काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताउनु भएको छ ।
पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को वर्गीय संगठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकपश्चात गठन भएको वर्गीय संगठन समन्वय समिति अन्तर्गत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सुकुम्बासी संघ रहेका छन् । तीन वटै संगठनका फ्र्याक्सन इन्चार्जहरू सदस्य रहेको वर्गीय संगठन समन्यव समितिको इन्चार्जमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा रहनुभएको छ।
नेकपा (माओवादी केन्द्र) ले किसान, मजदुर र सुकुम्बासीको हक, हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “किसान, मजदुर र सुकुम्बासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र अखिल नेपाल सुकुम्बासी संघ हाम्रो पार्टीका आधारभूत वर्गका सबैभन्दा महत्त्वपूर्ण संगठन हुन् ।”
उहाँले पार्टीको भर्खरै सम्पन्न स्थायी समितिको बैठकले पार्टीमा एक अभूतपूर्व एकता कायम भएको, पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको र पार्टी अब सुदृढ एकतासहित अघि बढ्ने संकल्प गरिएको बताउनु भयो ।
उहाँले आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी संघर्षको उठान गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसको तयारी गर्न, नवप्रवर्तन, आधुनिकीकरण र तथ्य-तथ्यांकमा आधारित रहेर संगठनलाई सुदृढीकरण गर्न तीनवटै संगठनका नेताहरूलाई निर्देशन दिनुभयो ।
बैठकमा तीन वटै संगठनका इन्चार्ज र अध्यक्षहरूले आ-आफ्ना संगठनहरूको संगठनात्मक स्थिति, राजनीतिक-वैचारिक पक्ष, संगठनसँग सम्बन्धित वर्ग र समुदायका समस्याहरू र तिनको समाधानका उपायहरूका साथै संयुक्त मोर्चा र संघर्षको तयारी लगायतका विषयहरूबारे रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा समन्वय समितिका इन्चार्ज सापकोटाले संगठन निर्माण तथा परिवालनका साथै जनताको हक, हित र अधिकारको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । बैठकले किसान, मजदुर र सुकुम्बासी संगठनको परिचालन र सुदृढीकरणबारे महत्त्वपूर्ण निर्णयहरू गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताउनुभयो ।
काठमाडौँ –
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटी (बीडीएस) को अनुगमन गर्ने निर्णय गरेको छ। नेपाल सरकार र दातृ निकायबाट प्राप्त अनुदान तथा सहयोग रकममा अनियमितता भएको उजुरी आएपछि अनुगमन प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रशासनले जनाएको छ।
उजुरी अनुसार, बीडीएसले संस्थापक अध्यक्ष र सदस्यहरूलाई बाहिर राखेर गुपचुप साधारण सभा गरेको, लेखापरीक्षण प्रतिवेदन लुकाएको र आर्थिक अनियमितता गरेको आरोप छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले वार्षिक लेखापरीक्षण, सरकारी तथा दातृ निकायबाट आएको रकमको उपयोग विवरण, पारिश्रमिक र निर्णयको जानकारी सार्वजनिक गर्न माग गर्दै प्रशासनमा उजुरी दिएका थिए। उनीहरूले बीडीएसको हालको व्यवहार गैरकानुनी, अपारदर्शी र जबाफदेहिताविहीन रहेको आरोप लगाएका छन्।
उजुरी अनुसार, संस्थाभित्रको नेतृत्व परिवर्तन लामो समयसम्म लुकाइएको थियो। दातृ निकायहरूको दबाबपछि तत्कालीन अध्यक्ष पिंकी गुरुङले राजीनामा दिएकी थिइन् र त्यसपछि उपाध्यक्ष उमिशा पाण्डेलाई अध्यक्ष हस्तान्तरण गरिएको थियो। तर, बीडीएसले यो नेतृत्व परिवर्तन करिब १० महिनासम्म गोप्य राखेको थियो।
