२०८३ आश्विन ६
२०८३ आश्विन ६

राैतहट, ६ फागुन । 

चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।

 

चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा कुरा उठेको हो  । वडामा इन्धनका लागि बजेट नभएको र प्रहरी चौकीहरूले इन्धन माग्ने गरेको भन्दै चन्द्रपुर नगरपालिकाको १२ौं हिउँदै अधिवेशनमा वडा सदस्यहरूले कुरा उठाएका हुन् ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य संजीव कुशवार माझीले वडा कार्यालयमा प्रहरीले इन्धन माग गर्ने गरेको र आफूहरूले दिन नसकेकाले नगरपालिकाले नै विभिन्न वडामा रहेका चौकीहरूका लागि इन्धनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले स्थानीय पालिकाहरूबाट इन्धन लिने गरेको गुनासो आइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकामा भने १२ हुँदै अधिवेशनमै प्रहरीले इन्धन माग्ने गरेको गुनासो आएको हो ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरीहरूले सोही स्थानमा रहेका आफ्नो पालिकाबाट इन्धन सहयोग लिँदै आइरहेका छन् ।

 

प्रहरी चौकीले वडा कार्यालयमा गएर हामीहरुले गस्ती गर्नुपर्छ इन्धनको व्यवस्था गरिदिनुस् भन्ने गरेको र आफूहरुले इन्धन दिन सक्ने अवस्था नरहेका कारण त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिनु पर्ने वडा सदस्य कुशवारले नगर अधिवेशनमा माग गरेका

हुन् ।

 

रौतहट जिल्लाको अधिकांश स्थानमा रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा रहेका गाडी तथा मोटरसाइकल स्थानीय पालिकाहरूले दिने अनुदानको तेलबाट चल्दै आएका छन् ।न्युज कारखाना

 

राैतहट,फाल्गुन ३।

वृन्दावन नगरपालिका वडा नम्बर -५ नगरकटियामा रहेको श्री राम जानकी आधारभुत विद्यालयमा चार कोठे विद्यालय भवनको निर्माण को लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

बुधबार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सरस्वती पुजा तथा वसन्तपन्चमीको अवसर पारी एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार र नगर स्तरीय योजनाको २२ लाख ५० हजार गरि जम्मा ४५ लाखको लागतमा बन्ने सो भवनमा ब्रान्डा सहित ४ ओटा कोठाको निर्माण हुने भएको छ।

शिलान्यास पश्चात् नगरप्रमुख कुर्मीले,मानव जीवन जिउन र नगर र देश लाई समृद्ध बनाउनको लागि शिक्षा अपरिहार्य रहेकोले आफू शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढीरहेको बताए।

सोही कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मी, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार रकमले दुईवटा कोठा मात्रै पुगिरहेको तर सो विधालयमा चार ओटा कोठाको खाँचो रहेको कारणले गर्दा वडा अध्यक्ष फेकु दास लगायत समस्त बिधालय परिवार र स्थानीय जनताको आग्रहले आफुले आफ्नो नगर स्तरीय योजना बाट २२ लाख ५० हजार दिएर सो कार्य सम्पन्न गर्ने उदेश्यले सो शिलान्यास सम्पन्न गरेको बताउनुभयो ।

नगर प्रमुखको सो सराहनीय कार्यले त्यहाँका स्थानीय अत्यन्तै अर्षित भएका छन् भने सो बिधालयमा अध्यनरत बिधार्थीहरु अब नयाँ भवनमा अध्यन गर्न पाउने भएकोले खुशी व्यक्त गरेका छन्।

उक्त भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मी लागायत सो वडाका वडा अध्यक्ष फेकु दास र प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगर पालिकाका ईन्जिनियर दिलीप यादव,कमलेश कुश्वाहाको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवी र स्थानीयहरुको सहभागीता समेत रहेको थियोे।

रौतहट, २९ माघ ।

नेकपा एमालेको १०औं रौतहट जिल्ला अधिवेशन जारी रहेको छ।

गरुडामा जारी चुनावी प्रतिस्पर्धाले रौतहट एमालेमा गुटको स्पष्ट बिभाजन गरेको देखिएको छ। विशेष गरि महासचिव शङ्कर पोखरेलको तर्फबाट मधेस प्रदेश कमिटीका उप-सचिव आरती भण्डारीको चलखेलले गुटको स्पष्ट विभाजन देखिएको एक प्रतिनिधि बताउँछन्।

