२०८३ असार २७
२०८३ असार २७

आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते । 

कटहरिया – भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ ।

यही आक्रोशको प्रतिविम्बस्वरूप आज रौतहटको कटहरिया बजारमा जेनजी (जेनेरेसन जेड) युवाहरूले आक्रामक विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय कटहरिया घेराउ गर्दै टायर बालेर सडक अवरुद्ध पारेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

विद्यार्थीहरूमा आक्राेेश देखिएपनि प्रदर्शन भने शान्तिपूर्ण रूपमा नै गरेका छन् । अहिलेको सरकारको रवैयाले मुलुकलाई जुन दिशातर्फ धकेलिरहेको छ । त्यो गम्भीर चिन्ताको विषय बनिसकेको छ ।

कटहरियाका स्थानीय यूवा नेता नसरूदिन अन्सारीले जेनजीकाे माग जायज रहेकोले यसमा आफनाे समर्थन रहने बताएका छन् ।

 

अब्दुल सलाम,राैतहट,भदौ २२ गते । 

लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आएका युवा अब्दुल सलामले हालै सरकारले सामाजिक सञ्जालमा सरकारका कामकारबाहीबारे प्रत्यक्ष टिप्पणी तथा आलोचना गर्न रोक लगाउने निर्णयको कडा आलोचना गरेका छन्।

उनका अनुसार, सामाजिक सञ्जाल आजको युगमा नागरिकले आफ्ना विचार अभिव्यक्त गर्ने सशक्त माध्यम हो, र यसमा नियन्त्रण लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हो।

लोकतान्त्रिक मुल्य–मान्यतामा विश्वास गर्ने सरकार आफैंले आलोचना सहन नसक्ने हो भने त्यसले निरंकुशताको संकेत दिन्छ, सलामले बताएका छन्।

उनले सरकारको उक्त निर्णयलाई गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भन्दै खारेज गर्न माग गरेका छन्। साथै, यस्तो निर्णयले सरकारप्रति जनताको विश्वास थप कमजोर हुने चेतावनी पनि दिएका छन्।

सलाम विगत केही वर्षदेखि सामाजिक विकृति–विसंगति विरुद्ध, जनताको हकअधिकारका लागि, तथा राज्यका गलत नीतिहरूको विरोधमा आवाज उठाउने युवा स्वरको रुपमा परिचित छन्।

उनका अनुसार,सञ्चार माध्यम र सामाजिक सञ्जाल कुनै पनि लोकतान्त्रिक मुलुकको मेरुदण्ड हो। यदि त्यसलाई बन्द गर्न खोजिन्छ भने त्यो राष्ट्रको स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिताको अन्त्यतिर उन्मुख हुने संकेत हो।

अब्दुल सलाम जस्ता सचेत र क्रियाशील युवाहरुको आवाजले अहिलेको परिस्थितिमा नागरिक सचेतना र जिम्मेवार शासन प्रणालीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समाजका धेरै वर्गले व्यक्त गरेका छन्।

 

ओम प्रकाश यादव,रौतहट,भदौ २२ गते ।

रौतहटको नेकपा एमालेकी महिला नेतृ जमुना साहले केहीदिन अघि मात्र आगोले जलेर मृत्यु भएका लक्षमण पासवानको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन् ।

रुबी हत्याकाण्डको मुख्य आरोपित रहेका लक्षमण पासवानले आफैले शरीरमा आगो लगाई आत्मदाह गरेपछि उनको श्राद्ध र भोजभतेरको लागि महिला नेतृ साहले खाद्यान्न सामग्री उपलब्ध गराएकी हुन्।

माधवनारायण नगरपालिकाकी उपप्रमुख प्रत्यासी समेत रहेकी माधोपुर घर भएकी नेकपा एमाले नेतृ जमुना साहले आर्थिक अवस्था निकै कमजोर भएका लक्षमण पासवानको परिवारलाई आफ्ना व्यक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेकी छन्।

नेतृ साहले माधवनारायण नगरपालिका -६ माधोपुर घर भएका पासवानका बुबा र श्रीमतीलाई ५० किलो चिउरा, ५० किलो आलु, २० किलो चिनी, ४० किलो दही, १० किलो चना, १० किलो प्याज, खाने तेल ५ किलो लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।

लक्षमण पासवानको मृत्युपछि आर्थिक अवस्था निकै कमजोर रहेका उनका परिवारलाई पासवानको श्राद्धमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री सहयोग गरेको नेतृ जमुना साहले बताइन् ।

