२०८३ आश्विन १०
२०८३ आश्विन १०

काठमाडौं, २२ साउन ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर ताप्लिङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने  ३८ वर्षीय रविन्द्र राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

राईले एकजनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएकाे छ ।

काठमाडौं, २२ साउन ।

देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

काठमाडौं, २३ साउन । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू(भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर  स्थान  भन्दा  उत्तरतिर (नेपाल नजिक)  अवस्थित  रहेको  छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

राती भने देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रौतहट, २२ साउन ।

गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको छ । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको छ । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।


उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा.वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
अनाधिकृत रुपमा हजारौ उखु किसानको भबिश्य लाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन ः संचालनमा ल्याउन माग गरिएको छ ।
चिनी मिल जोगाउन आगामी २७ गते मिल्स प्रांगण गरुडामा वृहद आम भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने बताइएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका छन् ।

काठमाडौं, २२ साउन ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय दिपेश भक्त श्रेष्ठको दिपेश अटोलिङ्कमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित चारजनालाई प्रहरीले पक्राउ गरेको   छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 

ललितपुरकाे गोदावरी नगरपालिका-१३ झरुवाराशीस्थित बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र  ३ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, २२ साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

 

काठमाडौं, २२ साउन ।

संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमm दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

 

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा र दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

 

काठमाडौं, २२ साउन ।

संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।

तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।

 

काठमाडौ, २२ साउन ।

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको थियो ।

 

यसमा छिटोमा सोमबार (साउन २२ गते) सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । यद्दपि, सोमबारसम्म माग अनुसार आवेदन नपरेपछि अब साउन ३१ गतेसम्म बिक्री खुला रहने बिक्री प्रमन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।

 

यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 

काठमाडौं, २२ साउन ।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गरेको छ । संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले सोमबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भइरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसारअगाडि बढेको बढुवाको प्रक्रियालाई यथाशीघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

अन्यथा आन्दोलनमा उत्रिने संघले चेतावनी दिएको छ ।  तीनदिभित्र बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए राष्ट्रव्यापी रुपमा चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको संघले दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।


‘राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लाि अनुरोध गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

 

ज्ञापनपत्र

मिति : २०८०/०४/२२

श्रीमान सचिवज्यू
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरवार, काठमाडौं ।


विषयः ज्ञापनपत्र सम्वन्धमा ।

महोदय

उपरोक्त बिषयमा यस कर्मचारी संघको मिति २०८० श्रावण १७ गते बसेको कार्य सम्पादन समितिको बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत विभिन्न सेवा समूहका स्थायी कर्मचारीहरुको विगत लामो समय (१९ बर्ष देखि २८ बर्ष सम्म) बढुवा नभई अन्याय भएको अवस्थामा विद्यमान राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी सेवा सर्त सम्वन्धी नियमावली २०६८ (दोश्रो संशोधन सहित) को नियम (५६) अनुसार हुने बढुवाको प्रकृया अगाडी बढाउन युवा तथा खेलकुद मन्त्री एंव राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष माननीय मन्त्री डिग बहादुर लिम्बूज्यूको अध्यक्षतामा बसेको परिषद्को ११६औं बोर्ड बैठकबाट ऐ नियमावलीको नियम (९) मा व्यवस्था भएको पदपुर्ति समितिलाई पूर्णता दिए पश्चात पटक पटक भएको पदपूर्ति समितिको बैठकबाट बढुवाको लागि आवेदन दिन सूचना प्रकाशित लगायतका कार्यहरु सम्पन्न भईसकेको अवस्थामा ऐ नियमावलीको पदपुर्ति समितिमा पदेन सदस्यको रुपमा रहने मन्त्रालयको प्रतिनिधी सदस्यको लागि परिषद्बाट अनुरोध भई मन्त्रालयबाट तोकिआएको प्रतिनिधि सदस्यले पदपुर्ति समितिको केही बैठकहरुमा उपस्थित जनाउने र बैठकहरुमा उपस्थितिको लागि पत्राचार गर्दा समेत अनुपस्थिति भएको देखिन आएकोले परिषद्को ११६ औं बोर्ड बैठकको निर्णयअनुसार बढुवाको कार्य पदपुर्ति समितिमा सम्पन्न गरी परिषद्बाट अनुमोदनका लागि सिफारीस गर्ने कार्यका लागि नियमानुसार तालुकदार खेलकुद मन्त्रालयको प्रतिनिधि सदस्यको अनिवार्य उपस्थिति गराईदिनका लागि श्रीमान सचिवज्यू समक्ष अनुरोध गर्दछौं ।


परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भईरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसार अगाडी बढेको बढुवाको प्रक्रियालाई यथाशिघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल सर्वच गर्दछ ।

राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लाि अनुरोध गर्दछ ।

सरस्वती केसी (भण्डारी)
अध्यक्ष

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।