२०८३ श्रावण १
२०८३ श्रावण १

नारायण न्यौपाने,काठमाडौँ, ६ मङ्सिर :

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन आयोगद्वारा गृृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’मा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव छ । राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार तथा स्थानीय तहका पदाधिकारीको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न विधेयकमा प्रताव गरिएको छ । गाउँपालिका वा नगरपालिका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । नेपालमा २०४७ सालदेखि नै स्थानीय तहदेखि माथिल्लो तहसम्मका निर्वाचन अन्योलता कायम रहेको मात्र समयमा हुन नसकेर विथोलिँदै आएको सन्दर्भमा नयाँ प्रावधानले निर्वाचन ठिक समयमा गर्न सहयोग पुग्ने छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले चार दृष्टिकोणबाट निर्वाचनको मिति पहिले नै थाहा हुनुपर्छ भन्ने मान्यताअनुरुप विधेयकमा दिन तोकेर प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको मिति थाहा नभई बजेट, नीति, विधि, योजना र तयारी केही गर्न सकिन्न । मतदाता नामावलीलाई अन्तिमरुप दिन र स्रोत साधनको सहज व्यवस्थापन र मितव्ययी निर्वाचनका लागि कानुनमै मिति तोक्न प्रस्ताव गरिएको हो ।” राजनीतिक स्थायित्व र स्थिरताका लागि समयमा चुनाव नभएमा चुनौती हुने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले जुनसुकै सरकारले पनि आफ्नो अनुकूल वातावरण नहुँदासम्म मिति तोक्न अलमल गर्ने विगतका घटना र अनुभव आधारमा नयाँ व्यवस्था गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो । राजनीतिक दललगायत सबै सरोकारवाला पक्षबाट निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्छ भनी आवाज उठेपछि आयोगले संसद्बाटै कानुन निर्माण गरी यसलाई टुङ्ग्याउनुपर्छ भन्ने दृष्टिकोणबाट नयाँ प्रावधान अघि बढाउन सुझाव दिएको थियो । निर्वाचनका सबै अध्ययन, अनुसन्धान र अनुगमनलगायतका अधिकांश प्रतिवेदनमा समेत निर्वाचनको मिति आयोगले तोक्ने वा कानुनमै व्यवस्था गर्ने भनी सुझाव दिइएको थियो । निर्वाचनको मिति घोषणाका सन्दर्भमा सरकार र राजनीतिक दलबीच मतैक्यता नभई निर्वाचनको माहौलसम्बन्धी विषय उठाउँदै हुने गरेको आरोप–प्रत्यारोप अन्त्य गर्न यससम्बन्धी प्रावधानले सहयोग पुग्ने छ । निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचार–प्रसारको अवधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको विधेयकमा मतदान हुने दिनभन्दा चौबीस घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधि मानिने उल्लेख छ । विधेयकमा हालको जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतको प्रावधान खारेज गरी न्याय सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृत रहने गरी प्रस्ताव गरिएको छ । समानुपातिक निर्वाचनका लागि आयोगको सचिव र स्थानीय तहका सदस्यको निर्वाचनमा न्याय सेवा वा सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा द्वितीय श्रेणीको अधिकृत निर्वाचन अधिकृत नियुक्ति गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिसमेत निर्वाचनमा उम्मेदवार बन्न नपाउनेजस्ता थुप्रै प्रावधान विधेयकमा समेटिएको छ । सङ्घीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि विधेयकमा छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचत भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोेजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको कार्य जिम्मेवारी छ । निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन संविधान, अदालतको आदेश, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा ऐन, कानुन संशोधन, परिमार्जन र एकीकृत गर्न लागिएको छ । विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान सातवटा निर्वाचन ऐन र निर्वाचन आयोग ऐनका प्रावधान समेटी एकीकृत विधेयक तयार गरिएको हो । प्रस्तुत विधेयकमा मतदाता नामावली सङ्कलन तथा आवधिक विद्युतीय माध्यमबाट गर्ने तथा नागरिकले स्थानीय बसोबास गरेको वडामा मतदान नामावलीमा नाम सबै निर्वाचन कार्यालयबाट दर्ता गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । कसैले मतदाता नामावलीमा एकाघरका नाम समावेश भएको वडाको मतदाता नामावलीमा आफ्नो नाम दर्ता र स्थानान्तरण गर्न सक्ने तथा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए हटाउने प्रस्ताव गरिएको छ । मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्ने विषय आयोगले अब औपचारिकरूपमै अघि बढाउन सङ्कल्प गरेको छ । निर्वाचन प्रणालीका सम्बन्मा अध्ययन, अनुसन्धान तथा छलफल गर्ने सन्दर्भमा आयोगले नीति अनुसनधान प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ । निर्वाचन तथा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन र मतदाताको पहुँच वृद्धि गर्न स्थानीय तहमार्फत निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी आयोगले राय सुझावका लागि वेबसाइटमा राखेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित भई विभिन्न कारणबाट रिक्त हुन आएका पदको निर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गरी आवश्यक तयारीमा जुटेको छ । यसैबीच आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको एकतिहाई अर्थात् १९ पदको निर्वाचन माघको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको छ । यस्तै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिल्ला समन्वय समिति प्रमुख दुई, पालिका अध्यक्ष एक, उपाध्यक्ष दुई र वडाध्यक्ष रिक्त १७ पदको निर्वाचन पनि आगामी वैशाखभित्र सम्पन्न गर्ने आयोगको योजना रहेको बताइएको छ । आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलको सङ्ख्या एक सय १९ रहेको छ । रासस

