२०८३ श्रावण १
२०८३ श्रावण १

बज्जिकाञ्चल संवाददाता,सावन ३१ गते । 

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ। नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर पेट्रोलको मूल्य बढाएको हो। डिजेल र मट्टिटेलमा भने एक रूपैयाँ घटाइएको छ।

योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ।

सुर्खेत र दाङ डिपोअन्तर्गत क्षेत्रमा पेट्रोल १६० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५८.५० रुपैयाँ र डिजेल/मट्टितेल १४६.५० रुपैयाँ पर्ने निगमले जनाएको छ।

बज्जिकाञ्चल संवाददाता,३१ गतो सावन ।

अगस्त २, २०२५, शुक्रबार मस्कटमा सम्पन्न ओमान नेपाली एकता समाजको केन्द्रीय समितिको बैठक अध्यक्ष छबिलाल बस्नेतको अध्यक्षता र महासचिव बिष्णु अर्यालको सञ्चालनमा सम्पन्न भयो।
बैठकको रिपोर्टिङ क्रममा गत बैठकदेखि हालसम्म विभिन्न समस्यामा परेका ६ जना घरेलु महिला कामदार र ९ जना अवैधानिक रुपमा बसेका ७ जना over stay गरि बसेका लाई दूतावाससँगको समन्वय र केहीलाई व्यक्तिगत पहलमार्फत स्वदेश पठाइएको जानकारी गराउदै यस महत्वपूर्ण मानवीय सहयोगका लागि उपाध्यक्ष सोभाराम पुनले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
बैठकले व्यक्तिगत कारणले राजीनामा दिएका कोषाध्यक्ष दिपक रम्तेल तथा सदस्य आकाश नेपाली र गौतम श्रेष्ठको राजीनामा स्वीकृत गर्दै, कोषाध्यक्षमा धनु कुवर र केन्द्रीय सदस्यमा नवराज आचार्य, रुद्र अर्याल तथा लक्ष्मी केसीलाई नियुक्त गर्ने निर्णय गर्‍यो।
साथै बैठकमा सांगठनिक सुदृढीकरण, सामाजिक योगदान र भविष्यमा सञ्चालन हुने कार्यक्रमहरूबारे व्यापक छलफल भएको थियो। अन्त्यमा आलोचना–आत्मआलोचनासहित सौहार्दपूर्ण वातावरणमा बैठक सम्पन्न गरियो।

काठमाडौं–

हिन्दू धर्मावलम्बीले सर्वाधिक मान्ने भगवानका रुपमा श्रीकृष्ण हुन्। जसले महाभारतमा पाण्डवको जीतलाई अधर्ममाथि धर्मका लागि संघर्ष रहेको बताएका थिए।

राम मर्यादाको कसीमा रहेका भगवान थिए भने कृष्ण धर्मका निम्ति मर्यादाको कसीमा बस्न हुन्न भन्ने मान्यताका मानक पनि बनेका छन्।
श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्म मान्ने सबैले श्रद्धाका साथ मानाउने गर्छन्।

भगवान श्रीकृष्णको जन्म कथा हिन्दू धर्मको सर्वाधिक पूजनीय र रोचक प्रसङ्गहरूमध्ये एक हो। उहाँको जन्म महाभारत, विष्णु पुराण, भागवत पुराण लगायतका ग्रन्थहरूमा विस्तारपूर्वक वर्णन गरिएको छ। उहाँलाई विष्णुको आठौँ अवतार मानिन्छ, जसको उद्देश्य पृथ्वीलाई अधर्म, अत्याचार र दुष्ट शक्तिहरूबाट मुक्त गराउनु थियो।

