पुस ०६ गते
हमासले बन्धक बनाएकाहरूलाई रिहाइ गर्न गम्भीर प्रयास भइरहेकाे अमेरिकाले बताइरहेका बेला हमासले भने यसलाई खारेज गरेकाे छ । हमासले गाजामा युद्ध अन्त्य गर्न इजरायल सहमत नभएसम्म बन्धकहरूकाे रिहाइ सम्भव नरहेकाे बताएकाे हाे ।
अरबी भाषाकाे एक विज्ञप्तिमा हमासले भनेकाे छ, ‘प्यालेस्टाइनका जनताले आक्रमण बन्द नभएसम्म बन्धक वा बन्दीहरूको आदानप्रदानको बारेमा थप वार्ता सुरु नगर्ने निर्णय गरेका छन् ।’
इजिप्टको कायरोमा युद्धविरामका लागि वार्ता भइरहेको छ । बुधबार भएको वार्ताले कुनै नतिजा निस्कन सकेको छैन । वार्तामा हमासले केही दिनको युद्धविराममा सहमत नहुने बताएको हाे ।
नोभेम्बरको अन्तमा छ दिनको युद्धविरामको क्रममा हमासले प्यालेस्टाइनी कैदीहरूसँगको आदानप्रदानमा १ सय ५ बन्धकहरूलाई रिहा गरेको थियो । गाजामा अझै पनि १ सय २० जना इजरायली बन्धक रहेको बताइएकाे छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले इन्धन सकिएको कारण उत्तरी गाजामा अहिले कुनै अस्पतालले काम नगरेको जनाएको छ । गाजामा हमास विरुद्ध अभियान चलाउँदै आएको इजरायली सेनाले गाजा शहरमा हमास नेताहरूसँग जोडिएको अर्को सुरुङको नेटवर्क फेला पारेको बताएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ४० जनालाई बन्धक बनाएको थियो । यस आक्रमणमा १ हजार २ सय भन्दा बढी इजरायली मारिएका थिए ।
इजरायलको आक्रमणबाट गाजामा हालसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा फेरि एकपटक युद्धविराममा मतदान गर्ने तयारी भइरहेको छ ।
पुस ०६ गते
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री दाहालले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् ।
यसअघि बिहान १० बजे प्रधानमन्त्रीले दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् ।
मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।
आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।
पुस ०६ गते
नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।
आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।
तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
५ पुस, काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको मधेश प्रदेश कार्यसमितिको प्रथम सम्मेलनमा अनुपस्थित भएका छन् । वरीयतालाई लिएर मधेश प्रदेश कार्यसमितिमा संस्थापन र संस्थापन इतर समूहबीच विवाद भएपछि डा. कोइराला सम्मेलनमा अनुपस्थित भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विवादमा तानिएको आफ्नो धार्मिक अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । उनले आफूलाई सबैको अभिभावक बताउँदै सबै अस्तित्वको समान गर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रियसभा चुनावका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ११ माघमा हुने चुनावका लागि आज मतदानस्थल र केन्द्र तोकेको हो । प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ ।
बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेर ३९६.६२ अंकमा पुगेको छ ।
उत्तर कोरियाले यसै हप्ता आफ्नो देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । ह्वासङ–१८ क्षेप्यास्त्र सोमबार प्रक्षेपण गरिएको थियो । ठोस इन्धनको प्रयोग हुने यस क्षेप्यास्त्रले अमेरिकासम्मै पुगेर आक्रमण गर्न सक्ने उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । क्षेप्यास्त्र परीक्षणस्थल नजिकैबाट सर्वोच्च नेता किम जोङ उनले ह्वासङ–१८ को प्रक्षेपण अवलोकन गरेका थिए ।
जनकपुरधाम पुष ५।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् ।
काठमाडौं पुष ५,
: वीरगन्ज युनाइटेडले काठमाडौं रेजर्सलाई सनसनीपूर्ण जित निकालेको छ। दशरथ रंगशालामा बिहीबार भएको खेलमा बीरगंजले काठमाडौंलाई ४-१ ले हराएको हो।
वीरगन्जका लागि विलियम ओपोकुले ह्याट्रिक गरे। उनले ४५, ५५ र ५७ मिनेटमा गोल गरेका थिए। त्यस्तै वीरगन्जका लागि सुनिल खड्काले ४६ मिनेटमा गोल गरेका थिए। खेलमा काठमाडौंले जुनियर एन्कुन्गेको गोलमा अग्रता लिए पनि अन्त्यमा पराजित हुन पुग्यो।
यससँगै काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कस्टकर बनेको छ। प्लेअफका लागि काठमाडौंले बाँकी एक खेल जित्नैपर्ने भएको छ भने शीर्थ चारभित्र रहेका टोलीहरूको नतीजामा भर पर्ने भएको छ।
पुष ५ गते
नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न शहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’
यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।
पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।
‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनको भनाइ थियो ।
उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए ।
‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु,’उनले भने ।
कार्यक्रममा बोल्दै भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।
कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए ।
एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन,न्युयोर्क,बोस्टन,न्युहेम्पसायर,कोलराडो,सिकागो,मिसिगन,ह्युस्टन,डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी शहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो ।
पुष ५ गते
बुढानिलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पुष ५ गते
सरकारले सञ्चारमाध्यम तथा पत्रकारहरुको नियमन र अनुगमनका लागि दुई स्वायत्त निकायको परिकल्पना गरी कानुनको मस्यौदा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित राष्ट्रिय आमसञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।
मस्यौदामा राष्ट्रिय आमसञ्चार प्राधिकरणले सबै सञ्चार माध्यमहरुको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने उल्लेख छ । त्यस्तै नेपाल मिडिया काउन्सिललाई पत्रकारहरुको दर्ता, अभिलेख, प्रमाणपत्र दिने र आचारसंहिता अनुगमनको काम गर्ने जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
सञ्चार माध्यमहरुको दर्ता, व्यवस्थापन र नियमन गर्न हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, राष्ट्रिय प्रशारण ऐन र नेपाल प्रेस काउन्सिल ऐनलाई विस्थापित गर्ने गरी यी दुई विधेयक ल्याउन लागेको हो ।
राष्ट्रिय आमसञ्चार विधेयकमा के छ ?
विधेयकमा स्वायत्त प्रकृतिको राष्ट्रिय आमसञ्चार प्राधिकरणको परिकल्पना गरिएको छ । जसले आमसञ्चार संस्थाको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने प्रस्ताव गरिएको छ । विधेयकमा सबै सञ्चारमाध्यमहरु स्थानीय तहमा दर्ता गर्नुपर्ने प्रस्ताव छ । प्राधिकरणले भने सबै स्थानीय तहको एकीकृत अभिलेख राख्नेछ ।
प्राधिकरणलाई प्रशारण माध्यम र केबुल टेलिभिजनको दर्ता र अनुमतिपत्र वितरणको अधिकार दिने प्रस्ताव विधेयकमा गरिएको छ ।
विधेयकमा एउटै परिवार वा समूहले छापा, विद्युतीय वा प्रशारण प्रकृतिका प्रकाशन वा प्रशारण गर्न निरुत्साहित गरेको छ । एउटा प्रकृतिको सञ्चारमाध्यममा लगानी भए अर्कोमा बहुमत हिस्सा नहुने गरी व्यवस्थापन गर्नुपर्ने प्रस्ताव छ ।
सञ्चारक्षेत्रमा लगानी गर्नेहरुले व्यवसायिक योजना, जनशक्ति, सम्पादकीय नीति तथा लगानीको स्रोत समेत खुलाउनुपर्ने भनी विधेयकमा व्यवस्था गरिएको छ । अबदेखि विदेशी सञ्चार माध्यमले नेपालभित्र प्रतिनिधि राख्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था विधेयकको मस्यौदामा छ ।
विधेयकमा सञ्चारमाध्यमले संघीय इकाइबीच खलल हुने विषय, साम्प्रदायिक विषय, गाली बेइज्जती हुने विषय प्रकाशन तथा प्रशारण गर्न नपाइने उल्लेख छ । उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यहोरा समावेश छ ।
सार्वजनिक भएको समाचार वा सूचनाले कसैलाई क्षति पुगेको भए क्षतिपूर्ति भराउनसक्ने व्यवस्था विधेयकमा राखिएको छ । तर जरिवाना र क्षतिपूर्तिको फैसला गर्ने अधिकार जिल्ला अदालतलाई हुने प्रस्ताव गरिएको छ ।
आमसञ्चार विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन र राष्ट्रिय प्रशारण ऐन विस्थापित गर्नेछ ।
पत्रकारिता वा आमसञ्चार क्षेत्रमा २० वर्ष काम गरेको र ३५ वर्ष पूरा भएको व्यक्ति प्राधिकरणको अध्यक्ष हुनेछ ।
प्राधिकरणमा चार सदस्य हुनेछन्, जहाँ प्रशासन वा कानून वा व्यवस्थापन, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स इञ्जिनियर र मन्त्रालयको एकजना सहसचिव सदस्य हुने प्रस्ताव छ । मन्त्रालयको प्रतिनिधिबाहेक सबैको अनुभव १५ वर्षको हुनुपर्नेछ । सबैको कार्यकाल चार वर्ष हुने प्रस्ताव छ ।
मिडिया काउन्सिल विधेयकमा के छ ?
पत्रकारहरुको दर्ता, अभिलेखीकरण र आचारसंहिताको अनुगमन गर्ने एकत्रित अधिकार सहित मन्त्रालयले मिडिया काउन्सिल विधेयकको मस्यौदा पनि बिहीबार नै सार्वजनिक गरेको छ ।
पत्रकारहरुको आचारसंहिता अनुगमन गरिरहेको प्रेस काउन्सिल नेपाललाई विस्थापित गर्ने गरी मिडिया काउन्सिल स्थापनाको प्रस्ताव विधेयकमा छ ।
अहिले सूचना विभागले पत्रकारहरुको दर्ता, अभिलेखीकरण र परिचपयत्र दिने काम गरिरहेको छ भने प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता पालना गरेको वा नगरेको अनुगमन गरिरहेको छ । विधेयकमा यी दुवैथरी काम गर्ने गरी मिडिया काउन्सिलको प्रस्ताव गरिएको हो ।
सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको वरिष्ठ अधिवक्ता वा पत्रकारितामा विशिष्ट योगदान पु¥याएको व्यक्ति मिडिया काउन्सिलको अध्यक्ष हुनेछन् । अध्यक्षका लागि २० वर्षको अनुभव र न्यूनतम ४५ वर्षको उमेर तोकिएको छ । अरु सदस्यहरुका लागि १५ वर्षको अनुभव र न्यूनतम ३५ वर्षको उमेर तोकिएको छ ।
काउन्सिलमा मन्त्रालयले तोकेको सहसचिव, पत्रकार महासंघको अध्यक्ष सदस्य हुनेछन् । विभिन्न सञ्चारमाध्यमका प्रकाशक, सम्पादक, पत्रकार समेतको प्रतिनिधित्व हुने सबै प्रदेशबाट गरी थप ७ जना सदस्य हुनेछन् ।
एक जना साहित्यिक पत्रकार र थप एक जना विज्ञ हुनेछन् । पाठक, दर्शक, स्रोताको प्रतिनिधित्व हुने गरी एक जना सदस्य थपियो । काउन्सिलमा अध्यक्ष बाहेक १२ जना सदस्य हुनेछन् ।
काउन्सिललाई आचारसंहिताको पालना, उजुरी जाचबुझको प्रमुख जिम्मेवारी तोकिएको छ । त्यसबाहेक पत्रकारिता क्षेत्रको अध्ययन, सरकार र सञ्चारमाध्यमहरुको समन्वय लगायतका जिम्मेवारी पनि प्रस्ताव गरिएको छ ।
कुनैपनि सञ्चारमाध्यममा प्रकाशित समाचार वा सूचनाबाट अर्को पक्षलाई गम्भीर असर परेको लागेमा जिल्ला अदालतमा उजुरी दिन सक्ने प्रस्ताव विधेयकमा छ ।
अदालतले मनासिव क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिनसक्ने व्यवस्था गरेपनि क्षतिपूर्तिको रकम खुलाइएको छैन । यो विवादमा न्यायाधीशलाई असीमित तजविजी अधिकार प्रस्ताव गरेको देखिन्छ ।
सञ्चार मन्त्रालयले विज्ञ समेतको संलग्नतामा मस्यौदा तयार पारिएको भन्दै १५ दिनभित्र त्यसवारेमा सुझाव दिन आह्वान गरेको छ ।
पुष ५ गते
नेपाली कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएको छ। बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षको विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएको हो।
सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरे पनि असन्तुष्ट पक्षले असहमति राखेका छन्। सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका थिए भने पदाधिकारीहरूलाई मञ्चमा राखिएको थियो। तर, पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा सहभागी भए पनि मञ्चमा बस्न मानेनन्। निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्। मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्।
प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएनन्।
यसैबीच नेता शेखर कोइराला पनि मधेश सम्मेलनमा गएका छैनन्। सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीको कार्यकर्ता भेटघाटमा छन्। सभार नेपाल लाइभ