बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।
बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो । न्युज कारखाना
वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।
विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसमाथि ढुंगामुढा समेत प्रहार गरेका थिए ।
ढुंगामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थितलाई नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।
वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको छ ।
नेपाललाई पाँचौं सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का कीमो पाउललाई आउट गरेका हुन् ।
यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १६.३ ओभरमा ५ विकेट गुमाएर १०८ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो सफलता हासिल गरेको छ ।
नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कीची कार्टीलाई आउट गरेका हुन् । उनको यस खेलमा यो दोस्रो विकेट हो ।
यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १४ ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको छ । न्युज कारखाना
महोत्तरी । महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।
संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो ।
सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानविय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम संचालन गरिएको थियो ।
१ सय ३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, वयक्तिगत सरसफाई किट (पुरुष/महिला) तथा सामुहिक रुपमा प्रयोग गर्नेगरी १०/१० थान शौचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना समेत खुवाईएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ ।
नेपाललाई तेस्रो सफलता कुशल भुर्तेल ले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।
यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ । न्युज कारखाना
काठमाडौं । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।
दुताबासले भनेको छ- ‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ) ।
न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।
स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो ।
सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए ले ३ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, “मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।”
नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।
“नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।” उहाँले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।
नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उहाँले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेद्भावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।”
नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे ।
“नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।”
नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए ।
उनले भने, “यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।”
प्रधानमन्त्री प्रचण्डले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए ।
नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।”
उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय सम्झौताहरू साफ्टा÷बिमिस्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे ।
“अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी दुबै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।”
वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।”
सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमनत्री प्रचण्डले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे । न्युज कारखाना