२०८३ आश्विन १०
२०८३ आश्विन १०

दार्चुला, २१ साउन ।

महाकाली नगरपालिकाको फोहर फाल्ने टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिपर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ।

महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको टिपर किम्तडीभिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

टिपरको अगाडिको भागको एक साइडतिर पूर्णरुपमा क्षति पुगेको छ। घाइते चालक र सहयोगी जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

डडेल्धुरा, २१ साउन।

डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ का ३२ वर्षीय गणेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्। आइतबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

धनगढीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। ‘दुवै जनाबाट प्लाष्टिकसहित शून्य दशमलव ८३० ग्राम लागुऔषध बरामद गरिएको हो।

काठमाडौं, २१ साउन ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् ।

 

आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुलजड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि भन्ने गलत भाष्य रहेको बताए । सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धविश्वास, रुढीबादी र विभेदमा आधारित रहेको भन्दै गलत भाष्य सृजना गरेको उनको आरोप छ ।

 

देशको विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्ग चित्र रहेको भन्दै उनले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए ।

धनगढी, २१ साउन ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका लागि नयाँ इन्चार्ज तोकेको छ। माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ इन्चार्ज तोकेको हो।

केन्द्रीय कमिटीको चौथो पूर्ण बैठककाबीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।  जसअनुसार सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन्। यसअघि सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

धनगढी, २१ साउन ।

सुदूरपश्चिममा लागूऔषध तस्करहरूले तस्कारी नयाँ विधि अपनाएको पाइएको छ। शनिबार कैलालीमा मोटरसाइकलको ऐनाभित्र लागूऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

 

शनिबार धनगढी र अत्तरियाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरिएकोमा एक जनाले मोटरसाइकलको ऐनाभित्र लागूऔषध लुकाएको अवस्थामा फेला परेको हो। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–५ का २९ वर्षीय दिपक राना पक्राउ परेका छन्।

 

एक ग्राम ३ सय ३० मिलिग्राम लागूऔषधसहित उनी शनिबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लागूऔषध लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

त्यस्तै गोदावरी नगरपालिका–२ अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। ८ सय २० मिलीग्रामसहित गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय तेजबहादुर खड्सहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

खड्क सुनार ,मुगु २१ साउन ।

मुगुको छायाँनाथ रारा नगरपालिका–१० घट्टलेखकी उब्जी सेजुवाल सदरमुकाम गमगढी बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पगिन् । तर, चामल नपाएपछि रित्तो हात घर फकिइन् ।
कर्णालीका हिमाली जिल्लाहरुमा खाद्यान्नको अभाव सुरु भएको छ । साविकका कर्णालीका जिल्लाहरुमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात नहँुदा अभाव सुरु भएको हो । मुगुमा भने चामल नहुँदा खाद्य कार्यालयको गोदाम नै बन्द भएको छ ।

कर्णालीका जिल्लाहरुमा पछिल्लो समय बाढीपहिरोको उच्च जोखिममा रहेका छन् भने किसानले लगाएका बालीनालीहरु बाढीपहिरोले बगाएपछि खाद्यान्नको झनै सास्ती भएको छ । एकातिर खाद्यान्न डिपोमा चामल सकिएको छ भने अर्कोतिर चाडबाड नजिकिँदै छ । बहुसंख्यक स्थानीय बजारको महंगो चामल किनेर खान सक्ने अवस्थामा छैनन् । बजारबाट महंगोमा चामल किनेर खान सक्ने अवस्था नरहेको छायाँनाथ रारा नगरपालिका–७ पिनाका आशा साहनीले बताउँछिन् ।

 

मुगुमा गत आर्थिक वर्षको खाद्यान्न ढुवानी कोटा सकिएको छ । अहिले ६८० क्विन्टल मात्र चामल कार्यालयमा मौज्दात रहेको छ भने डिपो कार्यालय सबै रित्तो भएका छन् । कार्यालयमा खाद्यान्न अभाव सुरु हुने भएपछि कार्यालयले साउन १० गतेसम्म मात्र बिक्री गरेको थियो भने ११ गतेबाटै खाद्यान्न बिक्री वितरणमा बन्द गरेको छ । मौज्दात रहेको े ६८० क्विन्टल चामल विपदको लागि राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताए ।

 

कर्णालीका मुगु, हुम्ला, डोल्पामा प्राय चाडबाडको समयमा खाद्यान्न अभाव हुने गरेको छ । डोल्पामा भने अहिले सदरमुकाम दुनै र जुफाल गोदाममा ३ हजार ३०० क्विन्टल मात्र चामल मौज्दात  छ । त्यही चामल पनि दुईदेखि तीन महिनासम्म मात्र धान्ने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा खाद्यान्नको अभाव देखिने अवस्था छ । अहिले हुम्लाका ताजाकोटमा ९००, अदानचुलीमा ८००, सलिसल्ला ३ हजार, सर्केगाडमा १ हजार, चंखेलीमा ६५० र शाखा कार्यालय सिमकोट हुम्लामा १ हजार ६०० क्विन्टल चामल मौज्दात छ ।

