२०८३ आश्विन ८
२०८३ आश्विन ८

 

काठमाडौ, २८ साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५.४० अंकमा आएको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

१९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, २८ साउन ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

 

यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

 

काठमाडौं, २८ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ ।

 

निकै अगाडी देखि असन्तुष्टहरुको चलखेल शुरु भए तापनि पछिल्लो समय बैठक कै रुपमा असन्तुष्टि प्रकट भएको छ।

 

राप्रपाका संस्थापक नेता पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैंककमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाईएको बैठकमा महामन्त्री धवलशमसेर राणाले यथास्थितिबाट पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् ।

 

विधि मिचेर मनपरी र स्वेच्छाचारी ढङ्गले नेतृत्व अघि बढेकोले यो स्विकार्य हुन नसक्ने राणाको भनाई थियो। निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नबराज सुबेदीले पनि पार्टी विधि सम्मत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिदै त्यसो हुन नसके समस्या उत्पन्न हुन सक्ने तर्फ सचेत गराएका थिए ।

 

पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले धेरै साथीहरुको गुनासो भएकोले पार्टीमा किन सुनवाइ भएन भनेर आफू चिन्तित भएको भनाई राखेका थिए । बिधि बिधान भन्दा पनि राजनीतिक र ब्यबहारिक रुपमा केही निर्णय भएकोले प्रश्न उठेको हुन सक्ने भन्दै सल्लाहकार समितिका अध्यक्ष  निरन्जन थापाले बैठकमा असन्तुष्टिलाई थप चर्किन दिएका थिएनन् ।

 

बैठकमा उपस्थित दिपक बोहरा, उद्धब पौडेल, जयन्त चन्द, निलकन्ठ काफ्ले लगायतले बोलेनन् भने रबिन्द्र मिश्र र राजेन्द्र गुरुङको धारणा मध्यमार्गी किसिमको थियो । बैठकमा आमन्त्रित पशुपतिशमशेर राणा, बुद्धिमान तामाङ, बिक्रम पाण्डे, भुवन पाठक, कुन्ति शाही अनुपस्थित थिए । पशुपतिशमशेर राणा पुस्तक बिमोचन कार्यक्रममा ब्यस्त रहेको ,बिक्रम पाण्डेको आँखामा समस्या देखिएको, कुन्ती शाही बिदेश भ्रमणमा रहेको ,भुवन पाठक बागमती प्रदेश सभामुखको जिम्मेवारले गर्दा अनुपस्थित भएको जानकारी दिईएको थियो ।

 

पार्टी स्रोतका अनुसार राप्रपा चाडै सत्तामा जाने तयारीमा रहेको र यसरी सरकारमा जाने समयमा त्यो बैठकमा उपस्थित भएर अध्यक्ष लिङ्देनसङ्ग सम्बन्ध नबिगार्न चाहेकोले राणा, पाण्डे र तामाङ अनुपस्थित भएका हुन् । पार्टी सरकारमा जाँदा तिनैजनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्, स्रोतले भन्यो ।

 

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछी पार्टी संचालनको क्रममा धेरै असन्तुलन देखिएको, बिधि मिचिएको, स्वेच्छाचारी र सर्बसत्ताबादी मानसिकताले काम गर्ने गरिएको, पुराना योगदान दिएकाहरुको अबमुल्यन गरिएको, महाधिवेशनबाट पारित सत्ता केन्द्रित नहुने नितिलाई लत्यायर सत्तालिप्सा देखाएको, एजेन्डा स्थापित गर्न आन्दोलन गर्न रुचि नदेखाएको, सबैलाई समेट्न भन्दा एकाङ्की रुपमा अघि बढेको जस्ता बिषयले असन्तुष्टि चुलिएको बताईएको छ ।

 

हेमन्त केसी,सुर्खेत, २८ साउन 

कर्णाली प्रदेश सरकारले जलविद्युत् उत्पादनमा बाह्य लगानी भित्र्याउन ५० वर्षसम्म अनुमति दिने भएको छ । कुनै पनि विदेशी मुलुक र विदेशी सरकार मातहतका संस्थाले विद्युत् उत्पादनका निम्ति कर्णालीमा लगानी गर्न र विद्युत् विकासका आयोजना सञ्चालन गर्न पाउनेछन् ।

 

