राैतहट, ०६ गते माघ २०८१ ।
रौतहट बचत तथा ऋण सहकारी संघले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी सहकारी मस्यौदाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, संघका प्रतिनिधिहरू, र सहकारीप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
होटल आरोहीमा भएको कार्यक्रमको प्रारम्भमा बिशिष्ट अतिथि रौतहट दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रमका दौरान सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरूबारे उपस्थित व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । संघका पूर्व सल्लाहकार तथा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सरकारले जारी गरेको अध्यादेशले सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पुर्याउने भए पनि केही प्रावधानले सहकारी क्षेत्रको व्यावहारिक पक्षलाई असर पुर्याउने भएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।
नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु तिवारीले अध्यादेशका केही प्रावधान सहकारीहरूको हित विपरीत रहेको भन्दै यसलाई सच्याउनका लागि संघले आवश्यक पहल गर्नुपर्ने र सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीहरूको दीर्घकालीन अस्तित्वका लागि एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
त्यसैगरी, वृन्दावासिनी साकोसका संचालक आलोक कोइरालाले सहकारी क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारद्वारा जारी अध्यादेश सकारात्मक रहेको बताउँदै, सहकारीहरूले नियमअनुसार आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।
संघका लेखा समिति संयोजक जितेन्द्र चौधरीले राष्ट्र बैंकको मस्यौदाले वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, साना सहकारीहरूका लागि यसले केही चुनौती खडा गर्न सक्ने भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाभरका सहकारी संघका अध्यक्ष, व्यवस्थापक, र प्रतिनिधिहरू गरी ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो। उपस्थित सहभागीहरूले सहकारी क्षेत्रको समग्र सुधार र पारदर्शिताका लागि यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको औंल्याए।
संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको समापन गर्दै सहकारी क्षेत्रमा आएका समस्याको समाधानका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले सहभागीहरूको धारणा र सुझावलाई भविष्यका रणनीतिहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उपस्थित सबैले सहकारीहरूको दिगो भविष्य सुनिश्चित गर्न सहकार्य र संवादको आवश्यकता रहेकोमा एकमत भएका थिए।
मुकेश कुमार साह, रौतहट ६ माघ २०८१ ।
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा सामुदायिक वनहरूको दीर्घकालीन व्यवस्थापन र आगामी कार्ययोजना निर्माणका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। सामुदायिक वनका प्रतिनिधिहरू, व्यवस्थापक, र सरोकारवालाहरूको उपस्थितिमा गोष्ठीमा वन संरक्षण, वन स्रोतको दिगो उपयोग, र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक योजनाहरूमा विस्तृत छलफल गर्दै सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटनमा डिभिजन वन कार्यालयका प्रमुखले वन संरक्षण र समुदायको सहभागितामा आधारित स्रोत व्यवस्थापनको महत्त्वबारे प्रकाश पारे। सहभागीहरूले सामुदायिक वनहरूको संरक्षणमा देखिएका चुनौतीहरू समाधान गर्न, हरित क्षेत्र विस्तार गर्न, र वन उपभोक्ताको भूमिकालाई सशक्त बनाउन विभिन्न सुझाव प्रस्तुत गरे। कार्यक्रममा सामुदायिक वनहरूको वार्षिक योजना निर्माण र कार्यान्वयनका लागि प्राथमिकता तय गरिएको थियो।
गोष्ठीका क्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष वेदहरि दाहालले डिभिजन वन कार्यालयले ढिलासुस्ती गर्ने गरेको आरोप लगाए। उनले कार्यालयले समयमै गुनासा सम्बोधन नगरेको र चिरानको लागि काठ लान आवश्यक पुर्जी नबनाइएको भन्दै सुधारको माग गरे । यस्तै, अन्य सामुदायिक वनका प्रतिनिधिहरूले वन व्यवस्थापनमा थप पारदर्शिता र प्रभावकारिता ल्याउनुपर्ने खाँचो रहेको औंल्याए।
