काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।
वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
बैठकको निर्णय सुनाउदै उनले भने- ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’
उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।
न्युज कारखाना
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।
मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन् ।न्युज कारखाना
काठमाडौँ । इङल्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि इङल्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
इङल्याण्डको विश्वकप खेल्ने टिममा जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले र मार्क वुड रहेका छन् ।
टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत रहेको इङल्याण्ड यस विश्वकपमा समुह बी मा रहेको छ । समुह बी मा इङल्याण्डसहित अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् ।
विश्वकपमा इङल्याण्डले आफ्नो पहिलो खेल जुन ८ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनासाय जोकोहीबाट पनि प्रकट हुनु गलत भएको ठहर गरेको हो । साथै महासंघले सर्वोच्चको आदेश संविधानको भावनासँग बाझिने रहेको उल्लेख गरेको छ ।
यसले प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्ने तर्फ हामी सचेत हुन जरुरी रहेको महासंघको भनाई छ ।
साथै महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित सामग्रीको नियमनको दायित्व प्रेस काउन्सिलको हुनुपर्छ र प्रेस काउन्सिलले यो दायित्व जस्तोसुकै अवस्थामा पनि गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेको छ ।
काठमाडौँ । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ ।
अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् ।
फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् ।
फिल्म यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउदैछ ।
गीतको लिंक- https://www.youtube.com/watch?v=bpthjCqpPrM
न्युज कारखाना
बारा । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, ताब्रेज शाम्शी र ट्रिस्टन स्टब्स ।
रिजर्भ खेलाडीमा नान्द्रे बर्गर र लुंगी एनगिडी रहेका छन् र उनीहरु टिमसँगै ट्राभल गर्ने छन् ।
दक्षिण अफ्रिका टी- २० विश्वकपमा समुह डी मा रहेको छ । यस समुहमा दक्षिण अफ्रिकासहित बंगलादेश, श्रीलंका, नेदरल्याण्डस र नेपाल रहेका छन् ।
दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ । दक्षिण अफ्रीका र नेपालबीचको खेल भने जुन १५ मा हुने तालिका रहेको छ ।न्युज कारखाना
इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् । 
इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । 
एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् ।
सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।
मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन् ।
कार्की संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।
त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए । 
तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र-
न्युज कारखाना
काठमाडौँ । म्यूजिक भिडियोमा चर्चित मोडल सनिशा भट्टराई फिल्ममा डेभ्यु गर्ने भएकी छन् । सनिशाले अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन् ।
विराजले सोमबार फेसबुकमार्फत फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन् ।
विराजले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कला की धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’
सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्यो’ लगायत कैयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ ।
एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भा फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने बताइएको छ । न्युज कारखाना