आर्थिक अवस्था निकै दयनीय रहेका पासवानको परिवारलाई क्रिया र श्राद्ध गर्न पैसाको अभावमा कुनै सामान किन्ने अवस्था नरहेकोले केही सहयोग होस भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताइन् ।

चर्चित सुटकेस काण्ड रुबी साह हत्याकाण्डका मुख्य आरोपित लक्षमण पासवानको केहीदिन अघि मात्र उपचारको क्रममा मृत्यु भएको थियो।

बुबाको एक्लो छोराको रूपमा रहेको पासवानको मृत्युपछि आर्थिक रुपमा निकै कमजोर र विपन्न रहेका उनको परिवार अहिले विचलिमा परेका छन्।

पासवानको दुई छोरा र श्रीमती छन् भने उनको बुबा र आमा पनि छन् ।

लक्ष्मणको मृत्यु पछि उनको सिंगो परिवार नै ठूलो आर्थिक समस्यामा परेका छन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते । 

रौतहटको गरूडा देखि समनपुर जोड्ने मुख्य सडकखण्ड अन्तर्गत चाँदी खाेला भन्दा अगाडि र मलाहीटाेलकाे बिचमा कज्वे क्षेत्र नजिकैको सडकमा पानीको ओभरफ्लो हुँदा आवागमनमा समस्या हुँदै आएको छ । अलिकति पानी परे पनि सडकमा पानी जमेर बग्ने अवस्था सिर्जना हुने गरेको छ, जसले गर्दा दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई ठूलो सास्ती हुने गरेको छ ।

 

स्थानीयहरूका अनुसार वर्षा भएलगत्तै सडकभरि पानी जमेर नदीझैं बग्ने स्थिति आउँछ । यस बाटो भएर विद्यार्थी, कर्मचारी, व्यापारीदेखि लिएर एम्बुलेन्स र भिआइपि सवारीसम्म गुड्ने गर्दछन् । तर यस्तो गम्भीर समस्याप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।

 

“हाम्रो माग कुनै नयाँ सुविधा होइन, यतिका वर्षदेखि यो समस्यालाई सम्बन्धित निकायहरूले वेवास्ता गरिरहेका छन्,” एक स्थानीयले गुनासो गरेका छन् । उनका अनुसार खासगरी विद्यालय समयमा विद्यार्थीहरू भीडमा जोखिम मोल्दै स्कुल जान बाध्य छन् ।

 

यो सडकखण्ड सडक डिभिजन राैतहट तथा स्थानिय तहको जिम्मेवारी क्षेत्रभित्र पर्छ । तर अहिलेसम्म स्थायी समाधानका लागि कुनै पहल नदेखिएको भन्दै स्थानीयवासीहरू आक्रोशित छन् ।

 

स्थानीय प्रशासन तथा सडक डिभिजन कार्यालयले समस्या समाधानका लागि तत्काल ध्यान नदिए जनप्रदर्शन गर्ने चेतावनीसमेत स्थानीयहरूबाट आएको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते । 

२२ औं निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय गरुडा, रौतहटमा विशेष सरसफाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कार्यालयका कर्मचारीहरूबीच आपसी सहकार्य र सेवा भावनाको सम्मानस्वरूप उत्कृष्ट कर्मचारी छनोट गरि सम्मान गरिएको हो ।

उक्त अवसरमा मालपोत कार्यालयमा कार्यरत सुब्बा अरविन्द कुमार यादवलाई उत्कृष्ट कार्यसम्पादन, इमान्दारिता, शिष्ट व्यवहार तथा सेवा प्रतिको समर्पणका आधारमा “सर्वोत्कृष्ट कर्मचारी” घोषणा गर्दै सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यालय प्रमुख मालपोत अधिकृत मोहन कुमार पाठकले यादवको योगदानले कार्यालयको प्रतिष्ठा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कर्मचारीहरूबाट प्रेरणा लिइने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो, जसमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको मालपोत कार्यालय गरूडाका कर्मचारी हरिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।

 

मालपोत कार्यालय गरुडाले निजामती सेवा दिवसलाई सेवा, इमानदारी र समर्पणको भावना अभिवृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते । 

दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा डिम्पल झा स्मृतिमा स्थापित छात्रवृत्ति तथा छोरी संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा छोरी जन्माउने आमाहरूलाई सम्मानस्वरूप नगद पाँच–पाँच हजार रुपैयाँ वितरण गरिएको छ भने शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कक्षा १२ मा ३.६ जिपिए प्राप्त गरेकी अनुष्का राम र ज्योति सराफलाई जनही नगद २५ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष डिके झाले जानकारी गराउनु भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व मन्त्री अनिल कुमार झा थिए । उनले दिवंगत नेतृ डिम्पल झाले मधेस प्रदेश र आफ्नाे गाउँसमाजकाे लागि पुर्‍याएकाे योगदानलाई स्मरण गर्दै यस्तो प्रेरणादायी कार्यक्रम विरलै मात्र हेर्न पाइने बताएका थिए। उनले कार्यक्रम सफल रूपमा सम्पन्न गर्नुभएका वडा अध्यक्ष डी.के. झालाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, नेता रेवन्त झा, मैथिली ब्राह्मण संघका कोषाध्यक्ष नवीन झा, मनोज झा, स्थानीय पत्रकार, भद्रभलाद्मी, अभिभावक, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष डी.के. झाले कार्यक्रममा जानकारी दिँदै भन्नुभयो, “हाम्रो वडा मात्रै हैन, सिंगो समाजमा शिक्षा र छोरीको सम्मानको संस्कृति फैलियोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आएका छौं । यसअघि पनि एमबिबिएस अध्ययनमा नाम निकालेका दुई छात्रालाई जनही ५१ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका थियौं।” उहाँले यस्ता दर्जनौं सम्मान तथा पुरस्कारहरूको स्थापनाकाे योजना अघि सारिएको जानकारी पनि दिनुभयो ।

 

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते । 

लामो अन्तरालपछि मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा

शनिबार राति देखि परेको वर्षाले स्थानीय किसानहरूमा खुसी छाएको छ । रौतहट लगायतका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएपछि खेतबारी सिँचाइ गर्न सजिलो भएको छ भने धान लगायतका बाली सिँचाइका लागि पानीको आपूर्तिमा सहजता आएको छ ।

 

विगत केही हप्तादेखि वर्षा नहुँदा धान रोपाइँ भएपनि प्रभावित बनेको थियो । कतिपय स्थानमा रोपिएका धानहरू सुक्न थालेका थिए । तर हालको वर्षाले खेतीयोग्य जमिनमा चिस्यान आएको भन्दै किसानहरूमा उत्साह देखिएको छ ।

 

कटहरिया ८ पिप्रा पाेखरियाका स्थानीय किसान संताेष यादव भन्छन्, “यसपाली समयमा पानी नपर्दा धेरै चिन्ता थियो । अब भने ढिलो भए पनि धान बालीलाई प्रत्यक्ष लाभ भएको देखिएको छ । खेतीको मुख्य सिजनमा पानी पर्नु निकै ठूलो राहत हो।”

 

वर्षासँगै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । सरकार सँग समयमा मलखाद उपलब्ध गराउन किसानहरूले माग गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ २१ गते । 

नेपाली कांग्रेस कटहरिया नगर समितिको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) हुनुहुन्थ्यो ।

 

कार्यक्रममा मन्त्री यादवले कार्यकर्ताहरूसँग खुला संवाद गर्दै पार्टीभित्रको आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण, तथा स्थानीय सरकारको उत्तरदायित्वबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “पार्टी बलियो भए मात्र सरकार बलियो हुन्छ । संगठन सशक्त नभएसम्म जनताका मुद्दा उठाउन सकिँदैन। अहिलेको आवश्यकता भनेको कार्यकर्ता र नेतृत्वबीचको विश्वासको सेतु निर्माण गर्नु हो।”

अर्थमन्त्री यादवले कार्यकर्ताको गुनासो सुन्ने र समाधान गर्ने जिम्मेवारी नेताहरूको भएको उल्लेख गर्दै, पार्टीले सबैलाई समेट्ने नीति अवलम्बन गरिरहेको स्पष्ट पार्नुभयो । साथै, उहाँले पार्टीले आगामी निर्वाचनलाई लक्ष्य गरी नीति, संगठन र सञ्जाल तीनवटै क्षेत्रमा तयारी तीव्र पारिरहेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा कार्यकर्ताहरूले स्थानिय तहमा देखिएका समस्या, नेतृत्वप्रतिको असन्तुष्टि, तथा कार्यसम्पादनमा पारदर्शिता लगायतका विषयमा गुनासाहरू राखेका थिए । मन्त्री यादवले सबै कुरा ध्यानपूर्वक सुन्दै आवश्यक कदम चालिने प्रतिबद्धता जनाउनुभयो ।

 

