रौतहट,साउन २६ गते ।
रौतहटको सबभन्दा ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको गरुडा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चएनका लागि आउँदो भदौ १५ गते निर्वाचन हुने भएको छ ।
संघको विधानअनुसार तिन तिन वर्षमा संघको निर्वाचन गर्नुपर्ने प्रावधान छ तर विभिन्न कारणले विगत पाँच वर्षदेखी हुन नसकेको नगर उद्योग वाणिज्य संघ गरुडाको निर्वाचन भदौ १५ गते हुन लागेको छ ।
संघको निर्वाचनको मिति तोकिएपछि अहिले अध्यक्ष सहित विभिन्न पदमा चुनाव लड्न चाहने इच्छुक व्यक्तिहरुले धमाधम आ–आफना उम्मेदवारी घोष्णा गर्न थालेका छन् ।
अध्यक्ष पदका आकांक्षीहरुले आ–आफना उम्मेदवारी घोष्णा गर्दै अहिले देखी नै आफना पक्षमा माहौल बनाउन अर्थात आफना पक्षमा मतदातालाई पार्न व्यस्त भएका छन् ।
सन्तोष कोल्ड स्टोर्स गरुडाका सञ्चालक समेत रहेका गरुडाका व्यापारी सन्तोष कुमार चौधरीले गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा चुनाव लड्ने घोष्णा गरेका छन् ।
अध्यक्ष पदमा चुनाव लड्ने घोष्णा गरेका चौधरी ग्यास बिक्रेता महासंघ मधेश प्रदेशका उपाध्यक्ष, रौतहट ग्यास बिक्रेता संघका महासचिव एवं नगर उधोग वाणिज्य संघ गरुडाका सदस्य समेत रहेका छन् ।
सम्पूर्ण उद्योगी, व्यापारीको साथ, सहयोग र समर्थनमा आफु अध्यक्ष पदमा चुनाव लड्न लागेको चौधरीले बताएका छन् ।
गरुडा नगर क्षेत्र भित्रका अधिकांश उद्योगी एंव व्यापारीहरुले यस पटक अध्यक्ष पदमा आफुलाई नै सार्न खोजेकोले सम्पुर्ण व्यवसायीहरुको इच्छा, चाहना, आपार साथ, सहयोग, समर्थन, सुझाव र सल्लाहको आधारमा आफु चुनाव लड्न लागेकोले आफनो जित कसैले रोक्न नसक्ने चौधरीले दावी गरे ।
आफु चुनाव जितेपछि सर्वप्रथम संघको हाल रहेको एकतल्ले भवनलाई दुई तल्ले बनाउने, मुख्य सडकबाट संघको कार्यालयसम्म जाने करिव २ सय मिटर कच्ची सडकलाई पक्की बनाउने, हालसम्म केन्द्र र प्रदेशको उद्योग वाणिज्य महासंघमा दर्ता नरहेको नगर उद्योग वाणिज्य संघ गरुडालाई केन्द्र र प्रदेशमा दर्ता गराउने आफनो प्रमुख एजेण्डा एवं चाहना रहेको चौधरीले बताए ।
त्यस्तै गरुडाबाट घरेलु तथा साना उद्योग कार्यालय गौर २२ किलोमिटर टाढा रहेकोले उद्योग सम्बन्धी कामका लागि व्यवसायीहरु लाई समस्या हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै व्यवसायीहरुको सहजताका लागि घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र गरुडामै स्थापना गराउन पहलकदमी लिने र करदाता सेवा कार्यालय समेत गरुडाबाट धेरै टाढा चन्द्रनिगाहपुरमा रहेकोले त्याँहा गएर काम गराउन व्यापारीहरु अनावश्यक दुख भोग्दै आएको हुँदा उनिहरुको सहजताका लागि करदाता सेवा कार्यालयको काउण्टर गरुडामै खोल्नका लागि सक्दो प्रयास गर्ने उनले बताए ।
व्यापारीहरुको सबैखाले सुख दुखमा आफु साथ दिन तयार रहेको बताउँदै चौधरीले अध्यक्ष पदमा आफुलाई सघाउन सबै उद्योगी, व्यापारीहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं, २६ साउन ।
शिक्षक महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको छ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलित बनेको महासंघले आफूहरूका माग सम्बोधन नभए अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो।
शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगे अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन कडा पारिने चेतावनी दिइन्। महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै २० बुँदे माग गर्दै विभिन्न चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।
‘सकेसम्म विद्यालय बन्द गरेर आन्दोलन गर्न नपरोस् भन्ने हाम्रो चाहाना हो तर हाम्रो मागप्रति सरकारले बेवास्ता गर्दै मिचेरै जान खोजे हामी अनिश्चतकालका लागि विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनेछौं । जसरी सरकार प्रस्तुत हुन्छ, हामी पनि त्यसरी प्रस्तुत हुनेछौं,’ तुलाधरले भनिन्।
महासंघले जारी गरेको विज्ञप्तिमा द्वन्द्वपीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खापेका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन नपाएको, राजनैतिक आग्रह, पारिवारिक तथा समाजि द्वन्द्ध र विभेद लगायतका कारण स्थानीय तहका निर्वाचित पदाधिकारीको कोपभाजनमा प्रधानाध्यापक तथा शिक्षकस्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयो गरी निर्वाचित पदाधिकारीले कठपुतली विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने उल्लेख छ।
