२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

काठमाडौ, २४ साउन ।

अपी पावर कम्पनीले ३१ साउनदेखि ४०प्रतिशत  हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

 

काठमाडौ, २४ साउन ।

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओमा ७२ लाख ७० हजार ११० कित्ताका लागि आवेदन परेको छ । दोस्रो दिन अर्थात बुधबार (साउन २४ गते) बिहान सम्ममा ५ लाख ९३ हजार ९०६ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब ८६ करोड ८४ लाख १८ हजार २७० रुपैयाँको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

 

सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार (साउन २३ गते) देखि प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

 

यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ । त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।

 

रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्यााेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

 

काठमाडौं, २४ साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । १० साउनमा बसेको बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय वा संसदीय समिति गठनको माग गर्दै सुरु गरेको अवरुद्ध एमालेले २४ साउन बुधबार पनि जारी राखेको छ ।

बुधबार बसेको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले कार्यसूचीमा भएका सबै विषय हटाउँदै बैठक नै स्थगित गरेका हुन् । उनले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।

बुधबारको बैठकमा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनले बोल्न थालेपछि सत्तापक्ष सांसदले पनि बोल्न थालेका थिए । रोष्ट्रम अगाडि गएर एमाले सांसदले नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरण र छानबिन समितिबारे मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । तर, एमालेले भने अवरोध जारी राखेको छ । उसले सरकार पक्षबाट संसद चल्न नदिएको आरोप लगाएको छ । १० साउन यता केही बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएका छन् ।

 

मुकेशकुमार यादवसिरहा, २४ साउन।

सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराईको शव फेला परेको हो।

विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी (अभ्यास पुस्तिका)को मार्केटिङ गर्दै आएका भट्टराईले बास बस्न रुम बुक गराएको सहदेव होटलमा सँगै रहेका सोही ठाउँका गाडी चालक २७ वर्षिय सागर राईलाई छोडेर निस्केका भए पनि उनको शव नजिकै रहेको शम्भु होटलमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए।

 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेकोले तत्काल केही भन्न नसकिने बताए। उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, अहिले नै यहि भएको हो भन्न सकिने अवस्था छैन।’

 

छातिमा निलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाइ छ। प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए। त्यहाँ भट्टराईले एउटा बियर लिएको बताए। उनले बियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सीमा झुड्याएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। भट्टराईको शव भने कोठाभन्दा बाहिर फेला परेको प्रहरीले जनाएकाे छ।

होटलका सञ्चालक शम्भु साहले भट्टराई राति ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए। उनले बियर मागेर पिएको र केहीबेरमा शौचालय कता छ भन्दै साेधेको बताए। उनले भने, ‘मैले शौचालय देखाइदिएँ, शौचालयबाट फर्कने क्रममा भित्र नआई माथि छतमा गएकाे हाेला, छतबाट लडेको हुनक्छ।’

साहले भने, ‘हामी काममा भएकोले तत्काल थाहा पाएनौं, राति १ बजे मैले नै देखें र तत्काल प्रहरीलाई खबर गरेको हुँ, प्रहरी पनि तत्काल आइपुगे ।’

शव अहिले घटनास्थलमै रहेको छ। मृतकका आफन्त आइरहेकोले शव उनीहरुकै उपस्थितिमा उठाउने गरी राखिएको प्रहरीको जनाएको  छ।

 

पर्सा, २४ साउन ।

१६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अन्सारीबीच शनिबार राति झै-झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगञ्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ ।

 

काठमाडौ, २४ साउन ।

सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

 

२२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात १९ सयको लाइनमा भने झरेन ।

 

यस दिन २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।

 

चितवन, २४ साउनन ।

चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीव्र रुपमा भइरहेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलोपटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दै छ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टिम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रमपश्चात अहिले देशका मुख्य सहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

अवार्डलाई सम्पूर्ण कलाकार, फिल्मीकर्मीको प्रतिनिधित्व हुने गरी देशका विभिन्न जिल्लामा प्रचार प्रसार गरी समेत फर्केको र अन्य जिल्लामा पनि प्रचार प्रसारलाई निरन्तरता दिईएको छ । अर्वाड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र पारिएको आयोजक संस्था लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की  ‘लक्की’ ले जानकारी दिए । ‘विगत केही महिनादेखि हामी अवार्डको प्रचार प्रसार र देश दौडाहामा थियौं,’ उनले भने, ‘अब बांँकी कामको लागि जुटेका छौं ।’

