२०८३ आश्विन ६
२०८३ आश्विन ६

रौतहट २७ माघ।
कुनै समयमा जिल्लाकै सबभन्दा ठूलो उद्योगको रूपमा परिचित गरुडा स्थित  श्रीराम सुगर मिल्स लिमिटेडका सञ्चालकले तलब सुबिधा नदिँदा पीडित मजदुर कर्मचारी श्रम अदालत काठमाण्डौ पुगेका छन्।

 

प्राविधिक कारण देखाउँदै मिलमा कार्यरत मजदुर कर्मचारीको तलब सुबिधा नदिएर मिल बन्द गरेका सञ्चालक बिरुद्द श्रमिक मजदुर तथा कर्मचारीहरू काठमाडौं अनामनगर स्थित श्रम अदालत पुगेका हुन्।

 

मिल बन्द भएको तीनवर्ष बित्दा पनि पाउनुपर्ने तलब सुबिधा १३ करोड भन्दा बढी रुपैया हालसम्म पाउन नसकेको कारण कैयौं परिवारको बिच्चली भएको छ।

वर्षौं बित्दासम्म बक्यौता रकम तिर्न  कारखाना उद्योग व्यवस्थापन पक्षबाट पटकपटक आश्वासन मात्र पाउने तर भुक्तानी भने हालसम्म पाउन नसकेको मजदुर तथा कर्मचारीले गुनासो गरेका छन।

२०४९ सालमा सिलान्यास भई २०५१ साल पुस २४ गतेदेखि उँखु क्रसिङ संगै सञ्चालनमा आएको गरुडा स्थित श्रीराम सुगर मिल्स २६ वर्षसम्म लगातार सञ्चालनमा रहेको थियो।

मिलका संस्थापक दिवाकर गोल्छा निधन पछि उनको छोरा हृतेस गोल्छाले मिल व्यवस्थापन गर्न नसकेर २०७४/०७५ मा अर्का एकजना ब्यापारी विशाल अग्रवाललाई मिलमा साझेदार बनाएको थियो।

प्रत्येक बर्ष घाटा देखाउँदै २०७७ साउन ११ गते एक्कासी मिल प्रशासनले एउटा सूचना जारिगर्दै सदाका लागि बन्द गरेको थियो।

मिल बन्द गर्नु अघि कुनै कर्मचारी अथवा मजदुर संगठन लाई कुनै जानकारी नभएको बताउँछन्।
सञ्चालनमा रहेको कुनै पनि मिल अथवा कुनै उद्योग बन्द भएको १५ दिनभित्र सञ्चालक पक्षले त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने श्रम नियमावलीमा उल्लेख गरिएको छ।

 

तर जिल्लाकै ठुलो उद्योग श्रीराम सुगर मिल्समा तत्कालीन कार्यरत ३०३ जना मजदुर कर्मचारीको बक्यौता पारिश्रमिक भुक्तानी गर्न महिनौसम्म मिल प्रशासनले कुनै वास्ता नगरेको मजदुर कर्मचारी बताउँछन्।

यसरी उनीहरू बाध्य भएर २०७८ सालमा पहिलो पटक श्रम कार्यालय बिरगंजमा मुद्दा गरेको समाजबादी ट्रेड यूनियन ईकाई सचिव राजदेव सहनीले बताएका छन।

श्रम कार्यालय वीरगंजले २०७९ सालमा मजदुरको पक्षमा फैसला गरेको थियो। फैसला अनुसार उद्योगीले मजदुर कर्मचारीको बक्यौता तलब सुविधा बापत कुल १३ करोड १९ लाख७६ हजार ३१६ रुपैया ३६ पैसाले उद्योगीले तिर्नुपर्ने हुन्छ।

उक्त फैसला पछि उद्योगी हृतेश गोल्छा र बिशाल अग्रवाल, उनको कानुनी सल्लाहकार नवलकिशोर झाले श्रम अदालत काठमाण्डौमा लिखित निबेदन दिएर भुक्तानीको लागि समयको माग गरेका थिए।

सो पछि श्रम अदालतको पहलमा उद्योगी र मजदुर कर्मचारी बिच भएको छलफलमा आउने फागुन २ गते भुक्तानी गर्ने उद्योगीले लिखित सहमती गरेको छलफलमा सहभागी समाजबादी ट्रेड यूनियन ईकाई सचिव राजदेव सहनीले बताएका छन।

