२०८३ श्रावण १
२०८३ श्रावण १

 २०८० मंसिर ९,रौतहट :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न।

 

 

सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्।

आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताएका हुन्।

सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएका बताएका छन्। आम नागरिकले यसका कारण देश बिग्रँदै गयो भनेर नाम लिन धेरै नेता भएका कारणसमेत यो व्यावस्थाकै विरोधमा उत्रेको बताए।

लामिछानेले संसारकै सुन्दर व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोधमा हैन,लामो समयदेखि यो व्यवस्था संचालन गरेका नेताको विकल्प खोज्नुपर्ने बताए।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक, बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए। थाहा खबर

 

काठमाडौँ मंसिर ८,/

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवक संघले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार साँझ राँके जुलुस निकालेको छ।

दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई निसर्त रिहाइको माग गर्दै राँके जुलुस निकालेको हो।

युवक संघका पूर्व अध्यक्ष राजु लोहनीको नेतृत्वको जुलुस निकालेको एक नेताले जानकारी दिए। प्रसाईँको आन्दोलनमा सहभागी भएको आरोपमा राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, नेता बसन्त पाण्डे,राप्रपा प्रदेश सदस्य चिना कोइरालालाई पक्राउ गरी प्रहरीले दरवारमार्गमा वृत्तमा राखेको छ।

यस्तै प्रहरीले शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, आभास खड्का (झापा), अनुपविक्रम शाही, सतीश न्यौपाने लगायतलाई सिंहदरवार प्रहरी वृत्तमा राखेको छ।

नरेन्द्र प्रसाद भेटवाल, राजिव अर्याल, सरोज क्षेत्री, विश्वास भट्ट, रजिन अर्याल,मणी सिम्खडा, मिना शाही, सावित्री क्षेत्रीलगायत नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै निसर्त छोडीदिन माग गर्दै पार्टी निकट संघ शुक्रबार साँझ विरोध प्रर्दशनमा उत्रिएको हो।

राप्रपाका कार्यकर्ता र अभियानमा सहभागीलाई घरबाटै धरपकड गर्ने निरंकुश सरकारको विरुद्धमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राँके जुलुस निकालेको एक नेताले देश सञ्चारसँग बताए।

 

 

 

  ८ मंसिर, काठमाडौँ/

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताम उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।

यसअघि विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले  परराष्ट्रमन्त्री एन पी साउदसँग उहाँको कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको थियो  ।

भेटमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।

 

काठमाडौँ

— एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाइ थियो ।

‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन,’ उनले भने, ‘जन्मिदै राजा हुने रु त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ! नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि !’

उनले बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए ।

अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए । कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको टिप्पणी थियो । अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए ।

काठमाडौँ, ८ मङ्सिर :

संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गर्नुभएको हो । समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताउनुभयो । ‘संसदीय समितिका लागि वार्षिक कार्यक्रम बाँडफाँट विवरण २०८०/८१’ प्रस्तुत गर्नुहुँदै सभापति राईले न्यून बजेटका कारण समितिका गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताउनुभयो । समितिका सदस्य डा खिमलाल देवकोटाले सरकारको प्रतिनिधि गर्ने संसदीय समितिको आर्थिक अवस्था कमजोर रहेको प्रस्ट्याउनुभयो । उहाँले समितिमा बजेट अभावका कारण तोकिएको कार्यक्रममा लक्ष्यअनुसार काम गर्न नसकिएको बताउनुभयो । समितिका अर्का सदस्य देवेन्द्र दाहालले संसद् सचिवालयलाई पर्याप्त बजेटसँगै निर्धारित वार्षिक कार्यक्रमको प्रभावकारिताबारे समेत प्रश्न उठाउनुभयो । गत वर्ष समितिलाई रु १५ लाख बजेट विनियोजन भएको भए पनि उक्त रकम खर्च गर्न नसकेको बताउँदै सांसद दाहालले धेरै बजेट हुनुभन्दा कार्यक्रम छनोट गर्दा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । समितिका सदस्य जितेन्द्रनारायण देवले विधायन व्यवस्थापन समितिले सन्तोषप्रद काम गरेको बताउनुभयो । उहाँले अन्य समितिभन्दा यो समितिले निर्धारण गरेका कार्यक्रमको नतिजा लक्ष्यअनुसार प्राप्न गर्न सकेको र अब आर्थिक वर्ष २०८०/८१ को योजनाअनुसार नै सफल हुने विश्वास व्यक्त गर्नुभयो । सांसद गङ्गाकुमारी बेल्वासेले समितिमार्फत चार वटा प्रदेश अवलोकन गरिसकेको र बाँकी रहेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पनि अवलोकन गर्ने योजना तय गर्न सभापतिसँग अनुरोध गर्नुभयो । सङ्घीय संसद्अन्तर्गतका विभिन्न १६ वटा विषयगत समितिको कार्यसञ्चालनका लागि सङ्घीय संसद् सचिवालयमार्फत सरकारले चालु आव २०८०/८१ का लागि एकमुष्ट रु दुई करोड आठ लाख बजेट बिनियोजन गरेको छ । प्रत्येक समिति सचिवालयले आ–आफ्नो समितिको कार्यक्षेत्रका अनुगमन कार्यक्रम सञ्चालनका लागि रु १० लाखको दरले कूल रु एक करोड ६० लाख विनियोजन गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौमासमा सो रकमको एक तिहाइ बराबरको रकम खर्च गर्नुपर्ने रहेको छ । विज्ञ/परामर्श सेवाका लागि प्रत्येक समितिका लागि रु ६२ हजार पाँच सयका दरले कूल रु १० लाख बराबर रकम विनियोजन गरिएको छ । समितिका कार्यक्षेत्रबमोजिम अन्तक्र्रिया सञ्चालन गर्न एकमुष्ट रु ३० लाख र पूर्वबजेट छलफलका लागि रु आठ लाख बजेट राखिएको छ । रासस