९औं जिल्ला अधिवेशनमा टिम प्रभु साहको तर्फबाट देखिएकी भण्डारी अत्यन्तै छोटो समयमा भातृ संगठनबाट एकैचोटी केन्द्रिय राजनितीमा प्रभाव पार्ने युवा नेतृ हुन्।

उनैको नेतृत्वमा मधेस प्रदेशमा हाल रौतहट एमालेमा महासचिव पोखरेलले गुट सञ्चालन गरिरहेको नाम नबताउने सर्तमा मधेस प्रदेश कमिटीका एक सदस्य बताउछन्।

यतिबेला रौतहट एमालेमा गुटको एकातिर महासचिव पोखरेलको तर्फबाट पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह, सुमन प्याकुरेल समेत आरती भण्डारीको ईशारा र निर्देशनमा चलिरहेको उनले बताएकाछन्।

आइतवार साँझ जिल्ला अध्यक्षका उमेदवार सचिदानन्द साहलाई उक्त गुटले घेराबन्दी गरि अध्यक्ष वलिको फोन लाउड स्पिकरमा राखि अर्का प्रतिस्पर्धी अखिलेश चौधरीलाई सर्वसम्मत छोडिदिन समेत दबाब सिर्जना गरेको एक प्रतिनिधी बताउँछन्।

यद्यपि चुनावी प्रतिस्पर्धा जारिरहेको र हाल मतदान प्रकियाबाटै नेतृत्वको चयन हुन लागिरहेको छ।

विशेषगरि संस्थापन पक्षका केन्द्रिय सदस्य उद्वव रेग्मीसँगको व्यक्तिगत लडाइको प्रतिफलको रुपमा स्पष्ट गुटको सञ्चालन देखिएको हो।

 

द्वन्द्वकालमा रौतहट एमालेको जगलाई बलियो बनाइराख्न योगदान दिएका अध्यक्षका प्रतिस्पर्धी सचिदानन्द साहको नाममा सर्वसम्मत भैसकेको निर्णयलाई महासचिवको आडमा चुनावी प्रतिस्पर्धामा लगेर उप-सचिव भण्डारीले गुटको नेतृत्त्व गरि पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह र सुमन प्याकुरेलसमेत माथि आफ्नो प्रभुत्व जमाएर उनीहरु मार्फत अध्यक्ष ओलिलाई प्रयोग गरि रौतहट एमालेको भविष्य माथि खेलवाड गरिरहेको अर्का मधेस प्रदेश कमिटीका पदाधिकारीले बताएकाछन्।

 

पछिल्लो समय मधेस प्रदेशमा पार्टी सचिव रघुबिर महासेठलाई कमजोर बनाउन महासचिव पोखरेलको बढ्दो सक्रियताको मुख्य नेतृत्व र कमाण्ड सम्हालेकि उप-सचिव भण्डारीले रौतहट एमालेमा बिभाजनको चिरा पारिदिएको अर्का पुर्व रौतहट जिल्ला अध्यक्षको समेत दाबी रहेकोछ ।

 

उनि भन्छन् रौतहट जिल्ला एमालेलाई प्रभु साहको पछाडी लागेर उप-सचिव भण्डारीले यसअघि क्षतबिक्षत पारेको र हाल आएर एकजुट भएको रौतहट एमालेलाई आफ्नो व्यक्तिगत ईख पुरा गर्न पुन: महासचिवलाई प्रयोग गरि टुक्रा पार्ने प्रयास भईरहेको छ। यसले रौतहट एमालेमा कहिले पनि एकताको सन्देश नदिने समेत उनको दाबी रहेकोछ। न्युज कारखाना

