२०८३ आश्विन १०
२०८३ आश्विन १०

 

काठमाडाैं, १९ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागुऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित सिन्धुली हरियरपुर गाउँपालिका-३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलनसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय रवि रानालाई ८ सय ९० मिलिग्राम तथा सोही उपमहानगरपालिका-१७ बस्ने १८ र १७ वर्षीय किशोरलाई करिब ३ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको हो । साथै ती २ जना किशोरले प्रयोग गरेको सु.प.प्र.०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 

बाँकेकाे बैजनाथ गाउँपालिका-४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१९ बिराटचोक जाने बाटोबाट अवैध लागुऔषध जस्तो देखिने सेतो वस्तु करिब ६० ग्रामसहित सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय राज राय समेत तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच लागुऔषध लेनदेन सम्बन्धी झै-झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उक्त वस्तुसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही गाउँपालिका-९ बस्ने २३ वर्षीय भैरवनाथ योगी, बासगढी नगरपालिका-१ बस्ने २२ वर्षीय सागर कामीसमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आएका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-४ बस्ने २१ वर्षीय रितिक थापालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा से.२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

सुनसरीकाे ईटहरी उपहानगरपालिका-६ स्थित आर्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित होटलका संचालक सोही उपमहानगरपालिका-२ घर भएका ४० वर्षीय सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।

 

काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करीको अनुुसन्धानको नेतृत्व गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए ।

सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन् ।

लमजुङ, १९ साउन ।

मर्स्याङदी गाउँपालिका-९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

चरिकोट, १९ साउन ।

दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ  भने तीनजना बेपत्ता र तीनजना नै घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका–७, टोपाटारमा बिहीबार राति पहिरो जाँदा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार रातिको घटना भए पनि टेलिफोन सम्पर्कविच्छेद हुँदा शुक्रबार बिहान मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो ।

गौरीशंकर–८ बाट खसेको पहिरोले वडा नम्बर ७ मा क्षति गरेको हो । सो पहिरोले पाँच घरमा क्षति गरेको छ । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली खटिएको छ ।

काठमाडौं, १९ साउन ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ ।

साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।

काठमाडौँ, १९ साउन ।

नेपाली चलचित्र ‘बगान’ चौथो सातामा प्रदर्शनरत् छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण चौथो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् ।

 

दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नवअभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् । नवअभिनेत्री प्रमिलाको कामको तारिफ दर्शकसँगै सेलिब्रेटीले समेत गरेका छन् । प्रिमियरसँगै आयोजित अन्य सोमा चलचित्र हेर्न पुगेका सेलेब्सले प्रमिलाको आत्मविश्वास र कामको प्रसंशा गरेका थिए ।

विशेष प्रदर्शनी हेरेपछि हास्यकलाकार किरण केसीले प्रमिलाले पात्र बाँचेको प्रतिक्रिया दिएका थिए । प्राप्त प्रतिक्रियाले उनि उत्साहित छिन् । दर्शकको माया र अग्रजको आशिर्वादले मेहनत सफल भएको आभाष उनलाई भएको छ ।

 

‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनयसम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरेँ । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता वढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’

 

फिल्ममा उनले प्राप्तिको भूमिका निर्वाह गरेकी छिन् । जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने, जस्तो स्वभाव प्राप्तिमा छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुस गरेकी छु,’ प्रमिलाले भनिन्, ‘म ठूलो पर्दामा देखिएको भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

 

उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाइरहेकी थिइन् । सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केही असहज जस्तो महसुस भए पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ ।

 

‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् । म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनी आफ्नो पात्रमार्फत् युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउँछिन् ।

 

चौथो सातामा प्रवेश गरेको चलचित्र प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।  ‘बगानले दर्शक तान्दा हामी मात्र नभई सम्पूर्ण उद्योग नै खुसी छ । किनकि नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’

 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेका चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

 

काठमाडौ, १९ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको खुद नाफा २५.१३ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो ।

 

खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

 

असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १५.३४ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७३ प्रतिशत छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।

काठमाडाैं, १९ साउन ।

गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको वैशाखे घाम बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द शृजना रहेको छ भने संगीत वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको रहेको छ ।

गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन् ।जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ । गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ । भिडियोमा पछिल्लो समयकी चर्चित मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन् ।

प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडियोमा देखाइएको निर्देशक क्षेत्री बताउछन् । भिडियोको छायाकंन करण चैसीरले गरेका हुन् भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियो संगीतकार श्रेष्ठकै अफिसियल युट्युब च्यानल नागेन्द्र श्रेष्ठबाट बजारमा आएको छ । सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/Qd5Q-hCh9EA

काठमाडौं, १९ साउन ।

सिजन मिडिया आफ्नो १५औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका  सफल व्यवसायिक व्यक्तिहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने भएकाे छ ।

।
सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको  काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको जनाइएकाे छ ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पन्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका  विभिन्न व्यवसायिक व्यक्तिहरुलाई बाेलाउने तयारी गरिएकाे छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सांस्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्षभन्दा बढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।  “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ,” उनले भने ।

 

बाँके, १९ साउन ।

नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई  प्रहरीले पक्राउ गरेको  छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।