२०८३ श्रावण २३
२०८३ श्रावण २३

सुर्खेत, १९ साउन,।हेमन्त केसी

भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन्। केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय मिडिया जागरणले उल्लेख गरेको छ।

 

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ। यसैगरी हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए।

 

उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर छन्।

 

उनीहरूको थर भने खुलेको छैन। वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन।

 

बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन्।

 

पहिरोबाट होटललाई मन्दाकिनी नदीमा खसेको खवरमा उल्लेख छ। बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको जागरणले उल्लेख गरेको छ।

काठमाडौं, १९ साउन ।

भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वाेच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ ।

राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्नसर्वोच्च अदालतले आदेश दिएको हो । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा सुरत अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै सांसद पदबाट हटाएको थियाो ।

तर, शुक्रबार सर्वाेच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगायो ।

साथै सर्वाेच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पु¥याउनसमेत भनेको छ ।

काठमाडौ, १९ साउन ।

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

 

यस कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने छ । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

 

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

 

रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी दिएका हुन् । नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको लिएको उनले घोषणा गरेका हुन् ।

 

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास आफ्नो बिदाइ नभएर नयाँ यात्रा सुरुवात गरेको बताए । घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्। मल्लको सन् २००५ देखि  यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।

 

उनको अन्तिम खेल २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आईसीसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल रह्यो।

 

काठमाडाैं, १९ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागुऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित सिन्धुली हरियरपुर गाउँपालिका-३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलनसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय रवि रानालाई ८ सय ९० मिलिग्राम तथा सोही उपमहानगरपालिका-१७ बस्ने १८ र १७ वर्षीय किशोरलाई करिब ३ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको हो । साथै ती २ जना किशोरले प्रयोग गरेको सु.प.प्र.०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 

बाँकेकाे बैजनाथ गाउँपालिका-४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१९ बिराटचोक जाने बाटोबाट अवैध लागुऔषध जस्तो देखिने सेतो वस्तु करिब ६० ग्रामसहित सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय राज राय समेत तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच लागुऔषध लेनदेन सम्बन्धी झै-झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उक्त वस्तुसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही गाउँपालिका-९ बस्ने २३ वर्षीय भैरवनाथ योगी, बासगढी नगरपालिका-१ बस्ने २२ वर्षीय सागर कामीसमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आएका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-४ बस्ने २१ वर्षीय रितिक थापालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा से.२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

सुनसरीकाे ईटहरी उपहानगरपालिका-६ स्थित आर्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित होटलका संचालक सोही उपमहानगरपालिका-२ घर भएका ४० वर्षीय सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।

 

काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करीको अनुुसन्धानको नेतृत्व गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए ।

सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन् ।

लमजुङ, १९ साउन ।

मर्स्याङदी गाउँपालिका-९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

चरिकोट, १९ साउन ।

दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ  भने तीनजना बेपत्ता र तीनजना नै घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका–७, टोपाटारमा बिहीबार राति पहिरो जाँदा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार रातिको घटना भए पनि टेलिफोन सम्पर्कविच्छेद हुँदा शुक्रबार बिहान मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो ।

गौरीशंकर–८ बाट खसेको पहिरोले वडा नम्बर ७ मा क्षति गरेको हो । सो पहिरोले पाँच घरमा क्षति गरेको छ । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली खटिएको छ ।

काठमाडौं, १९ साउन ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ ।

साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।

काठमाडौँ, १९ साउन ।

नेपाली चलचित्र ‘बगान’ चौथो सातामा प्रदर्शनरत् छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण चौथो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् ।

 

दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नवअभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् । नवअभिनेत्री प्रमिलाको कामको तारिफ दर्शकसँगै सेलिब्रेटीले समेत गरेका छन् । प्रिमियरसँगै आयोजित अन्य सोमा चलचित्र हेर्न पुगेका सेलेब्सले प्रमिलाको आत्मविश्वास र कामको प्रसंशा गरेका थिए ।

विशेष प्रदर्शनी हेरेपछि हास्यकलाकार किरण केसीले प्रमिलाले पात्र बाँचेको प्रतिक्रिया दिएका थिए । प्राप्त प्रतिक्रियाले उनि उत्साहित छिन् । दर्शकको माया र अग्रजको आशिर्वादले मेहनत सफल भएको आभाष उनलाई भएको छ ।

 

‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनयसम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरेँ । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता वढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’

 

फिल्ममा उनले प्राप्तिको भूमिका निर्वाह गरेकी छिन् । जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने, जस्तो स्वभाव प्राप्तिमा छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुस गरेकी छु,’ प्रमिलाले भनिन्, ‘म ठूलो पर्दामा देखिएको भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

 

उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाइरहेकी थिइन् । सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केही असहज जस्तो महसुस भए पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ ।

 

‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् । म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनी आफ्नो पात्रमार्फत् युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउँछिन् ।

 

चौथो सातामा प्रवेश गरेको चलचित्र प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।  ‘बगानले दर्शक तान्दा हामी मात्र नभई सम्पूर्ण उद्योग नै खुसी छ । किनकि नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’

 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेका चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।