू अघि बढाइँदैछ,” भने । उनले एमबिबिएस अध्ययनका लागि एक छात्र र एक छात्रालाई वार्षिक १०/१० लाख रुपैयाँ छात्रवृत्ति दिने र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने योजना सार्वजनिक गरेका छन् ।

कार्यक्रममा सहभागी भएका वडा अध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र सूचना प्रवाह सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रम न्युज २४ का प्रस्तोता सुमन ढुंगानाले सञ्चालन गरेकाे पचराैता नगरपालिकाका नगर प्रवक्ता लक्ष्मी यादवले जानकारी गराएका हुन् ।

काठमाडौं,२०८२ जेठ ०९ गते । 

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गरेको छ ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले शुक्रबार लामिछानेलाई थुनामुक्त गराउन दायर गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको हो ।

अब सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा जिल्ला अदालत रूपन्देहीबाट टुंगो नलागेसम्म लामिछाने थुनामा रहने छन् । उनी थुनामुक्त हुन जिल्ला अदालतबाट सफाइ पाउनुका साथै अन्य आरोपहरूबाट समेत उन्मुक्त हुनुपर्नेछ ।

सुप्रिम सहकारी प्रकरणमा उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने निर्णय गरेको थियो ।

उक्त आदेशविरुद्ध लामिछाने पत्नी पाैडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणसहित आदेश बदरको निवेदन दर्ता गराएका थिए  । सभार फरकधार

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी सरकारकै संलग्नतामा भईरहेको बताएका छन् ।

काठमाडौं सिंहदरवार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज (शुक्रबार) पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए ।

‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईरहेको छ । एयरपोर्टबाटै सरकारकै संलग्नता एवं सेटिङमा भईरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजी मौनता साधनु र गृहमन्त्रीजी प्रतिक्रिया विहिन हुनु भनेको सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ ।’

नक्कली भुटानी शरणार्थी घटनालाई नै विर्साउँने गरी एयरपोर्टबाटै भिटिज भिसाको नाममा भईरहेको मानव तस्करी घटनामा प्रधानमन्त्री ओली किन मौन बसेको भन्दै उनले प्रश्न उठाएका छन् । उनले प्रश्न गर्दै भने, ‘एयरपोर्टबाट खुलेयाम मानव तस्करीको बिषय सार्वजनिक भईराख्दा प्रधानमन्त्री ओली बोल्नुपर्दैन ? के यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्दैन् ? यो गम्भिर प्रश्न हो, सरकारले जवाफ दिनुपर्छ, अलिकति नैतिकता छ भने नैतिकता प्रदर्शन गर्नुपर्छ ।’

एयरपोर्टबाटै सरकारकै संलग्नता र प्रत्यक्ष सेटिङमा भिजिट भिसाको नाममा भईरहेको मानव तस्करी घटनाले नक्कली भुटानी शरणार्थी काण्ड समेत विर्साउने गरि रहेको टिप्पणी उनले गरे । उनले भने, ‘हाम्रै चेलीबेटी समेतलाई बेचेर लुट्ने सरकारको विकल्प खोज्नुपर्छ । भुटानी शरणार्थी घटनालाई विर्साउने गरी भईरहेको एयरपोर्टको मानव तस्करीमा कांग्रेस र एमालेकै नेताहरुको संलग्नता देखियो ।’

पहिला पनि कांग्रेस–एमालेकै नेताहरु प्रत्यक्ष संलग्न रहेको भुटानी शरणार्थी काण्ड सबैलाई जानकारी भएकै बिषय भएको बताउदै उनले अहिले पनि नेपाली चेलिबेटी समेतलाई लुटने, मानव तस्करी गर्ने काम दुई तिहाईको शक्तिशाली सरकारले गर्नु दुखद भएको बताए ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०९ गते । राैतहट जिल्लाको कटहरिया नगरपालिका–५ मा अवस्थित माध्यामिक विद्यालय वलिरामपुरमा आज एक स्वागत कार्यक्रम आयोजना गरी नवआगन्तुक प्रधानाध्यापक अनिल कुमार निधिलाई स्वागत गरिएको छ ।

अनिल कुमार निधि कटहरिया नगरपालिकाको शिक्षा शाखामा समेत सक्रिय रहँदै आएका छन् । शिक्षा क्षेत्रमा लामो अनुभव बोकेका निधिले वलिरामपुर माविमा प्राचार्यको रूपमा कार्यभार सम्हाल्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक निधिले विद्यालयको गुणस्तरीय शिक्षामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षसँग सहकार्यमा अघि बढ्ने जनाएका छन् ।

कटहरिया नगरपालिका शिक्षा शाखाले समेत प्रधानाध्यापक निधिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

 

राजेश निर्माणी,राैतहट,२०८२ जेठ ०९  । 
रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शुक्रबार एक समारोहका बीच विद्यालय भवनको शिलान्यास गरेका छन् ।

वृन्दावन नगरपालिका वडा नम्बर २ स्थित श्री नेपाल माध्यमिक विद्यालय,बिश्रामपुरमा आयोजित कार्यक्रममा मेयर कुर्मीले ३५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सुविधा सम्पन्न दुईतले भवनको शिलान्यास गरेका छन् ।

उक्त विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरू खुला चौरमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका थिए। सोही अभाव हटाउने र शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले भवन निर्माण थालिएको नगरप्रमुख कुर्मीले जानकारी दिएका छन् ।

उनका अनुसार विद्यालयकै जमिनमा पठनपाठनको सहज वातावरण सिर्जना गर्न नगरपालिका आफैंले बजेट विनियोजन गरी भवन निर्माण प्रक्रिया अघि बढाएको हो ।

स्थानीय बासिन्दा, विद्यालय परिवार तथा विद्यार्थीहरूले उक्त कदमलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,गरूडा,०९ गते जेठ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा राैतहटकाे परोहा नगरपालिका–७ मा २५ लाख रुपैयाँको लागतमा सडक ढलान कार्य सुरु गरिएको छ । सो सडक निर्माणको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश सचिव ओम लोक पटेलले एक कार्यक्रमकाबीच गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पटेलले भने, “स्थानीय तहको समुचित विकास बिना समृद्धि सम्भव छैन । जनताको प्रत्यक्ष सुविधा हुने पूर्वाधार निर्माणमा हामी प्रतिबद्ध छौं । यो सडक ढलान परियोजना परोहाका बासिन्दाको लागि सुविधा र गर्वको विषय हो ।”

उनले थपे, “मधेसका प्रत्येक वस्तीमा बाटो, बिजुली, पानी र शिक्षा स्वास्थ्य जस्ता आधारभूत पूर्वाधार पुर्‍याउने हाम्रो लक्ष्य हो। हामी जनतासँग गरेका वाचा पूरा गर्दै अघि बढिरहेका छौं ।”

सडक ढलान सम्पन्न भएपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरूले आवागमनमा सहजता पाउने र वर्षायाममा देखिने समस्याहरूको समाधान हुने विश्वास लिइएको छ । परियोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गरिने उनले जानकारी गराएका हुन् ।

कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी तथा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बैतडी- बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ । सभार नेपालटिभि अनलाइन

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।