पिंकी गुरुङले राजीनामा दिएपछि आफैँलाई ‘वरिष्ठ सल्लाहकार’ नियुक्त गराई उच्च पारिश्रमिक लिएकी थिइन्। युएसएआईडीको एचआइभी परियोजना मार्फत सन् २०२० मा पिंकीलाई मासिक १ लाख १० हजार रुपैयाँ पारिश्रमिक तोकिएको थियो, जुन हरेक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुने व्यवस्था गरिएको थियो। यो नियुक्ति कुनै खुला प्रतिस्पर्धा वा पारदर्शी प्रक्रिया विना भएको देखिएपछि युएसएआईडीले प्रश्न उठाएको र त्यसपछि मात्र सन् २०२५ मा पिंकीले अध्यक्ष पद हस्तान्तरण गरेको आरोप लगाइएको छ।
ब्लु डायमन्ड सोसाइटीमाथि युएसएआडीबाट प्राप्त ८ करोड अनुदान सहयोग गायब पारेको आरोप पनि लागेको छ। सोसाइटीले ८ करोडको हिसाब सार्वजनिक गरेको छैन।
सदस्यता सम्बन्धमा पनि बीडीएसमा आलोचना दबाउने प्रवृत्ति रहेको आरोप छ। पहिले ६० भन्दा बढी रहेको साधारण सभा सदस्य सङ्ख्या घटाएर हाल ३२ मा सीमित पारिएको र क्रियाशील तथा सम्मानित सदस्यहरूलाई बिना कारण हटाइएको भन्दै पूर्वसदस्यहरूले जवाफ मागेका छन्। उनीहरूले आपत्कालीन साधारण सभा आह्वान, पूर्वसदस्यहरूको सहभागिता सुनिश्चित गर्ने, नयाँ सदस्यता खुला गर्ने, पछिल्ला तीन वर्षका लेखापरीक्षण तथा आर्थिक विवरण सार्वजनिक गर्ने लगायतका माग गरेका छन्।
दातृ निकायबाट सञ्चालित परियोजनाहरूको बजेट तथा खर्च विवरण, कर्मचारी र परामर्शदाताको तलब संरचना, कार्यसमितिका निर्णयहरू, नेतृत्व हस्तान्तरण र सल्लाहकार नियुक्तिको स्वतन्त्र छानबिनको मागसमेत उजुरीमा गरिएको छ।
बीडीएसभित्र देखिएको अत्यधिक तथ्य लुकाउने प्रवृत्ति, अपारदर्शिता र नेतृत्व तहको जबाफदेहिता अभावका कारण जिल्ला प्रशासन कार्यालयले यसअघि पनि पटक–पटक छलफलमा बोलाएको थियो। छलफलमा सहभागी भएपछि प्रशासनको रोहबरमा संस्थाको अनुगमन गर्ने निर्णय भएको हो।
प्रशासन कार्यालयकी प्रशासनिक अधिकृत सुजन कुमारी बर्देवाका अनुसार, अनुगमन टोली बनाएर बीडीएसको अनुगमन गर्ने र त्यसपछि अर्को बैठक बस्ने निर्णय भएको छ। उनले भनिन्, “अनुगमन गर्ने निर्णय भएको छ, तर मिति भने टुङ्गो लागेको छैन।”
गत बिहीबार (साउन २३ गते) को छलफलमा आरोपित पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकाल अनुपस्थित थिए। प्रारम्भमा उनीहरूले सहभागी हुने सहमति जनाए पनि अन्तिम समयमा “नभ्याउने” भन्दै गैरजिम्मेवार प्रतिक्रिया पठाएका थिए। छलफलमा ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष उमिशा पाण्डे, तीन महिना अघि साधारण सदस्य नै नभएका अवस्थामा गुपचुप कोषाध्यक्षमा नियुक्त भएका राज हुसेन तथा सदस्य समता बम सहभागी भएका थिए।
छलफलमा सहभागी उजुरीकर्ताहरूले कोषाध्यक्ष नियुक्ति प्रक्रियाबारे प्रश्न उठाएका थिए, “कोषाध्यक्ष रिक्त भएको सूचना कहिले खुल्यो?” र “साधारण सदस्य नै नभएका व्यक्तिलाई कसरी कोषाध्यक्ष बनाइयो?” भन्ने प्रश्नमा राज हुसेनले कुनै जवाफ दिएनन्।
छलफलमा संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई बोलाउने, कुनै पनि संस्थाले एक–आपसमा आरोप–प्रत्यारोप नगर्ने, नील हिरा समाजका साधारण सदस्यहरूको विवरण माग गरी बीडीएसको अनुगमन गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।
बीडीएसले हालसम्म साधारण सदस्यहरूको विवरण भने उपलब्ध नगराएको प्रशासकीय अधिकृत बर्देवाले जानकारी दिइन्।
समुदायका सदस्यहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरी साउन १४ गतेको निर्णयअनुसार छानबिनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको आयोगले बताएको समुदायका सदस्यले जानकारी दिए।