मुम्बई, ३० कार्तिक ।

सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ ।

 

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।

 

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ ।

 

सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ । यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा  केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७‍.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।

 

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।

 

फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।

तेल अहिब, ३० कार्तिक ।

इजरायली सेनाले गाजास्थित अल शिफा अस्पताल भित्रको भिडियो मेटाएको छ ।

 

इजरायली प्रकाशन हारेट्जका अनुसार इजरायली सेनाले बिहीबार टविटर (एक्स) मा अपलोड गरिएको एक सोशल मिडिया पोस्ट हटाएको थियो, जसले गाजाको अल शिफा अस्पताल भित्र हतियार राखिएको केही प्रमाणको रुपमा देखाईएको थियो ।

 

समाचारमा भनिएको छ कि इजरायली सेनाले पोस्ट हटाउनको लागि कुनै स्पष्टीकरण प्रकाशित गरेको छैन, जे होस हतास हटाईएको छ ।

 

अनलाइन टिप्पणीकर्ताहरूले इजरायली सेना र फक्स न्यूज संवाददाताले पोस्ट गरेका तस्बिरहरूको केही असंगतिलाई पनि औंल्याए पछि अल शिफा अस्पताल भित्र छापा मार्दा एम्बेड गरिएको जनाईएको थियो।

 

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकस देखाइएको भिडियोलाई इजरायली सेनाले पछि पोस्ट गरेको थियो, जसको केही अंश पहिले नै धमिलो पारिएको थियो, जसले क्लिपमा प्रस्तुत गरिएका प्रमाणहरूको प्रामाणिकतामा प्रश्न खडा गरेको थियो।

बर्दिवास, ३० कार्तिक ।

नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन ।

 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौँ, २९ कात्तिक :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताउनुभएको छ । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताउनुभयो । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उहाँले समाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उहाँले सन्देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो । जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेकाले यसको सुदृढीकरणका लागि समयसापेक्ष संविधान परिमार्जन गर्न सकिने बताउनुभयो । रासस

 कार्तिक २८,काठमाडौं ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सना योग्य भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सना योग्य, स्वेच्छचारी कदम भएको बताएका छन् ।

गौतमले यसको नियमन गर्नुपर्दा कानून बनाएर गर्नुपर्ने बताए ।

‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने,दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रष्ट भएको खुलासा भएको छ’, गौतमले फेसबुकमा लेखेका छन् ।

सरकारले आजैदेखि टिकटक बन्द गर्ने निर्णय गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकेको छ । यसको चौतर्फी विरोध भएपनि सरकारले बन्द गर्ने नै निर्णयमा पुगेको छ ।  नेपाल प्रेस

काठमाडौँ, २५ कात्तिक

 जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । भेटमा समितिका सभापति खतिवडाले भन्नुभयो, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।” समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।” भेटमा समितिका सदस्यहरुले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो ।  रासस

रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन्

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु, अध्यक्ष प्रचण्डले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ। क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम ह‍ो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’


आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र  विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उनले भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ। शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ। यसले विदेशमा रहेेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।’

अध्यक्ष प्रचण्डले भने-

उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं” प्रधानमन्त्रीले भन्नुभयो, “म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दवावमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु। सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। नेपाल-भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिवद्धता भएको छ। २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ। १० वर्षमा १० हजार विजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन्। संयुक्त राष्ट्रसंघको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शीर उच्च बनाएको छ। चीनसँग नाका खोल्ने सम्झदारी भएको छ। कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ” प्रधानमन्त्रीले भन्नुभयो, “चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ। त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ।


सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ। हिजो क्याबिनेटबाट स्वीकृत भएको छ। यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ। सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ। हिजो क्याबिनेट बैठकले देशका ३ वटा रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौं। यी निकै महत्त्वपूर्ण निर्णय हुन्। थवाङमा पछिल्लोसमय राम्रो विकास भएको छ। गणतन्त्रपछि राम्रो प्रगति भएको छ। भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ। तपाईहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु। यसका लागि थप पहल गर्नेछु। सहिदमार्ग युद्धकालमा मैले नै प्रस्ताव गरेको थिएँ। यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ। विद्युतीकरणका बाँकी काम पनि टुंगाइनेछ। नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ। समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ।

