२०८३ बैशाख २३
२०८३ बैशाख २३

 

काठमाडौं, २३ साउन ।

सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् ।

 

मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ । उनीहरुले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’

 

संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए । लोकतन्त्र, गणतन्त्रपछि गडन गरिएका सरकारका निकायमाथि विश्वास गर्न नसकिने अवस्थाको पनि छानबिन गर्नुपर्ने भन्दै उनले सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

सरकारले गरायो महावीर पुनलाई सचेत

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो ।

पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।

तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएकाके हो ।
 

 

रोल्पा, २३ साउन ।

रोल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचीमाा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

 

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै रोल्पाकै यात्रु रहेका छन् । प्रहरीका अनुसार  परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक, माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगीको मृत्यु भएकाके हो ।

घाइतेहरुको उपचारका लागि दाङ पठाइएको छ ।

काठमाडाै‌ं, २३ साउन ।

गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।

उक्त सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेकाक छन् ।  सहमति सँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।

 

यस्तो छ सहमतिः

 

मिति २०६३ साल चैत्र ७ गते रौतहट जिल्लाको गौरमा भएको घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरुका सन्दर्भमा आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार, गृह मन्त्रालयबीच आज मिति २०८० श्रावण २३ गते निम्नानुसारको सम्झौता भयो ।

 

 

 

१.    उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने,

 

२. मिति २०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने । उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरुका हकमा शहीद घोषणाको प्रकृया अगाडी चढाउने,

 

३. गौर घटनामा परी मृत्यु भएका व्यक्ति (शहीद) हरुको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आ.व.मा अगाडी बढाउने,

 

४. उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने,

 

५. सो घटनाको छानबिन र कारबाहीको माग सहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनका सबै कार्यक्रम तत्काल अन्त्य गर्ने ।

 

 

काठमाडौं, २३ साउन ।

संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

 

एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् । बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

 

मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको छ ।
 

 

 

 

 

 

 

 

काठमाडौं, २३ साउन ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु:ख व्यक्त गरेका छन् । घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कार्वाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका हुन् ।  म‌ंगलबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् ।

तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कार्वाही गर्न उजुरी दिएपनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिईएको थियो। सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी धर्नाकारी घाइते भएका थिए।

 

सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भएपनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिईएको तामाङ घेदुङ र मगर संघले बताएकाे छ। मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ।

 

अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने  प्रहरी अधिकारी तथा संलग्नमाथि कार्वाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएका हुन्।
 

 

काठमाडौं, २३ साउन ।

संघीय संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुबीच संसदको गतिरोध अन्त्य गर्न सहमत भएका हुन् ।

एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु गर्न सहमत भएको हो । सुन तस्करीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने सहमतिसँगै एमाले सदनको अवरोध हटाउन सहमत भएको हो ।

बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले मंगलबार बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने जानकारी दिए ।

‘संसदमामान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्नु भएकाके छ । आज बैठक अघि बढ्नेछ । गृहमन्त्रीको जवाफ सुन्छौँ,’ उनले भने ।

मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

 

श्रावण २३, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

 

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन् ।

 

काठमाडौं, २३ साउन ।

सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भइरहेकको छ ।  उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको छ ।

जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

यसअघि सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । सहमति हुन नसकेपछि सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ ।

काठमाडौं, २३ साउन । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

 

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।