गोष्ठीमा उठेका गुनासाहरूको जवाफ दिँदै डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले आफ्नो कार्यकालमा त्यस्तो ढिलासुस्ती नभएको र आफ्नो कक्षमा यस्ता गुनासा कहिल्यै नआएको स्पष्ट पारे। उनले गुनासा प्रति कडा रूपमा प्रस्तुत हुँदै सामुदायिक वनका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा नगरेकोतर्फ पनि ध्यानाकर्षण गराए।
उनले भने, “समुदायका केही वन उपभोक्ता समितिहरूले समयमै साधारण सभा नगर्दा समस्या उत्पन्न भएको छ। आफ्नो कमजोरी छोप्न कार्यालयमाथि दोष थुपार्नु न्यायोचित हुँदैन।” साथै, उनले कार्यालयका कुनै पनि कर्मचारीले यदि गल्ती गरे वा काममा लापरबाही देखाए भने त्यसको तत्काल जानकारी दिन आग्रह गरे। यस्ता गल्तीहरूमा कुनै पनि प्रकारको सम्झौता नगर्ने र दोषी कर्मचारीमाथि तत्काल कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
डिभिजन वन प्रमुखले वन संरक्षण र व्यवस्थापनमा समयपालना र पारदर्शिता प्राथमिक आवश्यकता भएको बताउँदै सामुदायिक वनका सबै प्रतिनिधिहरूले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमले सामुदायिक वन व्यवस्थापनका लागि दीर्घकालीन योजना तयार पार्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
आरके श्रीवास्तव,राैतहट,०५ गते माघ २०८१ ।
सहिदकाे सपना साकार गर्न मधेस केन्द्रित दलहरू एकत्रित हुनुपर्ने अहिलेकाे आवश्यकता रहेको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामप्रवेश दासले बताउनु भएको हाे । बलिदानी दिवसकाे अवसरमा बज्जिकाञ्चल खबर सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
मधेसी नेताहरूले अरूलाई विभेद गर्याे भन्छन् तर हामीले आफैआफैमा विभेद गरिरेका छाैं । यसलाई सच्याएर हिड्नुपर्ने देखिन्छ ।
सहिदहरूकाे बलिदानी स्वरूप मधेस आन्दोलनकै बलमा संघियता पायाैं । अहिलेकाे व्यवस्था हामीले ल्याउन सकेका हाैं । तर यसलाई जाेगाउन पनि हाम्राे उतिकै दायित्व हाे । त्यसैले सबै मधेस केन्द्रितदहरू एक ठाउँमा उभिनुपर्ने अहिलेकाे आवश्यकता हाे ।
उनी भन्छन्-मधेशलाई अधिकारसम्पन्न बनाउन अझै संघर्ष गर्न आवश्यक छ । यसका निमित्त त एकजुट हुनैपर्छ । नेता दासले, ‘मधेस आन्दोलनकै बलमा हामीले कयौं अधिकार प्राप्ता गर्याैं । अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छन् । यसलाई बचाइ राखने जिम्मेवारी पनि हाम्रै हाे ।
बिगतका दिनमा मधेस सरकारले सहिद परिवारलाई सहयोग गर्दै आएकाे स्मरण गराउँदै यसलाई निरन्तर दिनुपर्नेमा जाेड दिनु भयाे । जुनसुकै पार्टी मधेस सरकारमा आएपनि मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको बलिदान बिर्सनु हुँदैन ।
उनले थपे-जुन हिसाबले हामी संघियता ल्यान सफल भयाे । त्याे अनुरूपमा काम हुन सकिरहेको छैन् । त्यसैले बेलाबेलामा संघियतामाथि प्रश्न उठने गर्छ । यसलाई हामीले बेलैमा सच्याउनु पर्छ ।
मधेस सरकारले आफनाे बजेट खर्च गर्न नसक्नु विडम्बना हाे । याे अवस्थालाई सुधार गर्दै संघियता बाट प्राप्त उपलब्धिहरूलाई बचाउनु मधेसी दलहरू एकजुट हुनुपर्ने नै देखिन्छ ।
मुकेश कुमार साह,चन्द्रपुर, ०५ गते माघ २०८१ ।
रौतहट । जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा होटल ए.एन. प्लाजामा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद माननीय देव प्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष संजय कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। क्याम्पस प्रमुख राजन श्रेष्ठले वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गर्दै शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय प्रगतिको विवरण प्रस्तुत गरे। उनले क्याम्पसले गुणस्तरीय शिक्षा प्रवाहमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए ।

