आरके श्रीवास्तव,रौतहट,०२ गते भदौ ।
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर घटनासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि सोमबार साँझ जसपा नेपालले तीव्र विरोध जनाएको छ ।
सर्वोच्च अदालतको आदेशको विरोधमा जसपाले रौतहटको गौर लगायतका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘उपेन्द्र यादवमाथिको षड्यन्त्र बन्द गर’ जस्ता नारा पनि गरेका थिए ।
जसपाका स्थानीय नेताहरूले सर्वोच्च अदालतको आदेशलाई राजनीतिक पूर्वाग्रही निर्णय भनेका छन् । उनीहरूले यो आदेशले पार्टी र यादवको राजनीतिक छविलाई धूमिल पार्ने नियत राखेको आरोप लगाएका छन् ।
गौर घटनामा २०६३ साल चैत ७ गते भएको झडपमा २७ जनाको मृत्यु भएको थियो । घटनालाई लिएर लामो समयदेखि न्यायिक प्रक्रिया चलिरहेको छ । यसै सन्दर्भमा
सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौर हत्याकाण्डमा संलग्नहरूमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै परेको रिटमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ ।
प्रदर्शन शान्तिपूर्ण रहे पनि केही ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तानातानको अवस्था सिर्जना भएको थियो ।
काठमाडौं-
मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताईन् । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको जानकारी दिइएको छ ।
कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ जना, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ जना, आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।
हाल १० हजार छोरीको बीमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा रु ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ । सौभार आजको अर्थ
काठमाडौं ।
सर्वोच्च अदालतले २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।
त्रिभुवन साहले दायर गरेको रिटमाथि सोमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा सो आदेश दिएको हो ।
तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै माओवादी कार्यकर्ता साहले रिट दायर गरेका थिए । प्रभु साहसमेतले गौर हत्याकाण्ड उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन् ।
तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या भएको थियो ।
राजनीतिमा ‘गौर नरसंहार’ को रुपमा चर्चित यो घटनाका दोषीहरुलाई अहिलेसम्म सरकारले कारबाही गर्न सकेको छैन । मंगलबार गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको थियो । सो घटनामा माओवादीको भ्रातृ संगठन वाईसीएलका २७ जनाको हत्या भएको थियो । nepal press
चन्दन यादव, राैतहट, ०२ गते भदौ ।
मावि भसेढवामा अंग्रेजी शिक्षक कपिलदेव यादवलाई प्रधानाध्यापक राममंगल यादवले भव्य स्वागतका साथ हाजिर गराएका हुन् । श्री जनता माध्यमिक विद्यालय कटहरियामा कार्यरत अंग्रेजी शिक्षक यादव आजदेखि भसेढवा माध्यमिक विद्यालयमा हाजिर हुनुभएको छ।

विद्यालयका प्रधानाध्यापक यादवले खादा-माला लगाएर उहाँलाई स्वागत गर्दै कार्यभार सम्हाल्न लगाउनु भएकाे हाे । प्रधानाध्यापक यादव अब केही महिनामा अवकाशप्राप्त हुन् लाग्दा शिक्षक यादवलाई हाजिर गराएका हुन् । प्रधानाध्यापक यादव अवकाशप्राप्त नहुन्जेलसम्म शिक्षक यादवलाई शिकक्षकाे रुपमा गराएका हुन् ।

यस अवसरमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव, कटहरिया बहुमुखी क्याम्पसका लेखा प्रमुख रामनिवाश प्रसाद यादव लगायतका समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका नेकपा माओवादी वडा कमिटीका अध्यक्ष प्रेम शंकर प्रसाद यादवले नयाँ शिक्षकले विद्यालयको शैक्षिक गुणस्तरमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, युवा समाजसेवी दिपेन्द्र कुमार दास र महिला किसान बहुउद्देश्य सहकारी संस्थाका साखा प्रबन्धक नायक बिवेकले पनि शिक्षक यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरका थिए । स्वागत कार्यक्रममा विव्यस का सदस्य रामकमोध यादव, समाजसेवी रामपुकार प्रसाद यादव र सन्तोष प्रसाद यादव पनि उपस्थिति रहेको थिए ।

यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक राजु यादव र राजेश यादव लगायत भसेडवा माविका शिक्षकहरूको उपस्थिति रहेको थियो । समेत स्वागत गर्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवाल, स्थानीय भद्रभलाद्मी तथा पत्रकारकाे सक्रिय सहभागिता रहेको थियो ।

हनुमत कुमार यादव,राैतहट,०१ गते भदौ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा पछिल्लो समय विद्युत मोटर लगायतका कृषिसम्बन्धी उपकरण चोरी हुने घटनाहरू तीव्ररूपमा बढिरहेका छन् । चोरीको शिकार भएका किसानहरूले बारम्बार प्रहरी चौकीमा उजुरी दिएका भए पनि सुरक्षा निकायबाट कुनै ठोस पहल नहुनुमा उनीहरू थप चिन्तित बनेका छन् ।
माधवनारायण–२, खेसरहिया स्थित श्रीराम चोकदेखि दक्षिण–पश्चिम दिशामा रहेको खेसरहिया चौरमा किसान महिन्द्र राय यादव को खेतमा हालसम्म तीन पटक मोटर चोरी भएको छ । पहिलो पटक २०७६ सालमा, दोस्रो पटक २०८१ सालमा र हालै २०८२ साल साउन ३१ गते राति तेस्रोपटक विद्युत मोटर चोरी भएको हो । ती मोटरहरू यादवले आफ्ना खेत सिँचाइका लागि खरिद गरेका थिए ।
पीडित यादव भन्छन्, “हामीले दिन–रात मेहनत गरेर मोटर किनेका हौं, खेती हाम्रो जीविकोपार्जनको आधार हो। अब बारम्बार चोरिने भयो भने हामी कसरी टिक्ने?”
किसानहरूका अनुसार, यस्ता चोरीका घटना यस क्षेत्रका अन्य स्थानमा पनि भइरहेको छ। तर, सम्बन्धित सुरक्षा निकाय – सुकदेव चेक प्रहरी चौकी लगायतका निकायहरूमा पटक–पटक उजुरी दिँदा समेत कुनै अनुसन्धान अघि बढाइएको छैन् ।
स्थानीय कृषकहरूको गुनासो छ कि समाजमा यस्ता विकृति बढ्दो रहेको बेलामा जिम्मेवार निकाय मौन बस्नु दुःखद पक्ष हो। उनीहरूले प्रहरी प्रशासनसँग तत्काल कारवाहीको माग गर्दै चोरी नियन्त्रणमा कडा कदम चाल्न आग्रह गरेका छन् ।
क्षेत्रका किसानहरूले सामूहिक रूपमा चोरी रोकथामका लागि सीसीटीभी जडान र रात्रीकालीन गस्तीको व्यवस्था मिलाउन आग्रह गर्दै स्थानीय तह तथा प्रशासनसँग समन्वय गर्न सुरु गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०१ गते भदौ ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका–२ इनर्वा टोलमा ट्रान्सफर्मर जडान भएपछि स्थानीय किसानहरूमा खुसीयाली छाएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको १०० केभिए क्षमताको ट्रान्सफर्मर हालसालै मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।
उक्त ट्रान्सफर्मर पूर्व नगर प्रमुख राजीव रंजन यादवको पहलमा आर्थिक वर्ष २०७७/७८ मा करिब साढे पाँच लाख रुपैयाँ खर्चमा कृषि प्रयोजनका लागि खरिद गरिएको थियो । तर, प्राविधिक कारणले तत्काल जडान हुन नसकी थन्किएको ट्रान्सफर्मरमा पछि समस्या आएको थियो ।
हाल वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले वडास्तरीय योजना अन्तर्गत मर्मत र परीक्षण गराई ट्रान्सफर्मर जडान गराएका छन् । जसबाट इनरवा नदीपारी क्षेत्रका करिब २५० किसानलाई कृषि कार्यका लागि आवश्यक विद्युत आपूर्ति गर्न सकिने जनाइएको छ ।
“सुख्खा तथा खडेरीका कारण जोखिममा परेका किसानहरूलाई राहत दिन ट्रान्सफर्मर जडान गरिएको हो,” वडा अध्यक्ष पटेलले बताए ।
स्थानीय किसानहरूका अनुसार विद्युत आपूर्ति सहज भएपछि सिंचाइ समस्याको समाधान हुने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
किसानहरूले पूर्व नगर प्रमुख यादव र हालका वडा अध्यक्ष पटेलको पहलप्रति आभार प्रकट गर्दै, उनीहरूको सहकार्यले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,०१ गते भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्तामा रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेकी २४ वर्षीया रोमा कुमारी साहको मृत्यु हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
देवाही गोनाही नगरपालिका–२ का चुल्हाई साहले आफ्नी छोरी रोमाको हत्या जग्गा विवादका कारण ससुराली पक्षले मिलेर गरेको दाबी गरेका छन्। चुल्हाई साहले आज गाउँमै पत्रकार सम्मेलन गरेर छोरीको मृत्यु सामान्य नभई योजनाबद्ध हत्या भएको स्पष्ट पारे।
उनका अनुसार छोरीको श्रीमान सरोज साह, जेठान मनोज साह, जेठानी रेखा साहलगायत परिवारका सदस्यहरू मिलेर गत साउन १७ गते हत्या गरेर शव गाउँबाट पर रहेको नहरमा फालेका हुन्। शव भेटिँदा शरीरमा कुनै चोटपटक वा डुबेर मरेको संकेत नदेखिएको र पेटमा पानीसमेत नरहेकोले घटनामा शंका थपिएको हो।

