काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् ।
अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरो आउनुका साथै ढाड दुख्ने र शरीर तथा खुट्टामा डाबरजस्ता खटिरा देखिएको छ ।
रसुवामा आएको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।
उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण तथा उपचार भइरहेको बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन जाने भएका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको हो । प्रधानमन्त्री शाह यसअघि नजाने निर्णय गरेको भएपनि भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको विषय विश्वमन्चमा नेपालले जोडदार रुपमा उठाउनुपर्ने आवाज चौतर्फी रुपमा उठेपछि उनले जाने सोच बनाएका हुन् । परराष्ट्र स्रोतका अनुसार अहिलेसम्म प्रधानमन्त्री जाने निर्णय भने भएको छैन ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सानो टिम बनाएर केहि दिनका लागि मात्र जाने गरि तयारी शुरु गरिएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ देखि असोज ६ गते (सेप्टेम्बर ८ देखि २२) सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ।
शुक्रबार भएको वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँगको संवाद महत्वपूर्ण रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अस्ट्रेलिया सरकार र नागरिकले देखाएको ऐक्यबद्धताप्रति उनले आभार व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शाहले विपद्का बेला अस्ट्रेलियाले उद्धार तथा राहतमा गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञ ड्रोन सञ्चालकको टोली, अत्यावश्यक राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।
उनले बाढीका कारण नेपालमा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को समयमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर समन्वय र सहकार्य गरिने बताए ।
वार्ताका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अन्तर्राष्ट्रिय समुदायसँग राहत भन्दा क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् ।
विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनका कारण नेपालमा आएको महाविपतमा हाम्रो देशको नगण्य योगदान रहेको भन्दै अब यसको प्रमुख कारण सिर्जना गर्ने देशहरुले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।
उनले चीन, भारत, अमेरिका जस्ता देशले कार्बन उत्सर्जनमा ठुलो भूमिका खेलेको भन्दै अब राहत माग्न नहुने तर क्षतिपुर्ति दाबि गर्नुपर्ने बताए ।
सांसद झाले प्रधानमन्त्रीलाई समेत विशेष आग्रह गर्दै संयुक्त राष्ट्र संघसहितका अन्तर्राष्ट्रिय मन्चहरुमा गएर नेपालले यो विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाव दिए ।
काठमाडौँ । पाकिस्तानका ब्याटर इमाम उल हकलाई लर्ड्समा भएको टेस्टमा पिँडौलामा लागेको चोटसँग सम्बन्धित विषयमा १ देखि २ वर्षसम्म प्रतिबन्ध लाग्न सक्ने भएको छ ।
जियो न्युजका अनुसार पाकिस्तान क्रिकेट बोर्डले इमामको पिँडौलाको चोटसम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको छ । छानबिनका क्रममा इमाम दोषी पाइएमा उनीमाथि १ देखि २ वर्षसम्म प्रतिबन्ध लगाउन सकिने जनाइएको छ ।
इङ्ल्यान्डविरुद्ध लर्ड्स टेस्टको पहिलो दिन फिल्डिङ गर्ने क्रममा इमामको पिँडौलामा सामान्य चोट लागेको थियो । त्यसपछि उनले पाकिस्तानको दुवै इनिङ्समा ब्याटिङ गर्न सकेनन् । पाकिस्तान पहिलो इनिङ्समा ११० रनमै अलआउट भएको थियो । दोस्रो इनिङ्समा ३८९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९४ रनमा समेटिएको थियो । इङ्ल्यान्डले उक्त टेस्ट १९४ रनले जितेको थियो ।
इमामको चोट र त्यसपछि उनी टोलीबाट बाहिरिएको विषयमा पाकिस्तान क्रिकेट बोर्डले छानबिन गर्ने निर्णय गरेको हो । इमाम यसअघि पनि चोटसम्बन्धी विवादमा परेका थिए । सन् २०२५ को मार्चमा न्युजील्यान्ड भ्रमणका क्रममा इन्डोर अभ्यासका क्रममा बलले उनको दायाँ खुट्टाको बुढीऔँलामा लागेको थियो । जियो न्युजका अनुसार त्यस विषयमा पाकिस्तान क्रिकेट बोर्डले गठन गरेको छानबिन समितिले इमामले चिकित्सकीय टोलीलाई भ्रममा पारेको र चोटका लक्षणलाई गलत रूपमा प्रस्तुत गरेको निष्कर्ष निकालेको थियो ।
समितिले पहिलो एकदिवसीय खेलमा सहभागी नहुन इमामले आफ्नो चोटलाई बढाइचढाइ गरेको निष्कर्ष निकालेको थियो । इमामसँगै विकेटकिपर ब्याटर मोहम्मद रिजवान पनि अनुशासनसम्बन्धी विषयमा पाकिस्तान क्रिकेट बोर्डको छानबिनमा परेका छन् ।
जियो न्युजका स्रोतका अनुसार बोर्डले आगामी दिनमा रिजवानसँग सोधपुछ गर्न सक्नेछ । निकट भविष्यमा पाकिस्तानी टोलीमा उनको पुनरागमनको सम्भावना कम रहेको पनि समाचारमा उल्लेख गरिएको छ ।
इङ्ल्यान्डविरुद्ध लर्ड्स टेस्टमा १९४ रनले पराजित भएपछि पाकिस्तानले टेस्ट टोलीमा ठूलो परिवर्तन गरेको छ । इमाम र रिजवानसहित सात खेलाडीलाई टोलीबाट बाहिर राखिएको छ । टोलीबाट बाहिरिने अन्य खेलाडीमा सलमान आगा, अली उस्मान, आमिर जमाल, ओवैस जफर र खुर्रम शहजाद रहेका छन् ।
तेस्रो टेस्टका लागि पाकिस्तानले पाँच नयाँ खेलाडीलाई टोलीमा समावेश गरेको छ। अराफात मिन्हास, मोहम्मद इमरान जुनियर, साद बेग, मोहम्मद इमरान रन्धावा र रजाउल्लाहलाई टोलीमा स्थान दिइएको छ। साम अय्युब र अब्दुल्लाह फजलले पनि टोलीमा स्थान पाएका छन् ।
इङ्ल्यान्ड र पाकिस्तानबीचको शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट सेप्टेम्बर ९ देखि एजबास्टनमा हुनेछ। इङ्ल्यान्ड सिरिजमा २–० ले अघि रहेको छ ।