सरकारले कर्णालीमा ठूला जलविद्युत् आयोजना निर्माणका लागि मोटो रकम लगानी गर्न चाहने विदेशी लगानीकर्ता आकर्षित गर्न पाँच दशकको समय दिने नीति ल्याउन लागेको हो । ‘कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ ले विद्युत् उत्पादनका लागि लगानी गर्ने लगानीकर्तालाई ५० वर्षसम्म अनुमति दिने व्यवस्था गरेको छ । विधेयकको परिच्छेद २ मा विद्युत आयोजनाको अध्ययन, विकास, सञ्चालन र पहुँचसम्बन्धी व्यवस्था, ३ मा प्रतिस्पर्धा तथा प्रस्ताव छनोटसम्बन्धी व्यवस्था, ४ मा अनुमति पत्रसम्बन्धी व्यवस्था र ५ मा विद्युत उत्पादन सञ्चालन तथा हस्तान्तरणसम्बन्धी व्यवस्था गरिएको छ ।

 

अनुमतिसम्बन्धी व्यवस्थाको बुँदा १८ (१) ले विद्युत् उत्पादनका लागि बाह्य लगानी भित्र्याउन दिइने अनुमतिपत्र अवधिको व्यवस्था गरेको छ । यसले कर्णालीको विद्युत् विकासमा बाह्य लगानीकर्ता भित्रिने सरकारको अपेक्षा छ । कर्णालीकै जलस्रोतबाट विद्युत् उत्पादन गर्न ठूला जलाशययुक्त आयोजना निर्माणका लागि कुनै पनि विदेशी संस्थालाई लगानी गर्न ५० वर्षसम्म अनुमति दिने तथा यस्तै अन्य विद्युत विकास आयोजनाको हकमा ४० वर्षसम्म अनुमति दिने विधेयकमा उल्लेख छ ।

 

यसैगरी जलस्रोतबाहेक अन्य स्रोतबाट विद्युत उत्पादन गर्न २५ वर्ष, विद्युत् प्रशारण, वितरण तथा व्यापार सेवाका लागि २५ वर्ष र ग्राहक सेवाका लागि बढीमा ५ वर्षको अनुमति दिने व्यवस्था छ । करिब १८ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको भनिएको कर्णालीमा विद्युत विकासलाई गति दिने र स्रोतको परिचालन गर्ने उद्देश्यले ठूलो लगानीमा विद्युत आयोजना सञ्चालन गर्न चाहने विदेशी मुलुकलाई ५० वर्षसम्म अनुमति दिने नीति ल्याउन लाएिगको हो ।

 

बहुउद्देश्यीय जलविद्युत आयोजना, जलाशय तथा अर्धजलाशययुक्त आयोजना, नदी प्रवाहमा आधारित आयोजना र सौर्य ऊर्जा तथा विभिन्न नवीकरणीय ऊर्जामा आधारित विद्युत् आयोजनामा लगानी जुटाउन कर्णाली सरकारले प्रयास गरिरहेको छ । प्रस्तावित विधेयकको दफा २५ को उपदफा (१) मा कर्णालीका दुर्गम क्षेत्रमा विद्युत आयोजना विकास गर्नका लागि बाह्य लगानी जुटाउन आवश्यक देखिएमा प्रदेश सरकारले विदेशी लगानीकर्तासँग आयोजनाको एकीकृत विकास तथा वित्तीय सम्झौता गर्न सक्ने उल्लेख छ । यसैगरी स्थानीय तहलाई एक मेगावाट क्षमतासम्मका आयोजनाको अनुमति प्रदान गरिने भएको छ । साथै प्रदेश सरकारले स्थानीयलाई सीप र योग्यताका आधारमा रोजगारीको अवसर प्रदान गर्नुका साथै १० प्रतिशतसम्म सेयर दिने नीति लिएको छ ।

 

अहिले यो विधेयक कर्णाली प्रदेशसभामा छलफलकै क्रममा छ । बाह्य लगानी जुट्न नसकेकै कारण कर्णालीमा रहेको जलविद्युत् उत्पादनको सम्भावना अवसरमा रुपान्तरण हुन नसकेको सरोकारवालाहरुले बताउँदै आएका छन् । सरकारले ल्याएको यो विधेयक कानुन बनेपछि विद्युत् विकासमा ठूलो लगानी भित्रिने अपेक्षा गरिएको छ ।

 