 ०८ मङ्सिर,काठमाडौँ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको  बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो । न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो ।

सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन् । रातोपाटी 

 

काठमाडौँ, ८ मङ्सिर :

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । “सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ”, सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरुमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको छ ।” एडिबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताउनुभयो । “सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ”, उहाँले भन्नुभयो । नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थमन्त्रालयले जनाएको छ । तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पु¥याउने ठानिएको छ । त्यस्तै, केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ । रासस

काठमाडौँ, ८ मङ्सिर :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभे्रपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । “एकातर्फ गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ”, प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च शिक्षा अध्ययन गराई विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवा नै मुलुक छोडेर बाहिर जाने परिपाटी छ ।” नेपालमा विश्वविद्यालय खोल्नेको सङ्ख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले सङ्कट निम्त्याउँदै लगेको उल्लेख गर्दै यो चुनौतीलाई पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयले सुधारको अवसरका रुपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो । सबै विश्वविद्यालयका समकक्षीलाई एकै ठाउँमा उपस्थित गराउने प्रयास हाम्रा लागि नौलो प्रयास भएको प्रधानमन्त्रीको भनाइ छ । “काठमाडौँ विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको ‘एशोसियसन अफ इण्डियन युनिभर्सिटिज’को उत्तरपूर्वीय क्षेत्रका दुई सय ५० भन्दाबढी विश्वविद्यालयका उपकुलपतिको सम्मेलनको तयारीका साथै त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन आजको कार्यक्रम विशेष पनि सहयोगी हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । संसारका विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज अनुसन्धान र नवप्रवर्तनको युगमा प्रवेश गरेको स्पष्ट पार्दै उहाँले अन्तरीक्ष विज्ञान, न्यानो टेक्नोलोजी, क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ, जेनटिक इञ्जिनियरिङ, सूचना–प्रविधि, बिग डाटा एनालिटिक्सदेखि मानव मनोविज्ञान र योग–ध्यानको लाभबारे प्रयोगशालामा अध्यापन हुन थालेको उल्लेख गर्नुभयो । “नेपालले यो प्रतिस्पर्धामा आफूलाई परिवर्तन गर्नु जरुरी छ । उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय बनाउने प्रयास गर्न सकिएन भने हाम्रा युवा लाखौँको सङ्ख्यामा अध्ययनकै लागि मुलुक छोडेकामा गुनासो मात्रै गर्ने अवस्था आउने छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यो परिस्थितिलाई बदल्न राज्य, विद्वतवर्ग र शैक्षिक संस्थालगायत सबैको साझा जिम्मेवारी हो ।” नेपालले सबै क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा गर्न सम्भव नभएको स्पष्ट पार्दै उहाँले उच्च शिक्षामा समावेश गर्नसक्ने योग विज्ञान, प्राकृतिक चिकित्सा, हिमालय क्षेत्रको पर्यावरण र जलवायु परिवर्तनको अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यस्तै बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदिजस्ता हाम्रा तुलनात्मक लाभ भएका क्षेत्रमा केन्द्रित गरेर त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नसकेमा मुलुकले ठूलो लाभ लिनसक्ने उहाँको भनाइ थियो । उद्यमशीलता र ‘स्टार्ट–अप इकोसिस्टम’लाई शिक्षा, सरकारी नीति र लगानी–सम्भव क्षेत्रसँग आबद्ध गर्दै लैजाने प्रयास अझै प्रतिफलमुखी हुन नसक्दा रोजगारीका अवसरहरुको सिर्जना हुन नसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो । वर्तमान सरकारले उच्च शिक्षाको समकक्षता निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई दिएर राष्ट्रिय मापदण्ड निर्धारणमा एउटा इँटा थपेको उहाँको भनाइ थियो । विश्वविद्यालयको गतिविधिलाई क्षेत्रीय एवं अन्तर्राष्ट्रियकरण गर्ने यो एउटा महत्वपूर्ण प्रयास भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले मुलुकको उच्च शिक्षामा एकरुपता कायम गर्न राष्ट्रिय योग्यता प्रारुपको विश्वविद्यालय अनुदान आयोगले तयारी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार उच्च शिक्षाको एकीकृत क्यालेण्डरसमेत तयार भई कार्यान्वयनमा रहेको छ । पाठ्यक्रम निर्धारण, परीक्षा प्रणाली, प्रयोगशालाको स्थापना एवं प्रयोग र खोज अनुसन्धानका कृति प्रकाशनलगायत क्षेत्रमा विश्वविद्यालयबीच सहकार्य हुनसके उपलब्ध स्रोतसाधनको सदुपयोग हुने प्रधानमन्त्रीले बताउनुभयो । “नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउने परिकल्पनालाई व्यवहारिक बनाउन नीतिगत र संरचनागत पूर्वाधार बनाएर समाधानमुखी प्रस्तावना गर्नुपर्ने आवश्यकता छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । सबै विश्वविद्यालयको पदेन कुलपति हुने व्यवस्था अव्यावहारिक रहेको जनाउँदै उहाँले कुनै पनि राजनीतिक हस्तक्षेप बिना त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । “विश्वविद्यालय आफ्नै स्रोतसाधनबाट सञ्चालन हुनसक्ने हुँदा नयाँ विकल्प खोज्न सक्नेछन् । प्रदेशस्तरमा स्थापना भइरहेका विश्वविद्यालयको गुणस्तर र शैक्षिक मानकको नियमन भविष्यमा थप चुनौतीको विषय बन्नुअगावै नीतिहरुले प्रष्ट दिशा लिनुपर्ने अर्को चुनौती थपिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो । हाम्रा सबै विश्वविद्यालयले क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा उच्च शिक्षामा देखिएको परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्ने अठोट लिनुपर्ने उहाँको भनाइ थियो । विश्वविद्यालयबीच एकआपसमा समन्वय गरी एकआपसमा अध्ययन, अनुसन्धान र सिकाइलाई बाँड्न सकिने प्रधानमन्त्री दाहालको धारणा छ । विश्वविद्यालयका विभिन्न तहमा कार्यरत नेतृत्वले राजनीति जोडेर गुणस्तरीय शिक्षा दिनका लागि गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

