धनगढी, २३ साउन ।
कैलालीको चौमाला नजिकमा दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो।
कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर ठोकिएका हुन्। पूर्व–पश्चिम राजमार्गको गोप्कामा टिपर र ह्वीङगर आपसमा ठोकिएदा नौ जना घाइते भएका छन्।
चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ। घाइते भएका नौ जनाको बडिमालीका पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ।
काठमाडौं, २३ साउन ।
चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।
काठमाडौं, २३ साउन ।
राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको भन्दै उनले तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाए ।
सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै उनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको बताए । देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा प्रमुख तीन दलबीच भागबन्डामा भने सहमति हुने गरेको उनको भनाइ छ ।
प्रतिपक्षी दल मात्र होइन सरकार पनि संसद नचलोस् भन्नेमा रहेको अध्यक्ष लिङ्देनले बताए ।
काठमाडौं, २३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए ।
तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे ।
काठमाडौं, २३ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनबारे संसदमा मतविभाजन गर्न माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले उच्चस्तरी छानबिन समिति चाहिने वा नचाहिने भन्ने विषयमा ह्विप जारी नगरी संसदमा मतविभाजनबाट टुंगो पुग्न आग्रह गरेका हुन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेका उनले सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिने बताए ।
काठमाडौं, २३ साउन ।
सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ । उनीहरुले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’
संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए । लोकतन्त्र, गणतन्त्रपछि गडन गरिएका सरकारका निकायमाथि विश्वास गर्न नसकिने अवस्थाको पनि छानबिन गर्नुपर्ने भन्दै उनले सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
काठमाडौं, २४ साउन ।
नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।
टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।
टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।
मुम्बई, २४ साउन ।
साउथ सिनेमालाई ठूलो धक्का लागेको छ ।
साउथ सिनेमा उद्योगका चर्चित निर्देशक सिद्दिकीले ६३ वर्षको उमेरमा संसारलाई बिदा भएका छन् । निर्देशक सिद्दिकीले अगस्ट ८ गते अस्पतालमा अन्तिम सास लिए । उनको हृदयघातका कारण निधन भएको हो । सिद्दिकीले सलमान खानको हिन्दी फिल्म ‘बॉडीगार्ड’ निर्देशन गरेका थिए ।
रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघातका कारण हतार हतार कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल पुग्दासम्म उनको अवस्था निकै गम्भीर भइसकेको थियो । सोही क्रममा अस्पतालका चिकित्सकले सिद्दिकीलाई बचाउन हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।
जानकारीका अनुसार सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ । त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि बुधबार साँझ ६ बजे सिद्दिकीको दाहसंस्कार गरिने छ ।
उनले ‘सिद्दिकी लाल’को जोडीबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म टाइमलेस कमेडी रामजी राव स्पिकिङ सन् १९८९ मा आएको थियो। यसबाहेक उनका फिल्ममा ‘हरिहर नगर’ (१९९०), ‘गडफादर’ (१९९१), ‘भियतनाम कालोनी’ (१९९२), ‘काबुलीवाला’ (१९९३), र ‘हिटलर’ (१९९६) र ‘बॉडीगार्ड’ छन्।
सिद्दिकीले ‘बॉडीगार्ड’ को हिन्दी रिमेक निर्देशन गरेका थिए । जसमा सलमान खान मुख्य भूमिकामा देखिएका थिए । यस फिल्मको तमिल संस्करण पनि सिद्दिकीले निर्देशन गरेका थिए, जसको नाम ‘कावलन’ थियो। जसमा विजयले मुख्य भूमिका निर्वाह गरेका थिए ।
सरकारले गरायो महावीर पुनलाई सचेत
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो ।
पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।
तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएकाके हो ।

रोल्पा, २३ साउन ।
रोल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचीमाा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै रोल्पाकै यात्रु रहेका छन् । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक, माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगीको मृत्यु भएकाके हो ।
घाइतेहरुको उपचारका लागि दाङ पठाइएको छ ।