काठमाडौं, ३० साउन ।
एक महिनाअघि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरिएको एक क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको सुन विभागको टोलीले २ साउनमा बरामद गरेको थियो । उक्त सुनलाई सोमबार ब्रेक शुबाटट निकालिएको थियो ।
सोमबार ब्रेक शुबाट निकालेर मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । गाल्दा सुनको तौल ७३ ग्राम मात्रै घटेको हो । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो ।
राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
काठमाडौं, ३० साउन ।
थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा मंगलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपालीमूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मुुलका नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आवश्वासन बताए ।

थाई र नेपालबाट दोस्रो बिश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउनसमेत थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ ।
गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिषा र अन्य सुविधाबाट बञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।
लमजुङ ३० साउन ।
लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले दुधपोखरीका दुई घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् ।
शनिबार र आइतबारको वर्षापछि पहिरो झर्दा दुधपोखरी गाँउपालिका २ भुम्लिचोकस्थित सानुमाया गुरुङ र जमुना गुरुङको घर पहिरोले भत्किएको छ । पहिरो जानसाथ घरमा भएका सानुमाया र जमुनाको परिवार भागेकाले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अमर गुरुङले जानकारी दिए।
वडा अध्यक्ष गुरुङका अनुसार उक्त वडाकै विचौर जलकेनि स्थित सिता तामाङ, ठुलो ढुङगाका राजकुमार तामाङ र मिन बहादुर तामाङ, विचौर ठाँटीका कृष्ण प्रसाद दवाडीको घर उच्च जोखिममा परेको छ भने विचौर मरठाह गाँउका भिम गिरिको घरनजिकै जमिन भास्सिएका कारण रुख ढल्न जाँदा गिरीको भान्सा कोठामा क्षति पुगेको छ ।
त्यसैगरी दुधपोखरीको वडा नंं. १ मा २२ घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त वडाका श्रीप्रसाद ढकालको गोठ पहिरोले भत्किएको छ भने गोठमा रहेको ३ वटा गाईलाई स्थानियद्धारा उदार गरिएको छ । ढकालको घर संगै अन्य ७ घर पनि उच्च जोखिममा परेको वडा नं. १ का वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।
सोही वडामा मंगलबहादुर नेपालीको घर छेउमै पहिरो जाँदा उक्त घर संगै ७ घर जोखिम परको र घमरचौर दुरा गुरुङको भान्सा कोठा पहिरोले लाँदा घर पनि जोखिममा परेको छ । कल्लाबारीमा पहिरो जाँदा ६ घर जोखिमा परेका छन् । ठूलो भिरमा गएको पहिरोका कारण कल्लाबारी मावि र राम कृष्ण निमाविमा पठनपाठन प्रभावित भएको छ । विद्यालय सम्म पुग्ने बाटो नभएका कारण विद्यालयनै बन्द गरीएको स्थानियको भनाई छ ।
काठमाडौ, ३० साउन ।
चालु साताकाे कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।
मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।
नेप्सेघटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ । मंगलबार उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।
लमजुङ ३० साउन ।
लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएकाे छ ।
यहि भदाै ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयाेजना गरिएकाे आयाेजक हामखाेला व्यवस्थापन समितिले जनाएकाे छ । हामखाेला झरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिकाे साे महाेत्सवमा प्रतिष्ठित डिजेकाे प्रस्तुति रहनेछ ।
`गर्मी मौसम छ । छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेकाे साथमा नाँच्न पाईनेछ´, स्थानीय सहदेव गुरूङले भने ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वर्ष भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको थियाे । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सव गतबर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए ।
निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएका छन् । यस्तै, झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको छ ।
यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ ।
काठमाडौं, ३० साउन ।
बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । मंगलबार तेस्रो दिन उनीहरु कालोपट्टी बाँधेरै काम गरेका छन् ।
परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया ढिलाइ गरेको कारणले यथाशीघ्र प्रक्रियाअगाडि बढाउन शान्तिपूर्ण विरोध स्वरुप कालोपट्टी बाँधेर काम गरेकाक हुन् ।

हुम्ला, ३० साउन ।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्।

कांग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी सुदृढीकरणका लागि नेता कार्यकर्ताहरूमाझ गहन रूपमा विचार विमर्श गरिएको बताए।
‘झरीकै बीचमा हामीले जिल्लाका नेताहरूबीच एकता कायम गर्दै पार्टीका गतिविधिलाई सशक्त रूपमा कसरी अगाडि बढाउने? कसरी पार्टीका निकायलाई परिचालन गर्ने? आन्तरिक मदमेद भए कसरी अन्त्य गर्ने भन्ने विषयमा विचार विमर्श गर्यौं। सबै साथीहरूले पार्टीलाई गतिशील तुल्याउन एक जुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ,’ उनले भने। जिल्लामा पार्टीका साथीहरूबीचको एकता र सद्भाव देखेर आफूलाई खुसी लागेको विष्टले बताए।
प्रतिकुल मौसमका कारण जिल्लामा उपलब्ध हुन नसकेका पार्टीका नेताहरूसँग टेलिफोनमै समन्वय गरेर भए पनि पार्टी गतिशीलताका विषयमा छलफल भएको उनले जानकारी दिए। ‘कांग्रेस केन्द्रीय सम्पादन समिति सदस्य एवम् पूर्वमुख्य मन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेशका सभापति ललितजंग शाही, केन्द्रीय सदस्य रंगमती शाही, संविधान सभा सदस्य रिता शाही, प्रदेश सभा सदस्य विजया बुढा, हुम्लाका पूर्वपार्टी सभापति धनपति रोकायालगायत अन्य थुप्रै नेताहरूप्रति आभार व्यक्त गर्छु,’ विष्ट भन्छन्।
अभियान अवधिभर पूर्णरूपमा सहयोग र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा कर्णाली प्रदेशका प्रतिनिधि कर्णबहादुर रावल, जिल्ला सभापति मोहनविक्रम सिंहलगायत सम्पूर्ण जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, कर्णाली प्रदेशका सदस्यहरू, जिल्लाका दुवै प्रदेशका सभापतिलगायत कार्यसमितिका पदाधिकारप्रति विष्टले आभार व्यक्त गरेका छन्। उनले सात पालिकाका ४४ वटै वडाका नेताहरू, जनप्रतिनिधिहरू, भ्रातृ र सुवेच्छुक संस्थाका पदाधिकारीहरूसँग समेत अन्तरक्रिया गरिएको बताए।
श्रावण २० गतेदेखि कांग्रेसले थालेको आन्तरिक सुदृढीकरण विशेष कार्यक्रमको पहिलो चरण आजबाट सकिएको छ।

काठमाडौं, ३० साउन ।
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उनले भारतीय नागरिकता पाएसँगै मन र नागरिकता दुवै हिन्दुस्तानी भएको बताएका छन् । ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ उनले ट्वीटरमा लेखेका छन् ।
भारतीय नागरिकता लिनुअघि उनी क्यानडाको नागरिक थिए ।
काठमाडौं, ३० साउन ।
काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा ाजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो ।
ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, ३० साउन ।
बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ । बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राष्ट्रियसभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मङ्गलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।