तर, अख्तियारले यसअघि २०८१ जेठ २८ गतेको निर्णयअनुसार बीडीएसको अनियमितता छानबिन गर्न मन्त्रालयमै पठाएको थियो। मन्त्रालयले हालसम्म छानबिनको कुनै जानकारी नगराएपछि पुनः अख्तियारमा समुदायका सदस्यहरूले उजुरी दिएका थिए।
समुदायका सदस्यहरूले सोसाइटीको नेतृत्वले मानव बेचबिखनको काम समेत गरेको आरोप लगाएका छन्। विभिन्न मिडियामा समुदायका सदस्यहरूले दिएको अन्तर्वार्ता अनुसार, बीडीएसको नेतृत्वले समुदायकै सदस्यसँग पैसा असुलेर विभिन्न कार्यक्रममा पठाइरहेको आरोप छ। यसको स्वतन्त्र छानबिन हुनुपर्ने माग उनीहरूले गरेका छन्।
काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘नेपालमा नेताको लुट र भ्रष्टाचार मात्रै सुरक्षित’ भएको र व्यक्तिको सुरक्षा नभएको टिप्पणी गरेका छन् । आम जनताको सुरक्षा दिन नसकेको सरकारले कैदी बन्दीको ज्यानको सुरक्षा गर्न असफल भएको उनले बताए ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले कारागारमा कैदीबन्दीको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै यसबारेमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।
वीरगंज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको हत्याको जिम्मा कसले लिने भन्दै उनले सरकारले यसबारेमा जवाफ दिनुपर्ने माग उनले गरे । उपचार नपाएर साहको र झडपमा परेर चौधरीको मृत्यु भएपछि आजपा अध्यक्ष साहले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
‘यो हत्याको जिम्मेवारी कसले लिने सभामुख महोदय । कैदीबन्दीको हत्या हुन्छ, त्यसको जवाफ कसले दिने ? के त्यहाँको कैदीबन्दी दोषी हो कि सरकारको व्यथिति दोषी हो ? सरकारको प्रशासन दोषी हो कि सरकार दोषी हो ? कि कैदीबन्दी दोषी हो भन्ने गम्भिर प्रश्न उठछ । गम्भिर प्रश्न उजागर भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारका सम्बन्धित मन्त्री यसको जवाफदेही होस् । यसको जिम्मेवारी लिनुस् । किनकी अग्रिम सूचना हुँदाहुदै कैलाली कारागारमा झडप हुन्छ । सरकारको सुरक्षा निकाय फेल हुन्छ । कैदीबन्दीले ४८ घण्टा कारागार आफ्नो नियन्त्रणमा लिन्छन । यो घटना क्रमले धेरै कुरा उजागर गरेको छ ।’
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति, सुरक्षा र अमनचयन नभएको अवस्थामा कारागार पनि असुरक्षित बनेको टिप्पणी गरेका छन् । कारागारपनि असुरक्षित हुन थालेपछि देशको शान्ति, सुरक्षाको अवस्था के हुने हो भनेर उनले प्रश्न गरेका छन् ।
‘देशमा शान्ति, सुरक्षा, अमनचयन त भएन भएन, अब त कारागारपनि असुरक्षित हुन थाल्यो । सरकारको कष्टडीमा पनि व्यक्ति सुरक्षित नहुने भन्ने भयो । अहिले यसरी हेर्दा यो देशमा एउटामात्रै सुरक्षित देखियो, त्यो भनेको नेताहरुको लुट र भ्रष्टाचार ।’
कारागारमा भएको कैदबन्दीको निधनमा सरकारको बेथिति दोषी रहेको साहको आरोप छ । कैलाली कारागारको अवस्थाबारे सरकारलाई अग्रिम जानकारी भएको भएपनि घट्ना घट्नु दुःखद् भएको उनको टिप्पणी छ । कारागार नै कैदीबन्दीहरुले ४८ घण्टासम्म नियन्त्रण लिएको घट्नाले नेपालको सुरक्षा संयन्त्र असफल भएको पुष्टि भैसकेको साहको दाबी छ ।
त्यहाँ भएको आर्थिक अनियमितता, लेनदेनका कुरादेखी लिएर लागुऔषध ओसारपसार, हातहतियारको बिषयहरु उजागर भएको उनले बताए । शान्ति, सुरक्षा दिन सरकार असफल भएको टिप्पणी गर्दै उनले अब नाइके, चौकीदारको पनि सरकारले भागबण्डा गर्न कटाक्ष गरे । लुट, भ्रष्टाचारको पनि सरकारले भागबण्डा गरोस की अब झडप नहोस, मान्छे मार्ने अवस्था नहोस भन्दै सरकारको आलोचना गरे ।
काठमाडौँ, २६ साउन :
खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।
आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।
उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विशेष गरी खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको र पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन् । त्यहाँको समस्या समाधान गर्न आवश्यक छ ।”
यसैगरी उहाँले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप आजको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको मन्त्री यादवको भनाई छ ।
आजको उक्त भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायण प्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी रहनु भको थियो ।
यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागीता रहेको थियो ।
काठमाडौं ।
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कीर्तिमानी संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडर पृथक काम गर्दै आएको चर्चा गर्दै त्यसको पछिल्लो कडिका रूपमा श्वेतपत्र महाकाव्यको यो गीत रहेको बताउनुभयो । श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्नका लागि आफूले धेरै मिहिनेत गरेको सुनाउँदै संगीतकार तथा गायक श्रेष्ठले आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जाँदा यो गीत तयार भएको जिकिर गर्नुभयो । उहाँले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम गरिरहेको जानकारी गराउँदै श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।
महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाही-वाही पाएको र कतै गाली खाएको बताउनुभयो । उहाँले भारतका केही ठाउँमा जाँदा यो कृतिका विषयमा अनावश्यक झण्झट बेहोर्नु परेको पनि सुनाउनुभयो । वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोडनु एकदमै राम्रो काम भएको भन्दा स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले नेपाली संगीत इतिहासको चर्चा गर्दा नयाँ–नयाँ प्रयोगले यस क्षेत्रलाई अझ समृद्ध तुल्याएको बताउनुभयो ।
श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पल्ट श्वेतपत्र महाकाव्य पढेको बताउँदै लेखक दाहालका अन्य धेरै कृति भए पनि यो अब्बल रहेको चर्चा गर्नुभयो । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले वरिष्ठ साहित्यकारका रूपमा आफूले दाहाललाई चिन्दै जान्दै आएको भए पनि आजदेखि गीतकारका रूपमा उहाँको परिचय थपिएकोमा बधाई दिनुभयो । गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको चर्चा गर्दै गजल स्वर्णदशकका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।
डा.यज्ञेश्वर निरौलाले महाकाव्यकार दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ र भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ जस्ता कृतिका बारेमा आफू परिचित रहेको बताउँदै ‘स्वेतपत्र’का बारेमा आफ्ना धारणा राख्नुभएको थियो । डा.निरौलाले ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत ह्रस्व दीर्घका नियमलाई ख्यालगर्दै एकदमै राम्रोसँग गायन भएको बताउनुभयो ।
प्रमुख अतिथि प्राडा.कोइरालाले उहाँका अन्य कृतिभन्दा महाकाव्य ‘स्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ विशेष भएको चर्चा गर्दै विद्रोही चेतनाको नवीन महाकाव्य कृतिका लागि साहित्यकार दाहाललाई शुभकामना दिनुभयो । उहाँले महाकाव्य लेखनको नियमको चर्चा गर्दै ‘स्वेतपत्र’ उत्कृष्ट भएको जिकिर गर्नुभयो ।
