२०८३ बैशाख १९
२०८३ बैशाख १९

काठमाडौँ, २१ पुस :

सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोली लागेर स्थानीय जयशङ्कर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएका घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कांग्रेसले मृतकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । उक्त पार्टीले घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नाका साथै घाइते भएकाको उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज विषयमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ ।

मुख्यसचिव पौडेलले हरेक नागरिकले आफ्ना अधिकारका विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित हुन अपिल गर्नुभएको छ ।(रासस)

मलङ्गवा (सर्लाही), २१ पुस :

शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ । विरोधप्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोधप्रदर्शनमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो । दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निजको मृत्युको कारण आफूलाई थाहा नभएको तथा आफूले सुरक्षाकर्मीलाई गोली प्रहार गर्ने आदेश नदिएको राससलाई बताउनुभयो । आन्दोलित पक्षले शवलाई घेरा हालेर बसेका कारण उठाउन नसकिएको उहाँले बताउनुभयो । घटना सम्बन्धमा छानबिन गर्न तथा शव उठाउने विषयमा सबै पक्षसँग संवाद जारी रहेको उहाँले बताउनुभयो ।

उक्त घटनालाई लिएर सदरमुकाम मलङ्गवा र कविलास नगरपालिकाको सलेमपुरमा पनि आज बिहानैदेखि टायर बालेर विरोधप्रदर्शन भइरहेका छ ।

शुक्रवार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही घाइते भएका थिए । झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । शुक्रवार बेलुका ५ः३० देखि शनिबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । बरहथवा क्षेत्रको अवस्था समान्य नभएपछि स्थानीय प्रशासनले आज पनि बिहान ८ देखि भोलि बिहान ८ बजेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।

बरहथवामा अहिले भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हावामा गोली हान्नाका साथै र अश्रुग्यास प्रहार गरेको थियो । नगरप्रमुख कटुवालको निवासअगाडि पार्किङ गरी राखिएको एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेको थिए । (रासस)

नवलपुर, २१ पुस (रासस) : सिंहदरबार वैद्यखाना स्वास्थ्य क्षेत्रमा सम्भवत दक्षिण एसियाकै पुरानो संस्था मानिन्छ । यसको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । राजा प्रताप मल्लको पालामा उनकै पहलमा चिकित्सा विद्याको विकास र औषधि दुवै हुने हिसाबले हनुमान ढोकामा वैद्यखानाका नाममा यसको स्थापना गरिएको थियो । उनको पालामा आफ्नो परिवारको उपचारका लागि सरकारी संस्थाका रुपमा वैद्यखाना स्थापना गरियो । त्यहाँ साँघुरो भयो भनेर पछि जङ्गबहादुर राणाले त्यसलाई थापाथलीमा सारे । जुद्ध समशेरले थापाथलीबाट सिंहदरबारमा नै लगेर उत्तर कुनामा राखे र त्यहाँ पुगेपछि यसको नाम सिंहदरबार वैद्यखाना हुन पुग्यो । अहिलेको पनि सिंहदरबार वैद्यखाना सोही स्थानमै छ ।

यसले सुरुमा राजा र दरबारका लागिमात्रै औषधि बनाउने काम गर्दथ्यो । विसं २००७ मा प्रजातन्त्र आएपछि २००९ मा राजा त्रिभुवनले यसको औषधि जनताले पनि पाउनुपर्छ भनेर घोषणा गरे । घोषणा गरे पनि त्यहाँ औषधि थोरै मात्रै बन्ने भएकाले जनताले पाउने अवस्था थिएन । घोषणा गरिएको ४३ वर्षपछि पनि यहाँबाट उत्पादित औषधि नेपाली जनताले पाउन सकेका थिएनन् । विसं २०५२ सम्म यहाँबाट करिब ३५÷३६ प्रकारका आयुर्वेदिक औषधि निर्माण हुने गरेको थियो । विसं २०५८ सम्म आइपुग्दा सिंहदरबार वैद्यखानाले एक सय ७१ प्रकारका औषधि निर्माण गरेर बजारमा पनि पठाउन सुरु गरिसकेको थियो ।

