काठमाडाैं पुस ५,
मधेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रादेशकि अस्पतालहरुका लागि करारमा जनशक्ति नियुक्त गर्नेगरी बिहीबार सूचना प्रकाशित भएको हो ।

पुष ०५ गते
मौलापुर नगरपालिकाले विपन्न परिवारलाई निशुल्क विद्युत उपलब्ध गराएको छ। ‘फ्री बिजुली, फ्री पानी’कार्यक्रमअन्तर्गत घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण विद्युत महशुल नगरपालिकाले भुक्तानी गरेको हो।
मेयर रीना कुमारी साहले यस आर्थिक वर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक विद्युत प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाएकी हुन् । मेयर साहको पहलमा करिब चार वर्ष अघिदेखि सुरू भएको यो कार्यक्रमले विपन्न परिवारलाई ठूलो राहत पुगेको बताइएको छ ।
पुस ०५ गते
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेपछि जग्गासम्बन्धी कार्यविधि विवादमा पनि परेको हो । कार्यपालिका बैठकमा उपमहानगर प्रमुख गोपाल हमालले पर्याप्त छलफल र पारित नभइकनै एकलौटी ढङ्गले उक्त कार्यविधि राजपत्रमा प्रकाशन गर्न लगाएको जनाउँदै कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् । “मङ्सिरमा बसेको कार्यपालिका बैठकमा उक्त विषयमा छलफल हुन नपाई गरिएको निर्णयले कार्यपालिकाको अर्थ रहेन”, कार्यपालिका सदस्य एवं वडाध्यक्ष मानबहादुर विष्टले भने, “कार्यविधिलाई गहनरूपमा अध्ययन, छलफल गरेर अर्को बैठकबाट पारित गर्नुपर्छ भन्ने आफूहरूको सुझाव थियो, तर प्रमुख हमालबाट पर्याप्त छलफल र कसैको पनि सहमतिबिना भोलिपल्टै कार्यविधिलाई राजपत्रमा प्रकाशित गर्ने काम भएको छ ।” उपमहानगरपालिकाका वडाध्यक्षसहितका २७ कार्यपालिका सदस्यको बैठकले उक्त कार्यविधि खारेजीको निर्णय गरेको उनले बताए । कार्यविधिलाई खारेज गर्नुपर्ने निर्णयसम्बन्धी प्रस्ताव उपमहानगरपालिकाको सचिवालयमा आज दर्ता गराएको छ । प्रमुख हमालले भने आफ्नो फेसबुक पेजमार्फत आफूविरुद्ध गुटबन्दी भएको भन्दै निर्णयबाट पछि नहट्ने बताएका छन् ।
उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गामा १० मिटर चौडा बाटो, सडकको दुवैतर्फ नाला निर्माण, विद्युत् पोलको व्यवस्था, तार जडान, पुलेसा निर्माण, ट्रान्सफर्मर जडान र खुला जग्गा अनिवार्य राख्नुपर्ने तोकिएको छ ।
कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ । सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा उपमहानगर क्षेत्रको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० बनाएको बताइएको छ ।
कार्यविधि राजपत्रमा प्रकाशन भएलगत्तैबाट धनगढीका जग्गाधनी र व्यवसायीले यस्तो कार्यविधिबाट जग्गाधनीको उठीबास हुने र यसबाट गम्भीर समस्या निम्तिने जनाउँदै विरोध गरेका छन् । उनीहरूले यो कार्यविधि खारेज गर्न सङ्घर्ष समिति गठन गर्नुका साथै निर्णयविरुद्ध अदालतसम्म पुग्ने निर्णय पनि गरेका छन् ।
पुस ५, गते
सरकारले युक्रेनी सेनाको कब्जामा रहेका चार जना नेपालीको रिहाइका लागि कुटनीतिक पहल थालेको छ । अस्ति मङ्गलवार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी पक्षसँग यस विषयमा कुरा गरेको हो ।
भेटमा युक्रेनी पक्षले नेपालीहरु कब्जामा रहेकोबारे औपचारिक जानकारी प्राप्त नभएको र नेपाली युद्धबन्दी भएमा रिहाइको पहल हुने आश्वासन दिएको छ । परराष्ट्र मन्त्रालयले उनीहरुको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अरु कुटनीतिक माध्यमहरुबाट पनि पहल भइरहेको जनाएको छ ।
बर्दियाका विवेक खत्री, काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा रहेका मन्त्रालयले पुष्टि गरेको छ ।
यसैबीच रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको छ ।
रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको हो । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले नेपाली राहदानी भएका कुन्दन सिंह नागलको ज्यान गएको जनाएको हो ।
मन्त्रालयका अनुसार नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरिएको छ ।