 

हुम्लामा भने जिल्ला खाद्य सुरक्षा समितिको निर्णय नै गरी शुक्रबार मात्र आपतविपदमा परेकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा चामल दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

 

जुम्लामा १ हजार ५८ क्विन्टल चामल मौज्दात छ । ३ वडा डिपो कार्यालय र १ बिक्री केन्द्र रहेको कालिकोटमा ६४८ क्विन्टल चामल मौज्दात छ । उक्त चामल विपद व्यवस्थापनको लागि मौज्दात राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटका प्रमुख कमल राज पाण्डेले जानकारी दिए ।

 

कर्णालीमा अहिले १२ हजार ६०० क्विन्टल मात्र चामल मौज्दात छ । अघिल्लो आर्थिक वर्षमा टेण्डर गरिएका कोटाको चामल सकिएको छ । नयाँ टेण्डर अह्वानका लागि प्रक्रिया अगाडि बढेको  र निश्चित समयमा कर्मचारी अभाव, मूल्यवृद्धि र खाद्यान्नमा चाप बढेकाले कर्णालीमा खाद्यान्न अभाव हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड  कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख महादेव मिश्रले बताए ।

इन्दीप कोइराला,बारा, २१ साउन ।

उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बारा र पर्सामा स्थानीय तहले लगाएको करको विरोध गरेका छन् । जीतपुरसिमरा नगर उद्याेग वाणिज्यसँगको छैटाैँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गरेका हुन् ।

 

मन्त्री रिजालले कवाडीको नाममा कच्चापदार्थबाट समेत कर उठाउनु अनधिकृत रहेको बताएका छन् । स्थानीय तहले संकलन गरिरहेको कर अनधिकृत रहेको भन्दै मन्त्री रिजालले उक्त कार्य रोक्न आग्रह गरेका छन् । यस्तो कार्य नरोकिए संघीय सरकारले हस्तक्षेप गर्ने संकेत समेत मन्त्री रिजालले गरेका छन् ।

 

स्थानीय तहले आयकर र सम्पत्ति कर दुवै कर लिइरहेको भन्दै त्यस्तो गर्न नपाइने बताएका छन् । उनले त्यस किसिमका कर फिर्ता लिन समेत आग्रह गरेका छन् । स्थानीय तहले संकलन गरिरहेको करका विषयमा छलफल गरेर अघि बढ्ने बताए ।

 

मन्त्री रिजालले बारा र पर्साका उद्याेगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।

 

कार्यक्रममा उद्याेग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, उद्याेग वाणिज्यसँग वीरगन्जका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ  उपाध्यक्ष  हरि  गौतम, नेपाल भारत सहयोग मन्चका केन्द्रीय अध्यक्ष  अशोक वैध,  सुरक्षा निकायका प्रमुख,  राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

संघले यस क्षेत्रबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्याेगी, व्यवसायीलाई सल्लाहकारको रुपमा मनोनीत गरेको छ ।

 

संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरीले गरेका थिए ।

इन्दीप कोइराला,बारा, २१ साउन ।

समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको बताए ।

 

वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानी प्रयोग गरेर रोपाइँ गर्दैआएको र यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने सम्भावना रहेको उनले बताए ।

 

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर  र अगहनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा जिल्लाको निजगढ लगायत उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताए ।

आर्थिक वर्ष २०७९/०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।

काठमाडौं, २१ साउन ।

गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो)को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ ।

 

आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक गरेका हुन् । सो गीतमा पितृबुढो र सीमा नेपालीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना र संगीत छ ।

महेन्द्र भण्डारीको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन  र कोरियोग्राफी स्मृति तिमिल्सिनाले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । पिरती बुनेसीमा निक्स शर्मा, सभिरा बोहरा र आर्जु कुँवरको अभिनय छ ।

भिडियो लिंक : https://youtu.be/WjuAKwbnN5A

काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् ।

आफ्नो पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको भन्दै उनले यस्ता षड्यन्त्र परास्त गर्न अन्य राजनीतिक दलले पनि सहयोग गरेको जानकारी दिए । जसअनुसार जबराविरुद्ध महाअभियोग दर्ता गरेको र यसमा अन्य राजनीतिक दलले सहयोग गरेको उनको भनाइ छ ।

माओवादी केन्द्र र नेताहरुमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता रहेको भन्दै उनले जारी केन्द्रीय समिति बैठकबाट भने पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए ।

 

१ फागुन २०७८ मा माओवादी, कांग्रेस, एकीकृत समाजवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनका ९८ जना सांसदको समर्थनसहित तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरिएको थियो । महाअभियोग लगाउँदा जबराविरुद्ध २१ बुँदे आरोप लगाइएको थियो । जबरा गत २७ मंसिर २०७९ मा अवकाश पाएका जबराले आफूविरुद्धको महाअभियोगको अवस्था स्पष्ट नहुँदा निवृत्तिभरणलगायतका सुविधाबाट बन्चित बनेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।