द्वापर युगमा मथुराको राज्यमा राजा उग्रसेन शासन गर्थे। तर उनको छोरा कंश अत्यन्त महत्वाकांक्षी, कठोर र निर्दयी स्वभावको थियो। कंशले आफ्नै बुबालाई कारागारमा हालेर राज्य हत्याएर अधिनायक बने। उसले प्रजा र सज्जनहरूमाथि अत्याचार सुरु ग¥यो। अधर्म र अन्यायको यस्तो घना अन्धकार फैलँदा देवता र ऋषिहरूले भगवान विष्णुसँग प्रार्थना गरे कि पृथ्वीलाई अत्याचारबाट मुक्त गर्न उहाँ अवतार लिनुहोस्।

कंशकी बहिनी देवकीको विवाह यदुवंशी राजकुमार वसुदेवसँग भयो। विवाह समारोहमा कंश स्वयं देवकीलाई रथमा राखेर वसुदेवको घरसम्म पु¥याउन निस्कियो। तर बाटोमै एक दैवी आवाज गुञ्जियोः

“हे कंश! तेरो बहिनी देवकीको गर्भबाट जन्मिने आठौँ सन्तान नै तेरो मृत्युको कारण हुनेछ।”

यो वचन सुनेर कंशको अनुहार रातो भयो। ऊ क्रुद्ध भई तुरुन्तै बहिनी देवकीलाई मार्न खंजर निकाल्यो। वसुदेवले हात जोड्दै प्रार्थना गरे, “हे राजन! देवकी तिम्री बहिनी हुन्, उनलाई मार्नु अधर्म हुनेछ। तर तिमी नडराऊ, हामीले जन्मने प्रत्येक सन्तानलाई तिमीलाई बुझाइदिने वचन दिन्छौँ।” कंशले यो शर्त स्वीकार ग¥यो र उनीहरूलाई कारागारमा थुन्यो।

कारागारमै देवकीले पहिलो सन्तान जन्माइन्। वसुदेवले वचनअनुसार शिशुलाई कंशलाई बुझाए। कंशले निर्दयतापूर्वक बालकलाई पिटेर हत्या ग¥यो। यसरी एकपछि अर्को गरी छ वटा सन्तानहरूको हत्या गरियो। सातौँ गर्भमा विष्णुको अंश ष्लअबचलबतभ भई बालकको रूपमा अवतार लिनुहुन्थ्यो। तर योगमायाले गर्भलाई देवकीबाट निस्केर वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा स्थानान्तरण गरिदिइन्। यसरी सातौँ सन्तान बलराम (संकरशन) गोकुलमा जन्मिए।

देवकीको आठौँ गर्भ विष्णु स्वयंले धारण गर्नुभयो। समय पुगेपछि भाद्रपद कृष्णाष्टमीको मध्यरात्रि, घोर अन्धकार र वर्षात्बीच भगवान विष्णु चतुर्भुज रूपमा कारागारमा प्रकट हुनुभयो। उहाँले शंख, चक्र, गदा र पद्म धारण गर्नुभएको थियो। देवकी–वसुदेव दम्पती भगवानको दिव्य रूप देखेर विस्मित भए र पूजा गरे। भगवानले भन्नुभयो,

“अब म तिमीहरूको पुत्र कृष्णको रूपमा जन्मिन्छु। मेरो बाल रूपलाई गोपग्राम गोकुलमा पु¥याएर यशोदा र नन्दलाई सुम्प देऊ। उनीहरूको नवजात कन्यालाई लिएर यहाँ ल्याउ।”

त्यसपछि भगवानले आफ्नो रूप परिवर्तन गरी साधारण बालकको रूपमा परिणत हुनुभयो।

जन्म क्षणमै चमत्कार भए। कारागारका सबै ताल्चा आफैं खुल्न थाले, पहरेदारहरू गाढा निद्रामा परे, बन्धन आफैं टुटे। वसुदेवले बालकलाई टोकरीमा राखेर यमुना नदीतिर लागे। त्यो रात आकाशमा बादल गर्जिरहेका थिए, तर वसुदेवलाई रोक्ने शक्ति कसैमा थिएन।

