२०८३ बैशाख २०
२०८३ बैशाख २०

सिराहा ,पुस१२ गते 

सिराहामा शरीरको केही भाग जलेको अवस्थामा एक युवकको शव फेला परेको छ।

धनगढीमाई नगरपालिका- ६ स्थित गागन खोला किनारमा पहिचान नखुलेको अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकु इवा लिम्बूले जानकारी दिए।

‘हामीले छेउछाउका सबैतिर कोही हराएको छ वा कोहीसँग हुलिया मिल्छ कि भनेर सोधखोज गरिरहेका छौं। अहिलेसम्म परिचय खुलेको छैन,’ उनले भने, ‘शव हेर्दा कतै चोटपटक लागेको देखिँदैन तर खुट्टा भाँचेको देखिएको छ। प्रारम्भिक रूपमा कहीँ दुर्घटना भएर मृत्यु वा घाइते हुँदा शव जलाएको हुनसक्छ जस्तो लाग्छ।’

घटनास्थलबाट कुनै सामान बरामद नभएको प्रहरीले जनाएको छ।

स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी लिम्बूले बताए।

वीरगञ्ज (पर्सा), १३ पुस :

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो ।

 (रासस)

काठमाडौँ, १३ पुस :

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो । आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल नियुक्त गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।(रासस)

जलेश्वर, १३ पुस :

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताउनुभयो ।  (रासस)

मध्यविन्दु (नवलपरासी), १३ पुस :

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । “डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ, यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने छ ।” अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको सूचना अधिकारी गौतमले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको छ । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन् । “चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “सामूहिक रूपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरिएको छ ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा बस्ने अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको हुप्सेकोट गाउँपालिका–५ का वडाअध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । “केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।” हुप्सेकोट–५ राम्चेका श्यामबहादुर राईले पनि अम्रिसो बेचेर वार्षिक करिब ९५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखोबारी छ, लगाएको धानले बढीमा चार महिना पुग्छ”, उहाँले भन्नुभयो, “पहाडको पाखामा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ ।” प्रत्येक दुई–दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार गाउँपालिका–४ देउरालीका मीनबहादुर आलेले बताउनुभयो । उहाँले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गर्नुभएको छ । “यहाँ पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्ने गरेका छौँ”, उहाँले भन्नु भयो । प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ गतेसम्म अम्रिसो लगाउने गरिन्छ भने मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने गरिएको छ । (रासस)

बाजुरा, १३ पुस :

जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।(रासस)

बनियानी (झापा ), १३ पुस

स् हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । (रासस)

आरके श्रीवास्तव,रौतहट पुस १२ गते ।
रौतहट प्रहरीले लुटपाट गर्ने व्यक्तिहरू लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अन्दाजी बर्ष ३१ को नसिब बैठा र साही वडा नं।५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अन्दाजी बर्ष ३६ को हरि शंकर साह सोनार रहेका छन् ।

बिहीबार उनीहरूले गाउँकै बतहु मिया मन्सुरीको छोरा अन्दाजी बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई उनको साथबाट जबरजस्ती नगद रु।८२ हजार रकम खोसी लुटी भागेका थिए ।

यो खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरियाका ईन्चार्ज प्रहरी बरिस्ठ नायव निरिक्षक अरूण कुमार सिंहले सक्रियता देखाई त्यहाँबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्रेको हो ।

उनीहरूलाई कटहरिया नगरपालिका वडा नम्बर ५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु।५९ हजार सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा,रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी गराएकी हुन् ।

आरके श्रीवास्तव रौतहट,पुस १२ गते ।
बिधुतिय माध्यामबाट ९अरुको बैंक खाताहरुको० रकम चोरी गरेको आरोपमा रौतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी,सोही ठाउँको वडा नम्बर ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह,गुजरा नगरपालीका बडा नम्बर ६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नम्बर १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी अनुसार गौर नगरपालीका वडा नम्बर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि। को खाताबाट मिति २०८० असार २९ गते देखी पटक पटक गरी बाह्र लाख छयालिस हजार चार सय चालिस मात्र,गौर नगरपालीका बड़ा नम्बर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० असार २० गते देखी पटक पटक गरी जम्मा रु।पांच लाख,गौर नगरपालीका वडा नम्बर २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० कार्तिक २९ गते असी हजार , चन्द्रपुर न। पा।वडा नं।(९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट मिति २०८० कार्तिक ३० गते देखी पटक पटक गरी छ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा गरी कुल रकम चौविस लाख सैतिस हजार छ सय पचासी रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका हुन् ।

उनीहरूले विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत माथी ति मानिसहरुको खाताको रकम अनाधिकृत रुपमा पहुच पुर्याई चोरी गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको तिनै जनालाई पक्राउ गरी अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु मिति २०८० पुस ११ गते जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको तथा केही व्यक्तीहरु भागी फरार रहेको, फरार प्रतिवादीहरुको हकमा खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

जलेश्वर(महोत्तरी), १२ पुस :

महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित पाटुमा मधेस प्रदेशकै सबैभन्दा ठूलो ताल निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा वर्षेनि हुने पानीको समस्यालाई मध्यनजर गर्दै मधेस प्रदेशको चुरे फेदमा पानी पुनर्भरण गर्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको बर्दिवासका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको रातो नदीको नदी उकास जग्गा दिनप्रतिदिन अतिक्रमण भइइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । चुरे अतिक्रमणका कारण दिनदिनै पानीका मुहान सुकिरहेको जनगुनासो बढिरहेका बेला स्थानीय सरकारले ‘रिचार्ज’ पोखरी र ताल निर्माणमा ध्यान दिन थालेको स्थानीय रमेश खत्रीले बताउनुभयो । महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासमा बनाउन लागिएको मधेस प्रदेशकै सबैभन्दा ठूलो तालले स्थानीय सरकार चुरे संरक्षणमा संवेदनशील बन्दै गएको उहाँको बुझाइ छ । रातो नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेसकै सबैभन्दा ठूलो ताल निर्माण भएपछि यस क्षेत्रमा पानीको समस्या समाधान हुने स्थानीय उमेश पोखरेलले बताउनुभयो । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानीयको आयआर्जनमा मात्र नभइ नगरको मुख्य आयस्रोत बन्न सक्ने बर्दिवास–३ का वडाध्यक्ष विराट विष्टले बताउनुभयो । ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी ताल बनाउने योजना नगरपालिकाको छ । साथै बर्र्दिवास क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्घिसँग जोड्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बर्दिबासको उत्तर शिरैमा पर्ने पाटुमा रहेको रातो नदीको नदी उकास जग्गामध्य करिब ४० बिघा क्षेत्रफलमा ताल निर्माण गर्न लागेको हो । त्यो क्षेत्रफलका हिसाबले मधेस प्रदेशकै ठूलो ताल हुने जनाइएको छ । नगरपालिकाले आवश्यक कागजात र प्राविधिक कुरा मिलाइ सकेको तथा चाँडै ताल निर्माणको प्रक्रिया थालनी गरिने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।(रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।