“यदि डुबेर मरेकी भए पेट फुलेको र शरीरमा पानी देखिनुपर्ने थियो, तर केही पनि थिएन”, चुल्हाई साहले भने। घटनापछि ससुराली पक्षले पोस्टमार्टम नगरी शव जलाउन दबाब दिएको पनि उनले खुलासा गरे। माइती पक्षको अडानपछि बल्ल पोस्टमार्टम गरिएको थियो।
मृतक रोमाका दुई सन्तान छन् – ९ महिनाको छोरा र २ वर्षकी छोरी। चार वर्षअघि सरोज साहसँग विवाह गरेकी रोमा लामो समयदेखि पारिवारिक तनावमा रहेको माइती पक्षको दाबी छ। मनोज साहले एकलौटी रूपमा घडेरी आफ्नो नाममा बकसपत्र गराएपछि विवाद सुरु भएको थियो।
घटनाबारे इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिइएको भए पनि एक सातासम्म कुनै सुनुवाइ नभएको चुल्हाई साहको गुनासो छ। उनले प्रहरीमाथि आरोप लगाउँदै भने, “हत्यामा संलग्नहरूलाई जोगाउने प्रयास भइरहेको छ।”
यता, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने घटना अनुसन्धानको चरणमा रहेको र दोषी पत्ता लागेपछि कारबाही हुने स्पष्ट पारे। उनले पीडित पक्षको आरोप अस्वीकार गर्दै न्याय दिलाउन प्रतिबद्ध रहेको बताए।
तर, पीडित पक्ष प्रहरी प्रशासनको ढिलासुस्तीले न्याय नपाइने हो कि भन्ने चिन्तामा छन्। माइती पक्षको आरोप र प्रहरीको मौनताले यो घटना झनै रहस्यमय बन्दै गएको छ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,०१ गते भदौ ।
बज्जिका भाषाको पहिलो दैनिक पत्रिका बज्जिकाञ्चलले पाँचौ वार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल मिडिया प्रालिद्वारा प्रकाशित बज्जिकाञ्चल दैनिकले यस अवसरमा पाँच जना संचारकर्मीलाई सम्मानित गरेको छ ।

दैनिकका कार्यकारी सम्पादक आरके श्रीवास्तवको अध्यक्षतामा कटहरियामा भएको कार्यक्रममा बज्जिका साहित्यकार सञ्जय साह मित्रले बज्जिका पत्रकारहरु चन्दनप्रसाद यादव,दिनेश कुमार श्रीवास्तव,रामअधार यादव,अर्जुन यादव,राजेश कुमार यादव गरी पाँच जनालाई गमछा ओढाएर प्रशंसापत्रले सम्मानित गरेका हुन् ।