 

काठमाडौं, २४ कार्तिक ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् ।

 

लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनु पर्ने सिंहले बताए ।

त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहार पछि सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताएका छन् । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसार नै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो ।

 

साथै भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःख मा साथ दिनु पर्ने बताएका छन । जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिनमा सर्बोच्च नेता प्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत बताए ।

 

काठमाडौं,  कार्तिक २४/

नयाँदिल्ली — भारतीय पार्टी तृणमूल कंग्रेसकी लोकसभा सांसद महुआ मोइत्रामाथि पैसा लिएर संसद्मा प्रश्न गरेको आरोप लागेको छ । संसद्को एथिक्स कमिटीले बिहीबार उनलाई लोकसभाबाट निष्काशनको सिफारिस गरेको छ ।

केन्द्रमा विपक्षी पार्टी तृणमूल कंग्रेसकी सांसद मोइत्रा प्रखर वक्ताका रूपमा चिनिन्छन् । उनले लोकसभामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर आलोचना गर्दै आएकी छन् । उद्योगपति गौतम अडानीसँग सरकारको सम्बन्धलाई लिएर पनि निरन्तर प्रश्न उठाउने सांसदमध्ये मोइत्रा पनि एक हुन् । भाजपाले यतिबेला उनीमाथि अर्को उद्योगपतिसँग पैसा लिएर अडानीसँग सम्बन्धित प्रश्न लोकसभामा उठाएको आरोप लगाएको छ । भाजपा सांसद निशिकांत दुबेले १५ अक्टोबरमा उक्त आरोप लगाउँदै मोइत्रामाथि कारबाही गर्न लोकसभा स्पिकर ओम बिरलालाई पत्राचार गरेका थिए । स्पिकरले त्यसमाथि अनुसन्धान गरी आवश्यक सिफारिसको जिम्मा एथिक्स कमिटीलाई दिएका थिए ।

एथिक्स कमिटीले सांसद मोइत्रासँग बयान लिएपछि बहुमत सदस्यहरूको मतबाट उनीमाथि कारबाही सिफारिस गरेको हो । अब बस्ने संसद् बैठकले त्यसमाथि अन्तिम निर्णय लिनेछ । कमिटीका १० सदस्यमध्ये ६ जनाले कारबाहीको पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका छन् । सांसद मोइत्रामाथि उद्योगपति दर्शन हीरानंदानीसँग पैसा लिएर संसद्मा प्रश्न सोधेको आरोप छ । मोइत्राले भने हीरानंदनी आफ्नो साथी रहेको तर उनीसँग पैसाको कुनै पनि कारोबार नभएको बताउँदै आएकी छन् । उनले एक अन्तर्वार्तामा आफ्नो मित्र हीरानंदानीसँग एक स्कार्फ, लिपिस्टिक र आइस्याडो गिफ्ट लिएको स्वीकार गरेकी थिइन् । हीरानंदानी दुबई बस्ने व्यवसायी हुन् ।

प्राविधिक जाँचमा सांसद मोइत्राको संसदीय लग इनको प्रयोग दुबईबाट भएको देखिएको छ । दुबईमा लग इन गरिएको समयमा मोइत्रा भने भारतमा थिइन् । मोइत्रामाथि आफ्नो संसद्को लग इन र पासवर्ड अर्को व्यक्तिलाई दिएको आरोप पनि लागेको छ । त्यसलाई मोइत्राले स्वीकार गरेकी छन् । उनले हीरानंदनीको स्टाफबाट प्रश्न टाइप गराउन लग इन र पासवर्ड दिएको बताएकी छन् । तर, त्यसबापत कुनै पैसाको लेनदेन नभएको उनको दाबी छ । उनले प्रत्येक सांसदले आफ्नो लग इन र पासवर्डको प्रयोग अर्को व्यक्तिबाट गराइरहेको समेत दाबी गर्दै आएकी छन् ।

मोइत्रा पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बन्दै थिइन् । उनले संसद्मा उठान गर्ने विषय र संसद्बाहिर दिने वक्तव्यले सञ्चारमाध्यममा राम्रो स्थान पाउँदै आएको थियो । लन्डनको एक प्रतिष्ठित बैंकको जागिर जाडेर राजनीतिमा आएकी मोइत्राले सन् २०१६ मा पश्चिम बंगालबाट विधानसभा र पछि २०१९ मा लोकसभा चुनाव जितेकी हुन् । आफूमाथिको आरोपले मानहानी भएको भन्दै उनी अदालतसमेत पुगेकी छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।