२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

नोम पेन्ह, २३ साउन ।

कम्बोडियाका राजा नोरोदोम सिहामोनीले प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेटलाई देशको नयाँ प्रधानमन्त्रीमा मनोनयन गर्न अनुमोदन गरेका छन् ।

 

गत महिना भएको निर्वाचनमा हुन सेनको पार्टीले ठूलो जित दर्ता गरेको थियो। हुन सेनको टेलिग्राम च्यानलमा जारी विज्ञप्ति अनुसार कम्बोडियाका प्रधानमन्त्रीले अगस्ट ७ मा कम्बोडियाको पीपुल्स पार्टीले महामहिम डा हुन मानेटलाई कम्बोडिया राज्यको अर्को प्रधानमन्त्री नियुक्त गर्ने बताएका हुन ।

 

विज्ञप्तिमा भनिएको छ, ‘कृपया सातौं राष्ट्रिय सभाको लागि कम्बोडिया राज्यको प्रधानमन्त्रीको रूपमा महामहिम डा हुन मनेटलाई नियुक्त गर्नुहोस्।’ यद्यपि, आधिकारिक रूपमा देशको नयाँ नेता बन्न, प्रधानमन्त्री हुन सेनका छोराले संसदमा विश्वासको मत जित्नु पर्छ। कम्बोडियाका प्रधानमन्त्री सेनले तीन साताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरा हुन मानेटलाई पद हस्तान्तरण गर्ने घोषणा गरे पछि यो धारणा बाहिर आएको हो।

 

उनी सन् १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन्।

 

७० वर्षीय हुन सेनले आफ्नो राजनीतिक दलले संसदीय चुनावमा विजयी भएको दाबी गरेको तीन दिनपछि टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका हुन् । उनले आफ्नो ४५ वर्षीय जेठो छोरा जनरल हुन मानेट आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका छन् । उनले आफ्नो छोरा पनि राजनीतिज्ञ भएकाले यो उत्तराधिकारीले राष्ट्रियसभाको कुनै नियम विपरीत नहुने बताए । प्रधानमन्त्री हुन सेनका जेठा छोरा मानेट पहिलो पटक संसदमा विजयी भएका हुन् ।

 

काठमाडौ, २३ साउन ।

रिलायबल नेपाल लाइफ  इन्स्याेरेन्सको मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यस  इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

 

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ।  त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस  इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

 

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

 

हेटौ‌डा, २३ साउन ।

मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन ।

मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन ।

पहिरोले बगाउँदा बेपत्ता भएका ५ जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो । खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ ।

सो पहिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।

 

किभ, २३ साउन ।

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । धेरै देशले दुई देशबीचको यो युद्धलाई शान्त पार्ने प्रयास गरिरहेका छन् । यसै क्रममा रुस युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न साउदी अरेबियाको जेद्दाहमा छलफल चलिरहेको छ । यति हुँदाहुँदै पनि दुवै देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन् ।

 

यसैबीचमा रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको छ ।  सो शहरको एक आवासीय भवनलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए ।

 

युक्रेनले आक्रमणको निन्दा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा साधारण आवासीय भवनमा आक्रमण गरेको बताएका छन् । उनीहरुले सोभियत युगको पाँच तले भवनको फुटेज पनि सार्वजनिक गरेका छन् । यस भवनको माथिल्लो तला ध्वस्त भएको छ । आक्रमणपछि उद्धार कार्य जारी छ । आफ्नो पोस्टमा जेलेन्स्कीले लेखेका छन कि भग्नावशेष अझै सफा भइरहेको छ र खोज र उद्धार कार्य जारी छ।

 

उनले रुसी आतंकलाई रोक्नु पर्ने बताएका छन । युक्रेनलाई सहयोग गर्ने विश्वका सबैले हामीसँगै आतंकवादीहरूलाई परास्त गर्नेछन्। रुसले यस भयानक युद्धमा जे गरेको छ त्यसको लागि उत्तरदायी हुनु पर्नेछ ।

युक्रेनका एक मन्त्री इगोर क्लिमेन्कोले पनि टेलिग्राममा यी आक्रमणहरूको जानकारी दिएका छन्। जसमा पाँच जनाको मृत्यु भएको उनले बताएका छन ।

 

यसैबीच, दोस्रो आक्रमणमा डोनेट्स्क क्षेत्रका एक उच्च श्रेणीका आपतकालीन अधिकारी मारिएका छन्। यी आक्रमणमा ३१ जना घाइते भएका छन् । जसमा १९ प्रहरी अधिकारी, पाँच उद्धारकर्मी र एक बालक रहेका छन् । पोक्रोभस्क रुसको कब्जामा रहेको डोनेट्स्क सहरबाट करिब ७० किलोमिटर (४३ माइल) उत्तरपश्चिममा रहेको छ।