स्थानीय भाषाको पत्रकारितालाई अगाडि बढाउन दिएको योगदानको कदर गर्दै सञ्चार माध्यमले पत्रकारलाई सम्मान गर्दा समाजसेवीहरुले पनि खुसी व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मित्रले बज्जिका भाषालाई रोजीरोजीसित जाडेको बज्जिकाञ्चल दैनिकले मातृभाषाको पहिचान र प्रचारका साथै साहित्यमा ठुलो योगदान दिएको बताएका छन् ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रवेश दासले स्थानीय भाषालाई जन जनमा पुर्याउन र मातृभाषामार्फत स्थानीयका कुरा स्थानीयसमक्ष पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेको बताएका छन् । पत्रिकालाई डिजिटल युगमा पुर्याउन पनि सुझाव दिएका छन् ।
यसै गरी नेकपा माओवादीका स्थानीय नेता एवम् मेयर प्रत्यासी नसरुद्दीन अन्सारीले जनताको समस्यालाई निडरतापूर्वक उठाएर पत्रिकाले गलतलाई गलत र सहीलाई सही भन्ने साहस गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्ण, शिक्षक मंचका रौतहट अध्यक्ष शिवशंकर झा, कटहरिया बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कपिलदेव राय यादव लगायतले शुभकामना मन्तव्य दिँदै पत्रिकाले स्थानीय स्तरमा आम जनतालाई सुसूचित पार्न खेलिरहेको भूमिकाको प्रशंसा गरेका छन् ।
भाषा, साहित्य र संस्कृतिलाई प्राथमिकता दिइरहेको बज्जिकाञ्चल दैनिकले प्रकाशनको क्रममा थोरै समयमा धेरै संघर्ष गरिसकेको कार्यकारी सम्पादक श्रीवास्तवले अवगत गराएका छन् । पत्रिका अब स्थायीत्वतर्फ अगाडि बढेको भन्दै श्रीवास्तवले थप परिमार्जनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
काठमाडौं ।
नेपालीमा एउटा उखान छ, ढिला होस् तर छोरा नै होस् । यस्तै इच्छा शनिबार नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायणमा स्नातक तहको इन्जिनियरिंग अध्ययनका लागि प्रवेश परीक्षा दिन आएका विद्यार्थीले गरेका छन् । उनीहरु टाढा होस् तर नेपाल इन्जिनियरिंग कलेजमै पढ्न पाओस् भन्न इच्छा राखेका हुन् ।
नेपाल इन्जिनियरिंग कलेज (नेक) भौगोलिक हिसावले टाढा नै छ । काठमाडौं उपत्यकाको एउटा कुनामा छ यो कलेज । भक्तपुरस्थित चाँंगुनारायण नगरपालिका दुवाकोटमा छ यो कलेज । काठमाडौंबाट झण्डै १०।१५ किलोमिटरको दुरीमा यो कलेज रहेको छ ।

यसो भए पनि यति टाढाको कलेजमा पढ्न भनेर इच्छा राखेर शनिबार प्रवेश परीक्षा दिन आउनेहरुको भीड नै लाग्यो । हामीकहाँं पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी पढ्न आउँंछन्, कलेजका प्राचार्य सहप्रध्यापक दुर्गाप्रसाद भण्डारी भन्छन् । पुल्चोक इन्जिनियरिंग क्याम्पसपछि इन्जिनियरिंगा दोश्रो प्रख्यात इन्जिनियरिंगको पढाइ हुने भन्छन् उनी आफनो कलेजलाई ।

कलेजमा स्नातक तहको इन्जिनियरिंगमा सात वटा कार्यक्रमहरु छन् । यहाँं सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरी सात वटा कायक्रमहरु सञ्चालनमा रहेको जनाइएको छ ।