सहमती अनुसार भुक्तानी गर्न मात्र ४ दिन बाँकी रहेको छ तर अहिले सम्म उद्योगी पक्षबाट कुनै पहल नदेखिएकाले आफूहरु खबरदारीको लागि श्रम अदालतमा शुक्रवार मौखिक तागेदा गरेको सचिव सहनीले जानकारी दिएका छन।

तत्कालीन प्रधानमन्त्री स्व: गिरिजा प्रसादको निर्देशनमा २०५१ सालमा गरुडा स्थित स्थापना भएको जिल्लाकै सबभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स सञ्चालन रहँदा मजदूर कर्मचारी गरी ६०० जना मानिसले प्रत्यक्ष रोजगारी २० हजार किसान र हजारौं मानिस लाभान्वित रहेका थिए।

स्थापनाकाल देखिनै वर्षेनी नाफामा रहेको श्रीराम सुगर मिल्सका तत्कालीन सञ्चालक हृतेस गोल्छा माओबादी द्वन्दकालमा मिलको वास्ता नगरेको कारण व्यवस्थापनको कमजोरीले मिल घाटामा गएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।

उद्योगी द्धय बिभिन्न बैंकको कर्जा देखाएर उक्त चिनिमिल विक्री गरिसकेका छन। तर, मिल सञ्चालनको लागि भनेर कौडीको भाउमा ८० विगहा जग्गा दिने किसान र उंखु उत्पादक किसान संघ रौतहटले रोक्का गरेका छन। अथवा मिलको सामान खोल्न दिएका छैनन साथै जग्गा बिक्रीमा समेत रोक लगाएका छन।

यसैबीच बिहीवार मिलकै प्राङ्गणमा आयोजित नेकपा एमालेको १० औं जिल्ला अधिवेशनका प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीले बन्द रहेको उक्त मिल पुनः सञ्चालनको लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउने बताएका थिए।न्युज कारखाना

बारा, २७ माघ ।

बाराको निजगढ नगरपालिकामा श्रम आप्रवासन र स्थानीय सरकारको भूमिका छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चको आयोजनामा भएको छलफल कार्यक्रममा बाराको चार पालिकाका प्रतिनिधि र स्थानियको उपस्तिथी रहेको थियो ।

 

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाँउपालिकाका प्रतिनिधि र वैदेशिक रोजगार सरोकारवालाहरूको उपस्थितिमा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ ।

 

कार्यक्रममा वैदेशिक रोजगारीमा जाने तथा आउनेले सरकारबाट हुने भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिईएको थियो ।

 

कार्यक्रममा वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चका कार्यकारी निदेशक प्रेम चन्द्र राईले बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि रहेकी निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङले वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले उनीहरूलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताईन । यस्तै रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय उपाध्यक्ष तथा वैदेशिक रोजगार बिभाग प्रमुख रामकृष्ण घिमिरेले सामाजिक रूपमा लगाइने लाञ्छनालाई न्यूनीकरण गर्ने कार्य यस प्रकारका अभिमुखीकरण गर्ने आबश्यक रहेको बताए ।

 

कार्यक्रममा सहभागि निजगढ नगरपालिकाका रोजगार संयोजक रिषभ काफ्ले जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिए भने उनले वैदेशिक रोजगारमा गएको र फिर्ता भएको रेर्कड र जानकारी स्थानिय तहलाई सरकारले उपलब्ध नगराएका कारण यसको यकिन तथ्याङ्ग पालिकासंग नहुनुमा केन्द्र सरकारको रेकर्डमा स्थानिय तह समाबेश नभई जिल्ला गर्त तथ्याङ्ग रहनु प्रमुख कारण रहेको जिकिर गरे ।

 

त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिनुपर्ने उपस्थित सरोकारवालाहरूको भनाई रहेको छ ।

 

सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चका सदस्य तथा कार्यक्रमका सहजिकरण गरेका लिलाम्बर बडालले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको बताए ।

 

कार्यक्रममा सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चका अनुराग देबकोटा, सम्नब श्रेष्ठ, निजगढ नगरपालिकाका सब ईन्जिनियर नबिन खनाल, पत्रकार दिवाकर भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।न्युज कारखाना

सिरहा, २७ माघ।

सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले  नियन्त्रणमा लिएको हो।

जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए। दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ।

 

प्रहरीले खोजीकै शिलशिलामा बिहिवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जानकारी दिए । पक्राउ परेका दासलाइ आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाए ।न्युज कारखाना

 

माघ २६ रौतहट ।

रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्।

नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्रमुखले छानविन नै नगरी आफूलाई बदनाम गर्ने उद्देश्यले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको उनको आरोप छ।

शुक्रबार वडा कार्यलयमा सञ्चारकर्मीसँग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुखले आफ्नो नजिकको व्यक्तिलाई वडाको सिफारिश बिना रकम दिने तथा गरिव असहायलाई सिफारिश गरेर पठाउँदा फाइल नै गायव गरिदिएको आरोप लगाएका छन्।

बैठकमा सादा पानामा हस्ताक्षर गराएर मनोमानी ढंगबाट योजना लेख्ने गरेको बताउँदै आवाज उठाउँदा धम्कि दिने गरेको गुनासो गरे। आर्थिक वर्ष २०७९/८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिशसहितको फाइल नै गायव गरिदिएको स्थानीय ठगा साहले बताए।

एक वर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निवेदन दिएकोमा अहिलेसम्म रकम नपाएको गुनासो गरे।

वडा नम्बर ८ का स्वतन्त्र निर्वाचित भएका वडा अध्यक्ष शिव प्रसन यादवलाई समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाई सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए। स्थानीय नरेश यादवले एक वर्षदेखि दौड धुप गरे पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।न्युज कारखाना

महोत्तरी, २६ माघ ।

भएको उर्बर जग्गा रातु नदीले कटान गरेपछि ९ वर्ष अगाडि बर्दिवास–९ का श्रवण महतो साउदी अरब पुगेका थिए । एकातिर सिँचाइको समस्या र अर्कोतिर भएको जग्गा नै बाढीको कारण बगरमा परिणत भएपछि पारिवारिक भरणपोषणको लागि साउदी पुगेका महतोले कमाउनुभन्दा पनि धेरै  गुमाएर  फर्किए ।

 

‘घरमा आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्,’ उनले भने, ‘बचेको जग्गा पनि कटानको थप चपेटामा परेको थियो ।’

९ वर्षपछि निकै आशा बोकेर घर फर्किएका महतोले कुनै परिवर्तन भएको पाएनन् । अवैध उत्त्खननकै कारण सिँचाइमा समस्या बनेपछि परदेश गएका महतोले अहिले त नीतिगतरुपमा नै  उत्त्खननलाई प्रोत्साहन गरेको महसुस गरेका छन् ।

 

अव्यवहारिक र अवैज्ञानिक उत्त्खननका कारण पानीका सतहहरु भासिएकै कारण खेतीपातीमा समस्या बनिरहेको उनको बुझाइ छ । नेपालमा नै केही गर्ने मनसाय वोकेर आए पनि महतो अहिले विरक्तिएका छन् ।

 

‘नवनिर्वाचित यो स्थानीय सरकारले पो केही गर्ला कि भनेको त अघिल्लो सरकारभन्दा पनि गैरजिम्मेवार देखियो,’ उनले भने । अब पुनः विदेश नै फर्किने महतोले तरखर गरेका छन् । आम्दानीको मुख्य स्रोत कृषि नै भए पनि खोला दोहनबाट कृषि क्षेत्रलाई असर गरिरहेको छ । तर, यसलाई रोक्ने प्रयास स्थानीय सरकारले नगरेकाले फेरि विदेश जाने तयारी गरिरहेको महतो बताउँछन् ।

उनीमाथि मात्र होइन अरु युवा पनि विदेश जाने तरखरमा छन् । बर्सेनि किसानहरुको बिघाँै जग्गा बगाएर बेघर बनाउँदा पनि स्थानीय सरकारको भूमिका स्वार्थसिद्धमा नै केन्द्रित देखिएको स्थानीय युवा चेतनारायण महतो बताउँछन् ।

विशेषगरी अवैज्ञानिक तवरबाट  रातु नदी उत्त्खनन गाउँवासीहरुको लागि मुख्य चिन्ताको विषय बनेको उनको भनाइ छ ।‘यसैपालि ईनारमा पानी सुकेर जलेश्वरसम्म नै हाहाकारको स्थिति बन्यो,’ उनले भने, ‘स्थानीय सरकार जनताको समस्या समाधानमा कहिले लाग्छन् ?’

