मुम्बई, ३० साउन ।
सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ ।
फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ ।
यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निकाे नलागेकाे बताएका छन् । अहिले उनको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो नजिक पुगेका फ्यानसँग अनौठो इशारा गरिरहेको देखिन्छ । जसको अहिले सन्नी देओलमा घमन्ड देखा परेको भन्दै आलोचना भएको छ ।
काठमाडौँ, २९ साउन ।
केही साताअघि घोषणा गरिएको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न भएको छ ।
डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई ३० साउन मंगलबारदेखि फिजिकल अडिसन गरिने भएको छ । फिजिकल अडिसन एजे इन्टरटेनमेन्टसको स्टुडियो पहेंलो पुल काठमाडौँमा हुने अध्यक्ष अजय पोखरेलले बताएका छन् ।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।
प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘दोहोरी आइकन्स’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए । केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ । यस कार्यक्रमको पोस्ट र डिजिटल प्रोमोसनको जिम्मा सूत्र मिडियाले लिएको छ ।
चितवन, २९ साउन।
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ मा नेपाली कलाकारिता क्षेत्रकी पहिलो महिला विशिष्ट हास्यकलाकार बसुन्धरा भुसाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । नेपाल चलचित्र क्षेत्रमा विशिष्ट हास्यकलाकार भुसालले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।
सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी विशिष्ट हास्यकलाकार भुसालको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली फिल्म ‘आमा’ बाट भएको थियो । नेपाली रजतपटमा २०२२ सालदेखि निरन्तर नेपाली फिल्ममा आफ्नाे उपस्थिति जनाइरहेकी भुसाल सदाबहार अभिनेत्रीको रुपमा परिचित छन् । आमा फिल्ममा ‘भुन्टी’ को भूमिकाबाटै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नेपाल चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य कलाकार भुसालले एक सय ६५ वटाभन्दा बढी नेपाली चलचित्रमार्फत दर्शकको मन जितिसकेकी छन् ।
नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ को भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलोपटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने । अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।
काठमाडौं, २८ साउन ।
दक्षिण कोरियामा रहेकी गायिक गंगा लोहनी र गायक सूर्य खड्काको तीज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ सार्वजनिक गरिएको छ । हालै सार्वजनिक गरिएको उक्त गीतमा गायिक गंगा र गायक सूर्यको स्वर रहेको छ भने शब्द सृजना पनि गायिक गंगाकै रहेको छ । जसमा सूर्य खड्काको संगीत र लय रहेको छ ।
सार्वजनिक भएको एक सातामै एक लाख ६० हजारभन्दा बढी पटक युट्युबमा हेरिसकेको छ । कोरियालाई आफ्नो कर्मथलो बनाउँदै आएकी गायिका गंगा र जापानलाइ कर्मथलो बनाउँदै आएका गायक सूर्यले ल्याएको ‘रातो सारी लरक्कै डोरी केसैमा’को भिडियोमा कलाकार गीता ढुंगाना र कमल केसीले अभिनय गरेका छन् ।
‘रातो सारी लरक्कै डोरी केसैमा’को लागि यम थापाले म्युजिक एरेन्जर गरेका छन् भने भिडियोको काजिस श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन् ।
मारुनी डिजिटल स्टुडियोमा सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन् । अजय रेग्मीको सिनेमाटोग्राफी, दिपक बिष्टको इडिट÷कलरिङ,सपना लम्सालको मेकअप, निपेश पुरीको फोटोग्राफी रहेको छ ।
यसअघि गायिक गंगाले ‘लुम्ले काँडे, मुसुक्कै हाँसीदेउ’ जस्ता गीत ल्याइसकेकी छन् ।
भिडियो लिंक : https://youtu.be/EhXJfCFUQuM
काठमाडौ, २६ साउन ।
पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द सृजना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ ।
शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् ।
निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन् ।
प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।
भिडियाे लिंक : https://youtu.be/F7NXQuuhMPk
मुम्बई, २८ साउन ।
शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर विवाद सुरु भएको छ ।
अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।
आगराको एक हिन्दू संगठनले भगवान शिवको दूतको भूमिका खेलेर जनताको भावनामा चोट पुर्याउने बलिउड सुपरस्टारलाई थप्पड हानेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । अर्कोतर्फ, राष्ट्रिय हिन्दू परिषद भारतले बिहीबार अक्षय कुमारको पुत्ला र फिल्मको पोस्टर जलायो र सिनेमाघर अगाडि प्रदर्शन गर्न पनि पछि नहट्ने बताएको छ ।
अक्षय कुमारको ओएमजी २ ले रिलिजको पहिलो दिन मात्रै १० करोड कमाएको छ ।
