२०८३ भाद्र ७
२०८३ भाद्र ७

 

मकवानपुर, २१ असार ।

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित गरिएको हो ।

बजेटमा नेकपा एमाले, राप्रपा र नेकपाका ४३ सांसद विपक्षमा रहेका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसद बजेटको पक्षमा रहेका थिए ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

काठमाडौं, २१ असार ।

असंलग्‍न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् ।

 

भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ ।

 

अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए ।

 

बारा, २१ असार ।

बाराको कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६८ किलो फेला पारेको छ ।

अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त परिणामको गाँजा फेला पारेको हो ।

चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरूको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा १६८ किलो फेला परेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा रितपूर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा राखिएको छ । घरधनी जितेन्द्र चौधरी लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २१ असार ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशमलाल चौधरीबीच ठाकुरद्वारामा भेटवार्ता भएको छ ।

 

भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बारे छलफल भएको हो ।

 

भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित, कैलाली क्षेत्र नम्बर ३ का सांसद गंगा चौधरी सहभागी रहेका थिए ।

 

भक्तपुर, असार २१ गते ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आधा घण्टा ढिलाे गरी  प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस अघि दिउँसो ३ बजे नतिजा प्रकाशित गर्ने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।”

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सभार गाेरखापत्र अनलाइन

 

काठमाडौं, २१ असार ।

शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

 

बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।

 

जारी बैठकले नतिजा बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन ।

 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

 

मुम्बइ, २१ असार ।

आदिपुरुष पछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ ।

रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ ।

यसैबीच, प्रभास स्टारर फिल्म सालार पार्ट १: सिजफायर प्रशान्त नील निर्देशित फिल्मको टिजर रिलिज भएको छ, जसको सामाजिक सञ्जालमा तिब्र चर्चा भइरहेको छ । यति मात्र होइन, सालारले विश्व कीर्तिमान पनि हल्लाउन सक्ने फ्यान बताउँछन् ।

 

केही फरक गर्ने सोच बनाएर निर्माण पक्षले आज अर्थात असार ६ गते बिहान ५ः१२ बजे टिजर आउने घोषणा गरेर दर्शकमाझ उत्साह बढाएको थियो । टिजरमा दमदार एक्सन र जबरदस्त संवादको झलक देख्न सकिन्छ ।

 

दुइ मिनेट भन्दा कमकाे टिजर सुरु हुन्छ, टिनु आनन्द आफ्नो कार बाहिर उभिएर धेरै हतियारधारी मानिसहरूले घेरेका थिए। तर, तिनु आफ्नो खतराको बारेमा चिन्तित छैनन् र उनीहरूलाई भन्छन्, “सिंह, बाघ, चितुवा, हात्तीहरू धेरै खतरनाक छन् तर जुरासिक पार्कमा होइन, यति हो …” र त्यसपछि प्रभासको परिचय हुन्छ। उनी लडाईको दृश्यको बिचमा छुराको आकारको तरवार लिएर देखिन्छन्। यसपछि निधारमा टिका लगाएका पृथ्वीराज सुकुमारनको पनि झलक देखिन्छ ।

 

फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रिया रेड्डी र अन्यलाई ठूलो पर्दामा आफ्ना क्यारेक्टरहरू द्वारा फ्यानहरूलाई लोभ्याउनेछ। प्रशान्त नील द्वारा निर्देशित, बहुप्रतिक्षित फिल्म सेप्टेम्बर २८, २०२३ मा, तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दी सहित ५ भाषाहरूमा थिएटरमा प्रर्दशन हुनेछ।

 

सिओल, २१ असार ।

दक्षिण कोरियामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ । त्यसैले त्यहाँ हेरचाह सुविधाहरूमा परिवर्तन छ। पछिल्ला केही वर्षहरूमा, बाल हेरचाह सुविधाहरूमा गिरावट आएको छ, जबकि वृद्धहरूको लागि सुविधा बढेको छ।

 