पुनः अहिले स्थानीय सरकारले  नदीको पथलैया खण्ड, जुरे टोल खण्ड, किसाननगर खण्ड र फूलबारी टोल खण्डमा ठेक्का लगाएको छ । यही क्रममा ठेक्केदार कम्पनीले गरेको उत्त्खननलाई लिएर आलोचना भए पनि नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले यसलाई बेवास्ता गरिरहेको स्थानीयको आरोप छ ।

 

‘अहिले निकै गहिरा खाल्डा खनिएका छन्,’ वडा–६ का दधिराम काफ्लेले भने, ‘कयौपटक जेसिभीको चावी नै खोस्न पनि गयौँ, तर नगरप्रमुखले अटेर गर्दै दोहनलाई प्रोत्साहन गरिरहेका छन् ।’

विज्ञको चासो

पछिल्लो समय उत्त्खननको वैधतामाथि प्रश्न उठिरहेको बेला चुरे विज्ञहरुले चिन्ता व्यक्त गरेका छन । नदी उत्त्खननबारे सार्वजनिक समाचार हेर्दा निकै भयावह अवस्था देखिएको बताउँदै पर्यावरणविद डा. नागेन्द्र यादवले रातुको उत्त्खननको विषयमा स्थानीय सरकार सचेत हुनुपर्ने सुझाव दिए । ‘चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव दोहन नै मुख्य कारक हो,’ उनले भने ।

 

२०७८ जेठमा गरिएको आईई रिपोर्टले हरेक खण्डबाट १२१५०० घनमिटर मात्र उत्त्खनन गर्न सकिने बताएको छ । तर, ठेकेदार कम्पनिले उक्त समयमा सम्झौताभन्दा ७ गुणा बढी उत्त्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो ।

नगरले बनाएको प्राविधिक नापजाँच उपसमितिले गरेको छानबिनले सम्झौताभन्दा बढी १२ करोड बराबरको नदीजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

 

विज्ञहरुले यसैको आधारमा पनि आईई रिपोर्टमाथि आशंका गरेका हुन् । अर्का चुरे विज्ञ डा. विजय सिंहका अनुसार आईई रिपोर्ट मात्र उत्त्खननमा प्रधान नभएको बताउछन । नेपालका धेरैजसो ठाउँमा आईई रिपोर्टलाई नै देखाएर उत्त्खनन हुने गरेको बताउदै उनले कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको बताए ।

 

उत्त्खनन रोक्न राजनीतिक दलहरु एकजुट

 

रातु नदी उत्खननविरुद्ध  राजनीतिक दलहरू एकजुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले नदी उत्खनन गरेको भन्दै उनीहरू संरक्षणको पक्षमा उभिएका हुन् । गत ६ पुसमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमतसहित दलले नगरले अवैध ढंगले गरेको उत्खनन रोक्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।

 

उत्त्खननको मुद्दा अदालतमा विचाराधीन

अघिल्लोपटक अर्थात् आर्थिक बर्ष २०७७÷७८ मा लगाएको ठेक्काकै कारण अहिले  ठेक्का लगाएका खण्डहरु विवादित छन् । वातावरणीय प्रभाव मूल्यांकनअनुसार २०७८ सालमा रातु नदीका किसाननगर, पतलैया, जुरेटोल र फूलवारी टोल खण्ड गरि ४ खण्डबाट १ लाख २१ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्ने सम्झौता भएको थियो ।

 

तर, नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएको उद्योग पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डबाट सम्झौताभन्दा १ लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट १ लाख ६३ हजार ९६५ घनमिटर बढी उत्खनन गरेको थियो ।

 

यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रा.लि.ले फूलबारी खण्डबाट सम्झौतामा उल्लेख गरेभन्दा १ लाख ७२ हजार ३६० घनमिटर र दिव्यांशु बिल्डर्स प्रा.लि.ले पथलैया खण्डबाट सम्झौता गरेभन्दा २ लाख ९९ हजार ८४५ घनमिटर उत्खनन गरेको छ ।

पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको २ करोड ७५ लाख रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी छ भने जुरेटोल खण्डको २ करोड ६१ लाख रुपैयाँ राजस्व नगरलाई दिन बाँकी छ ।

 

शिवम् कन्स्ट्रक्सनले २ करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले ४ करोड ७८ लाख रुपैयाँ दिन बाँकी देखिएको छ । हरेक खण्डबाट ४ दशमलव ५२ रुपैयाँ प्रतिघनमिटर राजस्व निर्धारण गरिएको थियो ।

 

ढुंगा, गिटी, बालुवा बिक्री–वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७७ को समेत धज्जी उडाउँदै उत्खनन भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
जनकपुर उच्च अदालतमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा नगरले लगाएको ठेक्काको वैधतामाीथ नै प्रश्न चिन्ह खडा भएका छन ।

 

मापदण्डविपरीत भएको पाइएमा तुरुन्त बन्द हुन्छ : नगर प्रमुख

नदी उत्त्खनन विषयमा नगरप्रमुख प्रल्हाद क्षेत्री भने मापदण्डविपरीत नभएको बताउँछन् । यदी मापदण्डविपरीत भएको पाइएमा तुरुन्त बन्द उनले बताए । रातु नदीमा भईरहेको उत्त्खननलाई लिएर जिल्ला समन्वय समितिले समेत आपत्ति जनाएको छ । उत्त्खननका क्रममा मापदण्डविपरीत देखिएपछि समितिले तत्काललाई उत्खनन गर्न रोक समेत लगाएको छ ।

अघिल्लो पटक भएको उत्त्खननको नापजाँच नगरी पुनः उत्त्खनन गर्न खोजे त्यसलाई रोक्ने समन्वय समितिको जनाएको छ । गत मंगलबारसमेत प्रक्रियाविपरीत खोला उत्त्खनन गर्न ठेकेदारहरु गएपछि समन्वय समितिले रोकेको थियो ।न्युज कारखाना

सर्लाही, २५ माघ ।

भारतीय बजारसँग सिमा जोडिएको सर्लाहीमा लागूऔषधको कारोबारी बढेको छ ।

 

खुला सीमानाका कारण सर्लाही लागूऔषधको ट्रान्जिट बनेको छ । लागूऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको मात्र भर छ । लागूऔषध नियन्त्रणमा स्थानीय सरकारले सक्रियता देखाएको छैन । लागूऔषधको कारोबारमा पहाडी जिल्लाबाट समेत सर्लाहीलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन् ।

 

लागूऔषधको कारोबारीहरू खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागूऔषध खरिद गरी पहाडी क्षेत्रमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय पहाडी जिल्लाबाट आएकाहरू सिधै सीमा पारी लागूऔषध खरिद गर्न पुग्छन । कतिपय कारोबारीले लागूऔषधमा संलग्न स्थानीयमार्फत कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

 

छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर लुकाइछिपाई तस्करहरुले भारतीय बजारमा पु¥याउने गरेका छन् । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ । खोलाको बाटो हुँदै लुकाइछिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका सर्लाही प्रहरीले जनाएको छ ।

लागूऔषधको कारोबारी तस्करलाई गोप्य सूचनाका आधारमा सर्लाहीको जिल्लाको उत्तरी क्षेत्रमा रहेको बयलबास ,लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरि अनुसन्धान गरि कारवाही गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दिपन्द्र पजियार थारुले जानकारी दिए ।

सर्लाही प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्षमा ०७८/०७९ मा लागुऔषध मुद्दा दर्ता संख्या १२५ रहेको छ भने १८६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ तीन हजार तीन सय ३५ बोतल, लागूऔषध एम्पुल दूई हजार चार सय ७७ एम्पुल , लागू औषध गाँजा आठ सय ८९ किलो , लागू औषध चरेश ११ किलो १०० ग्राम र ३४ थान मोटरसाइकल पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार १७१ पुरुष, २ महिला र १३ जना भारतीय पुरुष रहेका छन् । भने आर्थिक वर्षमा ०७९/०८० मा लागुऔषध मुद्दा दर्ता संख्या १२६ रहेको छ भने १६० जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ एक हजार सात सय ९० बोतल ,हिरोइन तिन कीलो ४८ ग्राम,  लागू औषध एम्पुल दूई हजार सात सय २८ एम्पुल , लागू औषध गाँजा चार सय ९९  किलो र पाच सय ४६ ग्राम, लागुऔषध ट्याबलेट सात हजार दूई सय २१ ट्याबलेट, लागुऔषध क्यापसुल ९६ क्यापसुल र २६ थान मोटरसाइकल पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार १५० पुरुष, ४ महिला र ६ जना भारतीय पुरुष रहेका छन् ।

