रौतहट,१० माघ ।
जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो ।
स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा खयरका रुख काटिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जङ्गलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएका हुन् । जुडीबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।
चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाई बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्त लाने गरेको स्थानीयले बताए ।
रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको बताएका छन् ।
आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ ।
रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य जातको खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।
रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमहरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ । बुद्ध धर्म मान्नेहरूको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको जानकारहरूको भनाइ रहेको छ । रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेकाहरू नै पछिल्लो समय अवैध रूपमा खयरकाहरू काटेर विभिन्न सामान बनाएर बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएको भएपनि वन कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । खयरबाट बनेका विभिन्न सामानहरू वन कर्मचारीकै सेटिङमा रौतटका मुख्य बाटो भएर जिल्ला बाहिर पुग्दा समेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् ।
सो बिषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले भेटेर कुरा गरौँला भन्ने फोनमा प्रतिक्रिया दिएका छन् ।न्युजकारखाना
रौतहट १० माघ।
रौतहटको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ।

भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेकाे छ।
ईशनाथ ५ जटहारा गाउँमा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको हो।

आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधिसभा सदस्य किरण कुमार साह,नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थलमा पुगेको छ।

विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ।

जटहरा गाउँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ।

आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर मंगलबार राती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ । घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्।

सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५ बर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।न्युजकारखाना

काठमाडौ, १० माघ ।
प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।
नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ ।
यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।
यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर कारोबार हुदाँ ९ लाख ७२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो । न्युजकारखाना
काठमाडौ, १० माघ ।
सर्वोत्तम सिमेन्टले स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । स्थानीय बासिन्दाले अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वोत्तमले जारी गरेको आईपीओमा स्थानीय बासिन्दाबाट निर्धारित समय अर्थात माघ १० गते सम्म माग अनुसार आवेदन नपरेका कारण म्याद लम्ब्याइएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा आवेदन दिने म्याद भने आज अन्तिम हो । उनीहरुले बुधबार कार्यालय बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
सर्वोत्तमले बुक विल्डिङ विधिबाट आइपीओ जारी गरेको हो । उक्त आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।न्युजकारखाना
रौतहट,१० गते माघ ।
बैंकहरुको ज्यादती विरुद्ध आम जनता पार्टीले मधेश बन्दको आहवान गरेको आइटि आर्मीको देवाहीगोनाही नगर अध्यक्ष बिरबल महतोले बताएका छन् ।
मधेश बन्द आहवानको पूर्व सन्ध्यामा सञ्चारकर्मीहरु सँग कुराकानी गर्नुु हुँदै उनले यस्तो बताएका हुन् । आम जनता पार्टीको मधेश प्रदेश कमिटिले बैैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता,लघुविक्त तथा सहकारीबाट लिएको कर्जा माफि तथा आम जनतालाइ सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको बताए ।
उनले भने,“बैंकहरु जुन आतंक मच्चाएको हो,त्यसलाइ हामी समाप्त पार्ने छौं । मजदुर,किसान, व्यापारी लगायत आम जनता सँग भोलीको मधेश बन्द सफल पार्न आहवान गर्दछुु । बैंकहरुको ज्यादती विरुद्ध यदि हामी खडा भएनौ भने उनीहरुको ज्यादती अझै बढ्दै जानेछ ।
त्यसैले हामी यसलाइ रोकौं” वास्तवीक किसानहरुले ऋण नपाइरहेको उनको भनाइ छ । बैंकहरु लुट्ने काममा लागि परेको उनको आरोप छ । बैंकले गर्दा गरिबी बढेको छ । आम जनता सँग पैसा छैन् । आर्थिक तंगीमा सर्वसाधारण छन् । त्यसैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । व्यवसायीलाइ उद्धार गर्न हामीले बन्दको आहवान गरेका हौं । यसबाट व्यापारीहरु मर्का पर्दैन्न् कि उनीहरुको समस्याको गाँठो फुक्नेछ ।
त्यसैले हामीलाइ साथ दिनुस् आम जनता पार्टीको मधेश बन्द कार्यक्रमलाइ पारौं भन्दै महतोले आम जनतामा आग्रह गरेका छन् ।
काठमाडौं, १० माघ ।
सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले लगानीकर्ताहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।
सिंगटीले १/१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ। हकप्रद सेयर निष्कासनको लागि कम्पनीले बुक क्लोज पनि गरिसकेको छ। त्यसैले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सभा धुम्रबराह भेन्यू, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो।न्युजकारखाना
काठमाडौं, १० माघ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। लगातार ३ दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको हो।
जसअनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार १४ पैसाले डलरको भाउ बढेको हो।
यसअघि अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो।
यसैगरी आज १३ पैसाले घटेको छ। बुधबार युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।
मंगलबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९९ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६८ रूपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।
यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ एक पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ८ पैसा र बिक्रीदर २८ रूपैयाँ २१ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युजकारखाना
रौतहट,०९ गते माघ ।
रौतहट–मधेश प्रदेशमा आर्थिक मन्दीका कारण विभिन्न घटनाहरु बढ्दो छ । पछिल्लो समय भाषणमा सिमित रहेको लघुविक्त बैंकहरु माथिको आक्रमण आज व्यवहारमै उत्रिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा लघुविक्त बैंकहरुको कार्यालयमा झुण्डयाइएको ब्यानर च्यातनुदेखि लिएर तालाबन्दी सम्म गरिएको छ ।

सम्पूर्ण विक्तिय शोषण र उत्पीडन विरुद्ध किसान मजदुर मोर्चाका मान्छेहरुले लघुविक्त खारेज,लघुुविक्तको मनोमानी चल्दैन्,किस्ता माग्न बन्द गर लगायत नारावाजी गर्दै कटहरिया बजारमा रहेको लघुविक्त बैंकहरुको ब्यानर नै च्याति दिएका छन् । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति रौतहट र लघुुविक्त विक्तिय संस्था विरुद्ध संघर्ष समिति रौतहटको आयोजनामा जम्मा भएका मान्छेहरुले लघुविक्त विरुद्ध प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरुले कटहरियामा रहेको ७ लघुविक्त बैंकहरुको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । कटहरियामा रहेको मेरो माइक्रोफाइनान्स,डिप्रोक्स बैंक लगायतका बैंकहरुमा तालाब्न्दी गरिएको हो । लघुवित बैंकको कारण धेरै मान्छेहरुले आत्महत्या गर्न बाध्य भएको उनीहरुको आरोप छ ।

बैंक कर्मचारीहरु किस्ता माग्न जादा गाली,बेइज्जती गर्ने,दुव्र्यवहार गर्ने गरेको प्रर्दशनकारी हरुको भनाइ रहेको छ । प्रर्दशनकारीहरुले झुण्ड आउने खबरले लघुविक्त बैंकका कर्मचारीहरु कार्यालय नै बन्द गरेर फरार भएका थिए । प्रर्दशनको क्रमममा सयौं मानिसहरुको सहभागिता रहेको थियो ।

















काठमाडौं, १० माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना

