२०८३ भाद्र ७
२०८३ भाद्र ७

 

काठमाडौं, २९ असार ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागूऔषधसहित पक्राउ परेका हुन्।

 

पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका- को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।

 

कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले  जनाएको छ।

 

शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागूऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्।

 

सुनसरी, २९ असार ।

सप्तकोशी नदीमा ट्रक खसेको छ । शुक्रबार बिहान बस ठोक्किँदा सप्तकोशीको पुलबाट मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो ।

 

ट्रक बेपत्ता भएको छ भने ट्रकमा सवार तीनजनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएको थियो । पुलको बार भत्काएर ट्रक नदीमा खसेको हो ।

 

काठमाडौं, २९ असार ।

राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।

 

काठमाडौं, २९ असार ।

दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने  १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ ।

नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किटलाई हुने गरी प्रसारण लाइनका टावर संरचनाहरु बनाएको थियो ।तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करिब ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो ।

त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।  ‘चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरुमा जलविद्युत आयोजना निर्माणका लागि ढोका खुलेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब त्यस क्षेत्रमा उत्पादित २५० मेगावाटसम्म विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, साथैै, त्यहाँ उत्पादित विद्युत् स्थानीय रुपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर पश्चिम क्षेत्रमा भोल्टेज सुधार हुने छ ।’

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरुको करिब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाहरुको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ ।

सुदूरपश्चिमका प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा १३२÷३३ केभी सबस्टेसन सञ्चालित छ । बलाँच सबस्टेसनबाट आएको  विद्युत स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ ।

स्याउले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमश ः करिब ८० र २०० मेगावाट हुन्छ ।

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४÷७५बाट सुरु गरिएको थियो । कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेलधुरा तथा दार्चुला जिल्लाका केही स्थानीयले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए ।

 

काठमाडौं, २९ असार ।

पशुचौपायमा देखिएको लम्की स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्की स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्की स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।
(यसअघि लम्की स्किन हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।)

 

बैतडी, २९ असार ।

आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नातीसमेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २९ असार ।

कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायमा महामारीको रुप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँचवटा सुझाव दिएका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पाँच बुँदे सुझाव दिएका हुन् ।

 

पशु स्वास्थ्य आपत्तकाल महसुस गरेर सम्बन्धित् सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाय मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।

 

साथै मिटरब्याजपीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ ।

 

काठमाडौं, २९ असार ।

सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

शुक्रबार पनि लम्की स्किनबारे सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित् मन्त्रीलाई रुलिङ गरेका हुन् ।

 

किभ, २९ असार ।

युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ।

 

यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका छन् ।

यहाँ हामी युक्रेनका महिला सैनिकहरूको दस्ताको बारेमा कुरा गर्दैछौं, जसले रुसी आक्रमणबाट देशको रक्षा गर्दा स्रोतसाधनको चरम अभावको सामना गरिरहेका छन्।

 

यसैबीचमा केही युद्ध पत्रकारले धेरै महिला सैनिकहरूसँग कुरा गरेका छन्, जसले आफ्नो कठिन अवस्थाको बारेमा जानकारी दिँदै स्रोतको अभाव हुदाँ पनि आफ्नो मनोबल तोड्न नसकेको बताए। अवस्था यस्तो छ कि महिला सैनिकको पोसाक पनि उनीहरुको साइजभन्दा निकै ठूलो छ ।

 

‘डेली वेस्टमा प्रकाशित रिपोर्टका अनुसार युक्रेनका हजारौं महिला सैनिक रुसविरुद्ध जारी युद्धको बीचमा बहादुरीका साथ लडिरहेका छन् । यी महिला सैनिकहरूसँग उनीहरूको सही साइजको वर्दी पनि छैन। युक्रेनको सशस्त्र बलमा करिब ६० हजार महिला तैनाथ छन् ।

 

यस रिर्पोट अनुसार धेरै महिला सैनिकलाई उद्धृत गर्दै सेनामा महिला स्रोतको व्यापक अभाव रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थाले युक्रेनका सैन्य स्वयंसेवीहरूको चिन्ता थपिएको छ।

 