 

सर्लाही प्रहरीको तथ्यांकमा चालु आर्थिक वर्षमा ०८०/०८१ मा लागुऔषध मुद्दा दर्ता संख्या ९० रहेको छ भने १४१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ एक हजार सात सय ५६ बोतल ,हिरोइन कीलो ०.४८ मी ग्राम,  लागूऔषध एम्पुल एक सय ४९ एम्पुल, लागूऔषध गाँजा तिन सय ३१ किलो र आठ सय २ ग्राम , लागुऔषध ट्याबलेट सात हजार तिन सय ८१ ट्याबलेट र कार १ थान , ट्राक्टर १थान,  २८ थान मोटरसाइकल पक्राउ गरेको छ ।  प्रहरीका अुसार १२४ पुरुष, ५ महिला र १२ जना भारतीय पुरुष रहेका छन् ।

 

सर्लाही जिल्लाको ५१ किलोमिटर खुला सिमानाका रहेको छ । नेपालीनागरिकको खेत भारततिर र भारतीय नागरिकको खेत नेपालतिर रहेका कारण पनि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक प्रविण धितालले बताए ।न्युज कारखाना

बारा, २५ माघ ।

बारा, २५ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसँग पहल गरिदिन सार्वजनिक अपील गरेको छ । ठेकेदार कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको हो ।

सूचनामा ‘यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ’ भनिएको छ ।


समयमै भुक्तानी नपाएको कारण देखाउदै कम्पनीले हाल निर्माणको कामसमेत रोकेको छ । ठेकेदार कम्पनीका सञ्चालकले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाकारी दिए ।  सम्झौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५६ प्रतिशतमात्रै काम पूरा भएको हो । सञ्चालकले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी काम सम्पन्न गर्ने बताए ।

ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण क्षेत्रमै सार्वजनिक सूचना टाँस गरेको हो ।

ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले पुलको पाईल गर्दा डिजाईन परिवर्तन गर्नुपर्ने देखिएकाले पुनः डिजाईन गर्न सडक विभाग अन्तर्गतका ५ वटा महाशाखाहरु मध्ये पुल महाशाखाले एक वर्ष लगाएको हुदाँ समेत समयमै निमार्ण सम्पन्न हुन नसकेको जानकारी दिए ।
ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको बताए । २०७९/०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ ।

साविक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसंगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न पुरानो पुललाई पूर्णरूपमा भत्काएर १५ करोड १२ लाखमा नयाँ पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन ।न्युज कारखाना

जनकपुरधाम, २५ माघ ।

स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ ।

 

बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं। २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भइ जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता अवाले बताए ।

 

गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता अवाले बताए ।न्युज कारखाना

महोत्तरी, २५ माघ ।

महोत्तरी बर्दिवास-४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ ।

 

घाखोकी, प्रेसर, सुगर जस्ता रोगहरु लागेपछि सोलीघोप्टे वरपरको जंगलमा गाँउलेहरू जडिबुटीजन्य बनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन । उनलाई अझै पनि अस्पताल र स्वास्थ्य चौकीको बिस्वास नै लाग्दैन, बरु चिकित्सकहरुको लापरवाहीका घटनाहरु र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ ।

‘यो समाज कता जादै छ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किच्याईरहेका छौ ?’ पोखरेल प्रतिप्रश्न गर्छन ।

 

६० बर्षीय पोखरेल मात्र हैन बर्दिवास-४ कै अर्का स्थानीय टेक बहादुर डीमडम पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको वेवास्ताप्रति चिन्ता ब्यक्त गर्छन । ‘हाम्रो सोलीघोप्टे जंगलमा मात्र सय भन्दा बढी जातका जडिवुटी पाईन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारि छ,’ डीमडमले भने, ‘जडिवुटी हवको रुपमा विकास गर्न सकिने यस्ता ठाउँ स्थानीय सरकारको वेवास्तामा पर्नुले झन् दु:ख लाग्छ ।’

