२०८३ भाद्र ६
२०८३ भाद्र ६

 

बुटवल, ८ साउन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।

 

सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् ।
यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ ।

सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उनले दोषी जोसुकैलाई कारबाही गरिने बताए ।

काठमाडौं, ८ साउन ।

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् ।

 

उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाडौं कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो ।

 

उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

 

 

सप्तरी, ८ साउन।

आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरू बीच घरायसी वादविवादको कारण झैं-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

काठमाडौं, ८ साउन ।

नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामसख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

 

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

 

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।

 

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुख घिमिरेको भनाइ छ । उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्‍याएको उल्लेख गरे ।

 

जन गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुख घिमिरेको भनाइ छ ।

 

चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे ।

 

सीपीसी नेता यान च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे ।

 

नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए ।

सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरे ।  सभामुख घिमिरेले चीन नेपालको भरपर्दो विकास साझेदार रहेको बताए ।

 

पर्सा, ८ साउन ।

वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई प्रहरीले पक्राउ परेको छ ।

 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो ।

 

तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

काठमाडौं, ८ साउन ।

प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् ।

 

उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

 

उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ ।

 

जाकर्ता, ८ साउन ।

इन्डोनेसियाको सुलावेसी टापुमा  डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् ।

 

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए र सो डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ६ जना यात्रुको उद्धार गरिएको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

 

उद्धार एजेन्सीले साझा गरेका तस्बिरहरूमा स्थानीय अस्पतालको भुइँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ। डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्‍याएको थियो। त्यही क्रममा यो घटना भएको हो ।

 

वासिंग्टन डिसी, ८ असार ।

रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् ।

 

तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफुले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका छन । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन ।

 

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन । उनका अनुसार यो प्रति आक्रामण धेरै महिनासम्म जारी रहनेछन्।

 

उता, योसँगै युक्रेनले अर्को वर्ष नाटोको सदस्यता पाउने आशा गरेको छ ।

 

युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुदैँछ,  संगठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन बिशेष मानिएको छ ।

मस्को, ८ साउन ।

रुसी राष्ट्रपति भ्लादिमर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को बिचमा भेटबार्ता भएको छ ।

 

रुसी भाडाको सैनिक वाग्नर सेनाको विद्रोहपछि आइतबार पहिलो पटक दुवै नेताको भेटबार्ता भएको हो ।

यस क्रममा दुवै नेताले वाग्नर प्रमुख प्रिगोगिनलगायत धेरै विषयमा छलफल गरेको रुसको आधिकारिक मिडिया एजेन्सी टासले जनाएको छ ।््

 

टासले सार्बजनिक गरेको भिडियोमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युक्रेन आक्रमणको बारेमा बताइरहेका छन् । पुटिनले भने– ‘हामीले युक्रेनको काउन्टर अफेन्सिभलाई पूर्ण रूपमा असफल बनाएका छौं ।’

 

लुकासेन्कोले मजाकको स्वरमा भनेका थिए कि साँचो अर्थमा युक्रेनले रुसको आक्रमणको सामना गर्न सक्दैन।

 

यसबारे पुटिनले भने – प्रतिशोधात्मक हमला भएको थियो तर रुसले त्यसलाई असफल बनायो ।

 

रोयटर्सले टेलिग्राम च्यानललाई उद्धृत गर्दै भनेको छ कि यस भेटमा लुकासेन्कोले पुटिनलाई बेलारुस वाग्नर आर्मी लडाकुहरूले समस्यामा परेको बताएका छन् । उनीहरु पश्चिमा देशतर्फ जान चाहन्छन् ।

 

लुकासेन्कोले भने कि निजी सेनाका सिपाहीहरू भन्छन्, वारसा र रेजासोभ वरिपरि घुमौं। वास्तवमा, पोल्याण्डको सिमाना बेलारुससँग छ, केही समयको लागि वाग्नरका लडाकुहरूलाई त्यहाँ राखिएको छ। यी लडाकुहरूले बेलारुसका सैनिकहरूलाई तालिम दिइरहेका छन्।

 

यसै क्रममा पुटिनले लुकासेन्कोसँग सुरक्षाबारे छलफल गर्ने बताएका छन् । यसका लागि उनले आफ्नो कार्यतालिकामा परिवर्तन गरेका छन् । लुकासेन्को र पुटिनबीचको यो भेट महत्वपूर्ण रहेको स्पष्ट छ । वाग्नरको विद्रोह पछि बेलारुसका राष्ट्रपतिले प्रिगोगिन र पुटिनबीच सम्झौता गराएका थिए ।

 

काठमाडौ, ८ साउन । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले साेमबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो

 

यससँगै, साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । यस्तै, साेमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।