गएको मंगलबार बसेको प्रदेश सभाको २९ औं बैठकमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले विधेयक सामान्य छलफलका लागि प्रस्ताव गरेकी थिइन् । विधेयकमा सामान्य छलफलपछि संशोधन प्रस्ताव गर्न चाहने प्रदेश सभा सदस्यलाई ७२ घण्टाको समय दिइएको छ । पूर्वमन्त्री गणेशप्रसाद सिंहक पालामा बिभिन्न मन्त्रालय सहित विज्ञसँग छलफल भएको थियो ।

 

काठमाडौ, २८ साउन ।

सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८.६७ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष ३ करोड १ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले घटेर ९ करोड ३६ लाख ८३ हजार रुपैयाँमा आएको छ ।

 

सम्भावित जोखिमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । जसका कारण नाफा घटेको देखिन्छ । असार मसान्तसम्म यो लघुवित्त २ करोड ६१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ । यसकोे प्रतितिसेयर आम्दानी ०.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा छ । यो लघुवित्त बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।

 

काठमाडौ, २८ साउन ।

सोनापुर मिनरल्स एन्ड आयल लिमिडेडले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो ।

 

यसमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

यता, कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

 

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

 

काठमाडौं, २८ साउन ।

२४ औं अन्तराष्ट्रिय युवादिवसको अवसरमा क्रिएसन नेपालद्धारा प्रस्तूतीकरण प्रतियोगिताको भव्य आयोजना सम्पन्न भएको छ ।

 

शनिवार काठमाडौंमा आयोजित प्रतियोगितामा काठमाडौं उपत्यमा रहेका विश्वविद्यालय स्तरीय कलेजका विद्यार्थीहरुले आफनो प्रस्तुतीकरण दिएका थिए । द कोकाकोला फाउन्डेसनको सहयोगमा भएको प्रतियोगिताको शिर्षक ‘‘नेपालमा प्लास्टिज्य बस्तुको जीवनचक्र’’ रहेको थियो ।

 

सो अवसरमा क्रिएसन नेपाल संस्थापक अध्यक्ष आनन्द मिश्राले देशको भविष्य युवा पुस्ताको हातमा रहेको बताउँदै जागरुक युवाहरुले जलवायु परिवर्तन तथा पर्यावरणलाई जोगाउन सक्रिय हुनु पर्ने बताए । उनले हामी पुरै पृथ्विको संरक्षण गर्न नसकेता पनि यदि हामी व्यक्तिगत रुपमा सुध्रिने प्रयास गरे केही हदसम्म जलवायु परिवर्तन तथा पर्यावरणलाई जोगाउन मद्दत पुग्ने बताए ।

आयोजक संस्थाका महासचिव सुजाता कोइरालाले प्रतियोगिताको बिषय प्रवेश गराउँदै प्लाटिस्क जन्य बस्तुको बारेमा विस्तृत दिदैं, यस क्षेत्रमा संस्थाले २००५ देखि गर्दै आएको प्रयासका बारेमा प्रकाश पारेकी थिइन ।

 

निर्णायक मण्डलबाट जय निशान्तले बोल्दै, युवाहरु उमेरले भन्दा सोचले युवा हुनु पर्नेमा जोड दिए । उनले भने, ‘युवा उमेरले होइन, युवा सोंचले हुनु पर्छ , जुन दिन देखि हामी केही नयाँ सोच्न बन्द गछौं त्यो दिन देखि बुझनु पर्छ अब हामी युवा रहेनौं ।’

 

संस्थाले विभिन्न कलेजबाट आएको प्रस्तुतीकरणबाट छनौट गरी अन्तिम प्रतिस्पर्धाको रुपमा ६ वटा कलेजलाई चयन गरेका थिए । जसमध्ये त्रिभुवन विश्वविद्यालय केन्द्रिय वातवारणीय साइन्स, व्यवथापन तर्फ किंग्स कलेज, कानुन तर्फ नेशनल ल कलेज, सामाजिक विज्ञान तर्फ सेन्ट जेभिर्यस कलेज, बातवरणीय इन्जियरिङ्ग तर्फ काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, जनस्वास्थ्य तर्फ होप इन्टरनेशनल कलेजको सहभागिता रहेको थियो ।

 

विद्यार्थीहरुले आ आफनो प्रस्तूतीकरण प्रस्तुत गर्दै प्लाटिकज्य वस्तुको जीवनचक्र, यसले वातावरण र मानव जीवनमा पारेको असर, युवा पुस्ताको भूमिका, कानुनी र व्यवहारिक रुपमा हामीले सुधार्नु र गर्नु पर्ने कामका बारे आ आफनो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

