काठमाडाैं, १७ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
डडेल्धुरा, १६ असार ।
परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन्।
‘अलि कति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं। हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौं,’ मन्त्री साउदले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी समेल हुँदैनौं तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’ उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निश्पक्ष किसिमले हेरिरहेको बताए।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए। ‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कुटनीतिक रूपमा प्राप्त गर्नुपथ्र्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत् सामाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ। त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ।’
यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे। बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन’ उनले भने। उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम् सम्बोधन गर्ने प्रयास गरिरहेको बताए।
उनले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए।
पेरिस, १६ असार ।
फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन् ।
एक अरबी मुलका किशोरको प्रहरीले गोली हानी मारे पछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको हो । यो प्रस्ताव उनले आपतकालिन बैठकमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दंगा रोक्न सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । म्याक्रोनले आफ्नो आपतकालीन बैठक पछि भने, ‘स्नापच्याट र टिकटक जस्ता सोशल मिडिया प्लेटफर्महरूले दंगालाई बढावा दिन ठूलो भूमिका खेलेको छ।’ उनले आफ्ना छोराछोरीलाई घरबाहिर ननिस्कन अभिभावकलाई अपिलसमेत गरेका छन् ।
फ्रान्समा प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि सुरु भएको हिंसा र दंगाको आज पाँचौं दिन हो । फ्रान्सले शुक्रबार चौथो रातको लागि प्रदर्शनकारीहरूलाई सामना गर्न हल्का सशस्त्र सवारी साधनसहित ४० हजार प्रहरी तैनाथ गरिएको छ ।
गएराति नै सयभन्दा बढी आन्दोलनकारी पक्राउ परेका छन् । यसरी हालसम्म ९ सयभन्दा बढी पक्राउ परेका छन् । नाहेल नामकी किशोरको हत्याको भिडियोले मानिसहरूलाई यसरी आक्रोशित बनाएको छ कि स्थिति अझै नियन्त्रणमा छैन।
यसैबीच मृतक किशोरीकी आमाले छोराले न्याय पाउनुपर्ने बताएकी छिन् । फ्रान्स–५ सँग कुरा गर्दै मृतक नाहेलकी आमा मौनिया एमले भनिन्, ‘मेरो छोरा मेरो जीवन थियो । उहाँ मेरो मुटु थियो । मेरो एक मात्र छोराको हत्या गर्ने प्रहरीसँग म धेरै रिसाएको छु। मेरो छोराले न्याय पाउनुपर्छ । कुनै पुलिसले बन्दुक लिएर हाम्रा बालबालिकालाई गोली हान्न सक्दैन, हाम्रा बालबालिकालाई मार्न सक्दैन् ।’
अभियुक्त प्रहरी पक्राउ पर्दा पनि देश जलिरहेको छ । जनताको आक्रोश अझै रोकिएको छैन । आन्दोलनकारीले विद्यालय, कलेज, सिटी हल, टाउन हल, सामुदायिक केन्द्र, प्रहरी चौकी, मल र पसलमा आगजनी गरेका छन् । केही क्षेत्रमा कर्फ्यू लगाइएको छ भने केही क्षेत्रमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । यातायात सेवा बन्द छ। सामाजिक सञ्जाल अनुगमन भइरहेको छ ।
भैरहवा, १६ असार ।
लुम्बिनीका क्रसर उद्योगीहरु आन्दोलित हुदै क्रसर उद्योग नै बन्द गर्ने घोसणा गरेका छन ।
सरकारको अव्यवहारिक निर्णयले नविकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देखि उद्योग बन्द गर्ने जानकारी गराएका हुन् ।
विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरुको कारण निरन्तर उद्योगहरुको नविकरण सम्बन्धी समस्या झेल्दै आएको बताउदै उनीहरुले नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु २०८० असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरुलाई लिखित स्पष्ट निर्देशन नभएको खण्डमा यस लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघ वाध्य भई २०८० असार १६ गतेदेखि हाम्रा प्रदेशका सम्पूर्ण क्रसर, खानी तथा वालुवा उद्योगहरुको विक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्पगरी अनिश्चित कालको लागि बन्द गर्ने निर्णयमा पुगेकाे लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।
नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुष २० गतेबाट क्रसर, वालुवा तथा खानी उद्योग बन्द गराई नेपाल सरकारको तर्फबाट छानविन गरी कानून बमोजिम अनुमति ईजाजत लिएका उद्योगहरुको विवरण नै सार्वजनिक गरेको थियो ।
नेपाल सरकार मन्त्री परिषदको बैठक ले दर्ता भई सञ्चालनमा रहेका, मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगहरुको हकमा ती उद्योगबाट कानून बमोजिम लाग्ने कर, दस्तुर शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्देशन समेत भएको थियो ।
निर्णय अनुसार नेपाल सरकारले तोकिएको निकायबाट हालसम्म कुनै पनि निर्देशन कार्यान्वयन नभएर उद्योगहरु नविकरण नभएका र उद्योगी व्यवसायीहरु जिल्ला जिल्लामा रहेका नेपाल सरकारको सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर शुल्क लगायतका राजश्व रकम बुझाउन जाँदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएकोले बाध्य भएर आन्दोलित हुन परेको संघका केन्द्रिय उपाध्यक्ष चन्द्रमणी अधिकारीले बताए ।
कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा, गिट्टी, वालुवा उत्खनन कार्य र तिनै कच्चा पदार्थहरु कसिङ्ग प्रशोधन गर्ने गरी उद्योग संचालन गर्ने कार्य दुई छुट्टाछुट्टै उद्देश्य र प्रकृतिको कार्य हुन । कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग संचालनसंगै जोडेर मूल्यांकन गर्न नमिल्ने हुँदा उत्खनन कार्य स्थानीय सरकारमार्फत र कसर उद्योग संचालन कार्य उद्योग मन्त्रालय मार्फत नै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन समेत उनीहरुले माग गरेका छन ।
अर्बौं लगानी भएको क्रसर उद्योग देशभर ६ सय र लुम्बिनी प्रदेशमा मात्रै करिब १५० वटा रहेका छन ।
असार १६, अर्घाखाँची ।
झमझम पानी परिरहेको बेला एकाएक घर नजिकै मकैवारीमा हेलिकप्टर ल्यान्ड हुँदा हजुरलाई कस्तो लाग्ला ? यस्तो परिस्थितीको सामाना गरिरहेकाहरुलाई त सामान्य लाग्ला तर सामान्य मान्छेहरुको त यो अवस्थामा होस हवास उड्छ ।
ठ्याक्कै यस्तै भएको छ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ बरवासमा । असार १५ गते साँझ करिव पाँच बजे स्याला स्थित हिलाम्मे मकैवारीमा एकाएक हेलिकप्टर अवतरण हुँदा स्थानीयहरु आतंकित भए । कुनै जानकारी विना एकाएक हावासरी आएको हेलिकप्टर हिलाम्मे मकैवारीमा ल्यान्ड हुँदा केहीवेर सन्नाटा छायो ।
मौसम खरावीका कारण रनभुल्लमा परेर मकैवारीमा केही बेरका लागि ल्यान्ड भएको हेलिकप्टर मौसम सुधार हुनासाथ गन्तव्यमा पुगेको छ । डोल्पाबाट बिरामी लिएर पोखराका लागि उडेको हेलिकप्टर शुक्रवार अवेर पोखरा पुगेको जनाइएको छ ।
खास के भएको थियो घटना ?
विरामी लिनको लागि पोखराबाट डोल्पाको लागि हिडेको हेली एभरेष्टको 9N-AKP हेलिकप्टर बिहान सन्धिखर्क टुडिखेलमा आकस्मिक अवतरण गर्यो । बिहान करीव साढे दश बजेतिर टुडिखेलमा अवतरण गरेको हेलिकप्टर सन्धिखर्कमा करीव आधा घण्टा विताएर गन्तव्यतर्फ प्रस्थान गर्यो ।
डोल्पा पुगेपनि मौसम खरावका कारण तत्काल विरामी बोकेर हिड्न नसकेको हेलिकप्टर डोल्पाबाट पोखराको लागि उडान भरेकोमा मौसम खरावीका कारण विचविचमा रोकिदै यात्रा अगाडी बढायो । जसअन्तरगत दिउसो करीव ४ बजेतिर अर्घाखाँची भुमिकास्थान वडा न ७ श्याला स्थित बारिमा आकस्मिक अवतरण गरेको थियो । मौसममा केही सुधार आएकपछि त्यहाँबाट पुन उडान गरेको हेलिकप्टर सकुशल पोखरा अवतरण गरेको सहि हेलिकप्टरका क्यप्टेन सुमन पोख्रेलले फोन मार्फत जानकारी गराएका छन् ।
रियो द जिनिरियो, १६ असार ।
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई चुनाव लडन प्रतिबन्ध लगाईएको छ।
ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्व राष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ ।
यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका छन्।
बोल्सोनारोलाई सातमध्ये पाँच न्यायाधीशले दोषी ठहर गरेका थिए र उनको विरुद्धमा फैसला गरेका थिए। एकै समयमा, दुई न्यायाधीश बोल्सोनारोको समर्थनमा थिए। यो निर्णयसँगै जायर बोल्सोनारोको २०२६ को चुनावमा फर्कने आशा समाप्त भएको छ।
मिडिया रिपोर्टका अनुसार जुलाई २०२२ मा बोल्सोनारोले विदेशी राजदूतहरूसँग भेट गरेका थिए। उक्त बैठकमा बाल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीको बारेमा झूट र भ्रामक कुरा फैलाएको र यसको विश्वसनीयता माथि प्रश्न उठाएको आरोप लगाइएको छ । विशेष कुरा के छ भने यो भेट युट्युबमा लाइभ स्ट्रिम गरिएको थियो ।
