मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यलगायत सहभागी थिए ।
काठमाडौँ मंसिर २०,/
– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्ने बताएका छन्।
केपी ओलीकप टि २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई बधाई दिँदै उनले आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताए।
उनले प्रदेशका विजयी टिमलाई पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरे। उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए।
पोखरामा मंसिर १५ गते भएको रोमाञ्चक फाइनलमा मधेश प्रदेशले दश जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लवलाई ११ रनले पराजित गरेको थियो। यसअघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताए।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए।
महोत्तरी १९ मंसिर
– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रूपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्।
महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रूपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए ।
‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो’, प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, ‘यसको स्थायित्व र सवलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।’ स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिएका छन् ।
‘हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यही सच्चिन, रूपान्तरित हुनु अभियानको अभिष्ट हो ।’ अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल छ । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उनले बताएका छन् ।
वीरगञ्ज मंसिर १८,/
– पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध गरेका छन्। नगरपालिकाले कम्प्युटर अपरेटर, सुपरभाइजर, अनमी, अहेब, हेल्थ असिसटेन्ट, कविराज, स्टाफ नर्स, स्वयं शिक्षक/शिक्षिकालगायत पदमा ४२ जना कर्मचारी भर्ना गर्ने जनाएको छ।
नगरपालिकाले प्रकाशन गरेको सूचनामा परीक्षाका लागि मौखिक र अन्तर्वार्ता मात्रै दिनुपर्ने उल्लेख गरेको छ। यसरी बिना मापदण्डका आधारमा नगरपालिकाले एक हप्ताको समय दिनु तथा भएका कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था रहेका बेला आफ्ना आसेपासेलाई कर्मचारीको रुपमा भर्ना गर्न विज्ञापन गरिएको कांग्रेसका क्षेत्रीय सचिव सुरेन्दप्रसाद सिंहले बताए।

यसैगरी, नगरपालिकाको कर्मचारी भर्ना गर्ने मापदण्डसमेत नपुगेको तथा आफ्नो कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्न नगरपालिकाले मौखिक र अन्तर्वार्ता मात्रै लिएर भर्ना गर्न लागेकाले त्यसलाई रोक्नुपर्ने नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नलाल कुर्मीको भनाइ छ।
पोखरिया नगरपालिकामा कर्मचारी चाहिने भए नियमअनुसार भर्ना प्रक्रियामा जानुपर्ने रास्वपाका पर्सा जिल्ला संयोजक दिलीप कुर्मीले बताए।
पोखरिया नगरपालिकाले बितेको ७ र १० गते दुई वटा बिज्ञापन गरेर करारमा कर्मचारी भर्ना गर्न लागेको छ। यता नगरपालिकाले कर्मचारी भर्ना प्रक्रिया नरोकेपछि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता भएकोमा अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितलाई बिपक्षी बनाएर दर्ता भएको रिटको सुनुवाइ गर्दै न्यायाधीश राजेशकुमार काफलेको इजलासले सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
यसैबीच, अदालतको डण्डा चलेपछि नगरपालिकाको निम्ति प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले कर्मचारी भर्ना प्रक्रिया हालका लागि स्थगन गरेका छन्।
श्रविास्तवले सोमबार सूचना निकालेर करार सेवा तत्कालका लागि अर्को निर्णय वा सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराएका छन्।

धनुषा मंसिर १७/
धनुषामा एक महिलाको शव फेला परेको छ।
मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
उनका अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन्।
‘उनले रातो साडी र हातमा रातो पहेँलो रंगको लहठी लगाएकी छन्। अनुहार सुन्निएर कालो देखिएको छ। यस क्षेत्रमा अहिलेसम्म कुनै महिला हराएको हामी कहाँ जानकारी आएको छैन,’ प्रहरी निरीक्षक साहले भने।
शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो। धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।
बारा,मंसिर १७/
बारा जिल्लाको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरिएको छ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्टेसनको उद्घाटन गरेका हुन्।
अब विमानस्थलमा ११ किलोलिटर (केएल) र १६ केएल गरी २७ केएलका दुइटा रिफ्युलर रहनेछन्।
रिफ्युलिङका लागि जनकपुरबाट सिमरा विमानस्थलसम्म हवाइ इन्धन बोक्ने ९ केएलको डिस्पेन्सर राखिएको छ। भण्डारण ट्यांक नहुन्जेल जनकपुरमा रहेको डिपोबाट इन्धन ल्याइनेछ।
चालु अर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार रिफ्युलिङ स्टेसन उद्घाटन गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। छिट्टै भरतपुर र जुम्लाको विमानस्थलमा रिफ्युलिङ स्टेसन राखिने उनको भनाइ छ।