२०३६ सालदेखी यही ठाँउमा बसोबास गर्दै आएका पुर्व वडा अध्यक्ष तथा स्थानीय दिपवहादुर कार्की रचनात्मक व्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिको अभावले नै यस्ता ठाउँहरु ओझेलमा परेको वताउँछन । आफु वडा अध्यक्ष हुदा समेत जडीबुटी हवको रुपमा विकास गरी वातावरणीय पर्यटन पर्वद्वंन गर्न निक्कै कोशिस गरेको बताउँदै स्थानीय सरकारको वेवास्ताको सिकार बनेको जिकिर गर्छन ।

 

उनी आफैले पनि यस जंगलको कयौ जडिबुटीहरुको प्रयोग गरी रोग निको बनाउँदै आएका छन् । पायलस, फिस्टुला, झाडापखाला, पिनास, ज्वरो जस्ता सामान्य रोगको लागी अस्पताल वा स्वास्थ्य चौकी अहिलेसम्म नगएको वताउछन । ‘म मात्र हैन गाँउ नै जडीबुटीको प्रयोग गरेर स्वस्थ बन्दै आएका हुन् ।’ उन्ले भने । ‘अव स्थानीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी दिगो आयआर्जनको विकास गर्नुपर्छ ।’

आयुवेर्दिक चिकित्सक इन्द्र महतो पनि जडिबुटी नै जडिबुटी पाईने यो क्षेत्रलाई जडिबुटी हवकोरुपमा विकास गर्नुपर्ने तर्क गर्छन । सनिवार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागी भएका चिकित्सक महतोले गौशाला नगरपालिकामा रहेको आयुवेर्दिक कलेजलाई सोलीघोप्टे जंगलसँग जोडन सकिने धारणा राखे ।

 

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जंगलमा पाईने जडिबुटी र मनोरम प्राकृतिक दृश्यहरुलाई पर्यटनसँग जोडेर पर्यटकीय केंद्रकोरुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । ‘सोलीघोप्टे पहाड उक्लेर चुचुरामा पुग्दा छुट्टै आनन्द प्राप्त हुदो रहेछ ।’ उन्ले भने । ‘नजिकै रहेको बहुचर्चित पंचधुरामाई मन्दिरलाई जोडेर चुरे पदयात्राकोरुपमा समेत विकास गर्न सकिने आधारहरु देखियो ।’

 

बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले केही दिनदेखी पर्यटकीय गन्तव्यको खोजी गरेको वताउदै नगर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी प्रतिवेदन समेत तयार गरिरहेको वताए ।

 

‘सोलीघोप्टे जंगललाई जडिबुटी हवकोरुपमा विकास गर्न सकिने पहिचान गरेका छौ ।’ उन्ले भने । ‘बर्दिवास नगरको उत्तरी क्षेत्रका चुरे काक्षमा हामीले सम्भावनाहरु खोजी गरिरहेका छौ, देखिएका र सम्भावित गन्तव्यहरुलाई कसरि पर्यटनसँग जोडन सकिन्छ भन्ने अर्को गृहकार्य पनि भईरहेको छ ।’

 

वि.सं. १९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने उदेश्यले वनस्पति गोश्वाराको स्थापना भएको थियो । त्यस पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण तथा दिगो विकास गर्ने उदेश्यले वि.सं. २०१६ सालमा वनस्पति विभागको पनि स्थापना भयो । वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभागका कर्मचारीहरु परिचालन गरि अहिले कार्य सञ्चालन हुदै आएको छ तर उचित ध्यान पुर्र्याउन नसक्दा सोलीघोप्टे जस्ता जंगलहरु संरक्षणको पर्खाईमा छन् ।

 

अझ प्रकृति संरक्षण एवं सदुपयोगको मान्यताअनुरूप पूजा गर्दा प्राणी, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको शान्तिको कामना गर्दै …अन्तरिक्षः शान्तिः, … वनस्पतय शान्तिः…” मन्त्रोच्चारण गर्ने परम्परा छ। जस्ले जडिबुटीजन्य बनस्पतिको महत्व र आवस्यकतालाई प्रमाणित गर्दछ ।

न्युज कारखाना

बारा, २४ माघ ।

बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो।

बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।