 

काठमाडौ, २३ साउन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९०, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ४०, हरियो फर्सी ७०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी ३५,पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया १५०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

 

काठमाडौं, २३ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानवाट सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

 

देशैभरी भएका अबिरल बर्षाका कारण काठमाडौंलगायतका क्षेत्र डुबानमा परे पछि राजमार्गहरु अबरुद्ध भए पछि एमाले अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।

 

‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर रभिडिओहरु धेरै आइरहेका छन्,’ ओलीले भनेका छन, ‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।

 

वासिंग्टन डिसी, २३ साउन ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।

त्यसैले उसले आफनो आपराधिक मुद्दाको निरीक्षण गर्न र मुद्दालाई वाशिंगटनबाट बाहिर सार्न पर्ने जनाउँदै अर्का न्यायाधीश फैसलामा राख्नका लागि लागि निवेदन गर्ने भएका छन् ।

 

सन् २०२० मा भएको निर्वाचनमा ट्रम्पले पराजयको सामना गर्नुपर्‍यो तर उनले चुनावी नतिजा स्वीकार गर्न अस्वीकार गरेका थिए । यसपछि जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले राजधानीमा आक्रमण गरेका थिए। डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणमा असफल मानिएको थियो । यसपछि ट्रम्पमाथि हारका बाबजुद पनि पदमा बसेको आरोप लागेको थियो ।

 

त्यसैले ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप लगाइएको छ। न्यायाधीश तान्या चुटकनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले मुद्दाको जिम्मेवारी सुम्पएका थिए ।

 

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै वाशिङटनमा ‘निष्पक्ष सुनुवाइ हुने नसक्ने भन्दै अरु कुनै उपाय लगाउनु पर्ने बताएका हुन । जसकाकारण आफनो मुद्दालाई अन्य अदालतमा स्थानान्तरण गर्न माग गर्ने भएका छन् । तर, अदालतमा कुनै औपचारिक अनुरोध भने अझै दायर गरिएको छैन ।

भूतपूर्व राष्ट्रपति ट्रम्पले धेरै वर्षपछि अहिले चुनाव हुन लागेको बेला आरोप लगाइएको बताए । ‘यो एउटा षड्यन्त्र मात्र हो भन्ने प्रष्ट हुन्छ,’ उनले भनेका छन् । उनले यो पनि भने कि, ‘मलाई आशा छ कि अमेरिकाका जनताले यो देख्नेछन्। हाम्रो देश बर्बाद हुँदैछ । यसलाई फेरि उत्कृष्ट बनाउनु पर्छ। र, हामी तुरुन्तै मुद्दाको अर्को न्यायाधीशबाट सुनुवाई गर्न माग गर्नेछौं। यसका साथै मुद्दालाई अन्यत्र स्थानान्तरण गर्न पनि निवेदन दिनेछौं ।’

 

यसअघि उनले भनेका थिए कि, ‘मैले सुनेको छु कि विशेष काउन्सिल ज्याक स्मिथले २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न म माथि अर्को फर्जी आरोप लगाउने छन्। यो मुद्धा लगाउने काम साढे दुई वर्षअघि किन गरेनन् ? किन यति लामो समय पर्खनु परयो ? किनभने तिनीहरू यसलाई मेरो अभियानको बीचमा राख्न चाहन्थे। यसले अभियोजन पक्षको दुर्व्यवहार देखाउँछ।’

मिडिया रिपोर्टका अनुसार तान्या चुटकन जनवरी ६, २०२१ मा वाशिंगटनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरूलाई कडा सजाय दिने न्यायाधीशको रूपमा चिनिन्छन्। उनी ट्रम्पद्वारा नियुक्त फ्लोरिडाको संघीय न्यायाधीश इलिन क्यानन भन्दा निकै ‘कडा’ मानिन्छिन् ।

 

सिंगापुर, २३ साउन ।

सिंगापुरमा अर्को महिना राष्ट्रपतिको निर्वाचन हुँदैछ । यी निर्वाचनका धेरै राजनीतिज्ञहरूले औपचारिक रूपमा प्रचारप्रसार सुरु गरेका छन् । यी चुनावमा भारतीय मूलका वरिष्ठ मन्त्री थर्मन शान्मुगरत्नम पनि चुनाव लड्न तयार छन् । सोमबार उनले चुनावमा सहभागी हुन योग्यताको प्रमाणपत्रका लागि निवेदन दिएका छन्  ।

थर्मनले गत महिना औपचारिक रूपमा राष्ट्रपतिको लागि आफ्नो अभियान सुरु गरेका थिए। उनले सिङ्गापुरको संस्कृतिको विकास गरी यसलाई विश्वमा चम्किरहेको तारा बनाउने वाचा गरेका छन् । सेप्टेम्बर २०२३ मा सिंगापुरमा चुनाव हुँदैछ किनभने राष्ट्रपति हलिमाह याकूबको कार्यकाल यही सेप्टेम्बर १३ मा समाप्त हुदैँछ ।

