काठमाडौं, २२ बैशाख । आज २५६७ औं बुद्ध जयन्ती ।
शान्तिका सन्देश बाहक सिद्धार्थ गौतमको जन्म इशापुर्व जन्म ईशापूर्व ५४३ कपिलवस्तुमा भएको थियो । उनले प्रतिवादन गरेको अहिंसा र सत्यको मार्गका करोडौं अनुयायी रहेका छन ।
सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए भने २९ वर्षको उमेरमा राजदरबारका सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका उनले भारतको बोधगयामा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्या गरेको धार्मिक मान्यता रहेको छ ।
सो कठोर तपस्या पछि उनलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त हासिल भयो । आफुले प्राप्त गरेको ज्ञान उनले संसारलाई बाँडे । त्यसपछि उनी संसारभर भगवान् बुद्ध भनी कहलिन र पुजिन थाले ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।बुद्ध धर्म– प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा रहेको छ । जन्मभुमी नेपालसहित विश्व भरी आजको दिनलाई बुद्ध पूर्णिमाको रूपमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको आजको यस पवित्र दिनले सम्पूर्ण मानव जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा, मुदिता र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गरेको छ ।
भगवान् बुद्धले दु:खबाट मुक्ति हुनका लागि उपदेश गर्नु भएको चार आर्य सत्य र अष्टाङ्गका मार्ग सबै पिँढीका मानव मात्रका लागि शाश्वत सन्देशका रूपमा रहेका छन् ।
जीवनलाई रोग, शोक, दु:ख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षाहरू हिजो जति उपयोगी थिए आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन्। त्यसैले बुद्धका शिक्षाले सार्वकालीन महत्त्व राख्दछन् ।
आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको छ। आतङ्कवाद, शस्त्रास्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनानुदित झन् कठिन र चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र मननीय हुन पुगेका छन् । पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू आज पनि अत्यन्त उपयोगी रहेका छन् ।
काठमाडौं, २२ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
आरके श्रीवास्तव,गरुडा,वैशाख २१ गते
रौतहटको माधवनारायण नगरपालिकामा नयाँ हाकिमको रुपमा देवनाथ यादव हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा यादव हाजिर भएका हुन् । उनलाई नगर प्रमुख बैजनाथ प्रसाद यादव,उप मेयर निर्मला देवी रमन, वडाध्यक्षहरू,जनप्रतिनिधी लगायत कर्मचारीहरुले स्वागत गरेका छन् ।

यस अघि रौतहटको जिल्ला हुलाक कार्यालयमा यादव कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिष झा रह्नु भएको थियो । माधवनारायण नगरपालिकामा कार्यालय प्रमुख बारम्बार फेरिदाँ सेवा प्रवाहमा समस्या हुने गरेको छ । पटक पटक कार्यालय प्रमुख फेरिदा कामकाज गर्न समस्या हुने गरेको छ । आज हाजिर भएका यादव समक्ष वर्षभरीको काम दुइ महिनामै सकाउनु पर्ने चुनौती रहेको छ । यद्यपी नयाँ कार्यालय प्रमुख यादवले ती सबै चुनौतीहरुलाइ सामना गर्दै सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् । सबैजना सँग समन्वय गरेर काम कसरी छिटो भन्दा छिटो सकाउन सकिन्छ त्यता तर्फ लाग्ने वहाँको भनाइ छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख २१ गते
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्ही निवासी डाक्टर अनिल साहलाई बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दीनले “द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक” द्वारा सम्मान गर्नुभएको छ । बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनको क्रममा अन्य देशका विद्यार्थीहरुलाई पछाडि पार्दै सर्वाधिक अंक ल्याइ बंगलादेशका राष्ट्रपतिद्धारा सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भई सम्पुर्ण नेपालीलाई गौरवान्वित बनाउनु भएको छ ।
जिल्लाको भेल्हीमा जन्मिनुभएका डाक्टर साह बंगलादेशका राष्ट्रपतिबाट अन्तर्रास्ट्रिय स्तरको सम्मान पाउनु सबै नेपालीको लागि साच्चै गर्वको कुरा रहेको छ । बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा ३ हजार ४० जना एमबीबीएसका विधार्थी मध्ये एमबीबीएस ग्रेजुएट तर्फ सबैभन्दा बढी अर्थात सर्वाधिक प्राप्तांक ल्याएको भन्दै नेपालको मेडिसीटी हस्पिटल काठमाडौंमा कार्यरत डाक्टर साहलाई उक्त पदक द्वारा सम्मान गरिएको हो । अन्तर्रास्ट्रिय स्तरमा नै देशकै सान बढाउनुका साथै देश विदेशमा अध्ययनरत विद्यार्थीहरुको समेत हौसला बढाउने काम गर्नु भएकोमा रौतहट निवासी कन्सल्टेन्ट युरोलोजिस्ट डा. अनिल साह लाई चौतर्फी बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
काठमाडौं, २१ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो ।
सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।
काठमाडौं, २१ वैशाख ।
पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।
बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो ।
सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं, २१ वैशाख ।
परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बेलायतमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिंघक दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं, २१ वैशाख ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ । केही दिनयता भइरहेको वर्षाका कारण भएको प्रतिकूल मौसमका कारण बिहीबार उडान प्रभावित भएको हो ।
प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
जसकारण अन्तर्राष्ट्रियतर्फका केही विमान आकाशमै होल्ड भएका छन् भने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विमानको समयमै उडान हुन सकेको छैन ।
विमानस्थल कार्यालयका अनुसार लुक्ला, सिमिकोटलगायत हिमाली क्षेत्र र दुर्गम क्षेत्रका विमाननस्थलमा उडान बन्द गरिएको छ ।
दार्चुला, २१ वैशाख ।
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव सदरमुकाम खलंगा ल्याइँदै छ ।
मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव भारतीय सडक प्रयोग गरेर खलंगा ल्याउन लागिएको हो ।
यार्सा टिप्न जानेक्रममा उनीहरु हिमपहिरोमा परेका थिए । लगातारको वर्षाका कारण नेपाली भूमि प्रयोग गरेर शव ल्याउन नसकिने भएकाले भारतीय सडक प्रयोग गर्न लागिएको हो ।
साथै सोही हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ वैशाख ।
गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ ।
‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले २० वैशाखको अजिरकोट गाउँ कार्यपालिकाबाट सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबलिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्यण भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।