यस्तै, मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह पनि गरेको छ । सभार उज्यालो
०५ पुस
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको थियो । झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे ।
यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छभने हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । सभार रातोपाटी
४ पुस, जनकपुरधाम ।
नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन बिहीबार जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
सम्मेलनको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उनीसँगै अरु शीर्ष नेता पनि सम्मेलनमा सहभागी हुन आउने उनले बताए ।
वीरगन्ज पुस ४
— लामो समयदेखि वीरगन्ज सुक्खा बन्दरगाह यार्डमा थन्किएका कन्टेनरको भौतिक परीक्षण हुँदा अधिकांशमा सडेको छोकडा बरामद भएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले तेस्रो मुलुकबाट आयात गरिएका २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षण थालेको हो । सुक्खा बन्दरगाह यार्डमा ५ वर्षदेखिका कन्टेनर जाँचपास नगराई आयातकर्ताले राखेका थिए ।
मंगलबार साँझसम्म १ सय ३० कन्टेनरको भौतिक परीक्षण सकिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘१ सय ३० कन्टेनरको भौतिक परीक्षण सकिएको छ,’ उनले भने, ‘जाँच गरिएका अधिकांश कन्टेनरमा सडेका छोकडा बरामद भएको छ ।’ अहिले भौतिक परीक्षणमात्र गरिएकाले थप विवरण पछि आउने भन्सार कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण, प्रिस्टीन भ्यालीलगायतका प्रतिनिधिको रहोबरमा पुराना कन्टेनरको भौतिक परीक्षण भइरहेको छ । सिमित जनशक्तिका कारण २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षणमा समय लाग्ने भएकाले भन्सार कार्यालयले विभागलाई पत्राचार गरी थप कर्मचारी माग गरेको थियो ।
आयातकर्ता र कन्टेनरमा भएका मालवस्तुको विवरणसहित कार्यालयले गत मंसिर १० मा सार्वजनिक सूचना जारी गरी जाँचपास गराई लैजान आह्वान गरेको थियो । ‘विभिन्न आयातकर्ताले आयात गरेका तर नियमानुसार तोकिएको अवधिभित्र छुटाई नलगेका ६० दिन भन्दा बढी समयदेखि कार्यालयको भन्सार क्षेत्रमा रहेका विभिन्न प्रकारका मालवस्तु भन्सार ऐन २०६४ बमोजिमको नियमानुसार जाँचपास गरी नलगेमा कानुन बमोजिम कारबाही अगाडि बढाईने छ,’ भन्सारको सूचनामो उल्लेख छ ।
स्रोतका अनुसार लामो समयदेखि जाँचपास नभई भन्सार यार्डमा राखिएका कन्टेनरभित्र कोटाविपरीत ल्याइएका मालवस्तु भएकाले आयातकर्ताले ‘सेटिङ’ नमिलेसम्म जाँचपास नगराएका हुन् । ‘यही सूचना भन्सारमा पुगेपछि अहिले पुराना कन्टेनरको जाँचपास गर्न आयातकर्तालाई आह्वान गरी भौतिक परीक्षण थालिएको हो,’ एक व्यापारी भन्छन्, ‘ग्रिन च्यानलबाट पास हुने कन्टेनरको संख्या अहिले घटेको छ, पुरानो कन्टेनरहरुको ग्रिन च्यानलबाट जाँचपास निषेध गरिएको छ ।’
कार्यालयका अनुसार ग्रिन च्यानलमा घोषणा गरिएका मालवस्तुको जाँचपास गर्ने क्रममा भौतिक परीक्षण गरिँदैन । ग्रिन च्यानलबाट पुराना कन्टेनर फुत्किन सक्ने भएकाले उनीहरुको भौतिक परीक्षण गरेर मात्र जाँचपास गर्ने गरिएको छ ।
मागभन्दा अत्यधिक परिमाणमा मालवस्तु आयात गरी भारततर्फ चोरी निकासी बढेकाले सरकारले वैदेशिक मुद्रा सञ्चितिमा असर पुगेकाले आयात नियन्त्रित गरेको थियो । लामो समयदेखि जाँचपास नभई रोकिएका अधिकांश कन्टेनरमा आयात रोक्का भएको बेला सेटिङमा वा सरकारबाटै खुला गराउने उद्देश्यले मालवास्तु आयात गरेका व्यापारीको सेटिङ मिल्न नसकेपछि यार्डमा कन्टेनर थन्किएको हुन सक्ने भन्सारका अधिकृत बताउँछन् ।
आयातकर्ताका अनुसार कोभिडको समयमा सरकारले छोकडा, मटर, कालो मरिचको आयातमा रोक लगाएको थियो । ‘सरकारले मटर, कालो मरिचको जाँचपास पछि खुलाए पनि छोकडाको भने खुलाएन्,’ वीरगन्जका एक आयातकर्ता भन्छन्, ‘तर, छोकडाको जाँचपास सरकारले खोलाएन् । करोडौं मूल्य बराबरको छोकडा सडेर खेर गयो ।’
बारा ४ पुस ।
बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन्।
