२०८३ श्रावण २३
२०८३ श्रावण २३

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेका बताएकी छन् ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले मनमोहन अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम भएको बताएकी हुन् ।

‘यसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देश भरिका ज्येष्ठ नागरिकले सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन् र सम्मान गर्दछन्’, भण्डारीले भनिन् ।

अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको भण्डारीले बताइन् । उनी नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व भएको पनि उनले स्मरण गरिन् ।

राणा शासन र पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटक पटक गरी १४ वर्ष लामो जेल जीवन बिताएको भण्डारीले बताइन् । गाउँको विकास र मुलुकको अन्तराष्ट्रिय छवि उज्यालो बनाउन अधिकारीको महत्त्वपूर्ण योगदान रहेको भण्डारीको धारणा छ ।

मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताको लागि अध्ययन गर्ने पर्ने खुल्ला किताब भएको बताइन् । आजका उपलब्धि कसैको निग्रहले दिएको नभई उनी जस्तै नेताहरूको त्याग र बलिदानले प्राप्त भएको भण्डारीले स्पष्ट पारिन ।न्युज कारखाना

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।न्युज कारखाना

रौतहट १३ बैशाख। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्ष मा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले अपिडी लगायतको कक्षामा तालाबन्दी गरेका छन।


कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुंस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किएर जिउको अधिकांस भाग जलेको छ। स्थानिय सुजाईत मियाँकी ५० बर्षिया श्रीमती आस्मा खातुनले आज बिहान ७ बजे घर छेउको आगो निभाउने क्रममा साडीमा आगो लागेर उनको शरिरको अधिकांस भाग जलेको हो।

घटना लगतै आफन्तहरूले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घन्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोसित परिवारका मानिसले अपिडी लगायत सबै कक्षामा तालाबन्दी गरेका छन।

आकस्मिक सेवा सुचारु भएपछि केन्द्रमा २४औं घन्टा डाक्टर लगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटकपटक यस्ता लापरवाहीको घटनाहरू भईरहेको छ।
बिहान ९ बजे न्युज कारखानाका प्रतिनिधि आकस्मिक कक्षमा पुग्दा आगलागी बाट जलेकी महिला अचेत अवस्थामा बेडमा सुतेकी थिइन, उनको आफन्तहरु जलेको स्थानमा मलहम लगाएर छतपट गरिरहेका थिए  तर त्यहाँ उपचार गर्ने कोई डाक्टर थिएनन्।


घाईते महिला संगै आएका महमद उमरले बिरामी लिएर आएको दुईघण्टा भयो यहाँको अवस्थाबारे अस्पतालका डाक्टर संगै कटहरियाका जनप्रतिनिधिलाई पटकपटक फोन गर्दा कसैले वास्ता नगरेको कारण बाध्यभएर अस्पतालमा तालाबन्दी गरेको बताएका छन।

बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव बिनोद गुप्ताले जलेर घाईते भएकी खातुनको अवस्था गम्भीर छ, मैले जाने अनुसार उपचार गरेर थपउपचारको लागि बिरगंज रेफर गरिएको बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन्, अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिएका छन।

डाक्टरहरु उपस्थित हुँदा खातुनको उपचार सम्भव थियो तर कुनै डाक्टर नभएको कारण बाध्यभएर बिरगंज रेफर गरिएको उनको भनाइ रहेको छ। डाक्टरहरुको लापरवाहीको कारण प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार गराउन आउने बिरामी लाई पटकपटक यस्ता कठिनाइको सामना गर्नु परेको स्थानीयहरूले बताएका छन।

पूर्व मेयर सियाराम कुशवाहाको कार्यकालमा केन्द्रमा सुरुभएको आकस्मिक सेवा पछिल्लो एकबर्ष देखि प्रभावित भएको छ।न्युज कारखाना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन् ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उनको सादगीबाट पाठ सिक्नु पर्ने बताए । उनले  सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे । उनी सादगीको पर्याय भएको पोखरेलले बताए ।

नेपाको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने उनले बताए । अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत योगदान गरेको पोखरेलले स्मरण गरे । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नु पर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ’, पोखरेलले भने ।

मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले स्मरण गरे । नेपालको भूराजनीतिक संवेदनशीलता उनी अत्यन्त रहेको पनि पोखरेलले स्मरण गरे ।  उनले देखाएको सो बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए ।

मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको पोखरेलले स्मरण गरे । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानको ती क्षेत्रमा काम गरिरहेको उनले स्पष्ट पारे ।

अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उनले बताए । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उनले प्रतिबद्धता व्यक्त गरे ।न्युज कारखाना

काठमाडौँ । अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेक एक कानुनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धि नयाँ कानुन लागु भएको छ ।

अब टिकटकको मूल कम्पनि बाइट डान्सलाई अमेरिकामा आफ्नो कम्पनीको शेयर बेच्न करिब एक बर्षको समय पाउने छ । सो समयभित्र टिकटकको स्वामित्व चिनियाँ लगानी कर्ताबाट अमेरिकी लगानीकर्तामा नसारेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुने छ ।

