काठमाडौं, १९ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युज कारखाना
आज मिति २०८० साल वैशाख १९ गते बुधवार तदअनुसार मे १ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष अष्टमी तिथी, श्रवण नक्षत्र, । सुभ योग छ । चन्द्र राशि मकर । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२५
• सुर्यास्त: बेलुका ०६:३७ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं : सेतो
शुभ अंक : ७
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं : निलो
शुभ अंक : ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं : रातो
शुभ अंक : ६
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं : पहेलो
शुभ अंक : २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं : पहेलो
शुभ अंक : ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं : पहेलो
शुभ अंक : २
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं : हरियो
शुभ अंक : १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं : रातो
शुभ अंक : ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं : हरियो
शुभ अंक : ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं : वैजनी
शुभ अंक : ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं : निलो
शुभ अंक : ८
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं : पहेलो
शुभ अंक : ४
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना
हेटौंडा, १८ बैशाख । भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापा रहेका छन्।
उनलाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
२५ वर्षीय थापा भारतमा राम्रो आम्दानी हुने काम लगाइदिन्छु भन्दै मकवानपुरको बकैया गाउँपालिका-५ का वर्ष २६ का सुरेश थिङसँग दुई लाख चार हजार २८९ र चितवनको राप्ती नगरपालिका-४ भण्डाराका वर्ष २९ का रोशन घिमिरेसँग एक ९२ हजार गरी तीन लाख ९६ हजार २८९ रुपियाँ लिई भारतको मुजफ्फरपुरमा लगेर भने बमोजिमको काममा नलगाई भागेका थिए।
सन्तोषलाई खोजतलासको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौं, १८ बैशाख । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ। बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो।
भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध निर्णायक आन्दोलन गरिने आजपा अध्यक्ष प्रभु शाहले बताए। उनले आजको बैठकले पार्टी संगठन विस्तारको कार्ययोजना समेत निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ।न्युज कारखाना
काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ ।
मंगलबार चालु आर्थिक वर्षको उपभोक्ताको मूल्यमा आधारित जीडीपीको प्रक्षेपण गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले यस्तो अनुमान गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो उपभोक्ताको मूल्यमा आधारित जीडीपीको आधार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ अनुमान गरिएको थियो ।
रिपोर्टका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको जीडीपीमा योगदान ३.०५ प्रतिशत रहनेछ भने गैर कृषि क्षेत्रको वृद्धि ३.७५ प्रतिशत रहने छ ।
यसैगरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।
त्यस्तै राष्ट्रिय लेखा अनुमान अनुसार जीडीपीको ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ३४.६८ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा ४२.२७ प्रतिशत आयात भएको कार्यालयले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने तथ्यांक कार्यालयको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ६.९६ प्रतिशत र २०७८/०७९ मा ६.७० प्रतिशत निर्यात भएको कार्यालये जनाएको छ ।
त्यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने उल्लेख गरेको छ । गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो । न्युज कारखाना
काठमाडौं, १८ बैशाख । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला प्रहरी कार्यालय बुटवलको सहयोगमा सोमबार आरोपित पाण्डेलाई नियन्त्रणमा लिएको हो।
ती कर्मचारी ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालयमा ल्याइएका लाइसेन्सको नम्बर राखेर अर्को नक्कली लाइसेन्स बनाउँदै बिक्री गर्ने गरेको खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
उनीविरुद्ध सरकारी लिखत किर्तेको कसुरमा मङ्गलबार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी सीआईबीले अनुसन्धान अघि बढाएको छ। न्युज कारखाना
वीरगन्ज, १८ बैशाख । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ।
बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए। पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ। नबिल बैंकको उक्त शाखामा रातिको समयमा सुरक्षा गार्ड नबस्ने र सोही मौका छोपेर चोरहरूले बैंकमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ।
प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए।
घटनाको खबर पाएलगत्तै प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
न्युज कारखाना
काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ ।
मंगलबार युट्युबमा सार्वजनिक गीतमा निर्देशक दिनेश राउतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ ।
गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र परीक्षा लिम्बू प्रमुख तथा पल शाह रुपमा फिचर्ड छन् ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।
जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।
आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।न्युज कारखाना
गीतको लिंक- https://www.youtube.com/watch?v=K0cGyaYf_Go
कञ्चनपुर, १८ बैशाख । कञ्चनपुरबाट चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्।
अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारीका अर्जुन ऐर पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरलाई सोमबार नियन्त्रणमा लिएर अदालमा उपस्थित गराइएको छ।न्युज कारखाना
विराटनगर, १८ बैशाख । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्।
उनले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन्।
घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फ्यालेको प्रहरीले जनाएको छ। बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको थियो।
शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए।न्युज कारखाना