भगवान शिवको सन्देश वाहकको भूमिका निभाएका अक्षय कुमारलाई थप्पड हान्नेलाई सो संस्थाका अध्यक्ष गोविन्द पराशरले अवार्ड दिने जनाएका छन् । उनले आफ्नो जुत्तामा माइचको जालो राखेर अक्षयले भगवान शिवको अपमान गरेको दाबी गरेका छन् । फिल्ममा सारी लगाएर फोहोर पोखरीमा नुहाउने र यी सबै कुराले भगवानको छविलाई कलंकित गर्छ। फिल्मको आलोचना गर्ने र भावनासँग खेलबाड गर्ने कार्य पाप भएको उनको भनाई छ ।
‘ओएमजी’ सन् २०१२ मा रिलिज भएको थियो र यसको दमदार कथाका कारण यो फिल्मले बक्स अफिसमा धेरै कमाई गरेको थियो । योसँगै चलचित्र ‘ओएमजी २’ को सिक्वेल पनि हलमा रिलिज भएको छ । यद्यपि अक्षयको यो फिल्मको अग्रिम बुकिङ सुस्त छ ।
मुम्बई, २७ साउन । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ ।
हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।
फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि साे चलचित्रकाे तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।
फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।
फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।
काठमाडौं, २६ साउन ।
नेपाली चलचित्र ‘बगान’ पाँचौँ सातामा प्रदर्शनरत छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण सफल भईरहेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । दर्शकले चलचित्रमा आमा बन्नु भएकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिईरहेका छन् ।
नेपालको सफलता पश्चात चलचित्र अमेरिकाको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । गीतकार तथा निर्माता सुरेश वाग्लेले अगस्टबाट प्रदर्शन प्रारम्भ हुने जानकारी दिए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रदर्शन सुरू गरेका छौँ । अमेरिकासँगै विभिन्न देशमा हुने प्रदर्शनको विषयमा समेत जानकारी गराउने छौं ।’ उनले अगस्ट १८ र १९ मा बोस्टनमा रहेको रिजेन्ट थियटरमा विशेष प्रदर्शनी हुने जानकारी दिए । यसपश्चात न्यूयोर्क, ड्याल्स, ह्युस्टन, अस्टिन, लस एन्जल्स, क्यालीफोर्निया, ह्यारिस्वर्ग, कोलोराडो, एटलान्टा लगायतका सहरमा प्रदर्शनको तयारी भईरहेको गीतकार वाग्लेले बताए ।
‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामी बगान टिम नै चलचित्र लिएर अमेरिकामा छौँ’, उनले भने । चलचित्रका निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला अमेरिकामा हुने प्रदर्शनीमा सहभागी हुनेछन् ।
अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
काठमाडौं, २६ साउन।
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ।
दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गरेका हुन्।
सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट तीन जना छात्र छात्रा सम्मानित हुनुभएको छ। दरबार हास्कुलको कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८०) र छात्रतर्फ समान लुनिभा कार्की (३.३३) सम्मानित भएका हुन्। २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो।
बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो। अन्तरक्रियामा प्रा.डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाइन भने देवकुमारी लुइटेलले कविता वाचन गरिन्।
सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई, प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।
‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोशमा राखिएको छ। अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ। बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ।
वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उनका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन्।
मुम्बई, २६ साउन ।
बिग बोस ओटीटी २ टाउन अफ द टाउन बनेको छ। दिग्गज निर्देशक महेश भट्ट शोमा प्रवेश गरे। उनी फेमिली वीकमा छोरी पूजा भट्टलाई भेट्न गएका थिए । उनले घरका सबै प्रतियोगीहरूलाई भेटे र उनीहरूलाई माया गरे।
परिवारका सबै सदस्यलाई भेटेपछि उनले छोरी पूजा भट्टलाई भेटेका थिए । छोरीलाई भेट्दा उनी भावुक देखिन्थे । जब उनले आफ्नी छोरीलाई घरमा भेटे, उनले पूजा भट्टको जन्मको बारेमा एउटा किस्सा साझा गरे। उनले भने, ‘पूजा हुँदा म २३ वर्षको थिएँ । मसँग पैसा थिएन। अस्पतालका लागि १२ सय रुपैयाँ तिर्नुपर्ने भयो । यो पैसा कसरी तिर्ने भन्ने चिन्तामा थिएँ । मैले पूजाकी आमालाई भेटेँ जब म स्कूलमा थिएँ र १६ वर्षको थिएँ ।
महेशले थप भने, ‘विहान घरको एउटा कुनामा बसेको देखेँ । यहाँ शान्तिको अनुभूति भइरहेको छ। मन तोडेर यहाँ आएका छौ। महेशले आफूले २३ वर्षको उमेरमा पूजालाई चिठी लेखेको पनि बताए । महेशले आफूलाई पूजामा गर्व भएको बताए ।’ सो क्रममा दुवैजना भावुक पनि देखिएका छन् ।