सरकारी तथ्यांकअनुसार २०१७ मा ४०,००० भन्दा बढी बाल हेरचाह केन्द्र थिए, जुन गत वर्षको अन्त्य सम्ममा ३०,९०० मा झरेको छ। यससँगै ज्येष्ठ नागरिकको सुविधाका लागि सृजना गरिएका विभिन्न संस्थाको सङ्ख्या २०१७ मा ७६ हजारबाट बढेर २०२२ मा ८९ हजार ६४३ पुगेको छ । यी संस्थाहरूमा वरिष्ठ हेरचाह घरहरू विशेष अस्पतालहरू र कल्याणकारी एजेन्सीहरू समावेश छन्।

 

तिनीहरूले वृद्धहरूलाई सामाजिक सेवा वा सुरक्षाको लागि मद्दत गर्छन्। अर्कोतर्फ बाल हेरचाह सुविधाहरूमा सार्वजनिक सेवाहरू साथै निजी र कर्पोरेट सेवाहरू समावेश छन्। यो परिवर्तनले दक्षिण कोरियामा वर्षौंदेखि चलिरहेको समस्यालाई झल्काउँछ, जसलाई समाधान गर्न अहिलेसम्म असफल भएको छ।

 

यो संसारमा सबैभन्दा छिटो बढ्दो वृद्ध जनसंख्या छ। यसबाहेक ६५ ​​वर्षभन्दा माथिका ४० प्रतिशतभन्दा बढी मानिस गरिबीको सामना गरिरहेका छन् । उनीहरूको आम्दानी औसत घरायसी खर्चको तुलनामा ५०% कम छ। वृद्धवृद्धा गरिबी दर र उनीहरुको बढ्दो संख्याका कारण आगामी वर्षहरुमा उनीहरुको हेरचाह गर्ने संस्थाहरुको माग बढ्ने निश्चित छ ।

 

दक्षिण कोरियामा विश्वको सबैभन्दा कम जन्मदर रहेको छ, जुन सन् २०१५ देखि लगातार घट्दै गएको छ। विद्यालयमा बालबालिकाको अभावका कारण देशभरका धेरै प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरू बन्द भइरहेका छन् । पछिल्लो १६ वर्षमा, सरकारले जनसंख्या वृद्धि गर्न १६.४ लाख करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।

 

जोहानेसबर्ग, २१ असार ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार एउटा ठूलो दुर्घटना भएको छ ।

यहाँ शंकास्पद ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो ।

गौतेङ प्रान्तका सरकार प्रमुख पन्याजा लेसुफी घटनास्थलमा आइपुगेको रोयटर्सले जनाएको छ । हाल कुन ग्यास लिक भएर दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

 

जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि संग जोडिएको मानिन्छ। सञ्चारमाध्यमसँग कुरा गर्दै आपतकालीन सेवा एजेन्सीका प्रवक्ता विलियम एन्टलाडीले घटनास्थलमा २४ जनाको शव भेटिएको बताए । तर, अधिकारीहरूले पछि १६ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेका थिए। सोही क्रममा अस्पतालमा भर्ना भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

विलियम एन्टलाडीका अनुसार आपतकालीन सेवा एजेन्सीलाई राति करिब ८ बजे ग्यास विस्फोट भएको फोन आयो। त्यहाँ कामदार पुगेपछि सिलिन्डरबाट विषाक्त ग्यास लिक भएको थाहा पाए । जबकि लेसुफीले घटनास्थलमा सबैको शव रहेकाे बताए । दुर्घटनामा मृत्यु भएका एक बालक एक वर्षका थिए ।

 

दक्षिण अफ्रिकी मिडियाले पनि यी ग्याँस चुहावटहरू यस क्षेत्रमा अवैध उत्खनन गतिविधिहरूसँग जोडिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। बोक्सबर्ग जिल्लाका स्थानीय अधिकारीले पनि यसको पुष्टि गरेका छन् । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अवैध उत्खननका लागि ग्याँस प्रयोग हुने गरेको पाइएको छ ।

 

दक्षिण अफ्रिका हजारौं अवैध खानीहरूको घर हो। यहाँ बेरोजगारी दर लगभग ३२ प्रतिशत छ। दक्षिण अफ्रिकामा अवैध उत्खननलाई जामा जमास भनिन्छ, जसको अर्थ आफ्नो भाग्यको प्रयास गर्ने हो। दक्षिण अफ्रिकामा हजारौं मानिस अवैध खानीमा काम गर्छन्। जोहानेसबर्ग दक्षिण अफ्रिकाको एक व्यावसायिक क्षेत्र हो, जहाँ सन् १८८० को दशकमा सुनको खोजी गर्दा उत्खनन सुरु भएको थियो।

