धनगढी, २७ साउन ।
कैलालीमा नदीमा डुबेर शुक्रबार दुई बालिका बेपत्ता भएका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिबिरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन्।
घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दुबै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए।
इस्लामबाद, २७ साउन ।
पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ ।
अनवारुल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो । अन्वारुल बलुचिस्तानका बासिन्दा हुन्।
यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए। इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए ।
बलुचिस्तानका अनवरुल हक कक्कडले आज नै कार्यवाहक प्रधानमन्त्रीको सपथ लिने सम्भावना छ । अन्वर बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।
अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ (शनिबार) सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।
यसै क्रममा शरीफले यो पनि भनेका थिए, ‘कार्यवाहक प्रधानमन्त्री छान्ने विषयमा अन्तिम निर्णय गर्नु अघि गठबन्धनका साझेदारहरूलाई पनि विश्वासमा लिइनेछ ।’
काठमाडौं, २७ साउन ।
सरकारले शिक्षा ऐन जारी गर्न ८ विद्यार्थी संगठनले दबाब दिने भएका छन ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए ।
विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारीं), नेत्र चापागाई को नेतृत्वको नेसवियू, मिलन राई नेतृत्वको अखिल (क्रान्तिकारीं, मनिष भट्टराई नेतृत्वको अनेरास्वियू, करण बुढा क्षेत्री नेतृत्वको वैसविसं, विवेक शाह नेतृत्वको आम विद्यार्थी मोर्चा, सुमित मिश्रा नेतृत्वको विद्यार्थी जनमत संघ, पवित्रा आचार्य नेतृत्वको अखिल पाँचौंले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन ।
संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २ बजे माईतिघर मण्डलामा हुने ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने प्रवक्ता उपदेश यादवले बताए ।
मागहरुः
१) शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरण, नेपाली विद्यार्थी आन्दोलनको मर्म भावना विपरित र नागरिकको नैसर्गिक अधिकार विपरित भएकोले शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै समग्र शिक्षा ऐन ल्याउन जोडदार माग गर्दछौं ।
२) विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतीदेखि क्याम्पस प्रमुख, क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान सहित शिक्षित जनशक्ति बेरोजगार हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐन ल्याउन माग गर्दछौं । साथै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरुपतामा अनिवार्य कार्यान्वयन गर्न जोडदार माग गर्दछौं ।
३) उपरोक्त एजेन्डाहरुमा सम्पूर्ण न्यायप्रेमी विद्यार्थी संगठन र सरोकारवाला पक्षहरुलाई एकताबद्ध र सहकार्य गर्न हार्दिक आव्हान गर्दछौं ।
४) हाम्रो संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २स्०० बजेका दिन माईतिघर मण्डलामा गरिने ‘सडक पत्रकार सम्मेलन’मार्फत सार्वजनिक गर्ने जानकारी गराउदछौं ।
बेइजिङ, २७ साउन ।
चीनमा बाढीमा परेर दुइ जनाकाे मृत्यु भएकाे छ ।
उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियान सहरमा मुसलधारे वर्षाका कारण चट्टान र माटो खस्दा दुई जनाको मृत्यु भएको हाे ।
चिनिया समाचार संस्था सिन्ह्ववाका अनुसार साे घटनामा परेर अन्य १६ जना बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले हालसम्म फसेका चार जनाको उद्धार गरेका छन् र उद्धार कार्य जारी छ।
इन्भरक्लाइड, २७ साउन ।
स्कटल्याण्ड ग्रेट ब्रिटेन को उत्तरी भागमा अवस्थित एक देश हो। जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ। इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन्। यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन ।