बोल्सोनारोलाई दोषी ठहर गर्ने न्यायाधीशहरूको प्यानलको अध्यक्षता न्यायाधीश अलेक्जान्डर डे मोरेसले गरेका थिए। आफ्नो निर्णयको घोषणा गर्दै, न्यायाधीशले भने कि ब्राजिलका अधिकारीहरूले आपराधिक कट्टरपन्थी र देशको शक्तिमा आक्रमणलाई सहने छैन भनेर देखाएको छ। साथै भ्रामक समाचार, गलत जानकारी सहने छैन।
तर, बोल्सोनारोले आफूमाथि लगाइएको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै बोल्सोनारोले निर्णयको विरुद्धमा अदालत जाने बताए।
नयाँदिल्ली, १६ असार ।
नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ ।
रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो ।
भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन ।
उनले भनेका छन, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’
उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाईएका कारण चल्न पाएको थिएन ।
उनी अगाडी लेख्छन, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’
खड्क सुनार ,मुगु, १६ असार ।
वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको बीचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट । वरीपरी माटोले छाएको घरको पर्खाल, हरियो जस्तापाताले टलक्क टल्लेको घर । यो दृश्य हो– मुगुको सोरु गाउँपालिका–७ मा अवस्थित पानीघट्टको । बुम्च र सिपबासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ । आधुनिक घट्ट निर्माण भएपछि त्यस गाउँका नागरिकको हर्ष छाएको छ । वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण घट्टमा अन्न पिस्न आउनेको भिड लाग्छ ।
बुम्च गाउँमा पहिले दुईदेखि तीन घण्टा, कहिले त एक दिनको यात्रा गरेर घट्ट पिस्नु जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिकाका बुम्च, धैन, गिँलाहा, तारापानीबासीका नागरिक बुम्चको अहिले घण्टौँ हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ । ‘यहाँ घट्ट नहुँदा तीन घण्टा पैदल हिँडेर अन्त जानुपर्ने बाध्यता हटेको सोरु गाउँपालिका–७, बुम्चकी तारा बिष्टले बताइन् ।
‘पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थेँ,’ उनले भनिन्, ‘तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि पालो पाइँदैन थियो। दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे। बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिका छन् ।’
तीन चार घण्टाको बाटो हिँडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो। घट्ट पुग्ने बित्तिकै गहुँका बोराले घट्ट भरिभराउ हुन्थे। अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले उनी सम्झिन्छन् । तारा जस्तै यहाँका एकसय घर परिवारका समस्या उस्तै थिए। तर अहिले दिन फेरिएका छन्।
पहिले तीन चार घण्टा हिँड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै धैन, गिँलाहा र तारापानीका नागरिकका दुःख टरेको छ । २ लाख ४० हजार लागतमा निर्माण सम्पन्न भएको घट्ट धैन, बुम्च, गिँलाहा, तारापानीका गरी एक सयभन्दा बढि घरधुरीका नागरिक लाभान्वित भएका छन् ।
पोखरा, १६ असार ।
अर्थमन्त्री प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् ।
शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
उनले अगाडी भने, ‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौं ।’
‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उनले भने, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो । लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा व्याजदर बढी थियो ।’
‘यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाई छ । उनका अनुसार वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ भने पर्यटन व्यवसाय फस्टाउँदै गएको छ, जसकाकारण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको छ ।
बैंकको ब्याजदरमा पनि कमी हुन थालेको जनाउँदै उनले भने, ‘अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ, बजेट निर्माणमा धेरै चुनौति थिए, राजस्व अनुमानभन्दा धेरै कम उठेको थियो । वैदेशिक ऋणको ब्याज तिर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष अझ बढ्छ । पूँजीगत खर्च धेरै विनियोजन गर्न सक्ने अवस्था थिएन । साउ ब्याज तिर्ने दायित्व र सामाजिक खर्च घटाउन नसक्ने अवस्था थियो ।’
