लमजुङ ३० साउन ।
लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएकाे छ ।
यहि भदाै ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयाेजना गरिएकाे आयाेजक हामखाेला व्यवस्थापन समितिले जनाएकाे छ । हामखाेला झरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिकाे साे महाेत्सवमा प्रतिष्ठित डिजेकाे प्रस्तुति रहनेछ ।
`गर्मी मौसम छ । छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेकाे साथमा नाँच्न पाईनेछ´, स्थानीय सहदेव गुरूङले भने ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वर्ष भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको थियाे । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सव गतबर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए ।
निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएका छन् । यस्तै, झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको छ ।
यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ ।
काठमाडौं, ३० साउन ।
बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । मंगलबार तेस्रो दिन उनीहरु कालोपट्टी बाँधेरै काम गरेका छन् ।
परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया ढिलाइ गरेको कारणले यथाशीघ्र प्रक्रियाअगाडि बढाउन शान्तिपूर्ण विरोध स्वरुप कालोपट्टी बाँधेर काम गरेकाक हुन् ।

हुम्ला, ३० साउन ।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्।

कांग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी सुदृढीकरणका लागि नेता कार्यकर्ताहरूमाझ गहन रूपमा विचार विमर्श गरिएको बताए।
‘झरीकै बीचमा हामीले जिल्लाका नेताहरूबीच एकता कायम गर्दै पार्टीका गतिविधिलाई सशक्त रूपमा कसरी अगाडि बढाउने? कसरी पार्टीका निकायलाई परिचालन गर्ने? आन्तरिक मदमेद भए कसरी अन्त्य गर्ने भन्ने विषयमा विचार विमर्श गर्यौं। सबै साथीहरूले पार्टीलाई गतिशील तुल्याउन एक जुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ,’ उनले भने। जिल्लामा पार्टीका साथीहरूबीचको एकता र सद्भाव देखेर आफूलाई खुसी लागेको विष्टले बताए।
प्रतिकुल मौसमका कारण जिल्लामा उपलब्ध हुन नसकेका पार्टीका नेताहरूसँग टेलिफोनमै समन्वय गरेर भए पनि पार्टी गतिशीलताका विषयमा छलफल भएको उनले जानकारी दिए। ‘कांग्रेस केन्द्रीय सम्पादन समिति सदस्य एवम् पूर्वमुख्य मन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेशका सभापति ललितजंग शाही, केन्द्रीय सदस्य रंगमती शाही, संविधान सभा सदस्य रिता शाही, प्रदेश सभा सदस्य विजया बुढा, हुम्लाका पूर्वपार्टी सभापति धनपति रोकायालगायत अन्य थुप्रै नेताहरूप्रति आभार व्यक्त गर्छु,’ विष्ट भन्छन्।
अभियान अवधिभर पूर्णरूपमा सहयोग र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा कर्णाली प्रदेशका प्रतिनिधि कर्णबहादुर रावल, जिल्ला सभापति मोहनविक्रम सिंहलगायत सम्पूर्ण जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, कर्णाली प्रदेशका सदस्यहरू, जिल्लाका दुवै प्रदेशका सभापतिलगायत कार्यसमितिका पदाधिकारप्रति विष्टले आभार व्यक्त गरेका छन्। उनले सात पालिकाका ४४ वटै वडाका नेताहरू, जनप्रतिनिधिहरू, भ्रातृ र सुवेच्छुक संस्थाका पदाधिकारीहरूसँग समेत अन्तरक्रिया गरिएको बताए।
श्रावण २० गतेदेखि कांग्रेसले थालेको आन्तरिक सुदृढीकरण विशेष कार्यक्रमको पहिलो चरण आजबाट सकिएको छ।

काठमाडौं, ३० साउन ।
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उनले भारतीय नागरिकता पाएसँगै मन र नागरिकता दुवै हिन्दुस्तानी भएको बताएका छन् । ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ उनले ट्वीटरमा लेखेका छन् ।
भारतीय नागरिकता लिनुअघि उनी क्यानडाको नागरिक थिए ।
काठमाडौं, ३० साउन ।
काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा ाजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो ।
ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, ३० साउन ।
बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ । बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राष्ट्रियसभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मङ्गलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं, ३० साउन २०८० ।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।
प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइनेछ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताए ।
‘प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रुख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले जीर्ण बनेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालू रहेको १३२ केभी सिङ्गल सर्किट मात्र थियो,उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या थियो, अव २२० केभी लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज हुने छ, भोल्टेजमा पनि सुधार हुनेछ ।’
अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित ३ वटा सर्किट भएका छन् । २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौंडाबाट नयाँ बुटवल सबस्टेसम्म २२० केभी प्रसारण लाइन जोडिनेछ ।
भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ । प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकसँग२०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो । सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण सुरु गरिएको आयोजना प्रमुख आयोजना प्रमुख सन्तोष साहले बताए ।
दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो । भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौडा–भरपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । २०७८ कात्तिकबाट विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–हेटौंडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौंडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, ३० साउन ।
सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ ।
सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।
दाङ, ३० साउन ।
पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन् ।
सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?,’ उनले भने ।
चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएकाा उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।
काठमाडौं, ३० साउन ।
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक
छ ।
मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
यसअघि सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ ।
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सुम्पिएको छ ।