यमुना नदी उफ्रिँदै बगिरहेको थियो। वसुदेव टोकरीमा बालक राखी नदी पार गर्न लाग्दा पानी कम्मरसम्म पुग्यो। बीचमा नदी अझै उफ्रियो, तर शेषनाग प्रकट भई आफ्नो विशाल फण फैलाएर बालकलाई वर्षा र जोखिमबाट बचाए। यसरी वसुदेवले सुरक्षित तरिकाले गोकुल पुगेर बालकलाई यशोदा–नन्दको घरमा राखे।

यशोदाले त्यतिखेर पनि एक बालिका जन्माएकी थिइन्। वसुदेवले कृष्णलाई त्यहाँ राखी बालिकालाई लिएर पुनः कारागार फर्के। सबै ढोका फेरि आफैं बन्द भए, पहरेदारहरू जुरुक्क उठे र बच्चाको रोदन सुने। तत्कालै कंशलाई खबर गरियो। कंशले सोचे, “अब मेरो मृत्यु सुनिश्चित छैन, कारण भविष्यवाणी त आठौँ सन्तानबारे थियो।” उसले क्रुद्ध भई बालिकालाई ढुंगामा बजारेर मार्न खोज्यो।

तर बालिका अचानक देवी महाकालीको रूपमै आकाशमा प्रकट भइन् र भनिन्, “हे मूर्ख कंश! तिमीले जसलाई मार्न खोज्दैछौ, तिम्रो मृत्यु त पहिल्यै जन्मिसकेको छ र गोकुलमा पलाइरहेको छ।”

त्यसपछि देवी अन्तध्र्यान भइन्।

यसरी कृष्ण गोकुलमा नन्द र यशोदाका सन्तानका रूपमा हुर्कन थाले। उहाँको दिव्य लीलाले गोकुलभरि आनन्द र उत्सव छायो। अर्कोतर्फ, कंश निरन्तर डरमा बाँच्न थाल्यो र बालक कृष्णलाई मार्न विभिन्न असुरहरू पठायो, तर सबैलाई कृष्णले नष्ट गर्नुभयो।

भगवान श्रीकृष्णको जन्म केवल एउटा मानवीय घटना थिएन, त्यो अधर्ममाथि धर्मको विजयको घोषणा थियो। कारागारको अन्धकारमा जन्मिए पनि उहाँले विश्वलाई उज्यालो दिनुभयो। उहाँको जन्मकथाले देखाउँछ कि जब अधर्म बढ्छ, तब परमात्मा कुनै न कुनै रूप धारण गरेर सज्जनहरूको रक्षाका लागि अवश्य अवतार लिन्छन्।

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको  तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताउनु भएको छ ।

पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को वर्गीय संगठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकपश्चात गठन भएको वर्गीय संगठन समन्वय समिति अन्तर्गत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सुकुम्बासी संघ रहेका छन् । तीन वटै संगठनका फ्र्याक्सन इन्चार्जहरू सदस्य रहेको वर्गीय संगठन समन्यव समितिको इन्चार्जमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा रहनुभएको छ।

नेकपा (माओवादी केन्द्र) ले किसान, मजदुर र सुकुम्बासीको हक, हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “किसान, मजदुर र सुकुम्बासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र अखिल नेपाल सुकुम्बासी संघ हाम्रो पार्टीका आधारभूत वर्गका सबैभन्दा महत्त्वपूर्ण संगठन हुन् ।”

उहाँले पार्टीको भर्खरै सम्पन्न स्थायी समितिको बैठकले पार्टीमा एक अभूतपूर्व एकता कायम भएको, पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको र पार्टी अब सुदृढ एकतासहित अघि बढ्ने संकल्प गरिएको बताउनु भयो ।

उहाँले आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी संघर्षको उठान गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसको तयारी गर्न, नवप्रवर्तन, आधुनिकीकरण र तथ्य-तथ्यांकमा आधारित रहेर संगठनलाई सुदृढीकरण गर्न तीनवटै संगठनका नेताहरूलाई निर्देशन दिनुभयो ।

