२०८३ भाद्र १४
२०८३ भाद्र १४

 

 

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारित बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लाको बौद्धीमाइ नगरपालिकामा चौतारीको बैठक बसेको थियो । चौतारीका जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा मिसन ग्रासरुट अभियानका प्रतिनिधी गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता रह्नु भएको थियो ।

बैठकमा मुख्यतया तीन वटा विषयमा छलफल भएको थियो । प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महतको उपचरार्थ आर्थिक सहयोग सम्बन्धमा,नेपाल पत्रकार महासंघमा चौतारीका सदस्यहरुलाइ सदस्यता तथा शुद्धिकरण सम्बन्धमा,नेपाल पत्रकार महासंघको आगामी चुनावी रणनिती सम्बन्धमा छलफल गरिएको थियो ।

छलफल पछि महतको उपचारको लागि चौतारीको तर्फ बाट ५१ हजार नगद सहयोग गर्ने,सदस्यता र शुद्धिकरणको लागि अवाज उठाउने,चौतारीका सदस्यहरु क्रियाशील रहि महासंघमा आफनो प्रतिनिधीत्व गर्नेगरी आगामी कदम चाल्ने सर्वसहमती बाट निर्णय गरिएको चौतारीका जिल्ला सचिव मुकेश कुमार साहले जानकारी गराउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी गुप्ताले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एमाले सरकारका पालामा भएका राम्रा र महत्वपूर्ण कामहरुको प्रचार गर्दै अहिले पनि स्थानीय तहमा रहेका एमालेका जनप्रतिनिधीले गरेका महत्वपूर्ण कामको समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो । साथै वहाँले सदरमुकाम गौरमा प्रेस चौतारी रौतहट शाखाको कार्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वक्ताहरुले प्रेस चौतारीलाई उत्कृष्ट, ससक्त र व्यावसायीक पत्रकारहरुको संस्था बनाउनका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रिय सचिव कमल कुमार उपाध्याय,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने,महासंघका प्रदेश महासचिव श्याम बन्जरा,प्रेस चौतारीका केन्द्रिय सदस्य

अच्यूत पौडेल,महासंघका प्रदेश कमिटि सदस्य शैलेन्द्र झा,चौतारी मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ ,केन्द्रीय सदस्य संजय मिश्र,प्रदेश सदस्य अशोक पहाडीसहित चौतारीमा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिव मुकेश कुमार साहले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य चौतारीका रौतहट ईन्चार्ज रमेश तिमल्सिनाले राख्नु भएको थियो ।

 

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

रौतहट जिल्लाको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । सो नगरपालिकाको वडा नम्बर ८ धोबिनियामा बाटो फराकिलो बनाउने क्रममा दुई पक्षबीच विवाद हुँदा झडप भइ गोली चलेको छ ।

गोली लागेर सोही ठाउँ बस्ने राजकुमार राय यादवको मृत्यु भएको स्थानियले बताएका छन् । गोली लागेका यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएकोमा बाटोमा नै मृत्यु भएको स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक उमाशंकर यादवका अनुसार मृत्युको पुष्टि भइ नसकेको बताए । स्थानिय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विरगंज पठाइएको उनले बताए । सो घटनामा परी स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

उनीहरुको रौतहट स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको आशंकामा ८÷९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटना स्थलबाट हतियार र केही कार्तुस प्रहरीले बरामद गरेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् । घटनाको विस्तृत विवरण बुझन इप्रका गरुडा बाट डिएसपी छेदीलाल कामतीको टोली त्यहाँ पुगेको उनले बताए ।

 

 

कास्की, २ चैत

पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो । पोखरा ८ नागढुंगा बस्ने स्मृतीसहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।

पोखरा १५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

 

काठमाडौं, २ चैत

सभामुख देवराज घिमिरेले कानुनहरु बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्टसंघीय बाल अधिकार सम्वन्धी महासन्धी १९८९ माथि बालबालिकाहरुको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँंगको राष्टिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उदघाटन गर्दै यो विषयम जोड दिएका हुन् ।

सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था संसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए । ‘कुनै पनि कानुन बनाउँंदा भोलिका कर्णधार बालवालिकाहरुको भविष्यसँंग जोडेर हेर्नुपर्छ’, उनले भने ।

कार्यशालामा नेपालका बालबालिकाहरुको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्टसंंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल) प्रगतिनगर शंखमुल काठमाडौंले बालबालिकाहरुबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइयो ।

यसका लागि देशभरका बालबालिकाहरु राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्युनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरु मिलेर प्रतिवेदन तयारीको कामहरु भइरहेको छ ।

कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दंगालले आइतरभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । यसपछि बालबालिकाहरुबाटै तयार भएको प्रतिवेदन हामीले राष्टसँंघलाई बुझाउने हो, उनले भने । कन्र्सोटियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरु आआफनो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । अहिले सातवटै प्रदेशका बालबालिहरुले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँं प्रतिवेदन तयार हुन्छ, उनले भने ।

संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरुले समुदायस्तरमा पुगेर नेपाली बालबालिकाहरुको अवस्था समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेशस्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरुकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरु प्रतिवेदन लिएर काठमाडौं आएका हुन् ।

यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।

 

काठमाडौं, २ वैशाख 

नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

उनले भोली ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

 

दाङ, २ वैशाख

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घोराहीबाट बुटवल जाँदै गरेको मिनी बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भएको थियो । बस दुर्घटना हुने थाहा पाएपछि हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तिमा ठोक्किएको थियो । घाइते घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ज्यान गुमाएकी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

 

मोरङ, २ चैत

मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।

 

सल्यान, २ वैशाख

सल्यानमा २० दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्।

शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।​

विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

विशाल बस्नेत,महोत्तरी, २ वैशाख 

८ मंसिर २०७७ को बिहानै ७ वर्षीया बालिका गुलावसा खातुन घर नजिकै मृत अवस्थामा भेटिइन् । तीन दिनदेखि हराइरहेकी खातुनको बर्दिबास नगरपालिका–१४ को सुभम बस्तीमा मृत अवस्थामा भेटिएपछि निकै खैलाबैला भयो । उनको शवलाई हेर्दा बलात्कारपछि हत्या गरेको धेरैले अनुमान गरे ।

 

प्रहरीले शंंकाका आधारमा बर्दिबासका अरुण साहलाइ पक्राउ ग¥यो । पक्राउपछि पारम्भिक अनुसन्धानमा नै बालिकालाई बलात्कारपछि हत्या गरेको साहले स्वीकार गरेपछि अहिले जेल जीवन भोगिरहेका छन् । अवोध बालिकालाई बलात्कारपछि हत्या गरेको आक्रोशमा स्थानीयहरूले आन्दोलन गर्दा प्रहरीको गोली लागेर एक जनाको ज्यान समेत गएको थियो । अहिले अरुण साहको घरलाई समेत स्थानीयहरूले नियन्त्रणमा लिएका छन् । घटनालगत्तै आक्रोशित स्थानीयले लगाएको आगोले जलेको धरमा अहिले पनि लेखिएको छ–यो घर अपराधीको घर हो, यसलाइ कसैले किन्ने कोसिस नगर्नुहोला ।’

 

बालबालिका र अपांग महिलासमेत बलात्कृत भएका छन् । १६ जेठ २०७७ मा आफ्नै घरअगाडि खेलिरहेकी ६ वर्षीय नाबालिकालाई दाजु नाता पर्ने १४ र १२ वर्ष उमरेका दुईजनाले बलात्कार गरेको घटना बाहिरियो । बालिकालाई बाँसको मचानमा बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजनाविरुद्ध उजुरी दिए । सोही वर्ष भदौमा रामगोपालपुरमा यस्तै अर्को घटना भयो ।

 