क्याम्पसमा स्नातक तहका मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, र शिक्षाशास्त्र संकायसहित स्नातकोत्तर तहमा समाजशास्त्र र व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदै आएको छ। अध्ययनलाई प्रभावकारी बनाउन सेमेस्टर प्रणाली र योग्य प्राध्यापकहरूको व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधारका क्षेत्रमा १८ कोठे व्यवसायिक सटर भवन, सभा हल, कम्पाउण्ड वाल, चमेना गृह, र सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ। चन्द्रपुर नगरपालिकाको सहयोगमा थप भौतिक सुधार भएको जानकारी दिइयो।
क्याम्पसले विद्यार्थी शुल्क, विश्वविद्यालय अनुदान, र सटर भाडाबाट आय आर्जन गर्दै आएको छ। क्याम्पस खातामा हाल ३ करोड २० लाख नगद मौज्दात रहेको छ। आगामी दिनमा B.B.A., B.H.M., B.S.W., र B.C.A. जस्ता रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि देव प्रसाद तिमल्सिनाले क्याम्पसको प्रगतिको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
कान्तिपुरका उपसम्पादक पत्रकार शिव पुरीले क्याम्पसले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गर्दै आर्थिक पारदर्शिता र नेतृत्व क्षमतामा थप सुधार गर्नुपर्ने सुझाव दिए । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज भट्टराई समिरले क्याम्पसको आगामी योजना पूरा गर्न प्रदेश सरकार र स्थानीय निकायबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सभाले क्याम्पसको शिक्षा र भौतिक पूर्वाधारलाई थप सशक्त बनाउन साझा प्रयास गर्ने प्रतिबद्धतासहित समापन गरेको छ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०५ गते माघ २०८१ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलोली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र असक्षम भएको टिप्पणी गरेका छन् । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार बिघटन गर्नुपर्ने सुझाव उनले दिए ।
आजपा निकटको आम विद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भईसकेको सरकारले मुलुक र नागरिकलाई आवश्यक नभएको बताए ।
‘यो (ओली नेतृत्वको सरकार) पूर्णरुपमा असफल र असक्षम भएको प्रमाणित भईसक्यो । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने सरकार मुलुक र नागरिकलाई आवशयक छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘संविधान संशोधन गर्ने भनेकाहरुले अहिले आएर २०८७ मा संशोधन गर्ने भन्दैछन् । सुशासनमा शुन्य छ, बिकास निर्माण ठप्प छ । स्थिरता हुने भनेकाहरुले दिनदिनै सरकार ढल्दैन्, सरकार रहिरहन्छ भन्छ, आफैलाई आफ्नै सरकारमाथि विश्वास छैन् ।’
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बीचमा सात बुँदे सहमती गरेर सरकार गठन भएको थियो । तर कांग्रेस र एमालेले गरेको सहमती नै ओली नेतृत्वको सरकार कार्यान्वयन गर्न असफल भएको साहको टिप्पणी छ । संविधान संशोधन गर्ने भनेर सहमती गर्ने तर प्रधानमन्त्री ओली २०८७ सालमा संविधान संशोधन गर्ने अभिव्यक्ति दिएपछि साहले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नेपाली विद्यार्थीहरु कमजोर नभएको भन्दै बंगलादेश भन्दा सक्षम र विवेकशील भएको बताउदै असफल भएका सरकारको बिरुद्धमा विद्यार्थीहरु सडकमा आउँन खोजेको बताए । यो असफल र असक्षम सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने चेतावनी साहले दिए ।
आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषणा साह, सचिव उमेश कुशवाहा, आम महिला मोर्चाका कोषाध्यक्ष मिना देवी साह लगायतको सहभागिता रहेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।
बैठकले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन तथा शिक्षा क्षेत्रका सिण्डिकेट, विभेद र ब्रह्मलुट विरुद्ध जारी संघर्षलाई थप व्यवस्थित एवं निर्णायक बनाउने निर्णय भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।
विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको छ । यस्तै ४५ प्रतिशत विद्यार्थीलाई यातायातमा छुट दिने व्यवस्था काठमाडौं उपत्यकामा मात्रै सिमित रहेकोमा त्यसलाई देशैभरी कार्यान्वयन गर्नुपर्ने, शिक्षा क्षेत्रमा देखिएको विभेद, सिण्डीकेट, लुटका बिरुद्धमा आम विधार्थी मोर्चाले संघर्ष गर्दै आएको विद्यार्थी मोर्चाका अध्यक्ष साहले जनाएका छन् ।
‘सरकारकै तथ्यांक अनुसार १२.२ लाख विद्यार्थी संख्या रहेको वागमती प्रदेशमा २५ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ६८६ शिक्षक उपलब्ध छ । त्यसैगरी ११.५ लाख विद्यार्थी संख्या रहेको कोशी प्रदेशमा २३ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ३२१ शिक्षक उपलब्ध रहेको छ,’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने, ‘तर सबैभन्दा बढी १५ लाख विद्यार्थी संख्या रहेको मधेस प्रदेशमा जहाँ ३० हजार शिक्षकको आवश्यकता छ त्यहाँ १८ हजार ३०९ शिक्षक मात्रै रहेको छ ।’
उनले प्रश्न गर्दै भने, ‘सरकारी तथ्यांक अनुसार देशमा कुल ७८ लाख विद्यार्थी र १ लाख ६० हजार २८६ शिक्षक संख्या छ । विद्यार्थी संख्यालाई शिक्षक संख्याले भाग गर्दा अहिले पनि देशमा प्रत्येक ४८ विद्यार्थीमा एक शिक्षक रहेको अवस्थामा मधेस प्रदेशमा किन १०० विद्यार्थीमा एक शिक्षक छन् ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
मधेसमा एउटा कक्षाकोठामा १०० जना बसेर पढेको कमजोर विद्यार्थी र पहाडमा २० जनाको कक्षाकोठामा पढेर होसियार विद्यार्थीलाई एउटै जाँच गरी जागिर दिने लोकसेवा आयोग कतिको जायज छ भन्दै साहले प्रश्न गरे । उनले यस्तै विभेदकारी र अनैतिक प्रावधानका बिरुद्धमा विद्यार्थी मोर्चाले निरन्तर संघर्ष जारी राख्ने निष्कर्षमा पुगेको बताए ।
यसैबीच आजै आजपा निकटको आम ट्रेड यूनियन फेडरेशनको बैठक सम्पन्न भएको छ । फेडरेशनका इन्चार्ज एवं आजपा उपमहासचिव धनकुमार मगरको अध्यक्षता एवं आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरको प्रमुख आतिथ्यमा बसेको बैठकले नेपालभित्रको उद्योगधन्दामा नेपाली कामदारलाई पहिलो प्राथमिकता दिलाउन तथा घरेलु कामदार सम्बन्धी ठोस कानुन ल्याउन एवं संगठन विस्तार तथा श्रमिकको पक्षमा संघर्ष अगाडि बढाउने निर्णय गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,०५ गते माघ २०८१ ।
माघ ५ गते बलिदानी दिवस । मधेसभरी विभिन्न कार्यक्रम गरि मनाउने क्रममा राैतहटमा पनि आज बलिदानी दिवस मनाइएको छ । जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ११ सहिद चाैक भैंसही बजारमा बलिदानी दिवसकाे अवसरमा श्रद्धाञ्जली अर्पण एवम् दिप प्रज्जवलन गरि मनाइएको हाे ।