बैठकमा तीन वटै संगठनका इन्चार्ज र अध्यक्षहरूले आ-आफ्ना संगठनहरूको संगठनात्मक स्थिति, राजनीतिक-वैचारिक पक्ष, संगठनसँग सम्बन्धित वर्ग र समुदायका समस्याहरू र तिनको समाधानका उपायहरूका साथै संयुक्त मोर्चा र संघर्षको तयारी लगायतका विषयहरूबारे रिपोर्टिङ गर्नुभएको थियो ।

बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा समन्वय समितिका इन्चार्ज सापकोटाले संगठन निर्माण तथा परिवालनका साथै जनताको हक, हित र अधिकारको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । बैठकले किसान, मजदुर र सुकुम्बासी संगठनको परिचालन र सुदृढीकरणबारे महत्त्वपूर्ण निर्णयहरू गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताउनुभयो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,३० गते साउन । 
रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ४, बहादुरपुरमा आज जनसंवाद कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ । नगर प्रमुख अजय प्रकाश जयसवालले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै नगरका समस्या, आवश्यकता र आगामी विकास योजनाहरूको विषयमा विस्तृत छलफल गरेका छन् ।
स्थानीय विकासप्रति प्रतिबद्धता जनाउँदै मेयर जयसवालले भने, “नगरको समग्र विकासका लागि जनताको आवाज सुन्नु हाम्रो पहिलो प्राथमिकता हो । योजना निर्माणदेखि कार्यान्वयनसम्म जनसहभागिता अनिवार्य छ।”
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत सेवाहरूको सुधारको माग गरेका थिए । तिनका जिज्ञासामा जवाफ दिँदै नगर प्रमुख जयसवालले तत्कालीन समस्याको समाधानका लागि नगर कार्यपालिकाले प्राथमिकताका आधारमा योजना अघि बढाइरहेको जानकारी दिए।
यस किसिमको जनसंवाद कार्यक्रम नगरवासीसँग नजिक रहने र पारदर्शी शासन प्रणालीको अभ्यास गर्ने माध्यम हो भन्ने विश्वास व्यक्त गर्दै मेयर जयसवालले आगामी दिनहरूमा अन्य वडाहरूमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस कार्यक्रमलाई स्थानीयस्तरमा व्यापक स्वागत गरिएको छ। नागरिकहरू नगर प्रमुखको सक्रियता र प्रत्यक्ष सहभागिताबाट उत्साहित देखिएका छन्।

आरके श्रीवास्तव,रौतहट, साउन ३०
रौतहटको फतुवा विजयपुर नगरपालिकाले शुक्रबार बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार नगरसभा गरी ५६ करोडभन्दा बढीको बजेट ल्याएको हो ।
गत असार १० मा हुनुपर्ने नगरपालिकाको बजेट अधिवेशन आन्तरिक कारणले ढिलो भएको हो ।

शुक्रबार नगरपालिका कार्यालयमा आयोजित नगरसभामा चालु आर्थिक वर्षको लागि कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नीति तथा कार्यक्रम पेश गर्दै समृद्ध नगरपालिका बनाउनका लागि बजेट आएको बताएकी छन् । बजेटमा शिक्षा, स्वास्थ्य, सडक पूूर्वाधार, कृषि, पोषण तथा रोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखिएको कावा नगर प्रमुख खातुनको भनाइ छ ।


नगरपालिकाको तर्फबाट वडाध्यक्ष राकेश यादव पप्पुले चालू आर्थिक वर्षको लागि ५६ करोड ३२ लाख ९५ हजार १५१ को आयव्यय प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्बर ९, १० र ११ गरी ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गाको प्रमाणपुर्जा वितरण गरिने कार्यक्रम राखिएको वडाध्यक्ष पप्पुले जानकारी गराएका छन् ।