कार्यक्रमका सभापति प्रा.पुरुषोत्तम दाहालले महाकाव्यकार खेमनाथसँग आफ्नो पुरानो सम्बन्ध रहेको चर्चा गर्दै नेपाली साहित्यमा उहाँको योगदानको प्रशंसा गर्नुभयो । ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत र यसको भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘स्वेतपत्र’ महाकाव्यमा ४५ भन्दा बढी प्रज्ञाहरूले समालोचना गरेको कृति पाठकमाझ पनि आएको छ ।
कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा.बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, धरान २०२५ प्रवेशिका समूहका नेतृत्वकर्ता समाजसेवी भुपेन्द्र कार्की, डा.अंकुर दाहाल, उषा दाहाल, साहित्यकार रमेश दाहाल, चलचित्र जाचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाललगायत विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं:
प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पिडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, बेदना, आँसु, वियोग धेरै सहन पर्छ । माया, प्रेममा मिलन भन्दा पनि निराशाको खेल हुन्छ भन्ने भावको गीत “भो यो माया, ले व्यक्त गरेको छ । गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । नारायण सुवेदी ‘आभास’को स्वर तथा समीप आचार्यको शब्द र संगीतमा सार्वजनिक भएको गीत “भो यो माया” ले यही यथार्थलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको अनुभूति गीत हेर्दा तथा सुन्दा महशुष हुन्छ । उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ,मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ ।
भिडियो तर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।
गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् । गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ जसले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र बिछोडको गहिरो यथार्थमा डुबाउँछ।
गीत ‘भो यो माया’ मा प्रेमको बाटोमा आएको भ्रम र दिशाहीनतालाई प्रष्टाइएको छ । प्रेमको यात्रा सधै एकनासको हुदैन, विभिन्न आरोह अवरोहहरु आउँछन् तर सहजतामा रमाउने र असहजतामा साथ छोड्ने गर्दा प्रेमिल मनमा पिडावोध हुन्छ, प्रेममा उकालो जस्तो कठिन र ओरालो जस्तो सहज परिस्थिति दुवै हुन सक्छ तर बाटो हराउँदा त्यसले पीडा मात्र दिन्छ । सहज, असहज दुवै परिस्थितिमा प्रेमिल रहन सके मात्र प्रेम सफल हुन्छ भन्ने सन्देश पनि गीतमा रहेको छ ।
मंसिरमा बिहे गर्ने कुरा, चाडै फर्कि आउने कुराले मनमा एउटा दरिलो विस्वास दिलाएको थियो तर दिएको वाचा र त्यसको टुटाईले सम्वन्धमा ठुलो खाडल परेको छ जुन भावलाई गीतमा अत्यन्त मार्मिक रूपमा व्यक्त गरिएको छ । प्रेमको यात्रा यति कठिन भइसकेको छ कि अब सहन सक्ने शक्ति सकिएको अनुभूति भएको छ । मायामा ‘आफै रुनु पर्ने’ अवस्था ले मायामा साथको अपेक्षा भए पनि अन्ततः एक्लै पीडा भोग्नुपर्ने बास्तविकता र विडम्बना दर्शाइएको छ । माया निस्वार्थ हुनु पर्छ, समर्पित भाव हुनु पर्छ, मायामा छलकपट हुनु हुदैन मायामा हुने ‘छल’ ‘जालझेल’ ले मायामा धोका भएको जनाउँछ भने मायामा आउने ‘भल’ ले अप्रत्याशित घटना, बिपरीत परिणाम वा नसोचेको चोटको अर्थ दिन्छ। गीतले यी भावहरुलाई प्रष्ट गरेको छ । ‘छल’ र’ भल’ दुवै मायामा दरार ल्याउने विम्व हुन् ।
गीतले प्रेमको आकर्षण र विछोडको अप्रिय सत्य दुबैलाई प्रस्तुत गरेको छ । माया सुरुवातमा मीठो खेल जस्तो लागे पनि अन्त्यमा यसले जेलझैँ बाँध्छ, पिर र आँसु मात्र दिन्छ । सत्य यहि हो कि माया सजिलो हुँदैन र यसबाट टाढा हुनु नै मुक्ति हो । गीतका हरफहरूले प्रेमको मीठासभन्दा बढी प्रेमले दिने पीडा, धोका र निराशाको गहिरो अनुभूतिको चित्रण गरेको छ । गीतकारले प्रेमलाई अनेकौं रूपमा सम्बोधन गर्दै यसको असली अनुहार उघारेका छन् ।