बलिदानी दिवसका अवसरमा जनता समाजवादी पार्टी नेपालकाे वडा कमिटीकाे आयाेजनामा मधेश आन्दोलनका सहिदहरूलाई सम्झना स्वरूप साँझ सहिद चाैक भैंसहीमा दीप प्रज्जवलन कार्यक्रम गरेको छ । सहादत प्राप्त गरेका सहिदहरूकाे सम्मानमा एक मिनट माैन धारण पनि गरिएको थियोे ।

दीप प्रज्जलन कार्यक्रमलाई सम्बाेधन गर्दै जसपा नेपालका मधेस प्रदेश कमिटी सदस्य एवम् यूवा नेता विजय चाैधरीले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएकोले मधेसमै मात्र मनाउँदै आएको बलिदानी दिवस देशैभरी मनाउनु पर्नेमा जाेड दिएका थिए ।

oplus_0
उनले बलिदानी दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए । उनले भने- सहिदहरूकाे देन हाे कि हामीले सरकारकी हरेक संयन्त्रमा मधेसीले सहभागीता पाएका छन् । मधेसी काेटा बाट सरकारी जागिरमा प्रवेशकाे अवसर पाएका छन् । यसलाई हामीले बिर्सनु हुँदैन ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महताे लगायतका सहिदहरूकाे समझनामा आजकाे दिन हामीले बलिदान दिवस मनाउँदै आएकाे स्मरण गराएका थिए ।
देशमा बसेकाे हिमाल देखि लिएर पहाड सम्मका नागरिकहरूले बलिदानी दिवसकाे बारेमा थाहा पाउनुपर्ने जरुरी छ । याे मधेसमा मात्रै किन? सरकारले यसमा राष्ट्रिय विदा दिनु पर्छ कि पर्दैन भन्दै प्रश्न समेत गरे ?
सहिदहरूकै बलिदानीले नै आज हामीले अहिले अधिकार पाएका छाैं । र बाँकी अधिकार प्राप्तिका लागि हामीले लडिनै रहेका छाैं ।
जसपाका नेता सिताराम चाैधरीकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको थियोे । जसमा जसपा नेपालका नेता कार्यकर्ताहरू ब्रहमनारायण चाैधरी, प्रभुनारायण चाैधरी, भूपेन्द्र चाैधरी,पूर्व जिल्ला कमिटि सदस्य साेहन लामा, पूर्व संघिय परिषद् सदस्य मिना रखाल लगायतका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियोे । साे अवसरमा स्थानीय भद्रभलादमी, सुरक्षाकर्मी,पत्रकार पनि सहभागीता रहेको थियो ।
काठमाडौं,०४ गते माघ ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भयो ।
उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहाद्र्रता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत सम्बन्ध रही आएको बताउनु भयो । ‘दुई देशबीचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’
उपराष्ट्रपति यादवले हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फस्र्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्त्व प्रतिविम्बित हुन्छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुशी छौं।’ उहाँले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबीचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गर्नुभएको नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरुको बैठकले दुई देशबीच आपसी विश्वास र सहयोगको वातावरण बनेकोमा हर्षित छु।’
उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै हामीले भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताउनु भयो । ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका रुपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र
समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’ उहाँले नेपालको विकास प्राथमिकताहरुमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन र मानव संशाधन विकास रहेको बताउनु भयो ।
‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न बस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन् ।’
उहाँले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले नेपाल र भारतलाई शताब्दीयौंदेखि जोडेको उल्लेख गर्दै हामीले दुई मुलुकका जनताको बृहत्तर लाभको लागि स्रोतहरूको संरक्षण र परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भेटमा हाम्रा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीयमञ्चहरूमा पनि निकट रुपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले भारतको ७६ औं गणतन्त्र दिवस (२६ जनवरी) को अवसरमा राजदूतमार्फत् भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भारतीय महामहिम राजदूत नवीन श्रीवास्तवले भारतले ‘नेबरहुड फस्र्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहु्ँ निर्यातमा प्रतिबन्धका बाबजूद नेपालाई दुई लाख टन गहूँ निर्यातका लागि अनुमति दिएको बताउनु भयो । उहाँले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकिकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै नेपाललाई भारतले एक हजार चौसठी मेगावाट विजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताउनुभयो ।




आरके श्रीवास्तव,रौतहट,०४ गते माघ ।
रौतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको शितलपुरमा ग्रामीण कृषि सडक निर्माण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा किसानहरुलाइ सहज हुने उदेश्यले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले वडा स्तरीय योजना बाट ५ लाखको लागतमा मौलापुर चिरचिरिया चौरी तर्फ ग्रामीण कृषि सडक विस्तार गराउनु भएको हो ।

सहज सिंचाई पुर्याउन तथा धान, गहुँ, मकै लगायत अन्य बालि किसानहरुलाइ ढुवानी गर्न सहजताको लागि वर्षोंदेखि बाटो विहिन रहेको ठाउँमा नयाँ कृषि सडक निकाल्न लगाउनु भएको हो ।

वडा अध्यक्ष यादवले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । उनले आफनो कार्यकालमा करिब ९ वटा ग्रामीण कृषि सडकको निर्माण गराइ सक्नुभएको छ । उक्त सडकलाइ मौलापुरको पिकनिक पार्क सम्म जोडने सडक रहेको वडा अध्यक्ष यादवले जानकारी गराएका हुन् ।

ग्रामीण कृषि सडक खेतखेतमा पुगेपछि कृषकले उत्पादन गरेको कृषिजन्य बस्तु ढुवानी गर्न सहज हुने भएको छ । वडाको कमै बजेट बाट किसानलाइ लाभान्वित गर्ने काम गर्नुभएको हो । सफल पक्ष भनेकै कृषकलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय बताउँछन् ।
स्थानिय कमाहीर गिरीले कृषि सडक निर्माण भएपछि किसानको कल्याण भएको बताए । उनले भने–‘यो सडक नहुँदा किसानहरुले उत्पादन गरेको बाली ढुवानी गर्न निकै गाह«ो हुने गरेको थियो । ’ अब सहज हुने भएको छ ।

अर्का स्थानिय राहुल निधीले भने–यसबाट धेरै किसान लाभान्वित भएका छन् । सडक अभावमा धेरैले खेती गर्न छोडिदिन्थ्यो । अधिकांश खेतहरु बाँझै रहन्थयो । अब उपरान्त यो समस्या हटेको छ ।