कार्यक्रममा प्रदेशसभा सदस्यका प्रत्याशी तथा प्रतिष्ठित नेता महम्मद सेराजले नगरपालिकाको बजेट सन्तुलित भएको प्रतिक्रिया दिँदै चालु आर्थिक वर्षमा सबै काम यथासमयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बजेटको नीति तथा कार्यक्रमले नगरपालिका समृद्धितर्फ लम्किने विश्वास लिएको सेराजले बताएका छन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन तथा वातारण र विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण तथा रोजगारी र लघु उद्यम कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी गराएक छन् ।
नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले चालू आर्थिक वर्षको बजेट आउन केही ढिलो भए पनि समयमै सबै योजना तथा कार्यक्रम लागू हुने वातारण निर्माण भएको बताएका छन् । सबैको सहयोगले बजेट अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया दिँदै लेखा अधिकृत सहनीले चालु आवमा नगरपालिकाको नीति तथा कार्यक्रमले लिएको उद्देश्य पूरा हुने बताएका छन् ।

आरके श्रीवास्तव,रौतहट, साउन ३०
रौतहटका इँटा व्यवसायीहरुले इँटाको बिमा नहुँदा निकै मर्कामा परेको बताएका छन् । रौतहट इँटा उद्योग व्यवसायी संघ गरुडाको सातौँ साधारणसभा तथा पाँचौ अधिवेशनमा इँटाको उद्योग तथा व्यवसाय गर्नेहरुले बिमा नहुँदा निकै मर्कामा परेको बताएका छन् ।

संघका मधेश प्रदेश अध्यक्ष विक्रम कुमार साहले प्रदेशमा १३४९ इँटा उद्योग रहेकामा विस्तारै अहिले ७०० मा झरिसकेको बताउँदै इँटा उद्योगी पलायन हुँदा राज्यलाई पनि ठुलो आर्थिक घाटा भएको बताएका छन् । सरकारले इँटा उद्योगलाई बिमा नगर्ने हो भने विस्तारै उद्योगीहरु पलायन हुँदै विदेशबाट इँटा ल्याउनु पर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन् ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले करोडौँको लगानी गरेर इँटा व्यवसायीले उधारोमा बेच्नु परेको र अस्वस्थ प्रतिस्पर्धाले उद्योगी टाट पल्टिइरहेकाले सबै पक्षले गम्भीर भएर विचार गर्नुपर्ने बताएका छन् ।


रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले अन्य वस्तुको मूल्य बढ्दै जाँदा इँटाको मूल्यमा कमी आइरहेकोले उद्योगी पलायन हुनुपर्ने बाध्यता भएको बताएका छन् । प्रजिअ खड्काले इँटा उद्योगीबिच अस्वस्थ्य प्रतिस्पर्धाका साथै उत्पादन लागत बढ्दै जाँदा पनि समस्या बढ्दै गएको बताएका छन् । ऐन कानुनको परिधिमा रहेर उद्योग संचालन गर्न प्रजिअ खड्काले आग्रह गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका राम विनोद साहले इँटा उद्योगीको मर्का राज्यले नबुझेको चर्चा गर्दै रौतहटका साठी प्रतिशत इँटा व्यवसायी पलायन भइसकेको बताएका छन् । रौतहटमा १६३ इँटा उद्योगमध्ये करिब ६० ओटा मात्र संचालनमा रहेको अध्यक्ष साहले जानकारी गराएका छन् ।

अधिवेशनले राम विनोद साहको अध्यक्षतामा १५ सदस्यीय रौतहट इँटा व्यवसायीको नयाँ कार्य समिति र नौ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२९ गते साउन ।
राैतहटकाे कटहरिया नगरपालिकामा आज आम जनता पार्टी (आजापा) को नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा मधेशमा फैलिँदो विपद् र किसानहरू मल-खादको चरम अभावमा परिरहेको अवस्थामा तत्काल राहत प्याकेजको माग गर्दै सशक्त आन्दोलनको तयारी गर्ने निर्णय गरिएको छ ।