गीत सुन्दै जाँदा, श्रोता स्वयं प्रेमको मीठो सुरुवातबाट तीतो अन्त्यसम्मको यात्रामा सहभागी भएको अनुभूति हुन्छ ।’भो यो माया’ केवल एउटा गीत मात्र होइन, धेरैले भोग्ने अधूरा प्रेमकथाको सामूहिक स्वर हो जहाँ मायाले सुरुवातमा सपनाको संसार सजाउँछ तर अन्त्यमा आँसु, विरह, बेदना र सम्झनाको बन्धन बाँधेर हृदयलाई कैदी बनाइदिन्छ । गीतको सम्पूर्ण संरचना प्रेमको एउटा चक्र आशा, विश्वास, धोका र पीडालाई गहिरो भावमा खिचेको छ। समीप आचार्यको शब्द र संगीतमा नारायण सुवेदी आभासको स्वर मिसिँदा ‘भो यो माया’ श्रोताको मनमा लामो समयसम्म गुञ्जिरहने गीत बनेको छ।
गीत
भो यो माया,
पुग्योहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।
कहिले नदेखु, तिम्रो छायाँ पनि,
खेल रहेछ, तिम्रो माया पनि,
जेल यो माया,
झेलहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥
उकाली बिर्सियेउ, ओराली झरेसी
गोरेटो भुलीछेउ, दोबाटो भेटेसी
तिर यो माया,
पिरहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥।
यो आउने मंसिरमा, बिहे गर्छु भन्थेउ
दुई–चार दिनैमा, फर्की आउछु भन्थेउ
छल यो माया,
भल यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥॥
भो यो माया,
पुग्यो हो यो माया
जेल यो माया,
झेल हो यो माया,
तिर यो माया,
पिर हो यो माया
छल यो माया,
भल यो माया
पचरौता, बारा –
सुरक्षा जोखिम नभएको अवस्थामा समेत पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहलाई व्यक्तिगत सुरक्षा अधिकारी (PSO) उपलब्ध गराइएको तथ्य सार्वजनिक भएपछि स्थानीयवासीदेखि कानुनविदसम्म चासो बढेको छ। बारा जिल्ला सुरक्षा समितिलाई समेत यसबारे औपचारिक जानकारी नहुँदा, सुरक्षा निकायको परिचालनमा पारदर्शिता र प्रक्रियामाथि प्रश्न उठेको छ ।
स्थानीयवासीका अनुसार मेयर सिंहमाथि कुनै पनि प्रकारको प्रत्यक्ष सुरक्षा खतरा छैन । बरु उनी “बाराको सबैभन्दा बढी विवाद र झगडा गर्ने नगरप्रमुख” को रूपमा चर्चित छन्। पचरौतामा विवाद उत्पन्न हुँदा आफ्नो प्रभुत्व जमाउन र सामाजिक हैसियत प्रदर्शन गर्न राज्यको स्रोत प्रयोग गरेको आरोप छ ।एक स्थानीय बासिन्दाले भने—“यो केवल प्रभाव देखाउने खेल हो । जनता त झन् असुरक्षित महसुस गरिरहेका छन् ।”
स्थानीयले आरोप लगाएअनुसार, मेयर सिंहले राज्य शक्तिको निजी प्रयोग गर्दै सुरक्षा कर्मीलाई ‘राजनीतिक आडम्बर’ का रूपमा प्रयोग गरेका छन्।
नेपालमा व्यक्तिगत सुरक्षा अधिकारी ( PSO) उपलब्ध गराउने प्रक्रिया कानुन र सुरक्षा निकायको आन्तरिक नियमावलीअनुसार कडाइका साथ लागु हुनुपर्ने प्रावधान छ ।
यो सुविधा प्रायः प्रधानमन्त्री, मन्त्री, संवैधानिक पदाधिकारी वा वास्तविक सुरक्षा जोखिममा रहेका व्यक्तिहरूलाई मात्र दिने चलन छ ।
कुनै पनि स्थानीय तहको जनप्रतिनिधिले ( PSO) पाउन, जिल्ला सुरक्षा समितिको सिफारिस र गृह मन्त्रालयको अनुमोदन आवश्यक हुन्छ ।
तर, बारा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले “हामीलाई कुनै जानकारी छैन” भनेर स्पष्ट गरेपछि, प्रक्रिया उल्लंघन भएको आशंका बलियो बनेको छ ।
नेपालमा यसअघि पनि सांसद, पूर्वमन्त्री, र पहुँच भएका व्यापारीसम्मलाई आवश्यकताभन्दा बढी सुरक्षाकर्मी दिने विवाद चलेको छ। संसदमै “अत्यधिक सुरक्षा फिर्ता गर्न” माग उठिसकेको छ । यो प्रवृत्ति रोक्ने प्रतिवद्धता राजनीतिक घोषणामा भए पनि व्यवहारमा भने कमी देखिएको छ ।