 

अवार्डका लागि आवश्यक पर्ने विभिन्न चरणहरु पार गर्दै अहिले कलाकारहरुको नोमिनेसनको काम भइरहेको उनले बताए । निर्णायक मण्डलले काम गरिरहको जानकारी दिँँदै उनले विभिन्न विधामा अवार्ड वितरण हुने भएकाले सोही अनुसारको नोमिनेसन र छनौटको काम तीव्र रुपमा अगाििड बढेको जानकारी दिए ।

 

नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको कार्कीको भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलो पटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने ।

 

अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए ।

लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।

 

बाँके, २४ साउन ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।

 

रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २४ साउन ।

काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

खड्क सुनार,मुगु २४ साउन ।

मुगूम कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ । उनको नाकभित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमानस्थल आएको ६ दिन भयो ।  गाउँपालिकाले उनलाई २० दिनको मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ ।  जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा विमानस्थल सकिने चिन्ता लागेको बुढाले गुनासो गरिन् ।

 

कर्णालीका दूर्गम जिल्लाहरुमा १२ बजेपछि हवाई जहाजमा उडानमा रोक लगाएपछि यति बेला कर्णालीका नागरिकहरुले सास्ती खेपिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ साउनबाट दूर्गम स्थानका विमान स्थलहरुमा  दिउँसो १२ बजेदेखि उडान गर्न रोक लगाउने निर्णय गरेपछि मुगु, हुम्ला , डोल्पा, जुम्लाका यात्रुहरुले सास्ती खेप्नु परेको हो ।

 

बर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले  १४ साउन दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म उडानमा रोक लगाउने निर्णयले यहाँका नागरिक मर्कामा परेका हुन् ।  नेपालगञ्जबाट  दैनिक उडान भर्दै आएका मुगुको रारा विमानस्थल, डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थल र बाजुरालगायत अन्य जिल्लाका यात्रुहरु मर्कामा परेका छन् ।

 

रारा विमानस्थलमा हवाइ उडान नभएको एक हप्ता हुन लाग्यो । हवाइ यात्राबाट  नेपालगञ्ज पुग्ने यात्रुहरु रारा विमानस्थलमा जहाजको पर्खाइमा ताल्चामै बस्ने गरेका छन् ।  बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपििछ आकास खुल्ला  हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन । तारा एयरलाइन्स नेपालगञ्ज जाने ४३ जना यात्रुहरु हातमा टिकट लिएर विमान स्थलमा जहाजको पर्खाईमा बसेका छन् ।

प्रत्येक दिन १२ बजेपछि रारा विमानस्थलको मौसम सफा भए पनि तीन महिनासम्म १२ बजेपछि उडान भर्न रोक लगाएसँगै सबैभन्दा बढी बिरामीहरु मर्कामा परेको हेमन रारा टा«भल्सका  बजार ब्यवस्थापक  सोभबहादुर भामले बताए ।

 

दिउस १२ बजेभन्दा पछी उडान रोक गर्ने प्राधिकरणको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगञ्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए ।  नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो ।  ६ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् ।

 

रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ ।  प्राधिकरणको निर्णयले १२ः ३० भित्र  जहाज उडिसक्नुपर्ने हुन्छ ।  रारा विमानस्थलको लागि यो निर्णय उपयुक्त नभएको  रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए ।

 

लामो समय जहाज उडान नहुँदा  सडक यातायातमार्फत् आफनो गन्तव्यमा पुग्ने भए पनि बर्षातको समय पहिरोले  ठाउँ ठाउँमा अवरुद्ध हुने भएका कारणले सबैजना जहाजको पर्खाइमा हुन्छन् ।  कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाजबाट  सुबिधा सम्पन्न स्थान लैजानुपर्ने हुन्छ । तर, प्राधिकरणको निर्णयले सर्वसाधरण मर्कामा परेको छाँयानाथ रारा—१० का दीर्घ बुढाले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।