२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

रौतहट २० बैशाख।

रौतहटको माधवनारायण नगरपालिका ६  विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ।

बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया, र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको हो।

आगलागीबाट घर गोठ जलेर घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५०० रुपैया बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

घटनालगतै सुरक्षा वेश भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना, प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना, गौर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा साढे दुई बजेको आगलागी नियन्त्रणमा  आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।न्युज कारखाना

धनगढी, २० बैशाख । कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन्।

नुहाउने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ। बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर उनी नदीमा बेपत्ता भएका हुन्। उनी चिसापानी पुलदेखि ७ किलोमिटर उत्तर क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले बताएको छ।न्युज कारखाना

पोखरा, २० बैशाख । पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा इन्जिनियर बरालसहित सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तीनै जनाको मिलेमतोमा सेवाग्राहीबाट घुस लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्। इन्जिनियर बरालले दुई लाख आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेको र बाँकी घुस रकम सबइन्जिनियर रोकायासमेतको निर्देशन अनुसार एक लाख ५० हजार कन्सल्टेन्सीका कुँवरले सेवाग्राहीबाट बुझिएको प्रवक्ता घिमिरेले बताए।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगतको कसुर भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

महानगरमा कार्यरत सबइन्जिनियर रोकाया र कन्सल्टेन्सी सेवाका कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने नाममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको पोखरा कार्यालयको टोलीले गत चैत २८ गते नियन्त्रणमा लिएको थियो।न्युज कारखाना

चितवन, २० बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको गोली लागेर घाइते भएका छन्। गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई  लागेको प्रहरीले जनाएको छ।

आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए।

हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेको प्रहरीले जनाएको छ। घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको छ।

भरतपुर अस्पतालमा उपचाररत सिंह खतरामुक्त छन्। यद्यपि उनको थप उपचारको लागि नेपाली सेनाको अस्पताल छाउनी रिफर गरिएको छ।
न्युज कारखाना

डोटी । डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षिय नर बहादुर तामाङ यहि १७ गते उक्त नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले उनको शव नदिको २० फिट गहिराईबाट निकालेको हो । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल शिलगढीमा पठाईएको छ । न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए ।

“यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।”

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए । उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाए ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गरे । उनले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गरे ।
न्युज कारखाना

डोटी, २० बैशाख । डोटीको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङ यही १७ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले तामाङको शव नदीको २० फिट गहिराइबाट बुधबार निकालेको हो। तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी पठाइएको छ। न्युज कारखाना

कञ्चनपुर, २० बैशाख ।  कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई २.३५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिइएको हो।

यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका-१९ बस्ने २० वर्षीय अरुण राना पक्राउ परेका छन्। भारतबाट नेपाल आउदै गरेको रानालाई २.८२ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। लागूऔषधसहित दुबैजनाई बुधबार नियन्त्रणमा लिईका यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। न्युज कारखाना

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९-१९ रन बनाएका थिए । त्यस्तै अविनाश बोहोराले अविजित १७ र सोमपाल कामीले १० रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिज ए का बलर माथ्युज फोर्डले ३ विकेट लिए भने फाबियन एलेन, गुडाकेश मोती र हेडेन वाल्शले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

यो जितसँगै वेस्ट इन्डिज ए ले ५ खेलको सिरिज एक खेल अघि नै ३-१ ले जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी शनिबार खेलिदै छ ।
न्युज कारखाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।