यो विमानस्थलमा बुद्ध एयरलाइन्सका सात र यतिको दुई जहाजले दैनिक उडान तथा अवतरण गर्दै आएका छन्।
काठमाडौंबाट छोटो दूरीमा रहेको यो विमानस्थलमा रिफ्युलिङ सुरू भएसँगै आपतकालीन उडान तथा अवतरणमा सहज हुने उल्लेख गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंबाट नजिकको विमानस्थलमा रिफ्युलिङ सेवाले निकै फाइदा पुग्ने बताए। ‘यहाँ पहिल्यैदेखि रिफ्युलिङ स्टेसन खाँचो थियो। यसबाट राज्यको ठूलो रकम बचत हुनेछ,’ उनले भने।
अब काटमाडौंको तुलनामा सिमरामा ढुवानी खर्च समेत कम लाग्ने उल्लेख गरिएको छ। त्यस्तै जहाजहरू रिफ्युलिङका लागि काठमाडौं पुगिरहनु पर्ने अवस्था पनि नरहने हुँदा इन्धन बचत हुने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेम ठाकुरले बताए।
रिफ्युलिङ स्टेसनका कारण वायुसेवा कम्पनीहरू उत्साहित भएको उनको भनाइ छ। यसले राज्यलाई पनि करोडौं बचत हुने उनले उल्लेख गरे।
महोत्तरी मंसिर १७,/
: मटिहानी नगरपालिकाले आइतबार ४० जना अपांगलाई कम्बल वितरण गरेको छ।
नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा नगरका ४० जना अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको हो।
अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि नगरपालिका हरपल तयार रहेको मेयर हरिप्रसाद मण्डलले बताए।
जनकपुरधाम,मंसिर १७।
नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् ।
३५१ मत ल्याएर निर्वाचित भएका गोहिवार शेखर कोइराला समूहका छन् । उनलाई पूर्व सांसद दिनेश प्रसैलाले सभापतिका लागि उम्मेदवार बनाएका थिए ।
शेखर कोइराला समूहकै दाबी गर्ने भूपनारायण यादव ३१२ र संस्थापन पक्षका साधु गोइत मात्र १०० मत ल्याएका छन् ।
भूपनारायणलाई धनुषा २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र गोइतलाई पूर्व सांसद मुक्ता यादवले मैदानमा उतारेका थिए ।
शनिवार तामझामका साथ बिदेह नगरपालिकाका ६ तीनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा पार्टीको क्षेत्रीय सभापतिका लागि शनिवार मतदान भएको थियो ।
वीरगन्ज,मंसिर १६।
आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एकजनालाई पक्राउ गरेको छ ।
गैरकानुनी गतिविधि गरेको आरोपमा बाराको आदर्श कोतवाल गाउँपालिका–८, लक्ष्मीटोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।
‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै वीरगन्ज महानगरपालिका–२३, हरपतगञ्जस्थित व्यापारीसँग मासिक रूपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस
जनकपुरधाम शनिबार, १६।
मुख्यमन्त्री सरोजकुमार यादवले शान्ति सुरक्षाको मध्यनजर गर्दै प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान गर्ने बताएका छन् ।
राजधानी जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको शुक्रबार शिलान्यास गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्ष सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिए ।
बारामा दिनदहाडै एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको स्मरण गर्दै उनले भने– पुरानो सीसीटीभी क्यामराको फुटेजको आधारमा अपराधी पक्राउ परेको थियो । प्रदेशमा रहेको सुरक्षा चुनौतीको मध्यनजर गरेर सरकारले कुनै प्रकारको ढिलासुस्ती नगरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायलाई हरसम्भव सहयोग गर्न तयार छ
मधेस प्रदेशमा कार्यरत प्रहरीका लागि प्रदेश सरकारले यसै वर्ष आवश्यक मेट्रेस (ओछ्याउने सामग्री) को व्यवस्था मिलाउँछ, मुख्यमन्त्री यादवले भने–प्रहरी चौकीहरूमा सवारीसाधनको लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको छु । यसले प्रदेशको सुरक्षा व्यवस्था सुदृढ पार्न सहयोग पुग्नुका साथै सुरक्षा निकाय उच्च मनोबलका साथ अघि बढ्ने विश्वास लिएको छु ।
प्रहरी समायोजन नहुँदा समस्या भएको जिकिर गर्दै मुख्यमन्त्री यादवले प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउने बताए । प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व घट्ने होइन, डेढ गुणाले बढ्ने दाबी उनले गरे ।
सो अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद ससीमले मधेसमा प्रहरीको ओछ्यान लिएर हिँड्ने प्रचलनको अन्त्य गर्ने बताए । प्रहरीको सरुवा हुँदा आफ्नो विस्तार लिएर जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ, उनले भने–यो बाध्यतालाई छिट्टै अन्त्य गरिन्छ ।
प्रदेशका चौकी र थाना निर्माण, पुनर्निर्माण, मर्मत सम्भार लगायतको कार्य गर्न १८ करोड रुपैयाँ छुट्ट्याइएको उनले जानकारी दिए ।
नेकपा एमाले मधेस प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रहरीको लागि चौकी, थाना निर्माणका साथै सवारीसाधनको समेत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा मधेस प्रदेश प्रहरी कार्यालय हालको सङ्घीय प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको हो ।
१८ महिनामा निर्माण हुने सम्झौता गरिएको उक्त भवन आधुनिक रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।
१६ मंसिर, जनकपुरधाम ।
धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।
सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।