बैठकमा आम जनता पार्टीका नेता तथा कटहरियाका पूर्व मेयर सियाराम कुशवाहा, आजपा जिल्ला अध्यक्ष नरेश तुराहा, जिल्ला सचिव अमित साह, युवा नेता दिलीप साह, अञ्जित कुशवाहा, सन्तलाल यादव, महेश यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय समेत गरेको छ । जसअन्तर्गत गाउँ–गाउँमा पार्टी सञ्जाल मजबुत बनाइनेछ । नेताहरूले किसानहरूको समस्यालाई सम्बोधन गर्न सरकारलाई दवाव दिन आन्दोलनका कार्यक्रमहरू अगाडि सारिने बताएका छन् ।

नेता सियाराम कुशवाहाले बैठकमा बोल्दै भने, “मधेशमा विपद् सँगसँगै मल-खादको अभावले किसानहरू मर्कामा परेका छन् । अब आन्दोलनबाहेक विकल्प छैन।”

जिल्ला अध्यक्ष नरेश तुराहाले तत्काल राहत प्याकेज र नियमित मल आपूर्तिका लागि संघीय तथा प्रदेश सरकारलाई आग्रह गर्दै तयारी अवस्थामा बस्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बज्जिकाञ्चल संवाददाता,२९ गते साउन । 

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले यस्तो सुझाव दिएका हुन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले अहिलेसम्म किन जग्गा नपाएको भन्दै उनले प्रश्न समेत गरे ।

‘म सरकारसंग प्रश्न गर्न चाहन्छु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले अहिलेसम्म किन भुमिको अधिकार पाएनन् । संविधानमै भएको अधिकार अहिलेसम्म किन अलपत्र छ । म सम्मानिय प्रधानमन्त्रीजीसंग सोध्न चाहन्छु संविधानमै भएको अधिकार तपाई कार्यान्वयन गर्न नसक्ने,’ आजपा अध्यक्ष साहले भने, ‘अहिले म सुन्ने गरेको छु, कि भूमिहीन सुकुम्बासीलाई भूमि दिन कानून प्रयाप्त भएन, कानूनको अभाव भयो । यसरी रातलाई दिन बनाउने काम भइरहेको छ त्यसलाई बन्द गर्न विशेष आग्रह गर्न चाहन्छु । हामी जानकार छौं, कानून मन्त्रालय, भूमि मन्त्रालय चलाएको मान्छे म सोध्न चाहन्छु प्रधानमन्त्रीजीसंग कुन दफाले रोकेको छ, बताउनुस् ।’

२०४८ सालदेखी तपाईहरुले सुकुम्बासीको नाममा हुकुम्बासीलाई जग्गा बाडदै आएको बताउदै उनले अहिले कुन कानून र दफाले सुकुम्बासीलाई जग्गा दिन रोक्यो भन्ने बाध्यता बारेमा जवाफ माग गरे । ‘प्रधानमन्त्रीको मुखमा रामराम बगलीमा छुरा’ भएको बताउदै उनले सुकुम्बासीको नाममा बिचौलिया र भूमाफियालाई फाइदा पुग्ने काम गरिरहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिदै कटाक्ष गर्दै भने, ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईहरु गरिब सुकुम्बासीको नाम बन्द गर्दिनुस । तपाईहरुको नियत गरिब सुकुम्बासीलाई दिने भन्ने छैन् । तपाईहरुले सिधा हो भूमाफियालाई दिएर आफ्नो भूडी भर्ने । त्यसो हो भने यो जुन भूमि आयोग बनाउनुभएछ, त्यसको नाम मूमाफिया आयोग बनाउनुस् । अहिले जुन विधेयक ल्याउनुभएको छ भूमि विधेयकको नाम छोडेर त्यसलाई भूमाफिया विधेयक भन्नुस । हैन भने स्पष्ट भन्नुस कुन दफाले सुकुम्बासीलाई दिनलाई रोकेको छ ?’