आयरल्याण्डको राष्ट्रिय समाचार एजेन्सी पिएका अनुसार स्कटिश काउन्सिल फेरि एक क्षेत्रको रूपमा देखा परेको छ, जहाँ ठूलो संख्यामा जुम्ल्याहाले आफ्नो प्राथमिक विद्यालयको अध्ययन सुरु गर्न लागेका छन्। यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन्।
स्कटल्याण्डको इन्वरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा १४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन्। यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएर संख्या बढाएका छन् । जसका कारण जुम्ल्याहाको उच्च दरका लागि परिचित इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्वरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर रेकर्ड गरेको छ।
भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिए। सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार छन्। यी प्रत्येक विद्यालयमा तीनवटा जुम्ल्याहा बच्चाहरू उनीहरूको पि वान कक्षाहरूमा सामेल हुनेछन्।
प्रोभोस्ट ग्रीम ब्रूक्सले भने, ‘यो इनवरक्लाइड र ट्विनवरक्लाइड’ को लागि आफ्नो जुम्ल्याहालाई प्राथमिक कक्षामा स्वागत गर्ने वार्षिक परम्परा भएको छ।ू आगामी साताबाट नयाँ सिजन सुरु हुनेमा उत्साह पक्कै रहेको उनले बताए । यहाँ विद्यार्थीहरूलाई पोशाकमा हेर्न पाउनु साँच्चिकै राम्रो अनुभव हो। यो भन्दा राम्रो के हुन सक्छ ? हामी भाग्यमानी छौं कि हामीसँग इनवरक्लाइडमा धेरै स्कूलहरू छन् जहाँ जुम्ल्याहाहरू उपस्थित हुन्छन्।’
बोस्निया, २७ साउन ।
दक्षिण पूर्वी युरोपमा अवस्थित बोस्नियामा एउटा निकै डरलाग्दो घटना रेकर्ड गरिएको छ ।
यस घटनामा सुलेजमानोभिक नामका एक बोस्नियाली बडी बिल्डरले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ गरेर आफ्नी पूर्व पत्नीको हत्या गरेका थिए। यसबाहेक उनले पछि अन्य दुई जनाको पनि हत्या गरी आत्महत्या गरेका छन् ।
समाचार अनुसार उत्तरपूर्वी बोस्नियाको तुज्ला शहरमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै बडी बिल्डरले दुईजनालाई आक्रमण गरी उनीहरूलाई मारेको र तीन जना घाइते भएको बताएको छ।
बडिबिल्डरले पहिले आफ्नी श्रीमतीको हत्या गरे र त्यसपछि पेस्तोलको मद्दतले एक पुरुष र छोराको सडकमा गोली हानेर हत्या गरे। यसबाहेक बोस्नियाली सहरका विभिन्न स्थानमा बडि बिल्डरले एक प्रहरी, एक पुरुष र एक महिलालाई समेत घाइते बनाएका छन् ।
सुलाजमानोभिकले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका थिए । उनले आफ्ना अनुयायीहरूलाई चेतावनी दिए कि उनी हत्याको साक्षी हुन लागेका छन । यसपछि उनले मोबाइलको क्यामेरा आफ्नी पूर्व पत्नीतर्फ फर्काए । उनकी श्रीमतीको अनुहारमा चोट लागेको थियो र उनको अनुहार रगतले लतपतिएको थियो । हातमा बन्दुक लिएर कराए र भने, ‘तपाईहरुले यस्तो कुरा हेर्न जाँदैछौ जुन तपाईहरुले पहिले कहिल्यै देखेका छैनौं ।’
बोस्नियाको सहरमा भएको दुःखद घटनाप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री नर्मिन निक्सिकले आज ग्राडाकाकमा के भयो ? त्यसको वर्णन गर्न मसँग शब्द नभएको बताएका छन् । हत्याराले आफ्नो पनि ज्यान लियो तर त्यसअघि उसले थप तीन जनाको हत्या गर्यो। निर्दोष जनताको जीवन कसैले फिर्ता ल्याउन सक्दैन ।
बिशाल बस्नेत/ महोत्तरी ,२७ साउन,
महोत्तरी । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।
अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने बिषयमा समेत प्रश्न उठेको वताए ।
`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पाटीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ ।
अध्यक्ष माधव नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको वताए । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको वताउदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गरे ।
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि वताए ।