 

द स्ट्रेट्स टाइम्सका अनुसार थर्मनले योग्यता प्रमाणपत्रका लागि आवेदन दिएका छन्। शान्मुगरत्नम बाहेक अन्य तीन नेताहरूले चुनावमा उम्मेदवारी घोषणा गरेका छन् र योग्यताको प्रमाण पत्रका लागि आवेदनसमेत दिएका छन्। अरु तीनै जना चिनियाँ मूलका हुन् । जीआईसीका पूर्व लगानी प्रमुख एनजी कोक सङ (७५) ले सार्वजनिक क्षेत्रसँगको परामर्शपछि आफुले अगस्ट २ मा आवेदन दिएका थिए ।

 

जहाँ उद्यमी जर्ज गोह (६३ वर्ष) ले अगस्ट ४ मा आफ्नो योग्यता आवेदन पेश गरेका थिए। पूर्व राष्ट्रपति पदका उम्मेदवार तान किन लियान (७५) ले आगामी राष्ट्रपति चुनावका लागि योग्यताको प्रमाणपत्रका लागि आफ्नो आवेदन पेश गरेको स्ट्रेट टाइम्सले जनाएको छ। तर, उनले चुनाव लड्ने कि नदिने भन्ने टुंगो लागेको छैन ।

 

२०११ मा राजनीतिमा सामेल हुनु अघि थर्मन एक अर्थशास्त्री र सिंगापुरको मौद्रिक प्राधिकरणमा एक सार्वजनिक सेवक थिए। उनले २०११ देखि २०१९ सम्म शिक्षा तथा अर्थमन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व आर्थिक मञ्च र संयुक्त राष्ट्र सङ्घलगायत विश्वका विभिन्न संस्थाहरूमा प्रमुख पदमा पनि काम गरिसकेका छन्।

 

तेहरान,। २३ साउन ।

इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ।

 

यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ ।

 

न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस्।

 

हालै इरानी अभिनेत्री अफसाने बेगनलाई हिजाब नलगाएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ । यस्तो अवस्थामा उनलाई हरेक हप्ता मनोचिकित्सकसँग परामर्शका लागि जान निर्देशन दिइएको छ । रिपोर्टका अनुसार हालै तेहरानको एक अदालतले एक महिलालाई शव सफा गर्न एक महिनाको लागि सजाय सुनाएको छ।

 

समाचारमा दावी गरिएको छ कि महिलाले कडा हिजाब कानूनको उल्लङ्घन गरेका थिए, ती महिलाले टाउकोमा हिजाब नलगाई गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो ।

 

इरानका राजनीतिशास्त्रका प्राध्यापक अजादेह कियानले बायगनलाई दिइएको सजाय एउटा उदाहरण भएको बताए। सरकारले महिलामा कानुनको डर पैदा गर्न खोजेको छ । यस्तो अवस्थामा सरकारले महिलालाई कपाल छोप्न बाध्य पार्ने नयाँ उपाय खोजिरहेको छ ।

 

महिलासम्बन्धी मुद्दामा न्यायाधीशको निर्णय प्रति धेरै सामाजिक संघ संस्थाले आश्चर्य व्यक्त गरेका छन् । इरानका चार मानसिक स्वास्थ्य संस्थाका अध्यक्ष घोलाम होसेन मोहसेनी ईजेईले देशको न्यायपालिका प्रमुखलाई लेखेको पत्रमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनले  ‘मानसिक स्वास्थ्य विकारको निदान गर्ने जिम्मेवारी मनोचिकित्सकको हो, न्यायाधीशको होइन’ भनेका छन् ।

 

समाचारमा यो पनि  दावी गरिएको छ कि अधिकारीहरूले कडा हिजाब कानूनको उल्लंघन गर्ने महिलाहरूलाई भारी जरिवाना तिराई रहेका छन्। महिला हिजाब नलगाई सवारी चलाएको देखिए उनीहरुको सवारीसाधन जफत गर्नेसमेत गरेको छ । महिलालाई जागिरबाट हटाउन दबाब सिर्जना भइरहेको छ ।

 

फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाले अस्पतालमा उपचार गराउन समेत नसक्ने गरेको छ ।

 

काठमाडौं २३ साउन ।

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको छ ।

 

राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जिबनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

“यो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजना सहित सैधान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ” महामन्त्री बर्तौलाले भने । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न ब्यक्ती, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रबादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ , सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाईएको छ ।

 

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिबेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ। राप्रपा नेपालसङ्ग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।