सरकारी डाटाअनुसारी नै ८९ हजार भूमिहीनले मात्रै जग्गा लिन बाँकी रहेको बताउदै उनले सरकारले नौं लाखको निवेदन लिएर के गर्न खोजेको भन्दै प्रश्न उठाएका छन् । ति नौं लाखलाई कुन जग्गा दिन खोजेको हो ? जंगलको जग्गा, राष्ट्रिय निकुञ्जको जग्गा दिने समितिमा जुन छलफल चलाइएको छ त्यो नेपाली जनतालाई स्वीकार्य नहुने उनले बताए ।

बजार, सडक वरिरिका जग्गा भूमाफियालाई दिने जुन प्रपञ्च भइरहेको छ त्यो शाहीकालमा पनि यस्तो नभएको उनले बताए । राजामहाराजाले भूमिहीन गरिबलाई जग्गा दिएको तर अहिले सरकारले गरिब भूमिहीनको नाममा बिचौलिया र माफियालाई जग्गा दिएर कमाउने धन्दामा लागेको साहले बताए । नेपालको भूमि बेचेर बिदेश लैजाने षडयन्त्र भइरहेको, हदबन्दीको जग्गालाई फुकुवा गर्ने षडयन्त्रमा सरकार लागेको र सोही अनुसार भूमि विधेयक ल्याएको भन्दै उनले सरकारको आलोचना गरे ।

उनले हदबन्दी छुटमा जग्गा लिएकाहरूले अहिले प्रयोजन परिवर्तन गरेर जग्गाको प्लटिङ र हाउजिङ व्यवसायको लागि मन्त्रालयसमक्ष निवेदन दिएको भन्दै गलत काम नगर्न भूमिमन्त्रीलाई सचेत गराए ।

‘नेपालमा हदबन्दी छुटमा जग्गा लिएकाहरुको संख्या कति छ ? कुन कम्पनीले कुन प्रयोजनको लागि कति जग्गा लिएको छ ? हामी जान्न चाहन्छौं–अहिले ती जग्गाको स्थिति के छ ? यो विषय स्पष्ट गरियोस । भूमिसुधार मन्त्रालयको जानकारीअनुसार कृषि शिक्षा र स्वास्थ्य प्रयोजनको लागि हदबन्दी छुट लिइएका जग्गाहरु अहिले घरजग्गा कारोबारको लागि रुपान्तरण गरियोस भनेर निवेदन आएको छ भन्ने सुन्नमा आएको छ, झण्डै एक सय वटा कम्पनीले आफूले जुन प्रयोजनको लागि लिइएको, त्यो नभएर अब घरजग्गा कारोबार, हाउजिङ र प्लटिङको लागि निवेदन दिएका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘हामी जान्न चाहनछौं–ती कम्पनीहरु कुन कुन छन् ? ती निवेदनमाथि के छानबिन भयो ? के कारबाही भयो ? अथवा के सम्बोधन भएको हो ? हो भने किन गोप्य राखियो । भूमिसुबधारमन्त्रीलाई सोध्न चाहन्छु–यसलाई किन गोप्य राख्नुहुन्छ ?’