 ०८ मंसिर २०८०,काठमाडौं ।

नेपाल इन्स्योरेन्सको चुक्तापुँजी कम्पनीले पेश गरेको योजना अनुसार नै पुग्ने भएको छ । नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । तर, नेपालको पहिलो बीमा कम्पनी भएकाले र सरकारी स्वामित्व समेत रहेकाले कम्पनीले पेश गरेको पुँजी वृद्धि योजना सफल नभएपनि प्राधिकरणले छुट दिएको थियो ।

कम्पनीले आफ्नो नाममा रहेका विभिन्न कम्पनीको शेयर र जग्गा विक्री गरेर पुँजी पुर्याउने योजना पेश गरेको थियो । उक्त योजना अनुसार विराटनगरको जग्गा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १० करोडमा खरिद गरेको छ भने नेपाल रिइस्योरेन्समा रहेको ६० करोड बराबरको शेयर विक्रीको प्रक्रिया अघि बढेको कम्पनीका सूचना अधिकृत चन्द्रनाथ उप्रेतीले बताए ।

उनका अनुसार कम्पनीले करिब ७० करोड  बराबरको पुँजी पुर्याउने निश्चित भइसकेको बताए । उनले भने, ‘कम्पनी चुक्तापुँजी प्राधिकरणले भनेको समयमा पुर्याउन प्राविधिक कठिनाइ भएपनि अब भने कम्पनीले चुक्तापुँजी पुर्याउने निश्चित भएको छ । प्राधिकरणमा बुझाएको योजना अनुसार कम्पनीको नाममा रहेको सम्पत्ति विक्री र बोनस र बाँकी हकप्रद शेयर जारी गरेर २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ ।’

हाल नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई तोकिए बमोजिमको पूँजी कायम गर्न एक अर्ब २ करोड आवश्यक देखिन्छ । आर्थिकन्यूज

काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन्।  हिजोदेखी काठमाडौँमा ‘व्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन्।

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौँमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न,उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु,राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्,‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु।’

बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन्।

‘साथै, आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा अनुरोध गर्दछु,’उनको आग्रह छ,‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।