यता टिकटकले भने अमेरिकी नयाँ कानुनलाई चुनौती दिने बताएको छ ।

अमेरिकाले टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो । तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।

टिकटकका विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । अमेरिकामा १७० मिलियन भन्दा बढीले टिकटकको प्रयोग गरिरहेका छन् ।
न्युज कारखाना

सर्लाही १३ बैशाख। बागमती सेवा समाज नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिकामा १३ वटा डिप बोरिङ गाडेर कृषक समूहलाई हस्तान्तरण गरेको छ ।

 

संस्थाले उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका वडा नं। १, ३ र ९ मा १३ वडा डिप बोरिङ गाडिदिएको हो । ती डिप बोरिङ हिजो ईश्वरपुर नगरपालिका ३ स्थित तिनघरिया गाउँमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिको उपस्थितिमा कृषक समूहलाई हस्तान्तरण गरिएको उत्थानशील समुदायको निर्माण परियोजनाका संयोजक रजनिस कुमार सिंहले जानकारी दिए ।

 

उनका अनुसार ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, ईश्वरपुर १, ३ र ९ का वडाध्यक्ष क्रमशः धर्मेन्द्र राय यादव, विश्वनाथ साह मलाह र नन्दलाल चौधरीको उपस्थितिमा कृषक समूहलाई डिप बोरिङ हस्तान्तरण गरिएको छ । एउटा डिप बोरिङबाट करिव चार बिघा जग्गामा सिँचाई सुविधा पुग्ने बताइएको छ । बागमती सेवा समाज नेपालले एउटा डिप बोरिङ निर्माण गर्न ९२ हजार रुपियाँ खर्च गरेको छ । डिप बोरिङबाट सिँचाई सुविधा पाएपछि स्थानीय कृषकलाई तरकारी खेती तथा अन्य बालीनालीका लागि पानी पटाउन सहज भएको स्थानीय पत्रकार मुकेश कुमार झाले बताएका छन ।

 

उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत जीविकोपार्जन, विपद् व्यवस्थापन र खानेपानीको क्षेत्रमा काम गरिरहेको परियोजना संयोजक सिंहले बताए । डिप बोरिङ हस्तान्तरण कार्यक्रममा नगरप्रमुख र वडाध्यक्षहरुले यो परियोजना अन्य वडामा पनि विस्तार गरी कृषकका लागि यस प्रकारको सहयोग गरिदिन आग्रह गरेका छन ।न्युज कारखाना

 

काठमाडौँ ।  छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीका अनुसार लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिर: झट्ट हेर्दा हजुर जिन्दगी दामी छ…) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिएका छन् । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

विसं २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ । न्युज कारखाना

फासो, १३ बैशाख । बुर्किना फासोको सेनाले एकै दिन २२३ जनाको हत्या गरेको खुलेको छ ।

 

गत फ्रेबुअरीको अन्तमा एकै दिनमा कम्तिमा ५६ बालबालिका सहित २२३ जना सर्वसाधारणको  हत्या गरेको खुलेको हो ।

सो देशका सशस्त्र सेनाले वर्षौं देखिको सबैभन्दा खराब दुर्व्यवहारको अनुसन्धान गर्ने क्रममा सो हत्या भएको खुलेको दि गार्जियनले जनाएको छ ।

 

यो सामूहिक हत्यालाई जिहादी हिंसाको सामना गर्न फराकिलो सैन्य अभियानसँग जोडिएको छ र सुरक्षा सुधार गर्न मद्दत गर्न पश्चिमी अफ्रिकी देशमा रूसी सेनाहरू अवतरण गरेको हप्ता दिन पछि यस्तो भएको जनाइएको छ ।

 

ह्युमन राइट्स वाच (एचआरडब्लु ले भनेको छ, ‘यो नरसंहार मानवता विरुद्धको अपराध हो, जसले बुर्किनाबेका अधिकारीहरूलाई संयुक्त राष्ट्रको नेतृत्वमा तुरुन्त अनुसन्धान सुरु गर्न आग्रह गर्दछौं ।’

 

साक्षीहरूको गवाही र भिडियो र फोटोहरू प्रमाणीकरण गर्दै एचआरडब्लुका अनुसन्धानकर्ताहरूले फेब्रुअरी २५ मा सोरो गाउँमा ३६ बालबालिका सहित १७९ जना र उत्तरी याटेंगा प्रान्तको नजिकैको नोन्डिन गाउँमा २० बालबालिका सहित ४४ जनाको हत्या गरेको पत्ता लगाएका थिए ।

 