पर्सा,०१ गते फागुन ।

पर्सा– श्रम तथा यातायात व्यवस्था कार्यालय बीरगंज पर्साले पहिलाको तुलनामा आफ्नो सेवा छिटोछरितो संचालनमा ल्याईएको दाबी गरेको छ । सेवा प्रभावकारी बनाउनुका साथै यातायात कार्यालयले बितेको साढे ६ महिनामा पौने एक्कासी करोड राजस्व संकलन गरिएको जानकारी दिएको छ ।

सवारी कर तथा लाईसेन्स करबाट कार्यालयले चालु आर्थिक वर्षको ६ महिना १९ दिनमा ८० करोड ७९ लाख ३९ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको श्रम तथा यातायात व्यवस्था कार्यालय बीरगंजका प्रमुख उमेश रेग्मीले जानकारी दिए । यस कार्यालयबाट हुदै आएको काम अन्य जिल्लामा वाडिएपछि पहिलाको तुलनामा पछिल्लो समय कामको चाप घटेको उनले जानकारी दिए । ‘अहिले जिल्ला जिल्लामा यातायात व्यवस्था कार्यालय खुली सकेका छन,’ उनले भने, ‘त्यस कारण बीरगंज कार्यालयमा सेवाग्राहीको चाप घट्न गएको हो ।’

सेवाग्राही र कामको चाप घटेसंगै राजस्व घट्नु स्वाभाविक भएको उनले बताए । एउटा काम गराउन सेवाग्राहीले दुई÷तीन दिन कार्यालय धाउनु पर्ने वाध्यता अहिले हटेको र एक दिनमै काम गराएर सेवाग्राही घर फर्किने गरेको उनले जानकारी दिए । कार्यालयबाट प्रदान गरिने सवारी नामसारी, सवारी नवीकरण, लाईसेन्स नवीकरण लगायतका काम छिटोछरितो रुपमा हुन थालेको उनले जानकारी दिए । अहिले नयाँ लाईसेन्स लिने सेवाग्राहीको संख्या बीरगंज कार्यालयमा बढी रहेको पाईएको उनले जानकारी दिए ।

लाईसेन्स सेवा पनि अनलाईन मार्फत संचालन भएपछि सेवाग्राहीको भिडभाड कार्यालयमा कम भएको उनले बताए । कार्यालयबाट प्रदान हुदै आएको ड्राईभिङ्ग लाईसेन्स सेवा मध्ये सबभन्दा बढी मोटरसाईकल लाईसेन्सको लागी आवेदन बढी पर्ने गरेको यातायात व्यवस्था कार्यालय बीरगंजका राजस्व शाखाका लेखापाल रघुनन्दन साहले जानकारी दिए ।

आर्थिक वर्ष २०८०÷८१ को साउन देखी अहिले सम्मको अवधीमा ६ हजार ६ सय ७ वटा मोटरसाईकलको लाईसेन्स जारी भएको उनले जानकारी दिए । यो अवधीमा ६ हजार एक सय ८० जनाले मोटरसाईकलकै लाईसेन्सको लागी नयाँ आवेदन दिएको उनले बताए । लाईसेन्स नबोकी सवारी चलाउदा ट्राफिक प्रहरीले चर्को जरिवाना काट्न थालेपछि कार्यालयमा लाईसेन्स लिन आवेदन दिने सेवाग्राहीको संख्या बढेको उनले जानकारी दिए ।

पछिल्लो समय यातायात व्यवस्था कार्यालय बीरगंजबाट प्रभावकारी सेवा प्रदान गर्न थालिएपछि यस कार्यालयमा सेवाग्राहीको आकर्षण बढेको उनको भनाई थियो ।

सिरहा, २८ माघ ।

 सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसमेत सँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

महोत्तरी, २७ माघ ।

रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।

 

आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ ।

युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी रामवावु नजिकै आएर भने, ”आमा, म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।”

 

रामबाबू केही दिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिवेला गाउँमा युवाहरु कोही पनी थिएनन । भएका युवाहरु कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो । थोरै युवाहरुले मात्र आर्मी, प्रहरीमा जागीर खाएका थिए । त्यैपनी रामबाबुले जेठो दाजुलाई भेटन बेसीशहर जान जिद्दी गर्न थाले ।

 

त्यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षिय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन  तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।

 