धेरै शैक्षिक संस्थाहरु जनसमुदायलाई शिक्षा दिनुका साथै त्यहीबाट आम्दानी गर्ने उद्देश्यका साथ सञ्चालित हुन्छन् तर नाफा नलिने निश्चल उद्देश्यका साथ यस कलेजले अध्ययन अध्यापनको काम गर्दै आएको छ, प्राचार्य भण्डारी भन्छन् । यो जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता भई गैरनाफामूलक रुपमा सञ्चालित कलेज हो । कलेज व्यवस्थापन समितिको अध्यक्षमा हाल चांँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री छन् । शनिबार प्रवेश परीक्षामा पनि उनीसहित सञ्चालक समितिका सदस्य पदाधिकारीहरुसमेत कलेज पुगेर प्रवेश परीक्षामा सहभागी विद्यार्थीको हौसला वढाउन पुगेका थिए ।
कलेजका प्राचार्य भण्डारी यही कारण विभिन्न छात्रबृतिहरु पनि वितरण गर्दै आएको बताउँंछन् । चालू शैक्षिक सत्रदेखि सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको उनले जनाए । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने पनि उनले बताए ।
कलेज प्रशासनका अनुसार, प्रदेश छात्रवृत्ति अन्तर्गत प्रत्येक प्रदेशबाट चयन भएका एक÷एक जना मेधावी विद्यार्थीलाई १००% शुल्क छुट दिइनेछ । यस छात्रवृत्तिका लागि एसइइ र +२ मा उच्च अंक ल्याएका, आर्थिक रूपले कमजोर, र इन्जिनियरिङ अध्ययनमा गहिरो रुचि भएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ । त्यस्तै, समुदाय छात्रवृत्ति अन्तर्गत सरकारी सामुदायिक विद्यालयमा +२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि पूर्ण वा आंशिक शुल्क छुट दिइनेछ । यस कार्यक्रमले ग्रामीण तथा कमजोर वर्गका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच बढाउने लक्ष्य राखेको छ ।
कलेजको भना समिति २०२५ का संयोजक रुपेश दही श्रेष्ठले बताए अनुसार, प्रदेश र समुदाय छात्रवृत्ति कलेजको समावेशी नीति र सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग हो । यसले राष्ट्रिय समावेशिता र समान अवसर प्रवद्र्धनमा सघाउ पु¥याउँछ, उनले भने ।
शान्त वातावरणमा गुणस्तरीय अध्यययन अध्यापन भइरहेको कलेजले जनाएको छ । त्यसकारण अब इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाइरहेका विद्यार्थीहरूलाइ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिद्वारा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित यस कलेजमा स्नातक तहमा भर्ना खुल्ला रहेको जनाइएको छ । पोखरा विश्वविद्यालयकै उत्कृष्ट कलेज, नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता, १०० भन्दा बढी अनुभवी फुलटाइम फ्याकल्टी, शहरी कोलाहलबाट टाढा, शान्त तथा हरियालीयुक्त वातावरण, आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय तथा रिसर्चका सम्पूर्ण सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय तह, प्रादेशिक, सञ्चालक समिति तथा विश्वविद्यालयगत छात्रवृत्तिहरू, काठमाडौं उपत्यका, काभ्रेसम्मको यातायात सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय गेस्ट लेक्चरहरूको व्यवस्था, समयानुकूल प्रविधियुक्त शिक्षण विधि, सर्वसुलभ शुल्क, गुणस्तरीय शिक्षा कलेजको विशेषताहरु रहेको जनाइएको छ ।
नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्वशासित संस्था हो, जसले सूचना प्रविधि, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स लगायत इन्जिनियरिङका विभिन्न शाखामा शिक्षण प्रदान गर्दै आएको छ । कलेज भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा अवस्थित छ ।
इन्फरमेशन एण्ड कम्युनिकेशनको पढाइ हुने
नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा यस वर्षदेखि इन्फरमेशन एण्ड कम्युनिकेशन (सूचना तथा सञ्चार) इन्जिनियरिंगको पढाइ सुरु हुने भएको छ । आइटी एवं एआइलाई प्रभावकारी रुपमा अंगाल्दै यस विधामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँं विषय थप गरेको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जनाए । पोखरा विश्वविद्यालयले सम्वन्धित निकायका प्रतिनिधिहरुसँंग व्यापक छलफल गरेपश्चात यो कार्यक्रमलाई यस वषदेखि लागू गरेको उनले जनाए । कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त छ ।
कायक्रमका विभागीय प्रमुख सहप्राध्यापक सचिन श्रेष्ठका अनुसार यो विषय अध्ययन गरेपछि विद्याथीले टेलिकम्युनिकेशनका अलावा आइटी, आइओटी तथा एआइ क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान गर्नेछन् । यसले सोही विधा अन्तगतका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा काम गन पाउने सुनौलो अवसर पाउने उनले जनाए ।
३१ व्षदेखि गुणस्तरीय शिक्षा प्रदान गदै आएको नेकमा शुलभ मूल्यमा यो विषयमा भर्ना आह्वान गरिएको छ । नेक जिल्ला प्रशाशन कायालय भक्तपुरमा दता भइ सञ्चालनमा रहेको गैरनाफामूलक शैक्षिक संस्था हो । यो कलेजमा योसहित कुल सात वटा कायक्रमहरु सञ्चालित छन् ।
काठमाडौं,२०८२ साउन ३१ गते शनिबार ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले सम्पूर्ण नेपालीलाई सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गर्नुभएको छ ।
काठमाडौंको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा शनिबार आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त आग्रह गर्नुभएको हो ।
उहाँले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा समेत रहेको बताउनुभयो । श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गर्नुभयो, जसले देखाउँछ—नेतृत्व शक्ति मात्र होइन, सेवा पनि हो ।’
श्रीकृष्णको जीवनकथा संगीत, नृत्य, चित्रकला र साहित्यमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले श्रीकृष्णको बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकका रूपमा व्याख्या गर्नुभयो । उहाँले श्रीकृष्णलाई सत्य, प्रेम, करुणा र दायित्वबोधका प्रतिबिम्बका रूपमा चित्रण गर्दै उहाँको जीवनले व्यवहारमा उतार्नुपर्ने नैतिक मूल्यहरू बोकेको बताउनुभयो ।
‘श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ,’ उहाँले भन्नुभयो, ‘यी सूत्रहरू आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।’ उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनाकालदेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।