लण्डन, २९ असार ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणमा रहेको बेलामा फ्रान्समा रहेको युरोपेली संसदमा मणिपुर हिंसासँग सम्बन्धित प्रस्ताव पारित भएको छ ।
युरोपियन संसदबाट मणीपुर हिंसा सबन्धी प्रस्ताव पारित भए पछि भारतले भने त्यसमाथी कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको र यसलाई पटक्कै सहन नसकिने बताएको छ ।
युरोपेली संसदले बिहीबार भारतमा मानवअधिकारको अवस्थाबारे विशेष गरी मणिपुरमा हालैका झडपहरू उल्लेख गर्दै एउटा प्रस्ताव पारित गरेको थियो । फ्रान्सको स्ट्रासबर्गमा रहेको युरोपियन संसदले भारतीय अधिकारीहरूलाई जातीय र धार्मिक हिंसा रोक्न र सबै धार्मिक अल्पसंख्यकहरूको सुरक्षा गर्न कदम चाल्न आह्वान गरेको छ।
यस्तो अवस्थामा भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युरोपेली संसदले मणिपुरको घटनाक्रम बारे छलफल गर्दै अस्थायी प्रस्ताव स्वीकार गर्नु भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको प्रतिक्रिया दिएका हुन ।
‘भारतको आन्तरिक मामिलामा यस प्रकारको हस्तक्षेप अस्वीकार्य छ र यसले औपनिवेशिक मानसिकता झल्काउँछ’ विदेश सचिव विनय क्वात्राले भने । उनका अनुसार सम्बन्धित ईयू सांसदहरूसँग सम्पर्क भइरहेको र उनीहरूलाई यो पूर्ण रूपमा भारतको आन्तरिक मामिला हो भनेर स्पष्ट पारे पनि युराेपियन ससदवाट पारित हुन गएकाे थियाे ।
मणिपुरमा झण्डै दुई महिनादेखि कुकी र मेइती समुदायबीच हिंसात्मक झडप भइरहेको छ।
आरके श्रीवास्तव,राैतहट,२९ गते असार राैतहट ।
राैतहटमा धारिलो हतियार प्रयाेग गरि एक पुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । घटना स्थलमा प्रहरी टाेली र देवाही गाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहकाे टाेली पुगि घटनाबारे जाँच बुझ गरिरहेका छन् ।

चितवन, २८ असार ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालभित्रको फार्मेसीमा औषधि किन्न सास्ती हुने गरेको गुनासो आएपछि मन्त्री जोशीले आज आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा औषधि लिने सेवाग्राहीको लामो साइन रहेको र फार्मेसीको काउन्टर खाली रहेको पाइएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । मन्त्री जोशीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेललाई बोलाई आफ्नो डियूटी समयमा काममा नआउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न निर्देशन दिए ।
मन्त्री जोशीले फार्मेसीमा बीमा मार्फत् २४सैं घण्टा औषधि किन्न मिल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।
काठमाडौं, २८ असार ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छन्।
दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्।
नेपालका लागि बंगलादेशी राजदूतले बिहीबार प्रधानमन्त्री दाहालको परिवारलाई भेटेर बंगलादेशकी प्रधानमन्त्री हसिनाले पठाएको शोक सन्देश बुझाएका थिए।
काठमाडौं, २८ असार ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा बिनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरुले उठाउनुभएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘मुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा सङ्ख्या निर्धारण हुनेछ ।’
रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरुपमा जिम्मेवारीका साथ सक्रियरुपमा लागेको स्पष्ट पारे । नेपाली सेनाको सङ्ख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नती तथा प्रगतिमा खटाइएको उनको भनाइ छ ।
‘नेपाली सेना, संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मापदण्ण्ड अनुरुप सीमा सुरक्षा एवम् भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशिल रहेको प्रति सबैलाई अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘कुनै पनि देशको सेनाको सङ्ख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्छ ।’
उनले नेपाली सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धारण हुने समेत स्पष्ट पारे । साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी, सरकारले समय–समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीका पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए ।
उनले भने, ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ । त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरुपमा प्रतिबद्ध छ । प्रतिकुल अवस्थालाई अनुकुलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रुपमा निर्वाह गर्दै आएको छ ।’
उनले हाल नेपाली सेनाको दरबन्दी दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ सङ्ख्या कायम भएको बताए । जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उनको भनाइ छ ।
हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उनले सुनाए । उनका अनुसार ४० हजार दुई सय ७ जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ ।
उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताउनुभयो । अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उनको भनाइ छ ।
काठमाडौं, २७ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार सबैभन्दा धेरै पत्रपत्रिका रहेका छन् भने सबैभन्दा थोरै टेलिभिजन रहेका छन् ।
पत्रपत्रिकाको संख्या ७ हजार ९७९ रहँदा टेलिभिजन २४२ वटा सञ्चालनमा रहेका छन् । यसैगरी, ३ हजार ९९० अनलाइन पत्रिका सञ्चालनमा रहँदा ९२८ वटा एफएम रेडियो चलिरहेका मन्त्री शर्माले जानकारी दिइन् ।
उनका अनुसार गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको छ ।
हेटौँडा, २८ असार ।
सुन, अवैध कपडा र खाद्यान्नसहित मकवानपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुन र अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो।
सुमोमा सवार वीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएकव छ।
सुनचाँदी व्यवसायी सङ्घ मकवानपुरले बिहीबारको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपियाँ बराबरको सुन फेला पारी उक्त पहेलो धातुसहित सोनारलाई नियन्त्रण लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।
यस्तै प्रहरीले भन्सार छलेर ल्याइएको तीन लाख ५७ हजार ८८९ रुपियाँ बराबरको अवैध कपडा तथा खाद्यान्न बरामद गरेको छ। हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा यात्रुबाहक बसको डिक्कीबाट भन्सार छलेर ल्याइएका कपडा तथा खाद्यन्न बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
विराटनगर, २८ असार ।
मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक बिहीबार दिउँसो मृत फेला परेका छन्। नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार जहदा–३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाएर बेपत्ता बनाएको थियो।
खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक बिहीबार दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको डीएसपी दाहालले बताए।
गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा–३ का १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो। दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।
काठमाडौं, २८ असार।
थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो।
लियाङले पीडितलाई थाईल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ।
लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाईल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको, अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाईल्याण्ड भनि म्यान्मार पठाईएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
गुल्मी, २८ असार ।
जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तमघासदेखि मदाने गाउँपालिका-१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका-४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइते हुनेमा प्युठान गौमुखी गाउँपालिका-१ अर्खाका २२ वर्षीय यम बहादुर बुढा,सोही ठाउँका २१ वर्षीय नवीन बुढा, सोही ठाउँकै २८ वर्षीय चन्द्र मगर र मदाने गाउँपालिका-१ अग्लुङका २१ वर्षीय लक्ष्मण जिसी रहेका छन्।
उनका अनुसार घाइतेमध्ये यम बहादुर बुढाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाएको छ।