काठमाडौं, २४ साउन ।
कैलाली र बर्दियाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागुऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित गुलरिया नगरपालिका-७ बस्ने ४३ वर्षीय बच्छिराज खटिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, २३ साउन ।
नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्।
साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।
पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन्।
काठमाडौं, २३ साउन ।
कोशी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो।
अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
रोल्पा, २३ साउन ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा आज मङ्गलवार भएको बस दुर्घटनामा चार जनाको निधन भएको छ। दुर्घटनामा ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन्।
रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उहाँकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षका प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुसालले जानकारी दिए।
शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको छ भने घाइतेहरूको दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा धेरैजसो रोल्पाको माडी गाउँपालिकाका रहेका छन्।
यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा चालकको लापर्बाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बस तीव्र गतिका कारण अनियन्त्रित भई घुम्ती सडकबाट तल खसेको थियो।
धनगढी, २३ साउन ।
अछाम र डोटीमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
अछामको मेल्लेख गाउँपालिका–४ बोरागाउँका गोरे साँउदकी ४० वर्षीया श्रीमती सुना साँउद मंगलवार दिउँसो सरानी खोला किनारामा मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ।
त्यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–३ बरलदेउ स्थित सेती नदी किनारमा एक जना मृत फेला परेका छन्। पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष मंगलवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।
काठमाडौं, २३ साउन ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रूपमा छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन्।
आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले बालुवाटार छानबिनमा थप आधार दिएको बताएका हुन्।
‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ। यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ। जहाँसम्म जानुपर्छ, जानुहोस् भनेका छौँ। तथ्य प्रमाणले जसलाई तान्छ, सबैलाई तान्नुहोस् भनेका छौं,’ गृहमन्त्री श्रेष्ठले भने। उनले ९ किलो सुन प्रकरणमा माओवादी वा जो सुकै भए पनि उन्मुक्ति नपाउने बताएका हुन्।
काठमाडौं, २३ साउन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताएका छन्। उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको बताउँदै उनले अब कांग्रेसले काम गरेर देखाउनु पर्ने र गुनासो गर्ने छुट नरहेको बताएका हुन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९औं विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले पार्टीको नीति र सिद्धान्तबमोजिम कानुन र योजना बनाउने र कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।
कांग्रेस समावेशी लोकतन्त्रको पक्षधर पार्टी रहेको बताउँदै उनले दलित, महिला, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिमसहितका समुदायलाई अधिकार दिने विषयमा प्रस्ट रहेको बताए । उनले नेपालमा रहेका हरके नागरिक समान रहेको र हरेकले आफ्नो भाषा संस्कृति र संस्कारको संरक्षण पाउनुपर्ने प्रस्ट पारे।
संविधानमा उल्लेख भएका अधिकार कानुनले थप सुनिश्चित गर्नुपर्ने अवस्था महामन्त्री थापाको भनाइ छ। ‘संविधानले विभिन्न अधिकार दिएको छ, तर नागरिकले त्यसको अनुभूति गर्न पाएको अवस्था छैन । हामीले कतिपय कुराहरू संविधानमा संशोधन गर्नुपर्ने होला, कतिपय संविधानबमोजिम कानुनहरू बनाउनुपर्ने होला वा कतिपय पूराना कानुनलाई संविधानअनुकूल बनाउनुपर्ने होला। त्यसका लागि हाम्रो भूमिका छ, त्यो हुनुपर्छ,’ उनले भने।
संविधानमा रहेका कतिपय कमजोरीहरूलाई सच्याएर अघि बढ्न कांग्रेस सकारात्मक रहेको उनको भनाइ थियो।
काठमाडौं, २३ साउन।
कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंको म्यारियट होटलमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।
लोकार्पण कार्यक्रममा सुरुमा पत्रकार एवम् लेखक देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवादसमेत गरे। संवादमा शेरचनले आफ्ना पिता भूपीका विषयमा आम रुपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे प्रकाश पारिन्। र पुस्तक लेखनको औचित्यसमेत प्रस्ट्याइन्।
‘मलाई एकदुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर चारपाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो।’
आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरु सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले झनै बढी बुझेको उनको भनाइ छ। ‘तर समाजमा बुबालाई एउटा असल कविका रुपमा मात्र नबुझेर जँड्याहाका रुपमा प्रस्तुत गर्दा भने मलाई अति पीडा दिन्थ्यो,’ उनले भनिन्, ‘बुबाको विषयमा जति विषय बाहिर आएका कतिपय भने बुबाले लेखेको कविता जस्तै हल्लैहल्लामा आएका छन्।’
कार्यक्रममा भूपीका विषयमा प्राध्यापक अभि सुवेदीले पनि धारणा राखे। कवि भूपी शेरचनका विषयमा यसरी पुस्तक आउला भनेर नसोचेको र त्यो पनि अंग्रेजीमा आउँदा आफू थप चकित परेको उनले बताए। ‘भूपी दाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘यो समाजमा रक्सी नखाने को छ ? यस विषयमा भूपी दाइलाई अलि बढी नै नकारात्मक रुपमा प्रस्तुत गरिनु हुन्नथ्यो भन्ने मलाई लाग्छ।’
भूपीले आफ्नो समयमा देशको अवस्था र मानिसहरुको वास्तविकतालाई जीवन्त रुपमा कवितामा उतार्ने गरेको सन्दर्भलाई पनि प्राध्यापक सुवेदीले जोडे। साथै उनैकी छोरीले लेखेको यस पुस्तकले आफूले बुझेका बुबा र समाजले चिनेका बुबाका सन्दर्भलाई बडो राम्रोसँग प्रस्तुत गरेको उनले जनाए।
कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले पनि कार्यक्रममा भूपीबारे रोचक प्रसंग सुनाए। नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगसँगै प्राज्ञ हुँदाका सन्दर्भदेखि भूपीले लेख्ने गरेका कविताका विषयमा उनले चर्चा गरे। आफूलाई नेपालीमा लेख्न प्रेरित गर्ने व्यक्तित्व पनि भूपी नै रहेको उनले जनाए। ‘म विज्ञानको विद्यार्थी, रिपोर्ट आदि विषय अंग्रेजीमै लेख्नुपर्ने, नभए साइन्स नहुने,’ उनले भने, ‘तर भूपीजीले आफूले अध्ययनअनुसन्धान गरेका विषय नेपालीमा पनि लेख्नुस् भनेपछि म नेपाली भाषामा लेखरचना लेख्नतिर लागेको हुँ।’
पुस्तकमा कविता शेरचनले आफूले चिनेका बुबा, उनले भोगेको समाज, उनलाई लागेका लाञ्छना आदिलाई सूक्ष्म किसिमले प्रस्तुत गरेको पनि श्रेष्ठले बताए। ‘पुस्तकमा आमा नहुनुको पीडा मात्र देखाइएको छैन,’ श्रेष्ठले भने, ‘आमाटोकुवाका रुपमा आफूलाई लाञ्छना लाग्दा भूपी विक्षिप्त बनेका आदि विषयलाई पनि बडो मार्मिक रुपमा प्रस्तुत गरिएको छ।’
पुस्तकलाई ढाका टोपी जसरी बुनिएको श्रेष्ठले जनाए। ‘कविरुपी भूपीका सन्दर्भलाई तानरुपी शब्दले रोचक रुपमा जोडिएको छ,’ उनले भने। एउटी छोरीले आफ्ना बाबुलाई तटस्थ रहेर प्रस्तुत गरेको पनि उनले बताए। अन्धविश्वास र विकृतिलाई छाडेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशसमेत पुस्तकले दिएको श्रेष्ठले जनाए।
कार्यक्रममा भूपीपत्नी कान्ति शेरचनले पनि विगत सम्झिइन्। भूपीले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको उनले बताइन्। साथै भूपीको निधन भएको ३५ वर्षपछि आफ्नी छोरीले बाबुलाई सम्झिएर यति सुन्दर पुस्तक लेखेकामा आफूलाई गौरवबोध भएको पनि उनको भनाइ छ। ‘भूपीजीका विषयमा छोरीले यसरी पुस्तक लेख्दा मलाई साह्रै खुसी लागेको छ,’ उनले भनिन्।
कार्यक्रममा फाइनप्रिन्टका नीरज भारीले सर्वकालीन कवि भूपी शेरचनका विषयमा लेखिएको यति गहन कृति प्रकाशन गर्न पाउँदा आफूहरुलाई अति खुसी लागेको बताए।
दोलखा, २३ साउन ।
बसको ठक्करबाट दोलखामा मोटरसाइकल चालकको ज्यान गएको छ। भीमेश्वर नगरपालिका-३ का २३ वर्षीय विश्वराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए।
दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।
घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
काठमाडौ, २३ साउन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचौँ तहका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका साकिर अहमदविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।
अहमदले सरकारी सेवा प्रवेश गरेको २०४८ माघ १५ देखि २०७८ असोज ३० सम्मको समग्र वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, विभिन्न भत्ता, कर्जाको आय, कृषि आय, विदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक व्याजबाट प्राप्त आयसमेत गरी जम्मा एक करोड सोह्र लाख त्रिपन्न हजार नौ सय सन्ताउन्न रूपैंया एघार पैसा र वैध आयको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिषट्रेशन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत गरी दुई करोड बहत्तर लाख तेत्तीस हजार छ सय बाउन्न रूपैंया उनान्सत्तरी पैसा खर्च तथा लगानी देखिन आएको अख्तियारको दाबी छ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सो सिर्जित आयबाट निजको व्यय घटाउँदा एक करोड पचपन्न लाख उनासी हजार छ सय पन्चानब्बे रुपैयाँ अन्ठाउन्न पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुलेको छैन्।
वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको अमिल्दो र अस्वभाविक जीवन यापन गरेको प्रमाणित हुन आएको प्रवक्ता दाहालले बताए।
‘अहमदले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१)बमोजिमको कसुर गरेको पुष्टि भएकोले अहमदलाई एक करोड पचपन्न लाख उनासी हजार छ सय पन्चान्नब्बे रूपैया अठाउन्न पैसा बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिइएको छ, ’ अख्तियारले भनेको छ।