२०८३ आश्विन १०
२०८३ आश्विन १०

 

काठमाडौं, ११ साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

बिहीबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दाहाललाई बोल्न समय दिए । त्यसपछि दाहालले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको भनाइ छ ।

तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन गरेको भए गृहमन्त्रीको संलग्नताबारे आशंका गर्नु नपर्ने थियो भन्दै दाहालले यसर्थ यस प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ ।

 

काठमाडौ, ११ साउन । 

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८०० बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।

 

काठमाडौ, ११ साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ । यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ । ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

१८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक कारोबार भएको हो । ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 

बारा, ११ साउन । 

निजगढ नगरपालिकाको सिमानाभित्र पर्ने भए पनि हाल हेटौँडा उपमहानगरपालिकामा रहेका दुईवटा बस्तीलाई निजगढमा सामेल गराउन पर्ने माग उठन थालेको छ । बारा जिल्लाको सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको आकाशधारा र पानीसरा बस्तीलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गरेका छन् ।

 

साविक मकवानपुर जिल्लाको हटिया गाउँ पन्चायत वडा नम्बर ८ को उक्त बस्तीलाई नेपाल सरकारले २०३५ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर बाराको मनहर्वा गाउँपन्चायतमा समावेश गर्ने भनेर गरेको निर्णयको आधारमा उक्त बस्तीलाई निजगढमा गाभ्नु पर्ने बडालको भनाइ छ । राजपत्रमा हटियाको आकाशधारा, पानीसारा र डम्बरपुरलाई बाराको साविक मनहर्वा गाउँपन्चायत र मकवानपुरकै रातोमाटे पन्चालय वडा नम्बर १ को विरेदमारलाई अमलेखगन्जमा समावेश गर्ने सूचना जारी भएको थियो ।

 

साही सूचनाअनुसार रातोमाटेको विरेदमार र हटियाको डम्बरपुर अमलेखगन्ज र मनहर्वामा गाभिएको भए पनि निजगढमा पर्ने आकाशधारा र पानीसरा बस्ती अझै पनि मकवानपुरमा नै रहेको छ । मनहर्वा गाउँपन्चायत विभाजन भएर रतनपुरी गाउँपन्चायत गठन भएपछि चुरे क्षेत्रमा पर्ने उक्त बस्तीहरु राजपत्रमा प्रकाशित सूचनाअनुसार हाल निजगढ नगरपालिकाभित्र पर्ने बडालको भनाइ छ । उक्त बस्ती निजगढभित्र कायम गर्न निजगढ नगरपालिकाले पहल सुरु गर्नुपर्ने बडालले बताए ।

त्यसैगरी निजगढका पुस्तक व्यवसायी सागर थोकरले पनि सामाजिक सन्जाल फेसबुकमा टिप्पणी लेखेर राजपत्रको सूचनाअनुसार निजगढ नगरपालिकाको आफ्नो भूभागभित्र बसोबास गर्ने जनता र सो क्षेत्रको जल, जमिन र जंगलको संरक्षण गर्ने कार्य तत्काल सुरु गर्न निजगढ नगरपालिका कार्यालयसँग आग्रह र अनुरोध गरेका छन् । इन्दीप कोइराला

 

बागलुङ, ११ साउन ।

मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट सडक खण्ड अवरुद्ध बनेको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध बनेको हो ।

 

निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बुधबार रातिदेखि आएको बाढी र सडकमा लेदो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै सो क्षेत्र भएर चल्ने सवारीसाधन ठप्प भएका छन् । रुकुुम पूर्वदेखि काठामाडौं, पोखरा तथा बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका सवारीसाधान कानाबगरमा रोकिएका छन् ।

सडक खुलाउने प्रयास भने भइरहेकाो छ ।

 

काठमाडौ, ११ साउन । 

सिनर्जी पावर डेभलपमेन्टको ५०% हकप्रद सेयर दाबी गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो । बिहीबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले हकप्रद सेयर जारी गर्न भने बाँकी छ । तर हकप्रद बिक्रीका लागि यसले शुक्रबार साउन १२ गते बुक क्लोज गर्ने भएको छ । यसअधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

 

काठमाडौ, ११ साउन

 

अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९% अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ । न्युज कारखाना

 

काठमाडौं, ११ साउन

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेडा सानो ५६,घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २६० रुपैयाँ ,गाजर ९०,बन्दा लोकल ८ , मूला रातो २५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै, मालदह आँप १२०, हरियो धनिया ७०,लसुन हरियो ९०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ । न्युज कारखाना

 

विशाल बस्नेत/

 

महोत्तरी, ११ साउन । महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ ।

 

१६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर फरार भएका मध्यका एक जना भारतियलाइ प्रहरीले पक्राउ गरेको हो ।

 

बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षिय अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

झण्डै ४,५ जनाको समुहमा आएका नकावधारी समुहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैया सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

 

त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछी निक्कै आलोचना समेत खेप्नुपर्‍यो ।

 

पक्राउ परेका उन्लाई मुकुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा  दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । न्युज कारखाना

 

सर्लाही, ११ साउन ।

सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गएको छ ।

 

नम्बर खुल्न नसकेको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनीषा कुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनीषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा लगिएको थियो ।

 

क्लिनिकमा पुर्‍याउँदा उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षीया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् ।

 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक फेला परेका छैनन् । मोटरसाइकलको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।