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस कटहरिया नगर समितिका अध्यक्ष शम्भुकान्त यादवले गर्नुभएको थियो । उहाँले सबै कार्यकर्तालाई संगठन बलियो बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नगरका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै दर्जनौं कार्यकर्ताको उपस्थिति रहेको थियो । छलफलात्मक वातावरणमा सम्पन्न भएको यस कार्यक्रममा सहभागीहरूले भविष्यमा यस्ता कार्यक्रमलाई अझ नियमित गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ २१ गते । 

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवले फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवामा जनतासँग भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन् ।

 

उक्त कार्यक्रममा नेता यादवले आफ्नो पार्टी नेपाली कांग्रेसको वडा नम्बर ३ का वर्तमान वडाध्यक्ष रामईश्वर राय यादवले गरेका कार्यहरूको मूल्यांकन गर्न स्थानीय जनताको राय लिएका थिए । उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा स्थानीय स्तरका सेवा सुविधाको अभावबारे गहिरो चासो व्यक्त गर्नुभयो ।

“पार्टीले जनता प्रतिको उत्तरदायित्व पूरा गर्न सक्नुपर्छ,” यादवले भने, “हामी नेताहरू जनताको सेवक हौं, त्यसैले जनताको आवाज सुन्नु र बुझ्नु हाम्रो पहिलो कर्तव्य हो।”

 

स्थानीय बासिन्दाहरूले पनि वडामा भइरहेका कार्यहरूको बारेमा खुलेर प्रतिक्रिया दिएका थिए । कतिपयले विकास निर्माणमा सुधारको माग गरेका थिए भने केहीले वर्तमान नेतृत्वको प्रयासको सराहना समेत गरेका थिए ।

कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता, युवाहरु, महिलाहरू तथा बृद्धबृद्धाहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

 

नेता यादवले आगामी दिनहरूमा थप पारदर्शिता, जवाफदेहिता र जनतामुखी नीति मार्फत नेपाली कांग्रेसलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,भदौ २० गते । 

राैतहट- आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा उल्लेखनीय सफलता हासिल गर्दै ईशनाथ नगरपालिका, रौतहटले महालेखापरीक्षकको कार्यालयबाट आज प्रशंसा-पत्र प्राप्त गरेको छ । सम्पूर्ण मधेश प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने एक मात्र स्थानीय तहको रूपमा ईशनाथ नगरपालिका चयन भएको हो ।

ईशनाथ नगरपालिकामा आयोजित विशेष कार्यक्रममा नायब महालेखापरीक्षक इन्द्रप्रसाद आचार्य, उपमहालेखापरीक्षक पदमराज पौडेल तथा महालेखापरीक्षक तोयम रायाको संयुक्त हस्ताक्षरित उक्त प्रशंसा–पत्र नगरपालिकाकाे कार्यालयमा प्रदान गरिएको हो ।


लेखापरीक्षणका क्रममा ईशनाथ नगरपालिकाको कुल बेरुजु रु.७६,३८,३०७।– मात्र देखिएको थियो । जुन लेखापरीक्षण गरिएको कुल रकमको केवल ०.६१ प्रतिशत हो । साथै, यस नगरपालिकाले रु.७,६६,२०,०८५।– बराबरको बेरुजु फर्स्यौट तथा सम्परीक्षणसमेत गराएको छ । जुन यसअघि कायम बेरुजुहरूको तुलनामा उल्लेखनीय प्रगति हो ।

नगरप्रमुख कौशल्या देवीको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको प्रशासनिक व्यवस्थापनमा नगरपालिकाले वित्तीय अनुशासन, उत्तरदायित्व र पारदर्शिता कायम राख्न सफल भएको हो। दुवै जनाको सक्रिय पहल, निगरानी र समन्वयकारी भूमिकाको प्रशंसा गरिएको छ ।

नगरप्रमुख कौशल्या देवीले कार्यक्रमपश्चात् प्रतिक्रिया दिँदै भनिन्, “यो पुरस्कार सम्पूर्ण नगरवासी र कर्मचारीहरूको साझा उपलब्धि हो । हामी अझ पारदर्शी, उत्तरदायी र सेवामुखी नगरपालिका निर्माणमा प्रतिबद्ध छौं।”

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले भने, “वित्तीय अनुशासन कायम गर्न र लेखापरीक्षणको सन्तोषजनक नतिजा ल्याउन कर्मचारीहरूको निरन्तर प्रयास, विभागीय समन्वय र समयमै तथ्यांक अद्यावधिक गर्ने संस्कार मुख्य कारण हुन्।”

कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाहरूले आर्थिक पारदर्शिता र स्थानीय तहको सुशासन प्रवर्धनमा ईशनाथ नगरपालिकाको उदाहरणीय कार्यशैलीको प्रशंसा गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।