काठमाडौं, २७ साउन ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरकी बहिनी एमालेमा फर्किएकी छिन् ।
नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी बहिनी कमला तुलाधर एमालेमा फर्किएकी हुन ।
आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।
काठमाडौं, २७ साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशी पुनः लाई दोहोरिने भएका छन ।
संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेकाे भन्दै उनी दोहोरिने निर्णयमा पुगेका हुन ।
खासमा उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई पुनः दाेहाेरिन चाहेका हुन ।
सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्। ‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ। जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्।
अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्। चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काररेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।
सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।
यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए। आउने चुनावमा महासचिव पदका लागि चर्चामा अरू पनि छन् तर प्रवल आकांक्षीमा उभिएका छन्— जोशी।
ओश्लो, २७ साउन ।
निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्बेजियन पर्वतारोही माथी एक पर्वताराेहीलाई मर्न दिएको आरोप लागेकाे छ ।
एक नर्वेजियन पर्वतारोही विश्वका १४ अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा छाेटाे समयकाे आरोही बन्ने क्रममा साे आरोप लागेकाे हाे । उनले कीर्तिमान पूरा गर्न आरोहीले मृतक शेर्पालाई पछाडि छोडेको आरोप लागेको छ ।
सोसल मिडियामा युवा पर्वतारोहीको निकै आलोचना भइरहेको छ । आलोचनाका बीच अहिले पर्वतारोहीले सामाजिक सञ्जालमा पोस्ट लेखेर स्पष्टिकरण दिएका छन् । क्रिस्टिन हरिला (३७ वर्ष) र उनका नेपाली गाइड तेन्जिन लामा सबैभन्दा कम समय अर्थात् तीन महिना एक दिनमा विश्वका १४ अग्लो चुचुरोमा आरोहण पूरा गर्ने आरोही बनेका छन् । गत जुलाई २७ मा हरिलाले विश्वको सबैभन्दा अग्लो चुचुरो के २ को आरोहण गरेर यो उपलब्धि हासिल गरेको थिइन ।
के २ चुचुरोमा हरिलाको आरोहणको क्रममा एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा हरिला र उनको टोली एउटा साँघुरो धारमा चढेको देखिन्छ। भिडियोमा त्यही क्रममा अर्का टोलीसँग के–२ आरोहण गर्दै आएका शेर्पा मोहम्मद हसन बाटोमा बेहोस भए पनि हरिला र उनको टोलीका सदस्य मर्दै गरेको हसनको शव माथिबाट गुज्रिरहेको देखिन्छ ।
यो भिडियो सार्वजनिक भएपछि हरिला र उनको टोलीप्रति जनताको आक्रोश छाएको छ र जनताले उनको कडा आलोचना गरिरहेका छन् । उनको सोही क्रममा मोहम्मद हसनको पछि मृत्यु भयो।
क्रिस्टीन हरिलाले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेखेकी छिन् । यस पोस्टमा हरिलाले भनेकी छन्, ‘मृत्यु भएका शेर्पालाई बचाउन आफूले सक्दो गरे ।’ हरिलाले भनिन्, ‘सामाजिक सञ्जालमा आफूविरुद्ध धेरै कुरा भइरहेका छन्, ज्यान मार्ने धम्कीसमेत आइरहेका छन् । बटलनेक क्षेत्रमा आफू र उनका अन्य तीन साथीले डेढ घन्टासम्म बचाउने प्रयास गरेको थिएँ ।’
के २ शिखर चढ्दा बोटलनेक क्षेत्र निकै खतरनाक मानिन्छ । यहाँ धेरै आरोहीहरुको मृत्यु भएको छ । क्रिस्टीनले भनिन्, ‘उनका क्यामेराम्यान गेब्रियल हसनलाई मद्दत गर्न करिब एक घण्टा त्यहाँ बसे । यस क्रममा गेब्रियलले हसनलाई तातो पानी र अक्सिजन उपलब्ध गराए तर एक घण्टापछि गेब्रियलको अक्सिजन कम हुन थालेपछि उनी पनि बाहिरिनु परेको थियो ।’
हसनको शव तल ल्याउन समेत नसकेको हरिलाले बताए । हरिलाले पोस्टमा लेखेकी छिन्, ‘उनको मृत्यु निकै दुखद छ र मलाई उहाँको परिवारका लागि धेरै नराम्रो लागेको छ तर हामीले उहाँलाई बचाउनको लागि सक्दो प्रयास गरेका छौं, विशेष गरी गेब्रियललाई ।’