पाकिस्तान अब अन्तिम टेस्ट जित्दै सिरिजमा क्लिन स्वीप हुनबाट जोगिने प्रयासमा हुनेछ ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको उद्धार तथा राहत प्रयास र विदेशी नागरिकको अवस्थाबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई ब्रिफिङ गरेका छन् ।
बिहीबार आयोजित ब्रिफिङमा मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित नेपाल–चीन सीमामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पछिल्लो समयको स्मृतिमा नभएको ठूलो विपत्तिका रूपमा चित्रण गरे । उनले बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, लेदो र ढुंगामाटो बगाएर रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुर्याएको बताए ।
मन्त्री खनालका अनुसार हालसम्म १२०४ जनाको शव फेला परेको छ भने करिब ४२०० जना अझै बेपत्ता छन् । बाढीबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए । उद्धार तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक प्रमाणीकरण भइरहेको उनले बताए ।
सरकारले विपत्तिको पहिलो दिनदेखि नै उद्धार, खोजी, उपचार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको मन्त्री खनालले बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
विपत्तिको जटिलता र आवश्यक विशेषज्ञताका आधारमा भारत, चीन र दक्षिण कोरियाबाट विशेष सुरुङ उद्धार टोली ल्याइएको पनि उनले बताए। भारतको टोली लाङटाङ र चिलिमे, चीनको टोली माथिल्लो त्रिशूली–३ ए तथा दक्षिण कोरियाको टोली माथिल्लो त्रिशूली–१ मा उद्धार कार्यमा खटिएको उनले जानकारी दिए । इजरायलको टोलीले नदीको तल्लो क्षेत्रमा शव खोजी कार्यमा सहयोग गरिरहेको उनले बताए ।
मन्त्री खनालले विदेशी नागरिकको खोजी, पहिचान र परिवारसँग समन्वयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आकस्मिक नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगमार्फत बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने र आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था मिलाउने काम भइरहेको उनले जानकारी दिए ।
बाढीबाट घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको भन्दै मन्त्री खनालले विस्तृत क्षति मूल्यांकन भइरहेको बताए । पुनर्निर्माणका लागि आवश्यक स्रोत ठूलो हुने र त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिने उनले बताए ।
नेपालले विपत्तिपछि भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका लगायत विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकसहितका संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ । मन्त्री खनालले उद्धार विशेषज्ञता, उपकरण, स्वास्थ्य तथा न्यायिक पहिचान सहयोग र आर्थिक सहायताले प्रभावित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले भोटेकोशी बाढीलाई जलवायु परिवर्तन र हिमाली क्षेत्रको बढ्दो जोखिमसँग जोड्दै जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् तयारी र जोखिमयुक्त संरचनाको पुनर्निर्माणलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
साथै मन्त्री खनालले भोटेकोशी बाढीको क्षति निश्चित क्षेत्रमै सीमित रहेको भन्दै नेपालका अन्य क्षेत्र सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश सम्बन्धित देशका नागरिक तथा सरकारसम्म पुर्याउन कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टी गोरखाका सांसद फणिन्द्र देवकोटा गण्डकी प्रदेश सरकारमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । गण्डकीमा एमालेले सरकार छाडेपछि पाण्डेले देवकोटालाई सरकारमा ल्याएका छन् । यसअघि ऊर्जामन्त्री रहेका कांग्रेसका नन्दप्रसाद न्यौपाने भौतिक पूर्वाधारमन्त्री बनेका छन्।
५९ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन् । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् ।
यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन । एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट रहेको छैन ।
बज्जिकाञ्चल संवाददाता,०८ गते
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटन, हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
मुख्यमन्त्री मगरको नियुक्ति प्रक्रिया संविधान विपरीत रहेको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले भदौ ५ गते छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा भने आगामी भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले राप्रपाको समर्थन लिएको विश्व विवादित बनेको छ । राप्रपाको संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्देशन विपरित थापालाई समर्थन गरेपछि विवाद बढेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
जसअनुसार, बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, विहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीको विषयमा लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, दिउसो २ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयमा सदस्य थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ सदस्य थप गरको हो ।
जसमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव सचिवालय सदस्यमा मनोनित भएका छन्।
यस्तै, बैठकले जगदिश खरेललाई पार्टी प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनयन गरेको छ ।
त्यसैगरी, पार्टीका विभिन्न विभाग प्रमुखहरु पनि टुंगाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु र अर्थ विभागको प्रमुखमा लीमा अधिकारीलाई चयन गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी,