काठमाडौं, २३ साउन ।
डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय दिपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।
मानन्धरले काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भन्ने मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं दरवारमार्गबाट पक्राउ गरेको हो ।
उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
काठमाडाैं, २३ साउन ।
मकवानपुर, बाँके र कास्कीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरकाे मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्कीकाे पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम र भारतीय रूपैयाँ २८ हजारसहित सोही महानगरपालिका-११ फुलबारी बस्ने अर्घाखाँची भएका ३० वर्षीय बलेन्द्र भन्ने मनोज आलेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।
काठमाडौ, २३ साउन ।
नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।
प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले ज्ञाापनपत्र बुझाउनेदेखि १ भदौबाट अनिश्चितकालीन विद्यालय बन्द गर्नेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रस्तावित विधेयकमा समावेश गरिएका केही विषयप्रति आपत्ति जनाउँदै निजी विद्यालयका छाताा संगठन प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
कम्पनीमार्फत् सञ्चालित विद्यालयहरुलार्ई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको भन्दै सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार देशभर बुधबाार पालिका÷जिल्ला प्रशासन कार्यालय÷शिक्षा विकास तथा समान्वय इकाइ÷प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ–आफ्ना संगठनमा समीक्षा बैठक गर्ने र शनिबार देशैभरका अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने रहेका छन् ।
सुर्खेत, २३ साउन ।
वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने ४२ वर्षीय केशव घर्तीलाई एकनाले भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१३ सिडेनि बस्ने ४८ वर्षीय जंग बहादुर राईको घरबाट लुकाई छिपाई राखेको भरूवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।
काठमाडौं, २४ साउन ।
नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सल्यान,२३ साउन ।
आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ, २३ साउन ।
सेयर बजार अझै पनि सम्हालिन सकेको छैन । मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ । कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।
दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।
यस दिन २६५ कम्पनीको ४८ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।
रूपन्देही, २३ साउन ।
बुटवल उपमहानगरपालिका-११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका-९ बस्ने साहिल थापा मगरलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका-१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको विषयमा मोटरसाइकल तथा स्कुटरमा सवार ४ जना व्यक्तिहरु ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडाैं, २३ साउन ।
गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।
उक्त सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेकाक छन् । सहमति सँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।
यस्तो छ सहमतिः
मिति २०६३ साल चैत्र ७ गते रौतहट जिल्लाको गौरमा भएको घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरुका सन्दर्भमा आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार, गृह मन्त्रालयबीच आज मिति २०८० श्रावण २३ गते निम्नानुसारको सम्झौता भयो ।
१. उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने,
२. मिति २०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने । उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरुका हकमा शहीद घोषणाको प्रकृया अगाडी चढाउने,
३. गौर घटनामा परी मृत्यु भएका व्यक्ति (शहीद) हरुको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आ.व.मा अगाडी बढाउने,
४. उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने,
५. सो घटनाको छानबिन र कारबाहीको माग सहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनका सबै कार्यक्रम तत्काल अन्त्य गर्ने ।