‘नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता भएको जनाउँदै अर्थमन्त्री महतले यस बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्ने जनाएका छन । ‘बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं’ मन्त्री महतले भने ।
यसैका आधारमा पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको उनको भनाई छ । ‘पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो । हामीले पुनः प्रवेश गराएका छौं’ उनले भने ।
मन्त्री महतले भने, ‘जुन समुदाय वा वर्गले बढी सुविधा लिइरहेका थिए, करको दायरामा आइरहेका थिएनन, उनीहरुलाई करको दायरामा ल्याउने काम हामीले गरेका छौं । राजस्वको दायरा अब फराकिलो हुन्छ । राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न हामीलाई सहज हुन्छ ।’
‘वैदेशिक सहयोगको सदुपयोग तथा खर्च नभइरहेको स्थीतिमा सुधार ल्याउन खोजिएको उनको भनाई छ । ‘अब समय तालिकाका आधारमा खर्च गर्ने प्रवन्ध सुनिश्चित गरिसकेपछि वैदेशिक सहयोग थप माग गर्न सहज हुनेछ । सहयोग दिएको छ, खर्च भएको छैन, अर्को माग्नुको कुनै अर्थ हुँदैन,’ महतले भने ‘खर्च प्रकृयालाई सहज बनाउने र अनुशासन कायम गर्ने काममा म लागेको छु । कुनै दायाँबायाँ, पक्ष, विपक्ष र घरना नहेरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन आवश्यक छ । जनता र देशलाई केन्द्रमा राखेर मैले बजेट प्रस्ताव गरेको छु ।’
‘‘अन्त धेरै दियो, मेरो निर्वाचन क्षेत्रमा बजेट थोरै आयो भन्ने माननीयज्यूहरुको गुनासो आयो । हामीसँग पूँजीगत खर्च थोरै भएको वास्तविकता उहाँहरुले बुझिदिनु भएन । ऋणको साउ व्याज तिर्नैपर्ने, साधारण खर्च कटौती गर्न नसकिने अवस्थाले गर्दा हाम्रो पूँजीगत खर्च कम भयो । विकास निर्माणमा जनताको स्वभाविक आकांक्षालाई माननीयज्यूहरुले संसदमा बोल्नु भएको हो,’ उनले भने, ‘तयारी वस्तु बाहिरबाट मगाउनेलाई भन्दा यही कच्चा पदार्थ ल्याएर उद्योग विस्तार गर्नेलाई हामीले कम्तीमा एक तहको संरक्षण दिएका छौं ।’ जसकाकारण नेपालमै उद्योग व्यवसाय फस्टाउन मद्दत पुग्ने उनको भनाई छ ।
‘‘तमाम प्रस्ताव अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको छ । यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्ने प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ । हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेको मन्त्री महतले बताए ।
न्युयाेर्क, १६ असार ।
विश्वका धनी व्यक्ति र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको कार्यालयबारे एउटा चकित पार्ने खुलासा भएको छ ।
वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार बिल गेट्सको निजी कार्यालयका लागि अन्तर्वार्ताका क्रममा महिलाहरूलाई उनीहरूको व्यक्तिगत जीवन, यौन जीवनका बारेमा धेरै प्रश्न सोधिएको थियो, जुन उनीहरूले सोचेका थिएनन्।
बिल गेट्सको अफिसमा अन्तर्वार्ता दिन आएका महिला उम्मेदवारले अन्तर्वार्ताका क्रममा यौन गतिविधि, उनीहरुको पोर्नोग्राफी बानी, विवाह, बाह्य सम्बन्ध, यौन इतिहासलगायतका धेरै अचम्मका प्रश्न सोधिएको बताए ।
तर, यस्ता प्रश्न पुरुषलाई सोधिएको हो कि होइन ? त्यसको जानकारी अहिलेसम्म प्राप्त भएको छैन । मिडिया रिपोर्टका अनुसार यो अन्तर्वार्ता बिल गेट्सको निजी कार्यालय गेट्स भेन्चर्समा काम गर्ने महिलाका लागि लिइएको हो ।
तर, यी प्रश्नका सम्बन्धमा बिल गेट्सका प्रवक्ताले अन्तर्वार्ताका क्रममा सोधिएका यस्ता प्रश्नबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले उम्मेदवारलाई तेस्रो पक्षले सोधेका प्रश्नबारे आफूलाई जानकारी नभएको स्पष्ट पार्दै सबै आरोप खारेज गरे ।
यति मात्र होइन, यदि यी प्रश्नहरू सोधिएको हो भने त्यो गेट्स भेन्चर्सको सम्झौताको विरुद्धमा रहेको उनले बताए । जानकारीका अनुसार यी अन्तर्वार्ता सुरक्षा परामर्श फर्म कन्सेन्ट्रिक एडभाइजर्सले हालै लिएका हुन् ।
अन्तर्वार्ता लिने महिलाले व्यक्तिगत जीवन, विवाहेतर सम्बन्ध, अश्लील बानीका अलावा फोनमा आफ्ना नग्न तस्विर छ कि छैन ? भनेर पनि सोधिएको बताए । के उसले कहिल्यै पैसाको लागि नाच्यो? तर, कुनै पनि पुरुष उम्मेदवारले यसबारे केही बताएनन् ।