बार एसोसिएसन नेपाल बाराका एक कानुन ब्यवसाहि अनुसार यदि ( PSO) उपलब्ध गराउने निर्णय बिना प्रक्रिया र गलत विवरणका आधारमा भएको हो भने, यो निम्न कानुनी दायरामा पर्न सक्छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैर–आवश्यक रूपमा सरकारी स्रोत व्यक्तिगत प्रयोजनमा प्रयोग गरे आरोप लाग्न सक्छ ।
अर्कोतर्फ मुलुकी अपराध संहिता, दफा २५४ अन्तर्गत, पदको पहुँच र प्रभाव प्रयोग गरी अनुचित लाभ लिनु आपराधिक कृत्य पनि आरोप लाग्न सक्छ ।
त्यसतै सुरक्षा निकायको कार्यविधि उल्लंघन गरे आन्तरिक विभागीय कारबाहीको दायरामा पर्छ ।
जिल्ला प्रशासन कार्यालय बाराका एक कम्रचारी भन्छन–यो प्रकरणमा गृह मन्त्रालय र बारा जिल्ला सुरक्षा समितिबाट तत्काल छानबिन आवश्यक छ । यस्ता समस्या आए पछि पिएसओ उपलब्ध गराउने आदेश कसको आदेशमा जारी भयो रु सुरक्षा मूल्यांकन प्रतिवेदन तयार भएको थियो कि थिएन रु निर्णय राजनीतिक दबाबमा भयो कि प्रशासनिक मूल्यांकनमारु
मेयर सिंहसँग सम्पर्क गर्ने प्रयास असफल भएपछि, घटनाको वास्तविकता अझै रहस्यमय बनेको छ । तर स्थानीयस्तरमा यो विषय ‘पहुंचको दुरुपयोग र जनताको पैसाको दुरुपयोग’ को रूपमा चर्चित छ ।
काठमाडौं –
“राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्याली सुरु हुँदैछ। र्यालीमा सहभागी हुन आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई आह्वान गरेका छन्।
यस वर्षको इन्द्रेणी गाईजात्रा उत्सव एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा विवाह दर्ता गरेका समलिङ्गी जोडीको उपस्थिति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका लागि सक्रिय विभिन्न संस्थाहरूको सामूहिक सहभागितामा आयोजना हुन लागेको हो।
ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष पन्तको नेतृत्वमा २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएका छन्।
काठमाडौँको ठमेलस्थित सञ्चयकोष अगाडिबाट हरेक वर्ष सुरु हुने यो परम्पराको थालनी पनि पन्तकै नेतृत्वमा भएको हो। उनले यसअघि चितवन र पोखरामा पनि समुदायसहित गाईजात्रा उत्सव आयोजना गरेका थिए।
यस वर्ष भने समुदायका सदस्यहरूले सरकारी वा संस्थागत सहयोगबिनै, व्यक्तिगत तथा सामूहिक योगदानमा आधारित स्वतःस्फूर्त सहभागितासहित पर्व मनाउने भएका छन्। र्याली काठमाडौँको सञ्चयकोष भवनबाट सुरु भई वसन्तपुर दरबार स्क्वायरमा समापन हुनेछ।
कार्यक्रममा सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरू समावेश हुनेछन्। वसन्तपुरमा पुगेर दिवङ्गत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सदस्यहरूको सम्झनामा दियो बालेर समापन गरिनेछ।
पन्तका अनुसार, गाईजात्रा केवल शोक वा मृत स्मृतिको दिन मात्र नभई अस्तित्व र स्वतन्त्रताको उत्सव हो। आयोजकहरूको भनाइमा, आफ्नै परिवारले नसम्झे पनि जीवित समुदायले भने दिवङ्गत सदस्यहरूलाई सधैँ सम्झिरहन्छ। गाईजात्रा उनीहरूका लागि स्वतन्त्रतापूर्वक आफ्नो पहिचान प्रकट गर्ने अवसर हो, जसमा नाचगान, हाँसो, व्यङ्ग्य र रङ्गिनता समेटिएको हुन्छ।
मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका सङ्घसंस्थाले यस वर्षको कार्यक्रम विदेशी सहायता वा कुनै अनुदानबिनै, समुदायकै आर्थिक तथा श्रम योगदानमा सम्पन्न गर्न लागिएको जनाएका छन्।
समुदायका अगुवा तथा आयोजकहरूका अनुसार, राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग अब मुखर रूपमा अघि सार्ने समय आएको छ।