यस्तो इतिहास बोकेको संस्था आज धरासायी हुने बाटोमा पुगेको छ । यहाँ औषधि उत्पादनको काम हुन सकेको छैन भने कर्मचारीमा कुनै मनोबल छैन । कर्मचारीले तलब खान सक्ने अवस्था नै नरहेको समाचार आइरहेको छ । देशमा जडीबुटी र औषधिजन्य सम्पदाको खानी छ । तर नेपालमै रहेको यो ऐतिहासिक औषधि उत्पादक संस्था दिनप्रतिदिन खस्कँदै गएको छ । यस विषयमा विगतमा वैद्यखानाको भौतिक तथा संस्थागन विकासका लागि प्रबन्ध निर्देशक रहेर काम गर्नुभएका प्राध्यापक डा चन्द्रराज सापकोटा संस्थाको विकासका लागि विषय विज्ञ नियुक्त गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

“विसं २०५२ मा म त्यहाँ पुग्दा झिङ्गटीले छाएको सानो घर थियो । पछि सुधार पनि गरियो र त्यसपछि भौतिक पूर्वाधार राम्रो बनेको छ । मेसिन पनि छन् । तर सुन्दैछु अहिले मेसिन खिया लागेर गएका छन् । कर्मचारीको व्यवस्थापन ठीकसँग भएन । जनतामाझ औषधि पठाउन नसकेको सिंहदरबार वैद्यखाना सुधारका लागि सरकारले गठन आदेश २०५१ जारी गरेर सिंहदरबार वैद्यखानाको मुहार फेर्ने काम ग¥यो । सिंहदरबार वैद्यखाना विकास समिति बनाएर जानुपर्छ भन्ने सुझाव भएर समिति बन्यो ।

सिंहदरबार वैद्यखानाका अध्यक्ष कृष्णकान्त अधिकारी, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि, अर्थको प्रतिनिधि, राष्ट्रिय योजना आयोग, जडीबुटी प्रशोधन केन्द्रका निर्देशकसहित ११ जनाको समिति बन्यो र पछि २०५२ को कात्तिकमा उहाँ वैद्यखानामा प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो । म विषय विज्ञको रुपमा सिंहदरबार वैद्यखानाको प्रमुख भएर गएको थिएँ । डा कृष्णकान्त अधिकारीजस्ता विज्ञ पनि समितिको अध्यक्ष हुनुहुन्थ्यो । हामीले हाम्रो ज्ञान र सीप लगायौँ र धेरै काम गरेका थियौँ । तर अहिले पूरैरुपमा संस्थाको उपेक्षा भएको छ । विषय विज्ञ नभएर संस्थाको यो हालत हुन पुगेको छ ।

नियुक्ति पाएको पाँच दिनमा सञ्चालक समितिको बैठक राखेर त्यहाँ मैले कार्ययोजना बनाएर पेस गरेको थिएँ । सिंहदरबार वैद्यखाना स्थापना र सञ्चालनको उद्देश्य, भौतिक पूर्वाधार, शिक्षा, मार्केटिङ, कल्टिभेसन सेन्टर स्थापना, जनशक्ति व्यवस्थापनलगायतको विषयलाई लिएर गुरुयोजना बनाएर पेस गरेको थिएँ । औषधि निर्माणलाई व्यवस्थित बनाएर सञ्चालन गर्ने अवस्था थियो । औषधि उत्पादन गर्नका लागि भौतिक पूर्वाधार आवश्यक थियो, त्यहाँ पहिले झिङ्गटीले छाएका पुराना जीर्ण भएका घर थिए । यहाँ भवन बनाएर त्यसमा आधुनिक मेसिन राख्नुपर्ने कुरा उठाएँ ।

आयुर्वेद भनेको खलमा पिसेर औषधि निर्माण गरेर बजारमा पठाउने मात्र होइन, कच्चा पदार्थ जडीबुटी र धातु प्रयोग गरी त्यसलाई आधुनिक पद्धतिको औषधिजस्तै बनाएर बजारमा पठाउने योजना बनाएँ । रसायन नमिसाइ औषधि निर्माण गर्ने त हाम्रो सिद्धान्त नै हो । त्यहाँ वैद्यखानाको नौ आना जग्गा एल आकारको जमिन थियो । नजिकैका जमिनमा दुई वटा टहरा थिए । एउटामा भौतिक पूर्वाधार मन्त्रालयको स्टोर र अर्कोमा गृह मन्त्रालयका दुईवटा टहरा थिए । मैले जमिन मिलाउने भवन निर्माणसँगै मेसिन ल्याउने प्रस्ताव अघि सारेँ ।