नाइजेरियामा महाद्वीपमा आतंकवादको बढ्दो खतराको सामना गर्न समाधानहरूबारे छलफल गर्न संयुक्त राष्ट्रका अधिकारीहरू र अफ्रिकी नेताहरूले भेटेको दिन पछि यो निष्कर्ष आएको थियो । जुन सम्मेलनमा बुर्किना फासोका अधिकारीहरूले भाग लिन अस्विकार गरेका थिए ।

 

पश्चिमि मिडियाका अनुसार विज्ञहरूले उल्लेख गरे कि यस क्षेत्रमा अमेरिकी प्रति आतंकवाद रणनीति कमजोर भइरहेका बेला यो सामुहिक हत्या भएको हो, किनकि देशले आफ्नो सुरक्षा रणनीतिको लागि रुसतर्फ बढ्दै गएको छ।

 

बुर्किना फासोका सेना समर्थित राष्ट्रपति इब्राहिम ट्राओरेले मस्कोसँगको सहकार्यमा इस्लामिक स्टेट र अल कायदासँग सम्बन्धित विद्रोहीसँगको देशको झण्डै दशक लामो द्वन्द्वलाई समाधान दिने आशा राखेका छन्।

 

सो सामुहिक हत्याको एक महिना अघि रूसी सेनाको पहिलो महत्त्वपूर्ण तैनाती त्यहाँ पुगेको थियो । यद्यपि तिनीहरू नरसंहारमा संलग्न थिए भन्ने कुनै प्रमाण भने मिलिनसकेको जनाइएको छ ।
न्युज कारखाना

पोखरा । पर्यटकीय राजधानी पोखरामा यही वैशाख १५ गतेदेखि ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ ।

च्याम्पियनसिप नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा हुने जानकारी दिइएको छ ।

च्याम्पियनसिपमा १५ देशका ६४ जना खेलाडीले भाग लिदै छन् । प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउदै छन् ।

ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधाअन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ ।

दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेता चयन हुनेछन् ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरालगायतका विभिन्न सङ्घ संस्थाले सहयोग गरेका छन् ।न्युज कारखाना

म्याड्रिड, १३ बैशाख । प्रिमियर लिगका खेलाडीहरु फेरी एक पटक बलात्कारको मुद्दामा फसेका छन् ।

 

दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको थियो । उनको सूचनामा उनका साथी खेलाडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि दुवै जना धरौटीमा रिहा भए पनि प्रहरीले दुवैलाई अभियुक्त बनाएको भने जनाइएको छ ।

 

जसका लागि दुवै खेलाडी खेल्छन् ,त्यस क्लबले पनि खेलाडीलाई कारबाही गर्ने संकेत गरेको छ तर कारबाही कहिले र के गर्ने ? यो अझै स्पष्ट भएको छैन। तर, मुद्दाको अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने खुलाइएको छैन ।

 

पक्राउ परेका दुई खेलाडीलाई मुद्दाको अनुसन्धानको नतिजा नआउन्जेल निलम्बन गरिएको हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन। क्लबका प्रवक्ताले घटना अहिले प्रहरीको हातमा रहेकोले यस विषयमा क्लबले कुनै प्रतिक्रिया नदिने बताए ।

 

मिडिया रिपोर्टका अनुसार कथित बलात्कार शुक्रबार राति भएको थियो। पीडितले घण्टौं पछि प्रहरी अधिकारीहरूलाई सम्पर्क गरे र बलात्कार र आक्रमणको औपचारिक उजुरी दर्ता गरेका थिए । मेडिकलमा बलात्कार भएको पुष्टि भए पछि प्रहरीले १९ वर्षीय फुटबल खेलाडीलाई रंगशालाबाट पक्राउ गरेको थियो । सोधपुछ गरी रातभर लकअपमा राखे ।

 

उनका १९ वर्षीय साथीलाई भोलिपल्ट पक्राउ गरिएको थियो । दुवैमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । थप सोधपुछका लागि बोलाए पछि उपलब्ध हुने सर्तमा प्रहरीले दुवै खेलाडीलाई धरौटीमा रिहा गरेको हो । क्लबको अनुमति लिएर मात्रै रंगशाला प्रवेश गरेपछि प्रहरीले दुवै खेलाडीलाई पक्राउ गरेको हो ।

 

तपाईलाई भनौं कि प्रिमियर लिग धेरै हाई प्रोफाइल सेक्स स्क्यान्डलका कारण हेडलाइनमा रह्यो। म्यान युनाइटेड स्ट्राइकर मेसन ग्रीनवुड, द्दद्द, द्दण्द्दद्द मा बलात्कार प्रयास को लागी गिरफ्तार पछि निलम्बन गरिएको थियो। मुद्दामा क्लिन चिट पाएपछि उनी स्पेनिस फुटबल क्लबबाट खेलिरहेका छन् । म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर २९ वर्षीय बेन्जामिन मेन्डी गत वर्ष दुईवटा ट्रायलपछि बलात्कारको आरोपबाट सफाइ पाएका थिए। उनी अहिले फ्रान्सेली फुटबल क्लबबाट खेल्छन्।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।