महिला सैनिकका अन्य चिन्ताको बारेमा कुरा गर्दा नराम्रो पोशाक बाहेक उनीहरूसँग राम्रो गुणस्तरको जुत्तासमेत छैन। कतिपय महिलाले पुरुष सिपाहीको बडी आर्मर प्रयोग गर्नुपर्ने हुन्छ । सही साइजको जुत्ता नहुँदा उनी आवश्यक पर्दा छिटो दौडिन पनि सक्दैनन् ।

 

महिला सैनिकहरुले महिनामा केही दिन रासन समेत नपाएको बताएका छन् । उनीहरुलाई औषधि र सेनेटरी प्याडको पनि अभाव छ । महिला सैनिकहरू युद्धको मैदानमा आफ्नो हेरचाह गर्न असमर्थ छन्। उनी स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट गुज्रिरहेका छन् । माइनस तापक्रम भएको जङ्गलमा शौचालय जाने व्यवस्था नभएको जुलिया नामकी महिला सैनिकले बताइन् ।

 

महिला सैनिकहरूले सिस्टिटिस र ढाड दुख्ने समस्याको सबैभन्दा बढी सामना गर्नु परिरहेको छ ।यस्तो कठिन परिस्थितिमा पनि देशको रक्षा गर्ने यो भावनाले युक्रेनको महिला शक्तिको बल देखाएको जनाईएको छ । उनीहरुको कठिनाइको कथा सञ्चारमाध्यममा प्रकाशित भएपछि मानिसहरुले उनको साहसलाई सलाम गरिरहेका छन् ।

 

लन्डन, २९ असार ।

बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ ।

 

प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६ दशमलव ५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प्रतिशत तलबभत्ता बढाउने प्रस्ताव गरेको तलब संशोधन निकायबाट आएको सुझावलाई सरकारले स्वीकार गरेको बिहीबार पुष्टि गरेको हो ।

 

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यो प्रस्ताव अन्तिम भएको र तलबको विषयमा थप कुराकानी नहुने बताएका छन् । बेलायतको राज्य वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवाले अहिलेसम्मको सबैभन्दा लामो हडतालको सामना गरिरहेको छ किनभने इङ्गल्याण्डका हजारौं डाक्टरहरूले तलबको मुद्दालाई लिएर हिजो देखि पाँच दिनको वाकआउट सुरु गरेका छन्।

 

पोस्ट मेडिकल वर्षमा करियरको प्रारम्भिक चरणमा रहेका तथाकथित जुनियर डाक्टरहरूले बिहान ७ बजेदेखि हडताल सुरु गरेका हुन् । यी मध्ये धेरैले ३५ प्रतिशत तलब वृद्धिको लागि आफ्नो अडान लिन इङ्गल्याण्डका अस्पतालहरू बाहिर लाइन लगाएका छन ।

 

डाक्टर्स युनियन ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले मुद्रा स्फीतिलाई ध्यानमा राख्दै जुनियर डाक्टरहरूको तलब २००८ को स्तरमा फर्काउन ३५ प्रतिशत तलब वृद्धि गर्न आह्वान गरेको हो।

 

यसैबीच, कोरोना भाइरसको महामारीका कारण उपचारका लागि पर्खिरहेका बिरामीको संख्याले कीर्तिमान कायम गरेसँगै बेलायतमा ७५ हजारभन्दा बढी कनिष्ठ चिकित्सकको कामको बोझ बढेको छ । डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले आज एनएचएसको इतिहासमा डाक्टरहरूको सबैभन्दा लामो वाकआउटको सुरुवात भएको बताए।

 

स्वास्थ्य मन्त्री स्टीव बार्कलेले जुनियर डाक्टरहरूले पाँच दिनको वार्क आउटले हजारौं बिरामीहरूलाई असर गर्ने, बिरामीको सुरक्षालाई खतरामा पार्ने र एनएचएसको प्रतीक्षा सूचीहरू घटाउने प्रयासहरूलाई बाधा पुऱ्याउने बताए। उनले ३५ प्रतिशत वा सोभन्दा बढीको तलब वृद्धिको माग अव्यावहारिक भएको र यसले मुद्रास्फीति बढाउने जोखिम रहेको र सबैलाई गरिब बनाउने बताएका छन्  ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।