वैद्यखानालाई डाबर वैद्यनाथको स्तरमा लैजाने गरी प्रस्ताव राखेँ । वैद्यखानामा आवश्यक पर्ने जनशक्ति थिएनन्, पुराना जनशक्ति अवकाश भइसकेका थिए । त्यसैले आयुर्वेदिक जनशक्ति तयार पर्ने गरी शिक्षा तथा औषधिलाई गुणस्तरीय बनाउनका लागि मार्केटिङ चाहिन्छ भनेर प्रस्ताव अघि सारेँ । जमाना प्रतिस्पर्धी छ, उत्पादन गरेर मात्रै हुँदैन । बजारमा लैजानुप¥यो त्यसका लागि प्रचार गर्नुपर्ने भएकाले बजार व्यवस्थापनका लागि ‘मार्केटिङ सेन्टर’ स्थापना गरियो । हाम्रो भूभाग हिमाल, पहाड र तराईलाई चार वर्गमा विभाजन गरेँ । हिमाली भाग, उच्च पहाडी भेग, पहाडी भेग र तराई भेगमा विभाजन गर्दै यसमा जडीबुटी ‘कल्टिभेसन सेन्टर’ स्थापना गर्ने गरी प्रस्ताव अघि सारेँ र सोहीअनुसार काम पनि अघि बढेको थियो ।

मुख्य उद्योग सिंहदरबारमा रहने गरी शाखा औषधि पहाड र तराईमा स्थापना गर्ने गरी काम सुरु गरेका थियौँ र औषधि निर्यात गर्ने केन्द्र बनाउने गरी अगाडि बढाएका थियौँ । मैले त्यहाँ १६ महिना काम गरेपछि सरकार परिवर्तन भयो र त्यसपछि म प्राध्यापनमा नै विश्वविद्यालय फर्किएँ । पछि पुनः ‘संस्था बिग्रियो, तपाईंले काम गर्न सुरु गर्नुभएको रहेछ ती काम पूरा गर्नुस्’ भनेर सरकारले बोलायो र आएँ । मेरो शर्तअनुसार सरकारले चार वर्ष पूरै काम गर्न दिने बताएपछि गएँ र आफूले सुरु सारेको गुरुयोजनाअनुसारको काम अघि बढाएँ । जडीबुटी कल्टिभेसन सेन्टर स्थापनाको लागि जग्गा छुट्याएकोमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको पोखरी ताल क्षेत्रमा २२ बिघा जग्गाको व्यवस्थापन मेरो प्रस्तावमा भएको थियो । जडीबुटी लगाउने भनेर त्यहाँका सामुदायिक वन समितिका अध्यक्ष जन समुदायसँग कुरा गरेको थिएँ । सबै पूर्वाधार निर्माण गरिदिने र २० बिघामा जडीबुटी लगाउन स्थानीय कृषकलाई दिने गरी तयारी अघि बढाएका थियौँ । हामीले कावासोतीको २२ बिघा जमिन स्वास्थ्य मन्त्रालयको स्वामित्वमा हस्तान्तरण गर्ने काम ग¥यौँ । सालको बोटबाहेकका अन्य झाडी फँडानी गरेर जडीबुटीका बोट बिरुवा लगाउने गरी मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि विसं २०५७ तिर सिंहदरबार वैद्यखानाले त्यो जमिनमा तारबार गर्नका लागि रु ५० लाख बजेट पनि छुट्याएको थियो । मेरो कार्यकाल सकिएसँगै त्यो काम यतिकै अधुरो भयो । म पछि आउने प्रमुखले कामलाई निरन्तरता दिएनन् ।