 

निर्णायक मण्डलको रुपमा संविधानसभा सदस्य तथा संवैधानिक कानुनका जानकार डा। खिमलाल देवकोटा, व्यवथापान, विकास, अन्तराष्ट्रिय सम्बन्धका जानकार पूर्व सन्चारकर्मी जय निशान्त, फोहोर मैला व्यवस्थापन क्षेत्रका विज्ञका रुपमा रहनु भएकी डा। ज्योती गिरी र संस्थाका अध्यक्ष आनन्द मिश्रा स्वयं रहेका थिए । उनीहरुले गरेको अंकको आधारमा नेशनल ल कलेजका विद्यार्थीले प्रथम र काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका वातावरणीय इन्जियरिङ्ग कलेजले दोश्रो स्थान हासिल गरेका थिए ।

बिजेता कलेजका विद्यार्थीहरुलाई प्रथम स्थान हासि गर्नेलाई नगद रु २० हजार सहित प्रमाणपत्र र दोश्रो हुनेलाई नगद रु १५ हजार सहित प्रमाणपत्र र सहभागि भएका अन्य कलेजका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

 

काठमाडौं, २८ साउन ।

अमेरिका (गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३–२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

 

शनिबार जूम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले एनसीसी (राष्ट्रिय समन्वय परिषद) हरुलाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई अगाडी बढाउन आफुले उम्मेदवारी गरेको बताए।

 

पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै सुवेदीले आफु महत्वाकांक्षी भएर हैन, २०२१–२३ कार्यकालमा एनसीसी अमेरिकामा आफुले गरेको कामको आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको बताए।  उनले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आफु अगाडी आएको बताउंदै संस्थालाई बलियो बनाउन आफुले इमान्दारीपूर्वक काम गर्ने बताए।

 

उनले काठमाडौँमा हुन गइरहेको ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे। संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न  र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।

 

महासचिव पदका उम्मेदवार सुवेदीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख माग रहेको बताउँदै तेश्रो पुस्ता पछि पनि एनआरएन नागरिकता निरन्तर गर्न आफुले आवाज उठाउने बताए।  एक प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुनः संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफु लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।

 

उक्त अवसरमा एनआरएनए अष्ट्रियाकी निवर्तमान अध्यक्ष भवानी तिवारी, फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनाल,  एनआरएनए इटालीका निवर्तमान अध्यक्ष छबिलाल कंडेल, क्यानाडाका निवर्तमान अध्यक्ष दिपक गौतम  रसियाका निवर्तमान अध्यक्ष शिवमणि भुर्तेल, जापानका निवर्तमान अध्यक्ष शिव पौडेल, एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारी, निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, पूर्व महासचिव अन्जन चौलागाईं,  पूर्व उपाध्यक्ष डिलु पराजुली, विश्वनाथ बराल, आइसीसी सदस्यद्वय नारायण कँडेल, बिनोद तिवारी, एनआरएन अभियन्ताहरु डा यादव पण्डित, एनआरएनएका युवा उपाध्यक्ष रोशन थापा, एसिया प्रशान्त क्षेत्रका पारसमणि पोख्रेल लगायतका वक्ताले सुवेदी हरेक किसिमले सक्षम,  योग्य र सबैको साझा व्यक्तित्व भएको र एनआरएनभित्र रहेका विकृति तथा विसंगति हटाउन पनि सुवेदीलाई विजयी बनाउन आग्रह गर्दै शुभकामना पनि दिएका थिए।

 

आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको संघको ११ औं विश्व अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ।

 

काठमाडौं, २८ साउन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’मा जाने भएका छन् ।

मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दिक्षा दिईरहेका एमाले अध्यक्ष ओलीले उनीहरुका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन् ।

 

‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्, आज पनि आएका थिए।  बालाई  भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए, तर मेरो फूर्सद मिलेन,’ ओलीले सो भेट पछि भने, ‘घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो ।’

 

ओलीलाई आफ्नो निवासमा भेटन आएका दुई किशोरीको तस्विर हाल्दै अगाडी लेखेका छन, ‘केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु ।’

 

काठमाडौ, २८ साउन ।

चिरख्वा हाइड्रोपावरले आज साउन २८ गते आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।

 

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १०% अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको छ ।

 

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गरेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०% अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

यस कम्पनीको आइपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।