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकुल बातावरणका बावजुद पनि दाजु गोबिन्द कार्कीलाई भेटन आमाबुवासगँ विदाई भएर छुटेका छोरा एकाएक हराए । भाई भेटन आएको समाचार थाहा पाए पछी प्रतिक्षामा रहेका दाजुले भाईलाई न त भेटन पाए, न त घर फर्किएर नै गए ।

लमजुङको बेसिसहर दाजुलाई भेटन गएका भाइ रामवावु २२ बर्षदेखी घर फर्किएका छैनन । उनी कहाँ छन ?, कसरी हराए ? मरेका होलान कि बाँचेका होलान ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ ।

 

अझ ८४ बर्षिय आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन । ”बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,” गहभरी आँसु बनाउदै दुर्गा कुमारीले भनिन, ”मरेको प्रमाणित भए बरु किरिया गर्थे ।”

 

रामबाबुका दुई दाजुहरु छन । माईलो दाजु मोहन कार्की नेपाल आर्मीवाट रिटायर्ड भएका हुन भने जेठा दाजु गोबिन्द कार्की बिधुत प्राधिकरणवाट रिटायर्ड हुन ।

 

दाजुहरुको जागीर कै कारणले रामवावुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्यन गर्दै गरेका रामवावुको बिषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन ।

 

दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन तर कँहीं कत्तैवाट सुनुवाई नभएपछी छोरा फर्कने आशा आजकाल उनकाे झिनो बन्दै गएको छ ।

 

”आजकाल मोबाइलमा मान्छेहरु धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,” दुर्गा कुमारीले भनिन, ”अब अन्तिम आशा तपाईहरु नै हो ।”

 

कतिपयले आफ्न्तहरुले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउछन तर दुर्गा कुमारीलाई भने अहिलेपनी छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।

 

रामवावुका वुवा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्युँदै नै छन भन्ने लाग्छ । ”कमसेकम यो समाचार हेरिसकेपछी कान्छो हामिलाई सम्झेर आओस,’ उनले भनिन ।

 

लमजुङ्गमा अझ सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन ।

 

परिवारलाई भने पत्यार नै लाग्दैन । ”मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,” दुर्गा कुमारीले भनिन, ”अब भरोसा बाबुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।”

 

दुर्गा कुमारी आजकाल पहिलाजसरी हिडडुल पनि गर्न सक्दिनन । लौरोको सहाराले यताउता हिडने उनीलाई मात्र हैन उन्को श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।

 

भाइ हराएपछी दाजु गोबिन्दले पनि धेरै खोजी नगरेका हैनन । संक्रमणकालीन अवस्थामा उन्ले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाईको एकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाईको बिषयमा कसैले एकिन बिस्वास दिलाउन सकेनन ।

 

बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । ”जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन तर म मानेकी छैन,” उनले भनिन, ”कमसेक एकिन त हुनुपर्र्यो नी मरेको र बाँचेको ।’

 

संक्रमणकालीन अवास्थामा वेपत्ता भएकाहरुको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा वेपत्ता भएकाहरुको नाम समेत सुचिकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामवावु जस्ता वेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको वेपत्ता पारिएका छानविन आयोगले जनाएको छ ।

 

आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरु  सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाईएकोमा १३७ उजुरीहरु फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ ।  जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागताकट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगवाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा जनाएको छ ।

 

मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये बिस्तृत छानविनको लागी १५३, प्रारम्भिक छानविनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भईसकेको छ ।

 

तर सुचनाको पँहुच तथा सरोकारवालाहरुको वेवास्ताले न रामवावु जस्ता वेपत्ता व्यक्तिहरुको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको वेपत्ता रामवावुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।न्युज कारखाना

महोत्तरी, २८ माघ ।

प्रगतिशील लेखक संघ मधेश प्रदेशको अधिबेशनमा वामपन्थी लेखकहरुले बाम धुर्विकरणको सुरुवात गरेका छन ।

 

वामपन्थी विचारकहरु छिन्नभिन्न भैइरहेको अवस्थामा मधेशवाट एकीकृत भएका वामपन्थी लेखकहरुको यो अधिबेशनले कम्युनिष्टहरुलाई जोडन महत्वपूर्ण कोशेढुंगा सावित हुने बिश्ववास गरिएको छ ।

लेखक संघ मधेश प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्लासत्रमा सहभागी बक्ताहरुले परिवर्तनको लागी कम्युनिष्ट धुर्विकरणको बिकल्प नभएको वताए ।

 

कम्युनिष्ट घटकहरुलाई एकैठाउँमा जोडने उदेश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरु एकैठाउँमा जोडिएको बताउदै केन्द्रिय उपसचिव डा. देवि दुलालले यस्को सुरुवात देशव्यापी भईरहेको जानकारी  दिए ।

यसैक्रममा उक्त अधिबेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरुको प्रतिनिधित्व हुनेगरी नारायण घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।

 

समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत नै चयन गरिएको प्रगतिशील लेखक संघले जनाएको छ ।

 

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भुमिका शसक्त वन्ने र वाम घटकहरुलाई लेखनको ।माध्यमवाट एकै ठाउँमा जोडिन सन्देश प्रवाह गर्ने वताए । न्युज कारखाना

 

रौतहट, २७ माघ ।

संघीयतापछि गाउँ-गाउँमा सिंह दरबारको अधिकार आउँछ, खोजें जस्तै भने जस्तै जनचाहना अनुसार विकास हुन्छ भनेर नेपाली जनताले अपेक्षा गरेका थिए।

तर संघीयतापछि सिंह दरबारको अधिकार, जनचाहना अनुसारको विकास त आएन। तर, गाउँ-गाउँमा बेथिति, भ्रष्टाचार र बजेटको भागबण्डा हुने प्रवृत्ति बढ्यो।

यसको ज्वलन्त उदाहरण देखियो रौतहटको फतुवा बिजयपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बीच विभिन्न कारणले मतभेद हुँदा नगरपालिका महिनौंसम्म अनिर्णयको बन्दी बनेको थियो।
समयमा नगरसभा नहुँदा नगरपालिकाको आर्थिक कारोवार बन्द भएर झण्डै ३५० शिक्षक कर्मचारी गत साउनदेखि तलब सुविधा पाउनबाट वञ्चित भएका छन्।

बल्लतल एकसाता अघि मेयर अम्बेया खातुन र नेपाली कांग्रेसका वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यबीच सहमति भएपछि यही फागुन ३ गते नगरसभा हुने निश्चित भएको छ।

तर, नगरसभा हुनुअघिनै नगरपालिकाका जनप्रतिनिधिबीच अविश्वासको ठूलो खाडल खडा भएको छ, विकासको बजेट। यसअघि निलम्बित मेयर गोपाल राय यादवलाई बजेट दिने कि नदिने विषयमा बिवाद थियो। अहिले बजेट कसले र कसरी चलाउनेमा विवाद छ।

नगरसभा हुनुअघि शुक्रबार फतुवा बिजयपुर नगरपालिकामा बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र कुनै पनि विकास निर्माणको काम एकलाख रुपैयाँ भन्दा बढीको गर्नुपरेमा अनिवार्य टेण्डरबाट गरिनुपर्ने निर्णय गरिएको छ।

कार्यवाहक मेयर खातुनको अध्यक्षतामा सम्पूर्ण कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको सहभागितामा भएको बैठकले उक्त निर्णय गरिएको बताइएको छ।

नगरालिकाकाबाट सिलिङ्ग अनुसारको बजेट पाएपछि विकासमा बेथिति हुने जनप्रतिनिधि बीचको अविश्वासको कारण जिल्लाको १८ स्थानीयतह मध्ये पहिलोपटक फतुवा विजयपुरमा यस्तो निर्णय भएको छ।

नेपाल सरकारले ७० लाख रुपैयाँ सम्मको बजेटमा उपभोक्ता समितिमार्फत विकास निर्माणको काम गर्न सक्ने ब्यवस्था छ। सोही अनुसार विकास निर्माणको कामहरू भइरहेको छ।न्युज कारखाना

रौतहट, २७ माघ ।

नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो।

उपाध्यक्ष पदका लागि रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रबि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए।

अझै केहीबेर सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेमा भोलि बिहानबाट निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।