कस्तुरीपालन नेपालकै हिमाली क्षेत्रमा गर्न सकिन्छ भनेर योजना ल्याएको थिएँ । चीनले कस्तुरी पाल्न सक्छ भने नेपालले किन सक्दैन भनेर योजना अघि बढाइएको हो । कस्तुरीबाट क्यान्सरको मात्रै नभएर सबै रोगको उपचार गर्न सकिन्छ । कस्तुरीको कुनै चिज पनि फाल्नुपर्दैन । कस्तुरीले बाँचुञ्जेल पनि उत्पादन दिने र यो मरेपछि पनि काम लाग्ने जीव हो । कस्तुरीलाई मारेर कस्तुरीको नाभी झिक्नु पनि पर्दैन । कस्तुरी दुई वर्षको भएपछि भेटेरिनरी डाक्टरले कस्तुरीको नाभीमा शल्यक्रिया गरेर कस्तुरीको बिना झिक्न मिल्यो, त्यसपछि सिलाएर छोडिदिए भयो । कस्तुरी पालन गर्ने ठाउँमा अन्य जडीबुटी खेती पनि गर्न सकिन्छ । गर्न खोज्ने हो भने नेपाल ‘पेन्डोराको बक्स’ हो । नेपाल स्वीट्जरल्याण्डभन्दा राम्रो देश बन्न सक्छ ।

कावासोतीमा लिएको जग्गामा सालको रुखमा टाँचा लगाउने काम भयो तर, मेरो कार्यकालपछि त्यहाँ गुरुयोजनाअनुसार अरु काम सुरुआत हुन सकेन । पटकपटक कार्ययोजना अघि बढाउन सुझाव दिँदासमेत काम हुन सकेको छैन । नयाँ आएको मान्छेले कामलाई निरन्तरता दिएनन् । वैद्यखानामा गएर पुराना दस्तावेज हेर्न खोजेमा मैले बनाएका सबै योजना भेटाउन सकिन्छ । भौतिक पूर्वाधारमा मेरो कार्यकालमा औषधि निर्माणशाला, रसायनशाला, पानी प्रशोधन केन्द्र, कच्चा पदार्थ भण्डारण कक्ष, निर्माण औषधि भण्डारण सबै निर्माण भएका थिए भने गुणस्तर परीक्षण तथा नियन्त्रण भवन पनि अहिले बनेको छ ।

काठमाडौँमा औषधि निर्माणको लागि गुणस्तरीय पानी थिएन । पानी प्रशोधनका लागि बजेट निकासा गरेर सिंहदरबारभित्रै तीन सय मिटर जमिनमुनिबाट पाँच इञ्चको पाइपबाट पानी निकाल्न सुरु गर्यौं । त्यो पानी औषधि पकाउनयोग्य भए पनि पिउनयोग्य थिएन, पानी प्रशोधन गरेर काठमाडौँ भ्यालीलाई पु¥याउने योजना अघि सारिएको थियो तर त्यो पूरा हुन सकेन । आगोबाट पकाएर औषधि निर्माण गर्दा गुणस्तर घट्ने भएकाले बाफबाट औषधि पकाउन ब्वायलर राखिएको छ । ब्वायलर किन्नका लागि टेन्डर गरेँ । त्यो नआउँदै मेरो कार्यकाल सकिएर म बाहिर निस्किएँ । पछि ब्वायलर जडान भयो तर, एकपटक त्यसबाट औषधि उपयोगको काम भएन ।

सिंहदरबार वैद्यखानाका लागि आवश्यक जनशक्तिका लागि १४ जनालाई दीर्घकालीन रुपमा आयुर्वेदसम्बन्धी कसैलाई (स्नातक गरेका व्यक्तिका लागि) छोटो समयको तालिम, स्नातक नगरेका व्यक्तिका लागि आयुर्वेद विषय नै पढ्न पठाउने व्यवस्था पनि गरेका थियौँ । अहिले भने औषधि निर्माणसम्बन्धी जनशक्तिको हिसाबले नेपालमा प्रशस्त छन् । उ बेलामा मन्त्रालयले बर्सेनि तालिममा एक जना जनशक्ति भारत पठाउने भनेकोमा भारतबाट विज्ञ बोलाएर नेपालमै तालिम दिने वातावरणसमेत तयार पारिएको थियो । अहिले त भारतीय दूतावासले छात्रवृत्तिमा पढ्न पठाइदिन आग्रह गर्दा मान्छ । तर, त्यतिबेला उनीहरुले यो व्यवस्था छैन भनेर भन्थे ।

औषधि मार्केटिङका लागि विश्वविद्यालयका प्राध्यापक बोलाएर प्रस्तावना बनाउनुपर्छ भनेर प्रस्ताव अघि सारेँ । काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन सङ्कायको स्कुल अफ म्यानेजमेन्टको डीनलाई संयोजक बनाएर मार्केटिङको विषयमा अध्ययन निर्माण गरियो । पच्चीस जिल्लामा मार्केटिङ सेन्टर निर्माण गरियो । काठमाडौँ, पोखरा, चितवन, विराटनगर, नेपालगञ्जसहितका ठाउँमा मार्केटिङ सेन्टर स्थापना भयो ।

म जाँदा वैद्यखानामा २४ जनशक्ति मात्र कार्यरत थिए । प्रशासनका धेरै औषधिका थोरै । सुरुमै ६४ जनाको दरबन्दी प्रस्ताव गरियो । स्वीकृत भएन । पछि रु ५० लाख प्रतिवर्ष कमाएर सरकारको कोषमा जम्मा गर्ने शर्तमा दरबन्दी मैले नै स्वीकृत गराएँ । सरकारले यसका लागि मलाई नेपाली कागजमा सही छाप गराएर दरबन्दी स्वीकृत गरेको थियो । हामीले त्यो सरकारी प्रतिबद्धतालाई पूरा ग¥यौँ र ती दरबन्दीपछि कायम भए । तर पनि पछि जानेले यी सब कार्ययोजनाअनुसार काम गर्नै सकेनन् । संस्थाप्रति धेरैको विश्वास बढ्दै गयो, बजारमा वैद्यखानाको प्रचार पनि हँुदैगयो । खुला प्रतिस्पर्धा गरेर कर्मचारी राख्ने अवस्थामा पुग्यौँ । राख्यौँ पनि । पछिका दिनहरुमा भने दरबन्दीभन्दा पनि भद्रगोल तरिकाले कर्मचारी थप्ने काम गरियो जसको भार अहिले संस्थाले बोक्नुपरेको छ ।

यी कामहरु नवौँ पञ्चवर्षीय योजनाको अन्तिमसम्ममा गरिएका हुन् । दशौँ योजनाको अन्तिमसम्ममा वार्षिक त्यति बेलाको रु २५ करोड कमाउने क्षमतामा वैद्यखानालाई पु¥याउने काम हामीले नै ग¥यौँ । त्यो क्षमता अहिले पनि वैद्यखानाको छ तर त्यो चिजलाई हामीले व्यवस्थापन गर्न सकेनौँ । व्यवस्थापन झनभन्दा झन कमजोर हुँदै गयो, सरकारले पनि अनुगमन सहीरुपमा गर्न सकेन ।

अहिले यो संस्थाको अवस्था दयनीय छ । औषधि बन्दैन । कर्मचारी घाम तापेर बस्छन् । ज्यालादारीमा पनि पहिले त गरेको कामअनुसार ज्याला दिने गरी कर्मचारी राखिएको थियो । जस्तै सय वटा लेभल लगाएको रु सय दिने गरी आदि । कामको आधारमा ज्याला दिने गरी मान्छे राखेका थियौँ, त्यो वैज्ञानिक थियो र कर्मचारी पनि खुसी थिए । अहिले आफन्तलाई ज्यालादारी भनेर काममा राखिएको छ भन्ने सुन्छु तर कामै नगरी पारिश्रमिक दिइन्छ ।

वैद्यखाना ५७ सालदेखि नाफामा गएर ५८ सालको साउनसम्ममा कोष निर्माण गरेरै रु सात करोड ८८ लाख जम्मा गरिएको थियो । त्यो पैसामा विचलन आउन नदिन मुद्दति कोषमा पैसा जम्मा गर्ने काम ग¥यौँ । नाफा हुँदा पैसा जम्मा गर्ने र औषधि उत्पादनमा पैसा कमी आउँदा निकाल्ने भनेर पैसा राखिएको थियो । तर, अहिले यस पटक त्यहाँबाट रु तीन करोड झिकेर कर्मचारीलाई तलब खुवाइएको जानकारीमा आएको छ । सरकारले तलब खुवाउन पनि सहयोग गरेनछ ।

वैद्यखानामा अहिले औषधि बन्दैन, कर्मचारी छैनन् । मन्त्री आउँछन् र आफ्ना मान्छेलाई कार्यकारी बनाएर ल्याउँछन् । दक्ष जनशक्ति आउँदैन । वैद्यखानामा प्रबन्ध निर्देशक ल्याउँदा विषय विज्ञ ल्याउनुपर्छ । औषधि निर्माण पढेको व्यक्ति ल्याउनुपर्छ । औषधि बनाउन जान्ने मान्छे नै आउनुपर्छ अरु मान्छे आएर हुँदैन । म चिकित्सकबाट औषधि निर्माणतर्फ गएको हो, अहिले त प्रमाणपत्र तहबाट नै औषधि निर्माणमा पढेका व्यक्तिलाई त्यहाँ लैजानुपर्छ । आयुर्वेदमा एम फार्मेसी गरेका मान्छेलाई त्यहाँको प्रमुख बनाएर लैजानुपर्छ । अहिले जनशक्ति छन्, तर भएको जनशक्तिमा सरकारको ध्यान गएको छैन । आयुर्वेदको औषधि निर्माण पढेको मान्छे लगेको अवस्थामा मात्रै त्यहाँ उसले बुझेर काम गर्न सक्छ ।

अहिले वैद्यखानामा हिजोको जस्तो विकराल अवस्था छैन । त्यहाँ भवन छ, औषधि बनाउने मेसिन छ, सबै पूर्वाधार छन् । भएको जनशक्तिलाई व्यवस्थापन गर्ने क्षमता राख्दै त्यही विषयको व्यक्ति जानुपर्छ । सम्बन्धित विषयको मान्छे त्यहाँ जान नसक्दा वैद्यखाना धरासायी भयो भन्ने मेरो निष्कर्ष छ । यसको सुधारका लागि कम्तीमा पनि आयुर्वेदमा औषधि निर्माण सम्बन्धि एम फार्मेसी वा विद्यावारिधि गरेको मान्छे त्यहाँ पुग्नुपर्छ । ‘राइट म्यान राइट प्लेस’ भयो भने वैद्यखानाको मुहार फेरिन्छ ।

मन्त्री फेरिएपछि आफ्नो मान्छेलाई त्यहाँको प्रमुख बनाउनका लागि अनेक फेरबदल गर्ने गरेका छन् । यही विधा पढेका जनशक्तिबाट प्रतिस्पर्धा गरेर प्रमुख बनाउनुपर्छ । जसले राम्रो कार्ययोजना निर्माण गरेर देखाउन सक्छन् र गर्न सक्छु भन्ने आत्मविश्वास राख्छ उसैलाई छानेर प्रमुख बनाइनुपर्छ । विदेशी यहाँको जडिबुटी देखेर यहीँ उद्योग खोल्न उद्दत छन् । वैद्यखाना नेपालको इतिहास हो, यति पुरानो संस्था भारतमा पनि छैन । हामीसँगका जडीबुटीको उपयोग र सदुपयोग वैद्यखानाजस्ता संस्थाको विकासबाट मात्र हुनसक्छ ।

सिंहदरबार वैद्यखानाको सुधारका विषयलाई लिएर मैले अहिलेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सुझावसमेत दिएको छु । उहाँ मन्त्री भएको १५ दिनपछि भेटेर देशको अरु क्षेत्रजस्तै आयुर्वेद क्षेत्र पनि तहसनहस भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएँ । आफ्नै स्रोत भएको वैद्यखानालाई यसको आवश्यकता र महत्वका रुपमा पूर्ण रुपमा सञ्चालन गर्न पहल गर्न उहाँलाई भनेको पनि थिएँ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद विभागको मातहतमा सिंहदरबार वैद्यखाना रहेकाले यसको सुधारका लागि पहल गर्दै आयुर्वेद औषधि निर्माणमा कम्तीमा पनि स्नातकोत्तर गरेको मान्छेलाई वैद्यखानाको प्रमुख बनाउनका लागि उहाँलाई सुझाव दिएको छु । वैद्यखानामा विषय विज्ञ पठाइदिनुप¥यो भनेरभन्दा उहाँले सकारात्मक रुपमा लिनुभएको थियो । यो म त्यहाँ पुनः जान होइन कि मुलुकको यति गरिमामय संस्थाको माया लागेर हो । हामी सबै मिलेर सिंहदरबार वैद्यखाना बचाऔँ, यो हाम्रो इतिहास मात्र नभएर वर्तमान र भविष्य पनि बन्न सक्छ भन्ने मेरो धारणा हो । (राससका नवलपुर समाचारदाता टेकराज पोखरेलले गरेको कुराकानीमा आधारित)