 

गत वर्ष डिसेम्बर २५ मा जोहानेसबर्गको एउटा सहरमा ट्याङ्की विस्फोट भएको थियो । वास्तवमा, एलपीजी बोकेको ट्रक पुलमुनि फसेको थियो, जुन पहिले चुहावट भयो र त्यसपछि विस्फोट भयो। उक्त दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो ।

 

काठमाडौं, २१ असार । 

नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गर्दै ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान गरिएको छ । उनीहरुले गरेको संघर्ष र दायित्वलाई कदर गर्दै समारोहमा सम्मान गरिएको निर्देशक सरोज खनालले जानकारी दिए । कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाखको हाराहारीमा एकल आमा रहेकोमा र आफ्नो विवरण खुल्ने कागजातसहित यो चलचित्र हेर्न पाउन बताए ।

 

उनले भने,’आज (बुधबार) हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर नि:शुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।’

 

ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर नि:शुल्क ‘बगान’ हेर्न पाउने घोषणा गरिएको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ । कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमु तथा माइती नेपालकी अध्यक्ष एंव सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, वरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हास्यकलाकार बसुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

 

उपसभामुख रानाले छोरीको याद आएको बताइन् । आफ्नो छोरी २ बर्षकी हुँदाको समयदेखि एकल महिलाको रूपमा आफूले छोरीलाई हुर्काई बढाई अहिले २७ बर्षकी बनाएको बताउँदै रानाले आफ्नो सामाजिक संस्थामार्फत् जेलमा रहेका सयौँ बालबालिकालाई आफ्ना सन्तानको रुपमा हुर्काउँदै आएको स्मरण गरिन् । माइती नेपालकी अध्यक्ष कोइरालाले चलचित्रमा एकल आमाको कथालाई देखाउन लागेकोमा धन्यवाद व्यक्त गर्दै अहिले अदृश्य रुपमा हजारौँ घरहरुमा एकल आमाहरूको वृद्धि भएको बताइन् । कोशी प्रदेश सभा सदस्य श्रेष्ठ भावुक हुँदै आफूले एकल आमाको रूपमा छोरी हुर्काउँदै गरेको संघर्ष सम्झिइन् । उनले पहिलोपटक यो सम्मानले आफुलाई एकल आमाको रूपमा सार्वजनिक गरेको बताउँदै संघर्षका दिनहरु स्मरण गरिन् ।

 

अभिनेत्री करिश्मा मानन्धरले आफ्नी आमाले एकल आमाको रुपमा विभिन्न जटिलता र वाधाहरुलाई झेल्दै आफुहरुलाई हुर्काएको देखेको बताइन् । आफैले आमालाई एकल आमाको रूपमा सम्मान गर्न पाउँदा भाग्यमानी भएको बताइन् । यस चलचित्रमा आफुले एकल आमाको भूमिकामार्फत सबै आमाहरुलाई सम्मान दिएको बताइन् ।

 

नव अभिनेत्री प्रमिला कार्कीले एकल आमाहरूले दिएको प्रतिक्रियाले ‘बगान’मा हामीले भन्नै पर्ने बिषय रहेको महशुस भएको बताइन् । उनले भनिन्, ‘मैले चलचित्रमा अभिनय गर्दा धेरै पटक रोएँ, तर आज ट्रेलर हेर्दै गर्दा छेउमै बस्नुभएकी एकल आमा भक्कानिएर रुँदा म झनै रोएँ । कलाकारको रूपमा कसैले हामीले चलचित्रमा भनेको सन्देश महशुस गर्छ भने त्यो नै सफलता हुने रहेछ ।’  निर्माता सुरेश वाग्लेले सरोज खनाल जस्तो अभिनेताले यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्नु र दिग्गज कलाकारहरूले अभिनय गर्नु आफैमा खुशीको कुरा रहेको बताए । आफुले समाजको यथार्थ र परिवर्तन हुनुपर्ने परिस्थितीलाई देखाउन चलचित्रमा लगानी गरेको उनले बताए ।

 

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

 

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।