बज्जिकाञ्चल संवाददाता,सिरहा,२९ गते साउन । 

सिरहा । लामो समय देखि वर्षा नहुँदा मधेस प्रदेशका किसानहरु धान रोपाइँका लागि चिन्तित भइरहेको बेला कमला सिँचाइ व्यवस्थापन कार्यालयले समयमा नै पानीको आपूर्ति गरी धनुषा र सिरहाका किसानहरूलाई ठूलो राहत दिएको छ ।
प्रदेश सरकारले मधेशलाई सुक्खा क्षेत्र घोषणा गरिसकेको छ। सिरहा र धनुषाका किसानहरूले खेतमा सिँचाइ गर्न सक्ने भएपछि धान रोपाइँ अहिले धमाधम भइरहेको छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले सञ्चालन गर्ने कमला पश्चिमी नहर प्रणाली (धनुषा) र कमला पूर्वी नहर प्रणाली (सिरहा) अन्तर्गतका नहरहरूमा ९ असारमै कमला नदीको पानी प्रवाह सुरु गरिएको थियो । खडेरीको चपेटामा परेका यी क्षेत्रका किसानहरूलाई रोपाइँका लागि आवश्यक पानी प्राप्त हुन थालेको छ । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले हाल सिरहाको पूर्वी नहर र धनुषाको पश्चिमी नहरमा प्रतिसेकेन्ड १४ हजार/१४ हजार लिटर पानी गरी कुल २८ हजार लिटर पानी आपूर्ति भइरहेको बताए ।
प्रमुख यादवले भने ‘पहिला प्रत्येक वर्ष १ साउनदेखि मात्र नहरमा पानी प्रवाह हुन्थ्यो, तर म आएदेखि असारमै पानी प्रवाह गर्न थालेका छौँ । यसले किसानलाई समयमै रोपाइँ गर्न, लागत घटाउन र उत्पादकत्व बढाउन निकै मद्दत गरेको छ ।’
खडेरीको समयमा नहरमार्फत पानी पाइएपछि धान रोपाइँमा मजदुरी खर्च घटेको, उत्पादन लागत घटेको र सिँचाइको व्यवस्थापनसमेत प्रभावकारी बनेको प्रमुख यादवले बताए ।
साविकमा दुवै नहरको सिँचाइ क्षमता साढे १२ हजार हेक्टर/साढे १२ हजार हेक्टर गरी २५ हजार हेक्टर थियो। तर, पछिल्ला वर्षहरूमा साना पैनीहरूको विस्तारसँगै अब यो दायरा झण्डै ३० हजार हेक्टरसम्म पुगेको छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयले अहिले धनुषाका ६ नगरपालिका गणेशमान चारनाथ, सबैला, शहीद नगर, कमला, विदेह, रहंसपुर र २ गाउँपालिका जनक नन्दनी र औहरीमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ । त्यसैगरी, सिरहा तर्फ, कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर गरी ५ नगरपालिका तथा विष्णुपुर, औहरी र अर्नामा गरी ३ गाउँपालिकामा सेवा विस्तार गरिएको छ । करिब २० हजारभन्दा बढी घरधुरीलाई कमला सिँचाइ योजनाबाट प्रत्यक्ष लाभ पुगेको प्रमुख यादवले बताए ।
हाल मधेश प्रदेशभरि मात्र ३५ प्रतिशत क्षेत्रमै धान रोपाइँ भएको देखिए पनि कमला नहरद्वारा सिञ्चित क्षेत्रमा ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको र यही गतिमा पानी आपूर्ति भइरहेमा आगामी १० दिनभित्र सम्पूर्ण क्षेत्रको रोपाइँ सम्पन्न हुने प्रमुख यादवको विश्वास छ । तर, कतिपय स्थानमा किसानहरूले नहरको संरचना बिग्रिने गरी जबर्जस्ती पानी लगिरहेका छन् । यसले गर्दा नहरको क्षति हुने, विवाद सिर्जना हुने र अन्य कृषक प्रभावित हुने भएकाले यादवले किसानहरूसँग संयमित बन्न र सिँचाइ प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।
कमला पश्चिमी नहर प्रणालीअन्तर्गत १४ दशमलव ३ किलोमिटर लम्बाइ भएको मुख्य नहरबाट रधुनाथपुर, प्रवाह, महिनाथपुर र खजुरी गरी चारवटा शाखा नहरहरू विस्तार भएका छन् । उता पूर्वी नहर प्रणाली ३१ दशमलव १ किलोमिटर लामो छ, जसबाट भोक्राहा, सिक्रोन, मझाउ, कल्याणपुर, सुकठोर, सिरहा, लगडीगोठ र औरही गरी आठवटा शाखा नहरहरू सञ्चालनमा छन् । दुवै जिल्ला धनुषा र सिरहालाई समेट्ने कमला सिँचाइ प्रणाली ७ सय किलोमिटरभन्दा लामो छ र यसले ४० हजारभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ दिइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।