(रासस)

सिरहा, २१ पुस :

चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ ।

त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताउनुभयो । उहाले भन्नुभयो, “नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब÷विपन्न नागरिकलाई लाभ पुगेको छ ।”

स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने बिरामीलाई रु ४० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । (रासस)

 

जनकपुरधाम ।

सर्लाहीको बरहथवा नगरपालिकामा भएको झडपपछि प्रहरीले चलाएको गोलीले एक जनाको मृत्यु भएको विषयमा सिडिओ र एसपीको कुरा बाझिएको छ ।

शुक्रवार दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतीको विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलित बन्यो । आन्दोलन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो ।

प्रहरीको गोली लागेर सर्लाही होटलका संचालक ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । टाउकोमै गोली लागेपछि तत्कालै मृत्यू भएको उनको शव अझै सडकमै छ । आफ्न्त र परिवार शव लिएर रातभर कठ्याङ्ग्रिदो चिसोमा आकाशमुनी रात बिताए ।

सामान्य झडपमा गोली चलाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० कोमल प्रसाद धमलाले आफूले गोली चलाउने आदेश नदिएको बताउँछन् । उनी भन्छन्, ‘मृतकलाई गोली नै लागेर मृत्यू भएको पनि भन्न सक्दिन । तर शव हेर्दा गोली लागेको देखिन्छ ।’

तर सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले हतियार लुट्ने प्रयास भएपछि प्रहरीले गोली चलाएको बताए । उनले भने,‘हतियार लुट्न त पाइदैन नी । हतियार नै लुट्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाए । त्यस्तो अबस्थामा पनि आदेश पर्खेर बस्ने कुरा हुदैन् ।’

मृतक साह आन्दोलनमा थिएनन् नी भन्ने जिज्ञासामा उनले भने, ‘प्रहरीबाट आन्दोलनकारीले लुट्न खोजेको थियो । त्यसपछि प्रहरीले गोली चलायो । तर गोली हतियार लुट्नेलाई नै लाग्छ भन्ने छैन् नी । त्यो त जसलाई पनि लाग्न सक्छ ।’

प्रहरीको गोलीले साहको मृत्यू भएको घटना दुःखद् रहेको बताए । उनले अहिले शव घटनास्थलमै रहेको र जवर्जस्ती पोस्टमार्टम गराउन नखोजेको बताए ‌। उनले भने, ‘आन्दोलन झन उग्र बनाउने सोच छैन् । सहमती पश्चात आश्वयक कानूनी प्रक्रिया पुरा गर्छौं । घटनाबारे थप अनुसन्धान पनि गरिरहेका छौं ।’

प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन नसकेपछि हिजो बेलुका साढे ५ बजेदेखि आज विहान ८ बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो । अहिले फेरी कर्फ्यूको समय थप गर्ने विषयमा छलफल चलिरहेको एसपी धितालले बताए ।

उनका अनुसार आज दिनभर कर्फ्यू लगाउने विषयमा छलफल भएको छ । अबस्था बिग्रियो भने कर्फ्यूको समय पुनः थपिन्छ ।

मृतकका भान्जा विवेक साहले रिसइबीका कारण प्रहरी हवलदार सोनेलाल यादवले गोली चलाएको आरोप लगाएका छन् । होटलमा आएर सित्तैमा खान खोज्दा केहि पहिला विवाद भएको र सोही निहुँमा मामालाई गोली हानेको उनको आरोप छ ।

तर एसपी धितालले मृतकका भान्जाको आरोप अस्वीकार गरे । उनले भने, ‘विवाद भएको थियो भने पनि प्रहरीले ज्यानै लिन सक्दैनन् नी । त्यस्तो हो भने पहिले नै हुनिसक्थ्यो । घटना भएपछि आरोप लगाउने कुरा स्वाभाविक हो । ठिक छ यो विषयमा पनि अनुसन्धान गर्छौं ।

एसपी धितालका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड गोली चलाएको छ । साहलाई राइफलको गोली लागेको छ ।

 

जनकपुरधाम ।

सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक युवाको निधन भएकोमा नेपाली कांग्रेस मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयका मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा गर्दै प्रहरी, प्रशासन र मेयरको लापरबाही गैर जिम्मेवारीपनको कारण घटना भएको बताए  ।

 

अविलम्ब न्यायिक छानबिन समिति गठन गरी सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग कांग्रेस मधेस प्रदेशको माग  छ ।

सामान्य विषयलाई अतिरञ्जित बनाउने सर्लाही प्रहरी प्रशासन प्रमुखलाई तत्कालै जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने कांग्रेसले जोड दिएको छ । कांग्रेस मधेस प्रदेशका अनुसार शुक्रबार उद्योग वाणिज्य संघ, कांग्रेस लगायतको ५ दलले दबाब दिँदै बरहथवा नगरपालिका, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रशासन कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय बरहथवा लाई दुई पटक ज्ञापन पत्र दिँदै सामान्य आन्दोलन गर्दै सङ्घर्ष गरिरहेको थिए ।  नगर प्रमुखले प्रदेशलाई अस्पताल हस्तान्तरण गर्ने निर्णयलाई बहुमतले स्थगित गरेपछि विवाद निम्तिएको काँग्रेसको ठहर छ ।
‘१५ शैयाको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेस प्रदेश सभाबाट ५० शैयामा स्तरउन्नती गर्ने गरी नीति कार्यक्रम मा ल्याएको थियो । सोही अनुरूप नेकपा एमाले पार्टीबाट निर्वाचित नगर प्रमुख कल्पना कटवालले कार्यपालिका बैठकबाट प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्ने निर्णय गराई प्रचार गरेको थियो ।
तर एमाले पार्टीले ५० शैयाको हुनु हुँदैन भन्दै विरोध जनाए पछि मेयरले हस्तान्तरण गर्न आलटाल गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

वाणिज्य संघ, व्यवसायीहरु नगरपालिका घेराउ गरी नाराबाजी गरी रहँदा प्रहरीले लाठी चार्ज गर्दै कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएको कांग्रेस जनाएको छ ।

आक्रोशित भीड तितरबितर हुँदै मेयरको निवास तिर गइरहँदा मेयरको निवासबाट धेरै पर विद्युत् प्राधिकरणमा बिल तिरेर गइरहेको सर्लाही होटलमा काम गर्ने कामदार जयसंकर साहको टाउकोमा गोली हानिएको काँग्रेसको आरोप छ ।

प्रहरीले मेयरको निर्देशनमा गोली हानी साहको हत्या गरेको कांग्रेसले आरोप लगाएको छ ।

सिरहा, २१ पुस/

: चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताउनुभयो ।

उहाले भन्नुभयो, “नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब÷विपन्न नागरिकलाई लाभ पुगेको छ ।” स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने बिरामीलाई रु ४० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।  (रासस)

 पुस २१ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।

सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।

पुस २१ गते ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालले खस संघ गठन गर्न लागेको छ ।

ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृसंगठनको रुपमा समाजवादी खस संघ केन्द्रीय घोषणा गर्न लागेको हो । पार्टीले उक्त संगठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरु दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो ।

पार्टीमा यस अघि यस खाले संगठन बनाइएको थिएन । सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपस्थित रहने छन् ।

महोत्तरी, २० पुस :

बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छनु । बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक बासस्थान बनाउन थालेका हुन् ।

“बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्”, भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँल भन्नुहुन्छ । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले बासस्थान बनाएका छन् ।

जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । “केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्”, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय रहिमन मण्डलले भन्नुभयो । वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उहाँको भनाइ छ ।

“दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले बासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्”, मण्डलले भन्नुभयो । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् ।

सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादव बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताउनुहुन्छ । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । आहाराको खोजीमा उनीहरु जुनसुकै बेला पनि बस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ । (रासस)

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।