बोल्न नसक्ने महिला राति शौच गर्न बाहिर निस्केका बेला सामूहिक बलात्कारको शिकार भइन् । उक्त घटनामा सग्लन दुई जनालाई पक्राउ गरेर छानबिन गर्न प्रहरीले महिनौँ लगाएको आरोप लागेको थियो । स्वास्थ्य जाँच र महिलाको अवस्थालाई हेर्दा उनलाई यातना दिएर बलात्कार गरेको प्रहरीले नै निष्कर्ष निकालेको थियो ।
त्यसयता महोत्तरीमा ६० वटा बलात्कार घटना भएका छन् भने पछिल्लो ६ महिनामा २२ वटा बलात्कारका घटना भएका छन् । यसमध्ये नाबालिगमाथि भएका बलात्कारका घटना आधा दर्जन रहेका छन् ।

सार्वजनिक भएका घटनाहरूलाइ आधार मान्ने हो भने बर्दिबास नगरपालिकामा सवैभन्दा बढी बलात्कारका घटनाहरू भएको देखिएको छ । परिवारभित्रका दाइ, काकालगायत परिवारका सदस्यबाटै बलात्कारका प्रयास भएका छन् ।

 

वर्दिबास क्षेत्रमा नै गत १५ चैैतमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो ।  आमा नभएको मौका छोपेर छोरीमाथि टक–पटक बलात्कार गरेको र छोरी गर्भवती भएका थाहा पाएपछि बुबा फरार भए ।

 

शारीरिक र मानसिक तनाव दिएर जेठी छोरीलाइ जबरजस्ती गर्दै आएका बुबालाई प्रहरीले खोजी गरिरहेको छ भने गर्भवती बनेकी बालिकाको थापाथलीस्थित ओसीएमसीमा राखेर स्वास्थ्य उपचार भइरहेको छ । यातनाबाट विक्षिप्त बनेकी बालिकालाई ओसीएमसीमा राखेर स्वास्थ्य उपचारका साथै सामाजिक परामर्श समेत दिइएको छ ।

 

यस्तै प्रकृतिको अर्को घटना पनि बाहिरिएको छ । घरपरिवारले दिएको उजुरीको आधारमा प्रहरीले बर्दिबास–३ वाट अर्का बुबालाई पक्राउ गरेको छ । गत २३ चैतमा इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरि थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ ।

 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको खुल्न आएको छ । पटकपटक बलात्कारको प्रयास गर्न खोजेपछि प्रहरीलाई खबर गरिदिएको छिमेकीहरूले बताए । ‘प्रारम्भिक बयानमा श्रीमती बाहिर निस्केको मौका छोपी वलात्कारको प्रयास गर्ने रहेछ, ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने ।

 

उजुरी दर्ता भएको तर जाहेरी भने अहिलेसम्म आएको छैन । आफ्नै घरमा समेत छोरीहरू कति धेरै असुरक्षित छन् भन्ने विषय पछिल्ला यी घटनाले प्रतिनिधित्व गरेका छन् । यी घटना त १५ दिनको अवधिमा सार्वजनिक भएका प्रतिनिधि मात्र हुन् । पछिल्लो ६ महिनाको अवधिमा मात्र २२ वटा जबरस्ती करणीका घटनाहरू भएको प्रहरीको तथ्यांक छ ।

 

तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेर भएका १० जना बालिकाहरू, १६ देखि २५ वर्षका ७ जना, २५ देखि ३५ वर्षका २ जना र ३६ देखि ४५ वर्षका २ जनामा बलत्कारका घटनाहरू भएका छन ।

 

पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा बढी गौशाला नगरपालिकामा जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगका घटनाहरू भएका छन् । गौशाला नगरपालिकामा ५ वटा, जलेश्वर नगरपालिकामा ३, बर्दिबास नगरपालिकामा ३ वटा, सोनामा गाउँपालिकामा ३ वटा, मनरासिस्वामा ३ वटा, पिपरामा २ वटा र सम्सी गाउँपालिकामा १ वटा घटना भएका प्रहरीले जनाएको छ ।

 

सिरहा, २ वैशाख ।

सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा  गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो ।

हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।