गुल्मी, ३० साउन ।
गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो ।
तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।
मोरङ, ३० साउन ।
विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका-८ बस्ने २५ वर्षीय ईन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका-५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को.१ ह ६३९५ नम्बरको टेम्पोमा सवार ईन्द्र बहादुर र सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १-०१-०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौ, ३० साउन ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।
खुद ब्याज आम्दानी सामान्य (०.६० प्रतिशत) ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४% ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १६ करोड ७८ लाख १२ हजार रुपैयाँ छ ।
मस्को, ३० साउन ।
रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो ।
सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर विस्फोट भएको उद्धारकर्मीहरुले बताएका छन् । मखाचकला ६ लाखभन्दा बढी मानिसहरूको सहर, दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।
रुसको आपतकालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ । घाइतेसमध्ये १० जनाको अवस्था गम्भीर रहेकोे रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।
घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
सिन्धुपाल्चोक, ३० साउन ।
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले सो सडकखण्ड अवरुद्ध हुन पुगेको हो ।
मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको छ । वर्षा र बाढीका कारण हेलम्बु राजमार्गका विभिन्न स्थानमा क्षति गरेको छ । साथै केही बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम परेको छ ।
काठमाडौ, ३० साउन ।
नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। मंगलबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। साेमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौ, ३० साउन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२० विन्दुले घटेको छ । यससँगै सूचक २०७७.०३ अंकमा आएको छ । १२ लाख ३२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३३ सय १८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, ३० साउन ।
जगदम्बा इन्टरप्राइजेज प्रालिले आर्थिक वर्ष २०२१-२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार यस प्रालिले अघिल्लो वर्षको भन्दा १०.२३ प्रतिशत व्यापार वृद्धि गरेको हो । आर्थिक वर्ष २०२०-२१ मा यसले १४ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यस्तै, २०१९-२० मा १४ अर्ब ९८ करोडको व्यापार गरेको देखिएको छ ।
कम्पनीले लङ ट्रम कर्जा १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, १३ अर्ब ९२ करोड बराबरको सर्ट ट्रम लोनका लागि भने यसले ‘केयर एनपी ए ४ प्लस’ रेटिङ पाएको छ । यसले कुल १५ अर्ब ८० करोड ६० लाख रुपैयाँको रेटिङ गरेको हो ।
उद्योगले जगदम्बा र जग शक्ति ब्रान्डका विभिन्न आइरन र स्टिल उत्पादहरु बिक्री वितरण गर्दै आएको छ। पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ लगायतका विभिन्न स्टिल पोलहरु पनि निर्माण गर्दै आइरहेको छ ।
काठमाडौ, ३० साउन ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।
यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र अप्पर लोहोरे खोला हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।
काठमाडौं, ३० साउन ।
गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्।
एक दसक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो।
विभिन्न साहित्यीक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन्। उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि केही वर्ष पहिले लामो समयसम्म डोटेली शब्द र त्यसको नेपाली अर्थ लेखेर भाषाको उन्नयनमा योगदान पुर्याएका थिए।
डोटेली समाज कैलालीको कार्यसमिति सदस्यसमेत रहेका जोशीले डोटेली भाषाको पत्रिका सुदूर चिनारी र पश्चिमेली रैवारमा समेत काम गरिसकेका छन्। हाल उनी काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन्।