जनकपुरधाम पुष ४,/
: पछिल्लो समय मधेसका गाउँहरूमा चोरी, डकैतीसहित आपराधिक गतिविधि बढेपछि स्थानीय आतंकित बनेका छन्। अधिकांश घटनाहरूमा डाका र चोरहरूको समूहले घरेलु हतियारका साथै पेस्तोल समेत बोकेर आउने र घरमा पसेर बन्धक बनाएरै डकैती गर्ने गरे पनि प्रहरी प्रशासन बेखबर बनेको छ।
सिंह चूपचाप झ्यालको छेऊमा उभिए। झ्यालबाट एक युवकले पेस्तोल छिराउँदै फेरी धम्क्याए। तर, सिंहले हिम्मत गर्दै झ्याल बन्द गरिदिए। तीनचार जनाको संख्यामा रहेका हतियारधारीहरू सिंहको बुहारी सुतेकी कोठातिर हानिए र कोठा ढकढक्याउँदै खोल नत्र ज्यानले मार्छौं भन्ने धम्की पनि दिइरहेका थिए। सिंह हिम्मत गरी जोरजोरले हल्ला गर्न थाले। घरका सबै सदस्यहरू सहयोगको लागि हल्ला गर्न थालेपछि छरछिमेकी पनि उठे। जाग्राम भयो र गाउँलेहरू जुट्ने थाहा पाएपछि हतियारधारीहरू फरार भए।
त्यो भन्दा एकदिन अगाडि मात्रै सोही ठाउँका सुजित सिंहलाई हतियारधारी डाँकाहरूको समूहले बन्दुक देखाई बन्धक बनाएर घरबाट सरसामानहरू लुटेर लग्यो। प्रहरी प्रशासनलाई यस विषयमा खबर गर्दा पनि कतैबाट कुनै सुनवाई वा अनुसन्धान भएन।
सोमबार राति महोत्तरीकै जलेश्वर नगरपालिका —७, बखरी भाटमा डाँकाहरूले स्थानीय ललन प्रसाद शर्माको घरमा कोठाको ताल्चा फुटाई सरसामान लुटे। घरमा कोही नभएको मौका छोपी घटना घटाइएको थियो। गाउँघरका अधिकांश युवाहरू पढाइलेखाइ र रोजगारीका लागि सहरमा बस्न थालेपछि गाउँहरूमा वृद्ध र महिलाहरूनै बढी बस्ने गरेका छन्। यस्तोमा डाँकाहरूलाई प्रतिकार गर्ने वा सुरक्षाको लागि बोल्नेहरू समेत घरमा नहुँदा आपराधिक गतिविधि सहजै हुने गरेको नेपाली कांग्रेस मधेस प्रदेश सदस्य कृष्णा सिंह बताउँछन्।
‘हतियारसहित नै आउने चोरडाँकाहरूको प्रतिकार गर्न युवाहरूको समूह पनि गाउँघरमा छैन, प्रहरी प्रशासनलाई शान्ति सुरक्षाबाट मतलबनै नभएको जस्तोदेखिन्छ। गाउँघरमा प्रतिदिन आपराधिक गतिवीधि भईराखेको छ र हामीले पटक–पटक प्रहरीलाई सुरक्षा गस्ती बढाउन आग्रह गरे पनि आश्वासन बाहेक केही पाएका छैनौं,’ कृष्णाले बताए।
भारतीय सीमाक्षेत्रसँग जोडिएका गाउँहरूमा आपराधिक गतिविधि गरेपछि अपराधीहरू भारततर्फ भाग्ने गरेको स्थानीयहरू बताउँछन्। यता, सीमा सुरक्षाको जिम्मेवारी बोकेर सीमा क्षेत्रमा तैनात सशस्त्र प्रहरी बलले पनि यस्ता घटनाहरू नियन्त्रण गर्न खासै पहल गरेको देखिँदैन। मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी दिपेन्द्र साह आफूहरूलाई यस्ता घटनाहरूको विषयमा वा गाउँघरमा हुने गरेको शंकास्पद गतिविधिका सन्दर्भमा सहि समयमा सूचना नै नआउने हुनाले शान्ति सूरक्षाको सवालमा सकेजति योगदान पुर्याउन नसकेको स्वीकार गर्छन्।
उनी भन्छन्, ‘हाम्रा बोर्डर आउट पोस्टहरू सीमामै अवस्थित भए पनि हामी जनतासँग धेरै घुलमिल हुन सकेका छैनौं। हाम्रो काम गर्ने प्रवृत्ति पनि अलि फरक भएर होला जनताले हामीसँग समन्वय खासै गर्दैनन्। जनता र सशस्त्र प्रहरी बीचको दूरी कम गर्न भर्खरै हामीले सीमावासीसँग कार्यक्रम पनि गर्यौं यदि हामीलाई सही समयमा सूचना प्राप्त भयो भने यस्ता आपराधिक गतिविधिहरूलाई सकेसम्म नियन्त्रण गर्न सकिन्छ।’
सर्लाही, पुस ४ गते ।
नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मङ्गलबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमार दनुवारको मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका कुँवरलाई सडकमा साइकलसहित लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनिट्रकले ठक्कर थियो ।
दुर्घटना लगत्तै कुँवरलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दनुवार सासपुरको डाबरीस्थित इँटा भट्टामा मजदुरी गरेर घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो ।
साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोज्दै जाँदा उक्त मिनिट्रक दुर्घटना भएको करिब चार घण्टापछि जुट पानी पानी फ्याक्ट्रीको रहेको खुलेको र राति नै फ्याक्ट्रीभित्रै राखिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।