त्यस्तैगरी शिक्षक स्थायीत्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक/खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने अथवा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने, पारिश्रामिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरु तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलवको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणको विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग रहेका छन्।
महासंघले आइतबार सम्बन्धित पालिकामा शिक्षक तथा विद्यालय कर्मचारीले तीन घन्टा धर्ना दिने, ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति पालिकालाई प्रदान गर्ने, मंगबार देशभरका जिल्ला शिक्षा समन्वय इकाइमा तीन घन्टा धर्ना दिने, बिहीबार प्रदेशको समाजिक विकास मन्त्रालयमा तीन घन्टा धर्ना दिने, भदौ १ गते प्रदेश तथा संघीय सांसदलाई शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा बोलिदिन आग्रह गर्ने, विधेयक संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित भई काठमाडौंमा बृहत विरोध प्रद्र्धशन गर्नेलगायत आन्दोलनको घोषणा गरेको छ।
यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले विद्यालय शिक्षा ऐनको विधेयक सच्याएर मात्रै सदनमा पेश गर्ने बताइसकेका छन्।
काठमाडौं, २६ साउन ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन् ।
आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउदै आएको सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विस्वस्त रहेको बताए । १६ औँ योजना यस अघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरु समेत सहभागी थिए ।
आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् । साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।
काठमाडौं, २६ साउन ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएकाक हुन् । ‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने ।
काठमाडौं ।
जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

केही दिनअघि सरकार र पीडितबीच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने मामग गरेको हो ।
पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको आरोप लगाए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोग, मधेस आन्दोलनसहितका आन्दोलनका घटनाका विषयमा अध्ययनका लागि गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोग र तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश र सुरक्षा नियकाका प्रतिनिधि सम्मिलित समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि जसपाले माग गरेको छ ।

काठमाडौं, २६ साउन ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं, २६ साउन ।
निजी विद्यालय सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् ।
विद्यालय अनिश्चितकालीन बन्द गर्नेससम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका निजी विद्यालयका छाता संगठन प्याब्सन, हिसान र नेसनल प्याब्सनले आन्दोलन स्थगित गरेका हुन् ।
काठमाडाैं, २६ साउन ।
रौतहटकाे चन्द्रपुर नगरपालिका-१ बस्ने ५० वर्षीय पूर्णबहादुर तामाङलाई अवैध लागूऔषध गाँजा १६ किलोसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पौरईबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँकेकाे कोहलपुर नगरपालिका-११ स्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कार्यालय परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ५ हजार १ सय १० रूपैयाँसहित सोही नगरपालिका-४ किरणनाल बस्ने ३२ वर्षीय रेशम जैसीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उक्त परिसरभित्र पार्किङ गरी राखेको भे.१ च १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक जैसीलाई एम्बुलेन्ससहित पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीया मनिषा दनुवार र उनकै श्रीमान २१ वर्षीय अभय राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, २६ साउन ।
सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बाफतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने जानकारी गराएको छ ।
रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा पार्टीले नलिनेसभामुख देवराज घिमिरलेलाई जानकारी गराएका हुन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।
लगातार सदन अवरुद्ध भएपछि रास्वपाले संसद् बैठक नियमित चल्नका लागि सार्थक पहल गनै आग्रह गर्दै अवरुद्ध समयको सेवासुविधा नलिने जानकारी सभामुख घिमिरेलाई गराएको हो ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ,’ सभामुख घिमिरेलाई बुझाएको पत्रमा भनिएको छ ।